दाँतलाई स्वास्थ्य र सुन्दरता दुवैको लागि महत्त्वपूर्ण अङ्गको रूपमा लिने गरिन्छ । स्वास्थ्यको दृष्टिकोणबाट हेर्दा हामीले खाएको खानेकुरा चपाउने र त्यसलाई पाचन प्रणालीसम्म पुर्याउन सहयोग गर्ने काम दाँतले गर्छ । गर्मी मौसममा दाँतको समस्या धेरै देखिने भए पनि जाडो मौसममा केही गम्भीर खालको समस्या देखिने चिकित्सक बताउँछन् । चिसो मौसममा शरीरमा देखिने अन्य संक्रमणको असर दाँतमा पनि पर्छ । दाँतसम्बन्धी विभिन्न समस्यामध्ये दाँत सिरिङ्ग हुने समस्या पनि एक हो । चिसो मौसममा मात्र नभई यो समस्या अरू बेला पनि देखिन्छ । त्यसैले यसै विषयमा आधारित भएर दन्त चिकित्सक डा. ऋतु श्रेष्ठसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :
चिसो मौसम बढेसँगै धेरैमा दाँतमा समस्या देखा पर्छ भनिएको छ, त्यस्तो समस्या के हो ? चिसो मौसममा गर्मीमा भन्दा धेरै बिरामी दाँत सिरिङ–सिरिङ भयो भनेर आउनु हुन्छ । चिसोले गर्दा भन्दा पनि चिसोमा हुने हावापानीको कारणले गर्दा दाँतमा धेरै समस्या देखिएको हो । जाडोमा हामीले प्रयोग गर्ने पानी र हावा धेरै नै चिसो हुन्छ । त्यो चिसो दाँतमा पर्दा दाँत खिएको वा किराले खाएको व्यक्तिमा सिरिङ–सिरिङ हुने हुन्छ । समस्या पहिला नै देखिएको हुन्छ तर जाडोमा चिसोले गर्दा धेरैले त्यो महसुस गर्छन् । चिसोमा धेरै किराले खाने भन्दा पनि किराले खाएको दाँत जाडोमा महसुस धेरै हुने हो ।
यो चिसो मौसममा नै सिरिङ–सिरिङ बढी हुने हो कि अरू समस्या पनि छन् ? चिसो मौसममा धेरै समस्या हुने हैन महसुस धेरै हुने हो । चिसोमा हावा र पानी धेरै चिसो हुने हुँदा मुखमा राख्दा चिसो हुन्छ र सिरिङ–सिरिङ हुने हुन्छ । भरेको दाँत छ भने त्यो भरेको सामान र हाम्रो दाँत टुक्रिने र झर्ने हुन्छ । त्यो गर्मीमा धेरै हुँदैन किनभने दाँत र बाहिरको वातावरणबीचको टेम्प्रेचर ठिक्क हुन्छ, पानी पनि मनतातो नै हुन आउँछ । यो दाँतमा सिरिङ–सिरिङ हुने ठुलो समस्या नै त हैन, तर धेरै नै सिरिङ–सिरिङ भयो भने चाहिँ के कारणले भएको भनेर एक पटक जँचाउँदा हुन्छ । जाँच गर्दा साधारण समस्या रहेछ भने कुनै साधारण दन्त मंञ्जनहरु प्रयोग गर्दा पनि निको हुने हुन्छ । त्यसैले के कारण पत्ता लगाएर उपचार गर्न सकिन्छ ।
सिरिङ–सिरिङ भएर पनि समयमा अस्पताल गएन भने यसले पछि कुनै समस्या निम्त्याउँछ कि ? समस्या त निम्त्याउँछ, रोग भनेको सानोमा नै उपचार गर्दा राम्रो हुन्छ । रोग बढ्दै गए पछि भनेको जस्तो निको हुँदैन । सानो सिरिङ–सिरिङ भएको छ भने उपचार गर्दा किराले थोरै खाएको हुन सक्छ र साधारण भर्दा हुन्छ । तर ढिलो भएर जरासम्म नै किराले खायो भने जरादेखि नै भर्नु पर्दछ । पैसा पनि धेरै खर्च हुन्छ । समयको पनि खर्च हुन्छ र आफूलाई पनि धेरै गार्हाे हुन्छ । त्यसैले दाँतको समस्या भनेको जति चाँडो उपचार भयो त्यति नै राम्रो हो । समस्या सामान्य हो या जटिल हो भनेर आफैले भन्न सकिँदैन त्यसैले समयमा नै उपचार गर्नु पर्दछ ।
दाँतमा सिमेन्ट भर्दा धेरै समस्या देखा पर्दछ भन्ने धारणा छ, यो कतिको सत्य छ ? सिमेन्ट भरेर समस्या देखिन्छ भन्दा पनि हामीले बिग्रेको दाँतलाई उपचार गरेको हो । कि त्यसलाई निकालेर फल्नु पर्यो कि त भर्नु नै पर्यो । हामीले जति नै गरे पनि किराले खाएको दाँतलाई पहिलाको जस्तो नै त बनाउन सक्दैनौँ । र सिमेन्ट भरेपछि फेरि किरा लाग्दैन भन्न सकिँदैन । राम्रोसँग सफा गरेन भने धेरै कडा खानाहरू खायो भने फेरि पनि किरा लाग्न सक्छ । त्यसैले ख्याल गर्नु पर्दछ । आफ्नो पहिलाको प्राकृतिक दाँतमा त किरा लाग्छ भने भरेकोमा पनि लाग्न सक्छ । त्यसैले एक पटक भरेको दाँत अब केही हुँदैन भन्नु हुँदैन ।
यो मौसममा कस्तो लापरबाही गर्यो भने यो समस्या बढ्छ त ? लापरबाहीले नै समस्या बढ्ने हो । दाँतमा कुनै समस्या आयो लक्षण आयो भने त्यो आफै निको भएर जाँदैन । शरीरको कुनै अंगमा लागेका कतिपय रोगहरू आफै निको भएर जान्छन् तर दाँतमा त्यस्तो हुँदैन, एक पटक किराले खाएको दाँत कि त भर्नै पर्यो कि त फल्नै पर्यो। त्यसैले दाँतको मामलामा लापरबाही गर्नु हुँदैन । हरेक ६ महिनामा दाँतको जाँच गर्यो भने पनि दाँतमा आउने धेरै समस्याबाट बच्न सकिन्छ । दाँतको ३ वटा तह हुन्छ । त्यसमा बाहिरको तहमा समस्या आयो भने कुनै दुखाई हुँदैन । तर बाहिरको तह बिग्रिएर भित्र पुग्यो भने सिरिङ–सिरिङ हुने हुन्छ । दाँतमा सिरीङ सिरीङ भयो वा अरू केही समस्या आयो भने दाँतको पहिलो तह बिग्रियो भनेर बुझ्दा हुन्छ ।
दाँतमा कुनै समस्या नआओस् भनेर बिहान उठेदेखि बेलुकासम्म के–के कुरामा ध्यान दिने ? दाँतको हेरचाह गर्ने भनेको दाँत सबैले राति सुत्नु भन्दा अगाडि मोलेर मात्र सुत्ने र बिहान कुल्ला मात्र गर्ने र नास्ता खाए पनि पनि दाँत माझ्ने, दाँतको भित्र बाहिर र चबाउने तिन तिर राम्रोसँग दाँत माझ्ने, दुई दाँतको बिचको भागमा ब्रसले गरेर सफा हुँदैन, त्यसको लागि बजारमा एउटा धागो जस्तो पाउँछ त्यो दिनमा एक पटक प्रयोग गर्ने । धेरै गुलियो खाना नखाने, खानै परे मिलाएर खाने धेरै साह्रो खाना नखाने, बीचबीचमामा धेरै नखाने । खाना खाएपछि बीचबीचमामा कुल्ला गर्ने, पानी खाने, बिस्कुटहरू टाँसिने खाना नदिने, बच्चालाई दूध खुवाएपछि कुल्ला गराउने गर्नुपर्छ ।
(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)