जुत्ता चप्पल सिलाएरै फेरिएको जयबहादुरको जीवनशैली « Khabarhub

जुत्ता चप्पल सिलाएरै फेरिएको जयबहादुरको जीवनशैली


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

पाल्पा – जुत्ता चप्पल सिलाउने व्यवसायलाई सम्मानजनक नजरले नहेर्ने गलत प्रवृत्ति हाम्रो समाजमा छ। जुत्ता चप्पल सिलाउने मात्रै नभई मजदुरी होस् या जुनसुकै पनि सानो काम गर्ने गरिब, विपन्न वर्गलाई समाजले राम्रो दर्जामा राख्न सक्दैन।

कतिपयले समाजमा इज्जत नहुने, डर र लाजका कारण झट्ट काम गर्न मन पराउँदैनन्। जयबहादुर नेपालीलाई भने जुत्ता चप्पल व्यवसायले दाममात्रै नभई समाजमा राम्रो चिनिने अवसर मिलेको छ। उनले दुई दशक अघिदेखि यो व्यवसायलाई अङ्गालेका हुन्। अहिले पनि निरन्तरता दिइरहेका छन्।

“पुराना च्यातिएका फाटेका जुत्ता चप्पल हातमा लिएर सियो र धागोले सिलाएको देख्दा धेरैले थु थु र घृणा गर्न थाले”, उनले भने, “अहिले भने व्यवसायबाट राम्रै कमाउन थालेपछि सबैले प्रशंसा गर्न थालेका छन्।” रामपुर ५ स्थित बेझाड बजारको एक कच्ची घरको सानो कोठामा सियो र धागोबाट सुरु गरेको व्यवसाय अहिले सटर भाडामा लिएर व्यवस्थित तरिकाले चलाइरहेका छन्। विदेशतिर जानुभन्दा गाउँघरमै केही गरौँ भन्ने मनसायले पुराना च्यातिएका फाटेका जुत्ता चप्पल सिलाउने कार्य सुरु गरेको अहिले यसबाटै राम्रो आम्दानी गर्न सफल भएको उनी बताउँछन्।

काम सानो ठूलो भन्ने हुँदैन, हातमा सीप भयो भने जुत्ता चप्पल सिलाएर लाखौँ कमाउन सकिने उनको अनुभव छ। बिहानदेखि राति अबेरसम्म पसलमा जुत्ता चप्पल सिलाएरै समय बितिरहेको छ। व्यवसाय फष्टाउँदै जाँदा हाल दुई जनालाई रोजगारी दिएका छन्।

यसै व्यवसायबाट छोराछोरीलाई उच्च शिक्षा, परिवारको खर्च सजिलै धान्दै आइरहेको उनको भनाइ छ। दुई जनालाई मासिक तलब, घरपरिवारको गुजारा सबै खर्च कटाएर मासिक रु ५० हजार बढी आम्दानी गर्न सफल भएको उनले बताए। “समाजले के भन्छ भनेर बसियो भने जीवनमा प्रगति गर्न सकिँदैन, आफूले जे काम जानियो त्यही काम गर्ने हो, परिवारको साथमा बसेर मैले जुत्ता चप्पल सिलाएरै राम्रो कमाई गरेको छु, यसमै म सन्तुष्टि र खुसीसाथ जीवन व्यतीत गरिरहेको छु”, उनले भने।

काममा इमान्दारिता र मेहनत गरियो भने पैसा कमाउन दुःख छैन। विवाह, पार्टी, स्कुल, कलेजका जुत्ता आफैँले तयार पार्छन्। दैनिकजसो ५० भन्दा बढी ग्राहक पसलमा सेवा लिन पुग्छन्। सानो लगानीमा परिवारको साथमा रमाउन पाउँदा धेरै खुसीका साथ जीवन अगाडि बढेकोमा यस व्यवसायमा उनी गौरव गर्छन्।

ग्राहकको भीडले नेपालीलाई काममा अहिले भ्याइनभ्याइ छ। पुराना काम सँगसँगै आफैँले नयाँ जुत्ता चप्पल पनि तयार पार्न थालेपछि व्यापार व्यवसाय बढ्दै गएको छ। नयाँ कामबाट भन्दा पुराना कामबाट धेरै फाइदा लिन सकिने उनको अनुभव छ। मेहनत गरियो भने अरबको खाडीमा कमाएको धनको तुलनामा दोब्बर बढी कमाइ स्वदेशमै गर्न सकिन्छ भन्ने सबैका उदाहरणीय पात्र बनेका छन्, ४८ वर्षीय जयबहादुर नेपाली। व्यवसायमा यस क्षेत्रमै सफल पात्रका रुपमा कहलिएका छन्। आफूले सक्दासम्म व्यवसायलाई धान्ने उनको अठोट छ।

उनको व्यवसायमा रोजगार पाउँदा वसन्त नेपाली पनि उत्साहित छन्। दुबई, मलेसिया देशमा काम गरेर घर फर्कनुभएका वसन्तले दुई वर्ष अघिदेखि यहीँ काम गरी राखेका छन्। उनले दैनिक रु एक हजारभन्दा बढी रकम कमाइ गरिरहेका छन्।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १० : ४६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको