मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान | Khabarhub Khabarhub

मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

खोटाङ– किरात ऐतिहासिकस्थल मझुवागढी जाने पदमार्ग दायाँबायाँ रोपिएका विभिन्न प्रजातिका फूल अहिले ढकमक्क फुलेका छन् ।

धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी जाने फलामे रेलिङसहितको पदमार्ग दायाँबायाँ रोपिएका सयपत्री, मखमली, गोदावरी, चिचुचाङ्गे, बगान बेलिया, लालुपातेलगायत फूल ढकमक्क फुलेको देख्दा त्यहाँ पुग्ने जोकोही मानिसको मन लोभिने गरेको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको पर्यटकीयस्थल मझुवागढीलाई बहुवर्षे फूलका बिरुवा रोपेर ‘फूलैफूलको पहाड’ बनाउने अभियान तीन वर्षअघि सुरु गरिएको थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको अभियानअन्तर्गत लालीगुराँस, सुनाखरी, चाँप, जाकाराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, धुपी सल्ला, जाइफूल, कपुर, पुवाले, मसला, असारे फूल, गुलाबलगायतका २० बजारभन्दा बढी बहुवर्षे फूलका बिरुवा रोपिएका छन् ।

यसका लागि आवश्यक गुरुयोजना तयार पारेर साझा सपना पूरा गर्ने गरी सुरु गरिएको अभियान साकार बन्दै गएको मझुवागढी संरक्षण समितिका अध्यक्ष बबि चाम्लिङले बताए । 

किरात ऐतिहासिकस्थल मझुवागढी, कालिका भगवती मन्दिर तथा बुद्धेश्वर महादेव गुफा आसपासका खाली जग्गा र सो स्थानमा पुग्ने पदमार्ग आसपासका ठाउँमा बहुवर्षे फूलका बिरुवा रोपेर पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बनाउने महत्वकाङ्क्षी तर, साझा परिकल्पना गरिएको थियो ।

धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी आसपासको हाटडाँडा, डाँडाखर्क र मेघेचौतारा क्षेत्रलाई समेटेर सोभन्दा माथिल्लो भागलाई ‘फूलैफूलको पहाड’ बनाउने योजनाअन्तर्गत नगरपालिकाले बर्सेनि बजेटसमेत विनियोजन गर्दै आएको छ । 

मझुवागढी तथा कालिका भगवती मन्दिर सौन्दर्यकरणका लागि यस वर्ष प्रदेश सरकारबाट एक करोड ५३ लाख बजेटसमेत प्राप्त भएको जनाइएको छ ।

आन्तरिक पर्यटकको गन्तव्यस्थलका रूपमा विकास गर्न ‘फूलको पहाड’ बनाउने अभियान थालिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

दिक्तेलस्थित हाटडाँडाबाट करिब ४५ मिनेट पैदलयात्रापछि पुगिने धार्मिक तथा ऐतिहासिकस्थल मझुवागढीमा विसं १८०४ सम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ । 

चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, पिकनिक (वनभोज) खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्नेलगायतका व्यक्ति तथा समूह पुग्ने गरेका छन् ।

किरात ऐतिहासिकस्थल मझुवागढीको उत्तरी दिशामा बारुद ढुङ्गा र हतियार निर्माण गर्ने भट्टी रहेको छ । गढीको पूर्वमा फूलपातीडाँडा, राँगा आहल र दमाहा ढुङ्गा रहेको छ । त्यस्तै गढीको बीच भागमा मौली रहेको छ । 

उसबेला रणवीर राजाका रैतीहरूले दसैँ मान्नका लागि ल्याएका राँगा, बोका राख्ने ठाउँलाई मौली भन्ने गरिन्थ्यो । मौलीभन्दा अलिक अगाडि पूजाआजा गर्ने ठाउँ छ । त्यसको कोहीमाथि राजाको दरबार र कोट गार्ड (सुरक्षाकर्मी) बस्ने ठाउँ छ । 

गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ रहेको छ भने गढीवरिपरि बंकर घेरासमेत रहेको छ । मझुवागढीको केही तल कालिका भगवती मन्दिर रहेको छ । भगवती मन्दिरमा अहिले पनि दैनिकजसो बाख्राको पाठी बलि दिने गरिन्छ ।

मझुवागढीमा हरेक वर्षको उभौलीउधौली चाड अर्थात् बैशाखे र मङ्सिरे पूर्णिमामा पूजा गर्दै साकेला नाच्ने गरिन्छ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा साकेला नाचका साथै रामनवमी, बालाचतुर्दशी, शिवरात्रि, हरितालिका तिजलगायतका चाडपर्वमा ठूलो मेलासमेत लाग्ने गर्दछ ।

धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । मझुवागढी पर्यटकलाई लक्षित गरेर फलामे रेलिङसहितको पदमार्ग निर्माण, घाम तथा पानी परेको समयमा ओत लाग्ने स्टिलट्रस तथा आराम गर्ने स्टिलको फलैँचा र प्यास लागेको समयमा पिउनेपानीको व्यवस्था गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो ।

उच्च हिमश्रृङ्खला तथा तराईका समथर भूभागको राम्रोसँग दृष्यावलोकन गर्न सकिने मझुवागढीमा विशेषगरी शुक्रबार र शनिबार आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । 

बाह्रै महिना आन्तरिक पर्यटकको उत्तिकै चहलपहल रहने मझुवागढीमा सरकारी कार्यालय तथा शैक्षिक संस्था छुट्टी भएको समयमा अझ बढी पर्यटकको आवतजावत रहने स्थानीयवासीले बताएका छन् ।

मझुवाको अर्थमाझ अर्थात् बीच भन्ने बुझिन्छ । मझुवागढीको पश्चिम दिशामा महुरेगढी, हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा पर्छ । त्यस्तै पूर्वमा चुइचुम्मागढी दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा पर्छ भने दक्षिणमा खाम्तेल गढी हाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा पर्दछ ।

चारैतिर गढी नै गढीले घेरिएको मझुवागढी बीचमा पर्ने भएकाले उक्त ठाउँको नाम मझुवागढी भनिएको जानाकार बताउँछन् । समुद्री सतहबाट करिब दुई हजार मिटर अग्लो डाँडामा रहेको मझुवागढीबाट चारैतिरका गढी प्रस्ट देखिन्छ ।

माझकिरात भनेर चिनिने पर्यटकीयस्थल मझुवागढी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेपछि उनीहरूको आवतजावतमा सहज पार्नका लागि फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । 

तत्कालीन जिल्ला विकास समितिमार्फत सञ्चालित एसबीएलएल परियोजनाको रु ४० लाख ५० हजार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको २० लाखको लागतमा फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । 

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ९ : ३४ बजे

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही

बर्दियामा पाटेबाघ मृतावस्थामा फेला

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा