विश्व स्तनपान सप्ताह : अमृतसमान आमाको दूध नवजात शिशुको आधारभूत अधिकार | Khabarhub Khabarhub

विश्व स्तनपान सप्ताह : अमृतसमान आमाको दूध नवजात शिशुको आधारभूत अधिकार


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

विश्व स्तनपान आजबाट सुरु भएको छ । विश्व स्तनपान सप्ताह हरेक वर्षको १ देखि ७ अगस्टसम्म मनाइन्छ । सन् १९९२ बाट सुरु भएको यो सप्ताह विश्वका १२० भन्दा बढी देशहरूमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइन्छ । शिशुका लागि आमाको दूध अमृतसमान मानिन्छ । आमाको दूधमा शिशुका लागि रोग प्रतिरोधात्मक क्षमता हुन्छ । तर, अझै पनि नेपाली समाजका कतिपय महिलाहरूमा यो चेतनाको कमीले गर्दा शिशु जन्मेपछि आउने पहिलो दूधलाई खेर फाल्ने चलन पनि छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा धेरैजसो देशमा स्तनपानको अवस्था भने सन्तोषजनक छैन । आमा र बच्चाका लागि स्तनपानको महत्व के छ ? स्तनपान गराउँदा के कुरामा ध्यान दिने ? दूध आउँदा आउँदै स्तनपान नगराउँदाको असर के के हुन् ? यस्तै आधारित रहेर पोषणविद् डा. मनसा थापा ठकुराठीसँग गरिएको कुराकानीको सम्पादित अंश:

स्तनपान भनेको के हो र यो किन महत्वपूर्ण छ ?

सामान्यतया शिशुलाई आफ्नो आमाको दूध चुसाउनुलाई नै स्तनपान भनिन्छ । नवजात शिशुको आधारभूत अधिकारका रूपमा लिइने स्तनपानलाई सुरुवाती या प्रारम्भीक अनि पूर्ण गरी दुई भागमा वर्गीकरण गरिन्छ । केही घण्टामात्र ढिलो गरी स्तनपान गराउनाले पनि शिशुको जीवन जोखिममा पर्नसक्छ । आमा र शिशुबीचको प्रत्यक्ष स्पर्श र स्तनपानले आमाको दूध उत्पादनमा पनि सहयोग पुग्छ । शिशु जन्मनेबित्तिकै आउने बिगौती दूध एकदमै पोषिलो हुने र शरीरको प्रतिरक्षा प्रणालीका लागि शक्तिशाली हुने भएकाले यसलाई शिशुको ‘पहिलो खोप’ को रूपमा पनि लिइन्छ ।

स्तनपान गराउँदा के के कुरामा ध्यान दिनु पर्छ ?

स्तनपान गराउने आमाले सबैभन्दा पहिला सफा र खुकुलो लुगा लगाउनुपर्छ । त्यस्तै, आमाले स्तनपान गराउनुअघि स्तन र हातलाई राम्रोसँग सफा गर्नुपर्छ । त्यसपछि शिशुलाई काखमा राखेर दूध चुसाउनुपर्छ । दुबै स्तनबाट १५ मिनेट जति स्तनपान गराउँदा बच्चाले दूधमा भएको पौष्टिक तत्व प्राप्त गर्छन् । दूध खुवाइसकेपछि काँधमा अडेस लगाएर पिठ्यूँमा मुसारेर डकार्न लगाउँदा स्तनपान गर्नेबित्तिकै शिशुले वान्ता गर्दैनन् । शिशु बिरामी छ भने बारम्बार दूध खुवाउनुपर्छ । शिशुले आमाको दूध पनि खाने प्रयास नगरेमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा लैजानुपर्छ । नियमित स्तनपान गराएको बच्चामा रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ र रोग लाग्दैन । यसले बच्चालाई बलियो बनाउँछ र आमामा स्तन क्यान्सर हुने जोखिम पनि कम हुन्छ । त्यसैले, स्तनपान गराउँदा शिशु र आमा दुवैलाई फाइदा हुन्छ ।

स्तनपानका आमा र बच्चामा के कस्ता फाइदाहरू छन् त ?

शिशुलाई समय समयमा दूध खुवाउँदा आमामा स्तन क्यान्सर हुने जोखिम कम हुन्छ । आमालाई मानसिक तथा शारीरिक रूपमा सन्तुष्टि प्राप्त हुन्छ । आमाको पाठेघर पनि छिटो आफ्नो ठाउँमा जान्छ, जसले गर्दा पाठेघरमा कुनै समस्या हुँदैन । आमामा ब्लिडिङ हुने समस्या छ भने त्यो पनि कम हुन्छ । यसले गर्दा आमाले दैनिक रूपमा गरिने कामहरू सहजै गर्न सक्छन् । ‘ब्रेस्ट फिडिङ इज बेस्ट फर द बेबी’ भनेर सबैले बुझ्नुपर्छ । स्तनपान गराएका बच्चामा मस्तिष्कको विकास पनि तीव्र हुन्छ र बुद्धि निकै तेज हुन्छ । आमाको दूधमा रोगसँग लड्नसक्ने प्रतिरक्षात्मक तत्व हुन्छ, जुन बच्चाको शारीरिक र मानसिक विकासका लागि अति अपरिहार्य छ ।स्तनपानले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै कुपोषण, होचोपनालगायतका रोगबाट बचाउँछ । आमाको दूधमा पाइने कोलस्ट्रम (बिगौती) दूधमा विभिन्न रोगसँग लड्न सक्ने क्षमता इम्युनिटी पावर हुने हुँदा शिशुलाई झाडापखाला, निमोनियाजस्ता घातक सङ्क्रमणबाट जोगाउन सकिन्छ । स्तनपानले आमा र बच्चाको सौन्दर्यमा निखार पनि आउँछ ।

स्तनपान नगराउँदा चाहीँ शिशुमा कस्तो असर पर्छ नि ?

आमाले समयमा बच्चालाई दूध खुवाइनन् भने स्तनमा दूध जम्मा हुने र त्यो विस्तारै पाक्दै जाने हुन्छ । त्यसलाई अप्रेसन गरेर, काटेर फाल्नुपर्ने अवस्था पनि सिर्जना हुनसक्छ । त्यसैले, बच्चालाई भोकै राखेर यो अवस्था आउन दिनु हुँदैन । हरेक दुई वा तीन घण्टामा बच्चालाई स्तनपान गराउनुपर्छ । दुवै स्तनबाट १० देखि १५ मिनेट दूध खुवाउनुपर्छ ।

पर्याप्त मात्रामा आमाको दूध आएन भने के कस्तो खाना खाने त ?

दूध नआए ज्वानो मेथीको झोल खुवाउनुपर्छ । मेथीभित्र प्रोटिन हुन्छ र यसले आमाको स्तनबाट दूध आउन मद्दत गर्दछ । ज्वानोले ग्यास बन्न दिँदैन र शरीरलाई बलियो बनाउँछ । सुत्केरी हुँदा कोशिका र तन्तुहरू कमजोर भएको हुन्छ, यसले कोशिका र तन्तुलाई बलियो पार्दछ र दूध खुवाउन सजिलो पार्छ । यो व्यक्तिअनुसार पनि भर पर्दछ कसैलाई खाँदा पनि आउँदैन र कसैलाई खाँदा खाँदै आउँछ ।

स्तनपान गराइरहेका महिलाहरूले के कुरामा विशेष ध्यान दिने त ?

स्तनपान गराइरहेका महिलाहरूले वा सुत्केरी आमाले ज्वानोको झोलसहित थप पोषिलो खाना खानुपर्दछ । आमाले दाल, गेडागुडी, दूध र अन्य तरल खानेकुरा बढी मात्रामा खानुपर्छ । सुत्केरी भएको ४२ दिनभित्र भिटामिन ए क्याप्सुल र ४५ दिनसम्म नियमित रूपले आइरन फोलिक एसिड चक्की सेवन गर्नुपर्छ । दूध नआउने, बच्चाले दूध खान नमान्ने, स्तनका मुन्टामा घाउ हुनेलगायतका समस्याहरु देखा पर्‍यो भने अस्पतालमा गएर जाँच गराउनुपर्छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ७ : ०२ बजे

Nepatop

हिमपातका कारण उपल्लो मुस्ताङमा यातायात ठप्प

म्याग्दी – आज बिहानदेखि परेको हिमपातका कारण मुस्ताङको लोमान्थाङ, लोघेकर

अफगानिस्तानमा चिसोका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काबुल – अफगानिस्तानमा चिसो मौसम र हिमपातका कारण मृत्यु हुनेको

बुद्ध शिक्षा विज्ञानले समेत आत्मसात् गरेको छ : गृहमन्त्री श्रेष्ठ

लुम्बिनी । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुद्धको शिक्षा आधुनिक

ऊर्जा मन्त्रीसँग एमसिसीका उपाध्यक्षको भेट

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग

हमास प्रतिनिधिमण्डल युद्ध विरामबारे वार्ता गर्न कायरोमा

कायरो – सत्तारुढ इस्लामिक प्रतिरोध आन्दोलन (हमास)को उच्चस्तरीय प्रतिनिधिमण्डल गाजा