संघीयता र भ्रष्टाचारलाई राप्रपाले उपलब्धि मान्दैन | Khabarhub Khabarhub

संघीयता र भ्रष्टाचारलाई राप्रपाले उपलब्धि मान्दैन

‘नेता मतिभ्रष्ट भएर नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाए’


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले एउटा बेग्लै राजनीतिक एजेन्डा बोकेको छ। राप्रपा अहिलेका तमाम राजनीतिक राजनीतिक परिवर्तनलाई स्वीकार गर्दैन। राप्रपा संघीयता विरोधी शक्ति हो। उसले गणतन्त्र स्वीकार गरिराखेको छैन। उसले धर्मनिरपेक्षता खारेजीको माग गरिराखेको छ। तर विरोधाभासपूर्ण राजनीतिक एजेण्डाभित्र अलमलिएको छ। कोशी प्रदेशको राजनीतिक सङ्क्रमणको सन्दर्भ, केन्द्रीय राजनीतिमा संसदीय समितिमा लेनदेनको सन्दर्भ र नयाँ सत्ता समीकरण हुनासाथ राप्रपाले गर्ने राजनीतिक पार्टीसँगको सौदाबाजीले राप्रपाको विरोधाभास प्रष्ट हुन्छ। आखिर राप्रपा यतिबेला कुन कोणबाट अगाडि बढ्न खोजिराखेको छ ? किन आफ्नो अडानमा अडिग रहन सक्दैन ? यी र यस्तै राजनीतिक विषयमा विषयमा केन्द्रित रहेर राप्रपा महामन्त्री प्रल्हाद साहसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

पार्टीले संघीयता स्वीकार नगरे पनि कोशी प्रदेशमा पाए मुख्यमन्त्री, नपाए सभामुख वा केही मन्त्री लिएर तपाईंहरु अहिलेको सत्ता समीकरणलाई भरथेग गर्न लाग्नु भएको हो ?
राष्ट्रिय प्रजातन्त्र पार्टी संघीयता विरोधी हो। त्यस कारण यसका छुट्टै विचारहरू हुन्छन्। यो विषयमा निर्णयहरू पनि त्यस्तै किसिमले आउँछ। अहिले चलाइएका हल्लाअनुसार राप्रपाभित्र त्यस्तो कुनै समझदारी सम्झौता वा छलफल भएको छैन। यति मात्र हो संसदीय समितिहरू बन्ने क्रममा एउटा प्रक्रियामा बन्छ र सबै पार्टीहरूका मान्छेहरू त्यसको सभापति हुने गर्छन्। प्रमुख प्रतिपक्षमा बसेको एमालेले पनि तीन वटा संसदीय समितिको सभापति पाएको छ। राप्रपालाई कुनै माया गरेर, दया गरेर वा कुनै समझदारीबाट यो पद दिइएको होइन । माओवादी सांसद माधव सापकोटाले मैले राप्रपालाई त्यागेँ भन्ने कुराको आडमा यो भन्ने कुरा गलत हो। उहाँको भित्र आफ्नो कुरा होला। पार्टीगत रूपमा उहाँले त्याग गरेको देखाउनुभयो। तर राप्रपामा कुनै समझदारी भएको छैन।

पहिलो कुरा हामी राप्रपा पार्टी कुनै पार्टीको सिन्डिकेट भित्र पर्दैनौं। मुलुकमा सिन्डिकेट प्रणालीबाट चलेको छ। दलका नाम फरक भए पनि सत्तामा छुट्टै ब्यानरमा देखिन्छन्। तर तिनका नेताहरू देशको मूल समस्यामा मौन बस्ने र भ्रष्टाचार गर्ने कुरामा सबै मिल्छन् भन्ने कुरा अहिले हामीले देख्दै आएका छौँ।

अहिले तपाईंहरूलाई भाइ एमाले भन्न थाले नि ?
यो गलत हो। एमाले भन्दा पहिला निर्णय गर्ने रहेछौँ भनेर धेरै विषयमा हामीले देखाइसकेका छौँ। हामीले यो संघको सरकारमा बस्दा र छोड्दा एमाले भन्दा धेरै पहिला सरकार छोड्ने निर्णय गर्याै। राप्रपा एमालेको भाइ होइन। कुनै मुद्दामा एमालेसँग मिल्न गएको हो। सरकारलाई स्थायित्व दिनको लागि राप्रपा भएको हो। राप्रपाको छुट्टै अस्थित्व र विचार छ।

तपाईंको पार्टीका अध्यक्ष देश बाहिर भएको बेला राप्रपाको संस्थापन इतर समूहले कोशीमा समर्थन गर्ने आश्वासन दिएर संसदीय समिति सभापति लिएको भन्ने आरोप छ। अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि त्यो समूहले अप्ठ्यारो पार्याे भन्ने छ। यथार्थ के हो ?
राप्रपालाई फुटाउन, फेरी विभाजन गर्न, पहिलाको राप्रपाको उदाहरण दिँदै फेरी फुट्ने हो भन्ने शंकाको काम अब सबैले बन्द गरे हुन्छ। अब राप्रपा इतिहास बनाउने पार्टीको रूपमा अगाडि बढेको छ। पहिलाको जस्तो एकल निर्णय छैन। राजेन्द्र लिङ्देन बाहिर भए पनि सबै हाम्रो सामूहिक निर्णयमा चलेको छ।अहिले राप्रपाको अध्यक्षप्रति सबै मान्छेहरूको विश्वास बढेको छ। उहाँको नेतृत्वमा हामी अगाडि बढिरहेका छौँ। अब कसैले राप्रपाको फुट्ने कुरा परिकल्पना गर्नु भनेको परिकल्पना मात्र हो।

राप्रपामा फुट्ने भन्दा पनि तपाईंहरू कै पार्टीका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी र लोकेन्द्रबहादुर चन्दलाई अगाडि सारेर यो खालको चलखेल गरे भन्ने छ ?
यो सबै गलत हो। त्यो बैठकमा म पनि सहभागी थिएँ। त्यो बैठकमा निर्णय भएको कुरा कुनै पत्रिका वा मिडियाले लेखेन। छलफल जहाँ पनि हुन्छ। व्यापारी बसेको ठाउँमा व्यापारको छलफल हुन्छ। राजनीतिक व्यक्तिको बैठकमा राजनीतिक कुरा हुन्छ।

हाम्रो निर्णय राप्रपा एकताबद्ध भएर एक भएर अगाडी बढ्ने भनेको हो। तर पार्टीलाई बिगार्ने मान्छे वा हाम्रो पार्टीलाई फुटाउन खोज्ने मान्छेले अब नेताको वरिपरि घुमेर नेता हुन पाउँदैनन्। वडामा, गाउँपालिकामा, नगरपालिकामा गएर खट्ने र त्यहाँबाट आएको प्रतिक्रियाबाट मात्र नेता बन्न पाउँछ। नत्र साइड लाग्छ। फिल्डमा जो मान्छेको जनाधार नै छैन त्यस्ता मान्छेहरूले यो कुरालाई प्रचार मात्र गरेका हुन्। यसमा सत्यता छैन।

कोसी प्रदेशमा राप्रपाले के गर्ने ?
राप्रपामा त्यो कुरा उठान भएको छैन। किनभने मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ। काम चलाऊ सरकार छ। हामीमा सत्तामा जाने लालचा छैन। कुनै बार्गेनिङ छैन।

सङ्घीयताको प्रश्नसँग जोडिएको कुरा भयो अस्थिरता र स्थिरताको कुरा नै भएन। अहिले मध्यवधिमा गयो वा कोशी प्रदेश त्यो ढङ्गबाट असफल भयो भने त तपाईंहरूको एजेन्डा सफल हुने कुरा होला होइन ?
हामीले चाहेर मात्र संघीयता समाप्त हुँदैन। संघीयता चलिरहने कुरा हो। यदि मध्यवधि चुनावसम्म गयो भने चुनाव हुन जुन खर्च हुन्छ त्यो नेपाली जनताको पकेटबाट नै जाने हो त्यसकारण त्यसलाई टार्न खोजेको हो। दुर्घटना नहोस् भनेर। तर हामी संघीयताको विरोधी हौँ, यो खारेज हुनुपर्छ। जुन मुलुकमा संघीयताको आवश्यकता नै छैन त्यो मुलुकमा संघीयता छ। अहिले कोशीमा मात्र होइन सबै प्रदेशमा विवाद, बेथिति र आर्थिक भारको सिर्जना भएको छ। त्यस कारण यो सेतो हात्तीलाई फाल्नुपर्छ। यो लुतो जस्तो हो यसलाई फाल्नैपर्छ। नाम मात्र कोशीको हो।

कोशी प्रदेशमा यस्तो परिस्थिति निर्माण भयो। त्यहाँ बहुमत कुनै पार्टीको छैन। र बराबरको सिटमा राप्रपा एमालेलाई साथ दिन पुग्यो। ४६ सत्ताको गठबन्धनको र विपक्षको ४६ हो। त्यो भन्दा बढ्न सक्ने स्थिति कसैको छैन।

अब भक्ति सिटौला उस्तै परे मुख्यमन्त्री वा सभामुख नै हुन्छन् भन्ने कुरा आएको छ नि ?
त्यो कुरा आएको छैन। भक्ति सिटौला एउटा व्यक्ति विशेषको कुरा हामी जोडिँदैनौ। हामीलाई सभामुख वा मुख्यमन्त्री कसैको लालचा छैन। केबल यो देशबाट संघीयता खारेज हुनुपर्छ भनिरहेका छौँ। यसैलाई आधार मानेर संविधानको संशोधन हुनसक्छ भने हामी त्यता पनि जान सक्छौं भन्ने सोच हो।

आदिवासी जनताती भन्ने शब्दले त्यो वर्गभित्र सबै अटाउनु पर्ने होइन ?
हो, नेपालको मूलवासी हो आदिवासी। त्यस कारण हामी मान्न तयार छौँ। तर यो मंगोलियन भन्ने शब्द एउटा सूचीमा रहेको गोपाल किरँती चेलाचपातीले कताबाट छिराएर कसको इसारामा ल्याए थाहा भएन। यसमा इसाईको पैसाले एनजीओ बनाएर र त्यसलाई राजनीतिक रूप दिन खोजेका छन्। त्यो गलत कुरा हो। डा.गोपाल गुरुङ सिक्किमको मान्छेबाट नेपालमा इसाई करण गर्ने गरी परिचालित भएको देखिन्छ। अहिलेको सत्ताधारी गठबन्धनहरुले जुन किसिमले मलजल गरेका छन् त्यो घातक छ। यिनीहरूले त बाहुन क्षेत्रीलाई त शरणार्थी नै बनाइसकेका छन्। यिनीहरूको भाषामा बाहुन र क्षेत्री भनेको त शरणार्थी नै हो। हामी मात्र हो यो देशको मूलवासी भन्ने भएको छ।

सामाजिक सद्भावको बाटो हामीले खोज्ने हो। यति बेला सबै सम्प्रदायलाई सम्मान हुने गरी त्यो भूगोललाई मध्यमार्गी बाटो त खोज्नु पर्ला कि ?
सबै धर्मको इज्जत समान हुनुपर्छ। तर हामी धर्मान्तरको विरोधी हौं। ९२ प्रतिशत ओमकार परिवार रहेको देश हिन्दु राष्ट्र हुनु नहुने। ३० वा ५३ प्रतिशत जनसंख्या भएको अन्य मुलुकहरू मुस्लिम देश भएका छन्। तर नेपालमा ९२ प्रतिशत ओमकार रहेको देश किन हिन्दु राष्ट्र नहुने ? हाम्रा केही नेता मति भ्रष्ट भएर यो निर्णय गरियो। देशमा विभिन्न बाहनामा चर्च बन्न लागेका छन्। एउटा चर्च बन्न करोडौँ रुपियाँ लाग्छ। यो पैसा कहाँ बाट आउँछ ? जनताले त्यो बुझ्नुपर्छ। सोझा जनतालाई जुन ढङ्गले बेवकुफ बनाउन थालिएको छ। त्यो बन्द होस्।

तपाईंहरु आफै हिन्दु राष्ट्रको एजेन्डा बोकेर हिँड्ने त छिन्नभिन्न हुनुभएको छ। सबै जना एकै पटक संगठित कसरी रहन्छ ?
हामी नेपालीमा हामी आफैमा नेता बनेका छौं। अरूलाई कसैलाई नेता नै मान्दैनौ। यही कारणले हामी पछाडि परेका छौं। हामी कसैले कसैलाई नमानेका कारण अरु देशको तुलनामा हामी पछाडी छौँ। नेपालमा ८० प्रतिशत हिन्दु मान्ने मान्छे छन्। ९० प्रतिशत संघीयता विरोधी छन्। तर यहाँ संघीयता नै छ र हिन्दु राष्ट्र बन्न सकेको छैन।

तपाईंहरूले पनि एउटा एजेन्डा लगेर टुङ्गोमा पुर्याइदिए त हुन्थ्यो। संविधानमा उल्लेख भएका कुरालाई एकै पटक उल्टाउन सम्भव छ त ?
यहाँ हाम्रो प्रधानमन्त्री वा नेताहरूले हामीले पाएको उपलब्धि भन्नुहुन्छ। तर यही विकास भएको छैन। उपलब्धि भनेको आठ लाख नेपाली युवालाई हरेक वर्ष विदेश पठाएको मात्र देखिन्छ। युवालाई नेपालमा रोजगारी दिन सकेको छैन। सम्पूर्ण ठाउँमा विकास भएको छैन। भ्रष्टाचारले सीमा नाग्यो। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएका छन्। भ्रष्टाचारमा सामेललाई उन्मुक्ति दिएको अवस्था छ। भ्रष्टाचारलाई समर्थन गर्ने उपलब्धि र जातीय धन्दा फैलाउने उपलब्धि हासिल गरे। हामीले यसलाई उपलब्धि मान्दैनौ। अहिलेका भ्रष्टाचार र अनियमितताका काण्डलाई हामी उपलब्धि माान्दैनौं।

धरानबाट सुरु भएको धार्मिक असहिष्णुताको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
धरानवासीलाई मैले धन्यवाद पनि दिएँ। यो स्थिति निम्त्याउने परिस्थिति निर्माण गरियो त्यहाँ। धरानका बासिन्दा सबै जातीहरू बढो सद्भावका साथ मिलेर बसेका देखियो। कसैमा पनि विभेद देखिएन। त्यहाँ कुनै हिंसा फैलाउने किसिमको दङ्गा भएको थिएन। खुकुरी लिएर क्षेत्री बाहुनलाई काट्न तयार थिए भन्ने हल्ला फैल्याइयो। तर उहाँहरुको धैर्यताका कारण केही दङ्गा भएन।

यो गाई गोरु काटेर सामाजिक संजालमा देखाउने काम गरियो। यो एकदम गर्नु नहुने काम थियो। यो कामबाट नेपाललाई उन्नतितर्फ होइन अधोगति तर्फ लैजाने काम गरिएको हो भन्ने कुरा सबैले बुझ्दै आएका छन्। विस्तारै अप्रिय घटना टर्दै गएका छन्। धरान भनेको सम्पूर्ण जातजातीको पुण्य भूमि हो। त्यहाँ जुन द्वन्द्व फैलाउने काम गरियो त्यो गलत छ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ११ : १२ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले