देश/प्रदेश

बझाङमा बसको ठक्करबाट बालकको मृत्यु

By खबरहब

April 01, 2023

काठमाडौँ- बझाङमा बसको ठक्करबाट एक बालकको ज्यान गएको छ । शनिबार दिउँसो सुर्मा गाउँपालिका–३ का धनबहादुर बोहराका तीन वर्षीय छोरा सरगम बोहराको ज्यान गएको हो ।

जिल्ला सदरमुकाम चैनपुर जाने पक्की पुल नजिकै सडकमा खेलिरहेका बालकलाई पवनदूत यातायातको सुपप्र०२–००१ख १११९ नं बसले ठक्कर दिएको हो । बसको ठक्करबाट सख्त घाइते भएका बोहराको जिल्ला अस्पतालमा ज्यान गएको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

उनका अनुसार बालकलाई ठक्कर दिने बसका चालक बैतडीको पुरचौडी नगरपालिका–५ का गणेश बोहरालाई नियन्त्रणमा लिइसकेको छ । दुर्घटनापछि घटनास्थल चौडबजार क्षेत्र तनावग्रस्त भएको छ । पीडित परिवार तथा आफन्तले बसचालकलाई कारबाही गर्नुपर्ने तथा मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन् ।