काठमाडौं– नेपालले आईसीसी यू-१९ एसिया विश्वकप छनोटको निर्णायक खेलमा यूएईलाई १ सय ९२ रनको लक्ष्य दिएको छ । यूएईको अजमानस्थित एडेन गार्डेन ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको हो ।
खराब सुरुवात गरेको नेपालका लागि कप्तान देव खनालले अर्धशतक प्रहार गरे । देवसँगै उत्तम थापा मगर र विशाल विक्रम केसीले नेपालको इनिङ्स सम्हालेका थिए । १९ रनमै सुरुवाती ३ विकेट गुमाएपछि देव र उत्तमले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरे । ओपनर दीपक बोहरा पहिलो ओभरमै खाता नखोली आउट भए । अर्का ओपनर अर्जुन कुमाल ३ र आकाश त्रिपाठी ९ रन बनाएर आउट भए ।
नेपालका लागि कप्तान देवले सर्वाधिक ५१ रन बनाउने क्रममा ८४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । विशालले ५० बल खेल्दै ५ चौका मद्दतमा ३८ रन बनाए । उत्तमले ४८ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३६ रन बनाएका थिए ।
नेपाल र यूएईले यसअघिका सबै चार खेल जितिसकेको छ ।
प्रतिक्रिया