काठमाडौँ– काठमाडौँको बौद्धमा शुक्रबार रोपाइ जात्रा धुमधामका साथ सम्पन्न भएको छ ।
हरेक वर्ष गाईजात्राको भोलिपल्ट बौद्धमा रोपाइ जात्रा गर्ने गरिन्छ । प्रताप मल्लको पालाबाट बनाइदै आएको रोपाई जात्रालाई आफूहरूले निरन्तरता दिँदै आएको स्थानीयहरुको भनाइ छ । झाँकी सहितको जात्रामा बौद्ध परिसरबाट रोपाइ सुरु गरेर बौद्ध परिक्रमासंगै बौद्ध पिपलबोटदेखी टुसालसम्म पुगेको थियो ।
बौद्धको रोपाइँ जात्रामा खेतमा छ्यापेको हिलोको प्रतीकका रूपमा विभिन्न रङ दली सांस्कृतिक झाँकीसहित रोपाहारले रोपेको र बाउसेले बाउसे गरेको अभिनय गर्दछन् । किसानलाई फुर्सद भएकाले रोपाइँ जात्रामा कामको थकान मेटिने मनोरञ्जन हुने व्यङ्ग्य गर्ने गरिन्छ । रोपाइ जात्राका अवसरमा बौद्धनाथ क्षेत्र विकास समिति लगायतले पुरस्कार वितरण समारोहको आयोजना गरिएको थियो ।
सो क्रममा पर्यटनमन्त्री सुदन किरातीले नेपाल संस्कृतिले धनी देश रहेको भन्दै सांस्कृतिक पर्यटनमार्फत मुलुकको समृद्धि गर्न सकिने बताए । उनले पर्यटनसँग जात्राहरु जोड्नुपर्ने भएकाले पर्व संस्कृति र जात्राहरूको मेला महोत्सव गर्ने गरि तयारी गरिएको जानकारी दिए ।
विशेषतः तामाङ, तामाङ, शेर्पा, गुरुङ, नेवार र अन्य जातिहरू समेत यसमा सहभागी हुन्छन् । धा बाजा, लाखे नाच, मकुन्डोको प्रयोग आदिले रोपाइ जात्रा तान्त्रिक, धार्मिक, सांस्कृतिक महत्वको जात्रा बनेको संस्कृतिविद्हरुको भनाइ छ ।
प्रतिक्रिया