महोत्तरीमा सडक दुर्घटनामा १६ जनाको मृत्यु « Khabarhub

महोत्तरीमा सडक दुर्घटनामा १६ जनाको मृत्यु


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– कात्तिकको पहिलो हप्ता मोटरसाइकल दुर्घटना हुँदा औरही नगरपालिका-२ का २४ वर्षीय विवेक यादवको घटनास्थलमै मृत्यु भयो । तीव्र गतिमा मोटरसाइकल चलाइरहेका विवेकको मात्र हैन, उनको पछाडि बसेका गौशाला नगरपालिका-४ रजखोरका कृष्ण यादवको पनि ज्यान गयो ।

त्यसको केही सातापछि सम्सी सडकखण्डमा तीव्र गतिकै सवारी चलाएका कारण बर्दिबास नगरपालिका-१४ का २२ वर्षीय अन्जान बलाम्पाकीले ज्यान गुमाए । उनीहरु जस्तै युवावस्थामै ज्यान गुमाउनेको शृंखला रोकिएको छैन । कात्तिक र मंसिरमा महोत्तरीमा १६ जनाले ज्यान गुमाइसकेका छन् भने घाइते हुनेको संख्यासमेत अधिक छ । जिल्ला ट्राफिक कार्यालय महोत्तरीको अनुसार २०२ जना घाइते बनेका छन् । कात्तिक र मंसिरमा साना र ठूला गरी १४० वटा दुर्घटना भएका छन्।

जिल्लामा मुख्य राजमार्गमा भन्दा भित्री सडकमै दुर्घटना बढी हुने गरेको पाइएको छ । पछिल्लो दुई महिनाको अवधिमा भित्री सडकमा  १३ जनाको ज्यान गएको छ । बाँकी तीनजनाको मुख्य राजमार्गमा दुर्घटना हुँदा ज्यान गएको हो ।

बाइक दुर्घटनामा परेर मृत्यु हुनेमा प्रायः युवा छन् । प्रहरीका अनुसार तीव्र गति र मादक पदार्थसमेत प्रयोग गरेर चलाउने भएकाले दुर्घटनाको मुख्य कारक बनेको जिल्ला ट्राफिक कार्यालयका कार्यालय प्रमुख उदयसिंह सिँजापतिले जानकारी दिए  ।

दुर्घटना न्यूनीकरण हुन नसकेपछि प्रहरीले कारबाही प्रक्रियालाई सक्रिय बनाएको छ । पछिल्लो दुई महिनामा मात्र ६ हजार १५० सवारी कारबाहीमा परेका छन् । जसमध्ये धेरैजसो तीव्र गतिमा सवार चालकलाई कारबाही गरिएको छ । कात्तिकमा २८ सय ५० र मंसिरमा ३३ सयलाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ । 

यो अवधिमा ४६ लाखभन्दा बढी राजस्व नै उठेको प्रमुख सिँजापतिले जानकारी दिए । ‘पहिले पहिले औरही सडकखण्डमा कम दुर्घटना हुन्थ्यो । किनभने त्यहाँ सडक कच्ची थियो । जसले गर्दा जिल्लाको उत्तरी क्षेत्रका बासिन्दा सदरमुकाम जलेश्वर जाँदा पनि सम्सी सडकखण्ड प्रयोग गर्थे,’ उनले भने । हिजोआज उत्तरी क्षेत्रका बासिन्दा औरही सडकखण्ड नै अधिक प्रयोग गर्ने गर्दछन्, जसले दुर्घटनाको संख्या वृद्धि भएको प्रहरीको बुझाइ छ ।

भित्री सडकहरू पक्की बनेसँगै ट्राफिक प्रहरीहरूको व्यस्तता पनि निक्कै बढेको छ । आगामी दिनमा औरही सडकखण्डको सडक पक्की बनेपछि जनशक्तिको समेत अभाव हुन सक्ने ट्राफिक प्रहरीले जनाएको छ । 

सम्सी सडकखण्डमा त दैनिकजसो नै दुर्घटना हुने गर्दछ । सम्सी नाका र जलेश्वर जानेहरूले अहिले पनि यही सडक प्रयोग गर्दछन्। दुवै भित्री सडक होस् या मुख्य राजमार्ग दुर्घटनाको मुख्य कारक तीव्र गति र मादक पदार्थ सेवन गरेर चलाउनु नै रहेको प्रहरीको निष्कर्ष छ । जिल्लामा दुर्घटनाका संख्या बढ्न थालेपछि ट्राफिक कार्यालयले समुदायस्तरमा अहिले जनचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १ : १२ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,