सूर्यविनायक–धुलिखेल सडक विस्तार कार्य तीव्र | Khabarhub Khabarhub

सूर्यविनायक–धुलिखेल सडक विस्तार कार्य तीव्र


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काभ्रे – अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्र रुपमा भइरहेको छ । तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको थियो ।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना कार्यालयका अनुसार उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार थालिएको हो । आयोजना प्रमुख राजेन्द्रप्रसाद दासका अनुसार सडक विस्तारको काम तीव्र रुपमा भइरहेको छ । प्रारम्भिक चरणमा सूर्यविनायकदेखि धुलिखेलसम्मनै सडक छेउमा वाल निर्माणको काम भइरहेको छ । “कामले निरन्तरता पाएको छ, कुनै समस्या तथा रुकावट छैन”, दासले भने । उनका अनुसार उक्त सडकखण्डको भैँसेपाटीमा संरचना निर्माणार्थ खन्दा पुरातात्विक वस्तु फेला परेपछि पुरातत्व विभागको निर्देशनअनुसार केही भागको काम रोकिएको छ ।

हाल मनसुनको समय भएकाले खोला तथा बाढीले प्रभावित बनाउने स्थानको काम सुरु नगरिएको दासले बताए । उनले भने, “करिब एक महिनापछि त्यस्ता स्थानमा धमाधम काम सुरु गर्ने छौँ ।” सडक मापदढडमा परेका खानेपानी आयोजनाका पाइप तथा घर स्थानान्तरण र भत्काउन सरोकारवालासँग विभिन्न चरणमा छलफल भइरहेको उनले बताए ।

विभाग विभागका अनुसार कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव ४ किमी सडकखण्ड विस्तार कार्यका लागिरु चार अर्ब पाँच करोड ६४ लाखका ठेक्का लगाइएको छ भने दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड भने ७ दशमलव पाँच किमी रहेको छ । उक्त खण्डको ठेक्का रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो । साँघुरो सडकका कारण वर्षेनी ट्राफिक जाम बढ्दै गएपछि उक्त सडकखण्ड विस्तार थालिएको हो ।

सूर्यविनायकदेखि धुलिखेलसम्म विभिन्न स्थानमा निर्माण गर्नुपर्ने पुलका लागि भने छुटै ठेक्का आह्वान गरिने आयोजनाको भनाइ छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर)मा केही परिवर्तन हुँदा पुल थप निर्माण गर्न आवश्यक पर्ने भएकाले रु एक अर्ब लागत लाग्ने आयोजनाको अनुमान हो । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०÷२० मिटरको तीन पुल, जगाति र महादेवखोला पेट्रोलपम्प नजिक निर्माण गरिने आयोजनाले जनाएको छ । यसको लागि प्रतिमिटर रु १५ लाख लागत अनुमान गरिएको हो । यसको अनुमानित लागत भने रु ९० करोड छ ।

उक्त डिपीआरअनुसार साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडक जाने–आउने लेन तलमाथि हुने भएको छ भने सर्भिस लेन निर्माण गर्न नसकिने अवस्था भएको अध्ययनले जनाएको छ । कार्यालयका अनुसार काठमाडौँबाट धुलिखेलतर्फ जाने लेन नयाँ पर्खाल लगाइनेछ भने आउने लेन पहिलेकै रूपमा रहने छ । यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाको लागि करिब एक रु अर्ब मुआब्जा दिनुपर्नेसमेत देखाएको थियो ।

यस सडकखण्डमध्ये काभ्रेपलाञ्चोकको बनेपा नगरको साँगादेखि बनेपा बजार नजिकको चण्डेश्वरी खोलासम्म भने चार दशमलव छ किलोमिटर सडकको केन्द्रविन्दूबाट दायाँबायाँ २५ गज अर्थात् २२ दशमलब ८६ मिटर कायम हुनेछ । आयोजनाको सिनियर डिभिजन इन्जिनियर राधिका प्रजापतिका अनुसार सूर्यविनायकदेखि धुलिखेलसम्म छ लेनको सडक बनाउने तयारीअन्तर्गत उक्त सडकखण्डको साँगादेखि बनेपाको चण्डेश्वरी खोलासम्म चार दशमलव छ किलोमिटर राजमार्ग दायाँबाँया २५ गते नै कायम हुने भएको हो ।

विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँ–बायाँ २५–२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो । विसं २०२१ मा सरकारले कानुन बनाएर यो मार्गमा त्यही नियमलाई कायम गर्यो । यही आधारमा सडक दायाँ–बायाँ घर बनेको बताइन्छ । बनेपा बजारमा मात्रै करिब तीन सयको हाराहारीमा घर रहेका छन् ।

सडक विस्तार सम्पन्न भएपछि पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुल्ला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्ने अनुमान गरिएको छ । हाल कोटेश्वरबाट लामा दूरीका सवारी मात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेको जनाइएको छ । काभ्रेपलाञ्चोकको पूर्वी–दक्षिणी क्षेत्र बिपी राजमार्ग हुँदै आवागमन हुने सवारी काठमाडौँ–पूर्वी तराई गर्छन् । उत्तरी नाका तातोपानी पुग्न पनि यही सडक प्रयोग हुन्छ । सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवातजावतका लागि यही सडक प्रयोग हुन्छ ।

सङ्घीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ । यी सडकबाट अरनिको राजमार्ग हुँदै प्रदेश १ र २ का नागरिकसमेत काठमाडौँ आउजाउ गर्दछन् ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ९ : ३४ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन