राजनीति

हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग

By खबरहब

May 31, 2022

काठमाडौँ– सांसदहरुले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)  माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरुले हवाई सेवालाई गुणस्तरीय बनाउन सरोकारवाला निकायले विशेष ध्यान दिन जरुरी भएको उल्लेख गरे ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद उर्मिला अर्यालले मुलुकभित्र बढ्दो हवाई दुर्घटना नियन्त्रण तथा हवाई उडानलाई व्यवस्थित र सुरक्षित बनाउन सरोकारवालाको ध्यानाकर्षण गराए । देशभित्र बारम्बार भइरहेका हवाई दुर्घटनाको अनुसन्धान गरी यसको निर्मूलीकरणका उपाय अपनाउन सबै निकायले चासो दिनुपर्ने उनको भनाइ थियो ।

नेकपा (एकीकृत समाजवादी) का सांसद मदनकुमारी शाहले हवाई यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन माग गरे। उनले अहिले नेपालमा ४० वर्ष भन्दा बढी पुराना जहाज चलिरहेकाले उडान सुरक्षामा चुनौती थपिएको भन्दै हवाई यातायातलाई गुणस्तरीय र विश्वसनीय बनाउ सरकारको ध्यान जान जरुरी भएको उल्लेख गरे।