अन्तर्वार्ता

हड्डी खिइने समस्या र यसको उपचार

By खबरहब

October 01, 2023

उमेर ढल्किँदै गएपछि अधिकांश मानिसमा देखिने एउटा समस्या हो– हड्डी खिइने। लड्ने बित्तिकै हड्डी भाँचिने पनि कतिपयमा हुनसक्छ। युवापुस्ताकै मानिसहरू पनि यो समस्याबाट पीडित हुन थालेका छन्। हड्डी खिएर अस्पताल जाने बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको चिकित्सकले बताएका छन्। यसै विषयमा आधारित भएर खबरहबका लागि अर्थाेपेडिक सर्जन डा. सरोजकृष्ण श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशः

उमेर ढल्किँदै जाँदा देखिने हड्डी खिइने समस्या कस्तो हो ? हामी मान्छेको २० देखि २२ वर्षमा हड्डी बन्छ। त्यो विस्तारै खिइँदै जान्छ। हड्डी खिइने समस्या खानपानका कारण हुन्छ। महिलामा महिनावारी रोकिएपछि हड्डी खिइँदै जान्छ। कसैको हड्डी खिइएको वा नखिइएको भनेर हामीले ए-क्सरे गरेर हेर्छौँ। हड्डीको क्वालिटी कम हुँदै जाँदा हड्डी खिइने देखिन्छ। यस्तो समस्यालाई ‘ओस्टोयोपोरोसिस’ भनिन्छ। घुँडा, कट्टी, ढाड र घाँटीको हड्डीहरू खिइन्छ। जसरी ढाडको हड्डी खिइन्छ त्यसरी नै घाँटीको हड्डी खिइन्छ।

के कारण हड्डी खिइने हो ? कसैको दुर्घटनामा चोट लागेको भए पछि गएर त्यही हड्डी खिइन सक्छ। सयौँ कारणहरू छन्। जसमा ढाडलाई निहुर्याएर भुईँबाट तौल बढी भएको सामान उठाउँदा, कुर्सीमा घुँडा खुम्च्याएर काम गर्दा, खानपान र मोटोपना, कुप्रिएर बस्दा, मोबाइल चलाउने क्रममा टाउको झुकाएर बस्दा वा टेलिभिजन आँखाको माथि भए ठाडो परेर हेर्दा पर्ने दबाबले पनि हड्डी खिइन्छ। काम गर्ने शैली, बस्ने तरिका, रहनसहन नमिले चोट लागेर अनि बाथको कारणले पनि हड्डी खिइन्छ। हड्डी खिइने कारण उस्तै भए पनि उपचार केही फरक हुनसक्छ। सुरुमा कुरकुरे हड्डी खिइन्छ। अनि मात्र दुख्छ त्यो बेला मात्र बिरामीहरू अस्पताल आउनु हुन्छ।

घरमा नै बसेर आफ्नो हड्डी खिइँदै छ भनेर थाहा पाउन सकिँदैन ? हड्डी खिइन सुरु भए कुरकुरे हड्डी खिइन थाल्छ। पलेटी मारेर बस्दा, जुत्ता राम्रो भएन भने र निहुरेर काम गर्ने गर्दा हड्डी खिइँदै जान्छ। यस्तो भयो भने अस्पतालमा गएर जाँच गराउनु पर्छ।

एक पटक भाँचिएको हड्डीलाई जोड्ने जोड्दा पहिलाको जस्तो हुन्छ ? भाँचिएको हड्डीलाई जोड्दा पहिलाको जस्तो हुँदैन। आजकल कृत्रिम जोर्नीको पनि प्रयोग गरिछ। त्यसले मान्छेलाई हिँड्न सजिलो बनाउँछ। मान्छेको लाइफ सहज बनाउने गर्छ। यसले पहिलाको जसरी नै काम गर्दछ तर अलिकति होसियार हुनुपर्दछ किनकि त्यो प्लास्टिकको सामान हो, त्यसमा खिया लाग्न सक्छ। त्यो राखेको सधैँलाई होइन। केही समयपछि फेर्नुपर्ने हुन्छ।

हड्डी खिइएको कस्तो अवस्थामा औषधि नै खाने त ? धेरै दुख्यो भने औषधि नै खाने हो। योगा गर्दा पनि पछाडिको दुखाइको लागि हामीले औषधि दिन्छौँ। त्यो व्यायाम गर्दै जाँदा दुखाइ कम हुँदै जान्छ र औषधि नखाए पनि हुन्छ।

उमेर बढ्दै जाँदा हड्डी खिइँदै जाने समस्या नहोस् भनेर के गर्न सकिन्छ ? उमेर अनुसारको हड्डी खिइँदै जान्छ। यसको लागि क्याल्सियम खानुपर्छ, वर्षमा एक पटक जाँच गर्नुपर्छ। दैनिक रूपमा व्यायाम गर्नुपर्छ। आफूलाई जसरी सजिलो हुन्छ त्यसरी व्यायाम गर्न सकिन्छ तर हड्डीलाई दुख्न नदिने गरी व्यायाम गर्नुपर्छ। योगा गर्न सकिन्छ। दैनिक रूपमा ५ देखि १५ मिनेट गर्दा धेरै दुख्ने समस्या कम हुँदै जान्छ। योगा १२ वर्षदेखि ९० वर्षसम्मकोले गर्दा हुन्छ। डाक्टरको सल्लाह अनुसार औषधि खाने, व्यायाम गर्ने, योगा गर्ने, खानपान राम्रो र सफा खाने गर्दा यो हड्डी खिइने समस्याको हल हुन्छ।