हरियाली फर्काउन पोखरी, बिरुवा र नगदेबाली « Khabarhub

हरियाली फर्काउन पोखरी, बिरुवा र नगदेबाली


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- सुक्खाग्रस्त क्षेत्रका रूपमा परिचित पाँचथरको कुम्मायक गाउँपालिकामा हरियाली फर्काउन बोटबिरुवा रोपण तथा नगदेबाली विस्तार कार्यलाई अघि बढाइएको छ ।

यसका लागि गाउँपालिकाले बोटबिरुवाको नर्सरी स्थापना, बर्सेनि नगदे बालीका बेर्ना उत्पादन र बीउबिजन खरिदमा स्थानीयवासीलाई सहयोग गर्दै आएको छ । सुक्खा प्रभावित तथा बोटबिरुवाविहीन क्षेत्रलाई हरियालीमा रूपान्तरण गर्न गाउँपालिकाले पक्की पोखरी निर्माण गरी पानी जम्मा गरी नर्सरी तथा बेर्ना उत्पादन गर्दै आएको छ । यहाँ उत्पादित बिरुवा गाउँपालिकावासीलाई रोपणका लागि निःशुल्क उपलब्ध गराइएको छ ।

गाउँपालिकाको स्थापनापश्चात् कुम्मायक–१ स्थित सेर्जेम्बा सामुदायिक वनमा बर्सातको पानी सङ्कलन गर्न पक्की पोखरी स्थापना गरिएको छ । बर्सातको पानीले मात्रै पर्याप्त नभएपछि पाइपबाट पानी ल्याई पोखरीको सेर्जेम्बा क्षेत्रमै नर्सरी स्थापना गरिएको छ । सोही क्षेत्रमा विगतका वर्षबाटै अकबरे खुर्सानीका बेर्नासमेत उत्पादन भइरहेको छ ।

यहाँ स्थापना गरिएको नर्सरीमा आर्थिक वर्ष २०७४/०७५ तथा आर्थिक वर्ष २०७५/०७६ मा बर्सेनि ५० हजारका दरले विभिन्न प्रजातिका बोटबिरुवा उत्पादन गरी वितरण गरिएको थियो । आव २०७५/०७६ मा डिभिजन वन कार्यालय पाँचथरले समेत यही स्थानमा ४० हजार विभिन्न प्रजातिका बिरुवा उत्पादन गरी वितरण गरेको थियो । दुई आर्थिक वर्षको बजेटबाट टिक, खोटेसल्ला, रुद्राक्षलगायत आठ प्रजातिका बिरुवा उत्पादन गरी गाउँपालिकावासीलाई वितरण गरिएको कुम्मायक–१ का वडाध्यक्ष देवेन्द्रकुमार लावतीले जानकारी दिए।

कोभिड–१९ सङ्क्रमणको महामारीका कारण बीचका दुई आर्थिक वर्षमा बिरुवा उत्पादन गर्न नसकेको गाउँपालिकाले गत आवको रु चार लाख बजेटबाट खोटेसल्लाका बिरुवा उत्पादन गरेको छ । रुखो पाखा बारी, खोल्सीलगायत क्षेत्रमा रोपण गर्न उपयुक्त हुने भएपछि गाउँपालिकावासीको मागबमोजिम गाउँपालिकाले खोटेसल्लाका बिरुवा उत्पादन गरी अहिले धमाधम वितरण गरिरहेको छ ।

पचास हजार बिरुवा उत्पादन गर्ने लक्ष्य राखिएकोमा करिब ३५ हजार बिरुवा उम्रिएको र वितरण कार्य धमाधम भइरहेको वडाध्यक्ष लावतीले जानकारी दिए। यस वर्ष उत्पादित खोटे सल्लाका बिरुवा गाउँपालिकाका पाँच वटै वडाका विशेषतः नाङ्गा पाखा तथा बाँझो जमिनमा रोपण गर्न थालिएको छ ।

सुक्खाले प्रभावित भएपछि यहाँका सर्वसाधारण बसाइँ सर्ने तथा जग्गा जमिन बाँझै रहने क्रम बढ्दो छ । यसरी बाँझिएको जमिनमा खोटे सल्लासहित गाउँपालिकाले उत्पादन गरेका बोटबिरुवा रोपणका लागि उपयुक्त भएको किसानको भनाइ छ । प्रशस्तै पाखो जमिन रहे पनि उपयुक्त हुने बिरुवा रोपण गर्न नपाउनुभएका कुम्मायक–१ का गणेश नेम्वाङ सल्लाको गोलियाबाट राम्रो आम्दानी हुने थाहा पाएपछि आफूले पाखो जमिनमा सल्लाका बिरुवा लगाउन थालेको बताउँछन्।

आफूले अहिले रोपण गरेका बिरुवाबाट उपलब्धि लिन पाउने निश्चित नभए पनि भावी पुस्ताको आम्दानीको स्रोत बनाउन तथा खाली रहेको जमिनलाई हरियाली बनाउन बिरुवा रोप्न लागेको नेम्वाङको भनाइ छ । उनले मात्रै आफ्नो ६० रोपनी जमिनमा सल्लाका बिरुवा रोपिसकेको बताए। अन्य निकायबाट यस प्रकारका सहयोग नपाए पनि गाउँपालिकाले बिरुवा उपलब्ध गराएपछि किसान खुसी भएका छन् ।

खेतीका लागि काम गर्ने मानिस नपाउने, बाँदरले बाली पाक्न नदिने तथा सुक्खाका कारण पानी नभएपछि जमिन बाँझिएका कारण धेरै जग्गा बाँझो रहेकाले बिरुवा लगाई हरियाली बनाउनुको विकल्प नरहेको नेम्वाङ बताउँछन्। खोटे सल्ला जस्ता राम्रो आम्दानी हुने बिरुवा हुर्काउन सके एकै रुखले रु १० हजारभन्दा बढी आम्दानी दिने किसान बताउँछन् । यहाँका किसानले ५० वटादेखि एक हजार वटासम्म बिरुवा लैजाँदै गरेको वडाध्यक्ष लावतीले बताए ।

कुम्मायक–२ को फाक्चुवा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर लावती आफ्नो विद्यालय क्षेत्रमा करिब १५ रोपनी जग्गा खाली भएपछि सल्लाका बिरुवा लगाउन लागेको बताउँछन्। उक्त खाली जग्गामा एक हजार ५० वटा बिरुवा लगाउन लागेको उनको भनाइ छ । विगतमा विभिन्न प्रजातिका बिरुवा लगाइए पनि नफस्टाएको तर खोटे सल्ला फस्टाउने र ठूलो रुख भई आम्दानीको बाटोसमेत हुने अपेक्षाले बिरुवा लगाउन लागिएको लावतीको भनाइ छ ।

गाउँपालिकाले स्थापनाकालदेखि नै यस क्षेत्रमा नगदेबाली विस्तारका लागि समेत सहयोग गर्दै आएको छ । गत आव मात्रै दुई लाख वटा अकबरे खुर्सानीका बिरुवा उत्पादन गरी वितरण गरिएको वडाध्यक्ष लावतीले बताए। यस्तै गाउँपालिका तथा वडा कार्यालयले यस क्षेत्रका किसानको आयआर्जन वृद्धिका लागि अदुवा रोपणमा समेत सहयोग गर्दै आएको छ । “अकबरे खुर्सानी र अदुवाको खेती बढ्दै गएको”, वडाध्यक्ष लावतीले भने, “किसानले आम्दानी बढाउँदै लैजाँदा हामी पनि खुसी छौँ ।”

कुम्मायक गाउँपालिकाको आर्थिक वर्ष २०७४/०७५ तथा आर्थिक वर्ष २०७५/०७६ को रु १४ लाख बजेटले सेर्जेम्बा सामुदायिक वनमा बर्सातको पानी सङ्कलन गर्ने उद्देश्यसहित पक्की पोखरी निर्माण गरिएको थियो । सोही पोखरीमा पाइपबाट पानी ल्याई नर्सरी तथा बेर्ना उत्पादन गरिएको हो । पोखरीकै कारण नर्सरी, बेर्ना उत्पादन र एक निजी कृषि फर्म सञ्चालन भइरहेको वडाध्यक्ष लावतीले बताए।

सामुदायिक वनबीचमा पोखरी स्थापना गरिएपश्चात् आसपासको क्षेत्रमा हरियाली विस्तार हुनुका साथै स्थानीयवासी कृषि, पशुपालन तथा बोटबिरुवा लगाउनतर्फ प्रेरित भएका छन् । सुक्खाग्रस्त मानिएको कुम्मायक क्षेत्रका अधिकांश डाँडापाखा नाङ्गो रहेको अवस्थामा ४० को दशकमा तत्कालीन वनमन्त्री पद्मसुन्दर लावतीले यस क्षेत्रमा उपयुक्त हुने बिरुवा रोपण गराएको स्थानीय जानकार बताउँछन् ।

लावतीकै अग्रसरतामा वृक्षारोपण गरिएपछि साबिकको यासोक, स्याबरुम्बा र रानीगाउँ गाविसका दर्जनौँ सामुदायिक वनमा अहिले लाखौँको सङ्ख्यामा सल्लाका रुख हुर्किएको वडाध्यक्ष लावती बताउँछन् । खानेपानीको अभावका कारण अत्यधिक बसाइँ सर्ने क्रम रहेको यस गाउँपालिकामा पम्पिङ प्रविधिमार्फत खानेपानीको व्यवस्था गरिनुका साथै वर्षा हुने क्रम बढेपछि स्थानीयवासी आशावादी देखिन थालेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ७ : १५ बजे

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप

संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न ओलीको अपिल

कठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

सिरहामा भदौ २४ कै दृश्य : प्रदर्शनकारीले लगाइदिए एबी मलमा आगो

काठमाडौं- सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट एकजना युवकको मृत्यु भएपछि तनाव

सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको पछिल्लो समसामयिक