व्यवसायिक तोरी खेती गर्ने किसानलाई अनुदान « Khabarhub

व्यवसायिक तोरी खेती गर्ने किसानलाई अनुदान


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिकाले व्यवसायीक रुपमा तोरी खेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७९-०८० को गाउँसभाबाट स्वीकृत कृषि विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले व्यवसायीक रुपमा तोरी खेती गर्ने किसानलाई खेती गरेको क्षेत्रफल र उत्पादनको आधारमा अनुदान सहयोग उपलब्ध गराउने भएको हो ।

गाउँपालिकाको अनुदान पाउनका लागि किसानले कम्तीमा तीन रोपनी जग्गामा तोरी खेती लगाउनुपर्ने छ वा कम्तीमा दुई मुरी तोरी उत्पादन गर्नुपर्नेछ । कम्तीमा तीन रोपनी वा सोभन्दा बढी जग्गामा तोरी खेती लगाउने किसानलाई प्रतिरोपनी एक हजार र कम्तीमा दुई मुरी वा सोभन्दा बढी तोरी फलाउने किसानलाई प्रतिमुरी दुई हजार पाँच सयका दरले बिनाशर्त अनुदान उपलब्ध गराउने तयारी गरिएको गाउँपालिका अध्यक्ष समिर राईले बताए । 

गाउँपालिका अध्यक्ष संयोजक रहेको अनुगमन तथा मूल्यांकन समितिको सिफारिसका आधारमा कृषक, कृषि फर्म र कृषक समुहलाई बैंक खातामा अनुदान उपलब्ध गराइने तोरी खेती प्रोत्साहन अनुदान कार्यक्रम कार्यविधिमा उल्लेख छ । प्रतिरोपनी जग्गा बराबरको अनुदान लिने वा तोरीको मुरीको आधारमा अनुदान लिने निर्णय किसानको हुनेछ ।

‘अनुदान पाउनका लागि कम्तीमा तीन रोपनी जग्गामा तोरी खेती लगाउनुपर्छ अथवा कम्तीमा दुई मुरी तोरी उत्पादन गर्नुपर्ने हुन्छ । तीन रोपनीभन्दा थोरै जग्गामा दुई मुरी तोरी उत्पादन गर्ने किसानले पनि अनुदान पाउँछन्,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘जग्गाको क्षेत्रफलको आधारमा अनुदान लिने कि तोरीको मुरीका आधारमा अनुदान लिने भन्ने छनौट किसानको हुनेछ । जुनमा फाइदा हुन्छ किसानले त्यहीबाट अनुदान लिन सक्छन् ।’ 

व्यवसायिक तोरी खेतीका माध्यमबाट किसानलाई स्वरोजगार बनाउँदै आयातित खाने तेललाई विस्थापित गर्ने लक्ष्यका साथ गाउँपालिकाले तोरी खेती गर्ने किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो । असंगठितरूपले तोरी खेती गरिरहेका किसानलाई व्यवसायिक रुपमा तोरी खेती गर्न उत्प्रेरित गर्ने, तोरीको उत्पादन बढाउने, बजारीकरण गर्ने र गाउँपालिकालाई खाने तेलमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ तोरी किसान अनुदान कार्यक्रमअघि सारिएको हो । गाउँपालिकाको गौरवको योजनाका रुपमा ल्याइएको तोरी खेती प्रवर्द्धन कार्यक्रमले कृषकको आयआर्जनमा टेवा पुग्नुका साथै वातावरण सन्तुलनमा समेत सहयोग पुग्ने दावी गरिएको छ । खपत भएपछि बाँकी रहेको तोरीको तेललाई निर्यात गर्ने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष राईले बताए । 

सात वडा रहेको केपिलासगढी गाउँपालिकाका सबैजसो ठाउँमा तोरी खेती हुन्छ । कतिपय किसानले तेलकै लागि तोरी खेती लगाउने गरेका छन् । हालको जनसंख्यालाई आधार मान्दा केपिलासगढीमा वार्षिक साँढे छ करोडदेखि सात करोडको हाराहारीमा खाने तेल भित्रिने गरेको छ ।

खाने तेलमा बाहिरिने रकमलाई पालिकामै राख्ने वातावरणका लागि तोरी कृषकलाई अनुदान उपलब्ध गराउने कार्यक्रम ल्याइएको अध्यक्ष राईले बताए । ‘प्रांगारिक तोरीको तेललाई गाउँपालिकाको पहिचानको रुपमा स्थापित गर्ने लक्ष्य राखिएको छ । विशेषगरी युवा किसानलाई स्वरोजगार बनाउने हाम्रो अभियान हो,’ अध्यक्ष राईले भने, ‘कृषिलाई उत्पादनसँग जोडेर आयआर्जन वृद्धि गर्दै गरिबी घटाउने गाउँपालिकाको योजना हो ।’ 

तोरी खेती प्रोत्साहन अनुदानका लागि गाउँपालिकाले तोरी खेती सुचीकरण फारमदेखि निवेदनको ढाँचा तयार पारेको छ । अनुसूची फराममा किसानको नाम, ठेगाना, कित्ता नम्बर, क्षेत्रफल उल्लेख गर्नुपर्ने छ । तोरी खेती प्रोत्साहन अनुदानका लागि दुई सयभन्दा बढी किसानको आवेदन परेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  २ : ०० बजे

बाँकेमा अझै सुरु भएन धान खरिद प्रक्रिया

राँझा– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेमा धान खरिद

इरानसँग चीन र रुसको संलग्नता न्यून रहेको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वमा चीन र रुसको

प्रधानमन्त्री शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा

लुम्बिनीका निषेधित क्षेत्रका पसल २४ घण्टाभित्र हटाउन निर्देशन

काठमाडौं– लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा राखिएका पसलहरू

६३ वर्षपछि पुनर्निर्माण भयो राराको ऐतिहासिक महेन्द्र चौतारी

मुगु – कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालस्थित ऐतिहासिक