ब्रेकिङ स्टोरी

दाहाल, ओली र देउवाबीच सङ्क्रमणकालीन न्यायका विषयमा छलफल 

By खबरहब

November 01, 2023

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । 

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेताहरूबीच सङ्क्रमणकालीन न्यायको विषयमा सहमति जुटाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी नमिलेका केही विषय राजनीतिक रूपमा टुंग्याउनुपर्ने भएपछि शीर्ष नेतृत्व छलफलमा जुटेका हुन्। उनीहरूबीच झण्डै २ घण्टा छलफल भएको छ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संसद्को शान्ति तथा मानव अधिकार समितिमा छ। समितिले उपसमिति बनाएर अधिकांश विषयमा सहमति गरेका छन्। उपसमितिले सहमतिमा नै प्रतिवेदन तयार गरेको छ भने केही विषय राजनीतिक नेतृत्वले टुंग्याउन बाँकी छ ।

नेपाल भ्रमणमा रहेका बेला राष्ट्रसंघका महासचिव गुटेरेस शान्तिप्रक्रिया टुंगो लगाउन सरकार र राजनीतिक दललाई कूटनीतिक दबाब दिएका थिए। 

गत आइतबार महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा अध्यक्ष ओलीले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै कारणले शान्ति प्रक्रिया टुंगोमा पुग्न नसकेको बताएका थिए। 

गुटेरेससँगको भेटमा अध्यक्ष ओलीले गम्भीर अपराधमा आममाफी नहुने र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू र सर्वोच्च अदालतको फैसलालाई ध्यानमा राखेर शान्ति प्रक्रिया छिटोभन्दा छिटो टुंगियोस् भन्ने एमालेको चाहना रहेको बताएका थिए।

सोही प्रसंगलाई लिएर हिजो प्रधानमन्त्री प्रचण्डले विश्व समुदायको ध्यान आकर्षित गर्नुपर्नेमा केही नेताहरूले संयुक्त राष्ट्रसंघका महासचिवलाई गलत ब्रिफिङ गरेको भन्दै आपत्ति जनाएका थिए।