दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

आज दिनभर तनहुँ १ उपनिर्वाचनका लागि ठूला दलले टुङ्ग्याए उम्मेदवार, रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट, मार्च महिनामा करिब एक लाख विदेशी पर्यटक भित्रिए, कोशी नामाकरणविरुद्ध जारी पहिचानवादी आन्दोलनलाई जसपाको समर्थन,फेसबुकमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउलगायत समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू :

तनहुँ– १ उपनिर्वाचनका लागि ठूला दलले टुङ्ग्याए उम्मेदवार

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँमा ठूला राजनीतिक दलको उम्मेदवारी टुङ्गो लागेको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार टुङ्गो लगाएका हुन् ।

नेपाली कांग्रेसका तर्फबाट पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उम्मेदवारी दिनेछन् । उम्मेदवारी दर्ताका क्रममा पार्टीका महामन्त्री गगनकुमार थापाको उपस्थिति रहने नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।

उम्मेदवार भट्टराई शनिबार नै गृहजिल्ला आएर कार्यकर्ता भेटघाटमा लागिसकेका छन् । उनले शनिबार आँबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका–११, आज व्यास–१ र २ मा कार्यकर्ता भेटघाट गरिसकेका छन् ।

नेकपा (एमाले) का तर्फबाट पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले उम्मेदवारी दिनेछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अर्थविद् डा स्वर्णिम वाग्लेले उम्मेदवारी दिनेछन् । उम्मेदवार वाग्ले आज तनहुँ आइपुगेका सो पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठले उम्मेदवारी दिने तय भएको सो पार्टीका जिल्ला अध्यक्ष श्रीराम कार्कीले जानकारी दिए । अन्य साना राजनीतिक दल पनि उम्मेदवार छनोटको अन्तिम तयारीमा पुगेका छन् । सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ । निर्वाचन कार्यतालिकाअनुसार तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।

मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले सबैको सहयोगबाट निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्षरूपमा सम्पन्न गर्न सकिने बताए। जिल्लाका राजनीतिक दल, सुरक्षा निकाय, पत्रकार लगायतको सहयोगबाट निर्वाचनलाई मर्यादित र भयरहितरुपमा सम्पन्न गर्न सहयोग आवश्यक रहेको उनले बताए ।

क्षेत्र नं १ बाट निर्वाचित वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको तयारी सुरु भइसकेको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलनको काम भइरहेको ढकालले बताए ।

उक्त क्षेत्रअन्तर्गतका ४२ वडामा ६९ मतदान स्थल तथा एक सय ५२ मतदान केन्द्र छन् । यो क्षेत्रमा एक सय ८५ मतदाता घटेर एक लाख २३ हजार तीन सय पाँच कायम भएको छ ।

मङ्सिर ४ गतेसम्म सो क्षेत्रमा एक लाख २३ हजार चार सय ९० मतदाता थिए । निर्वाचनमा ६६ हजार नौ सय ६५ मत खसेकामा नेपाली कांग्रेसका तर्फबाट पौडेल २५ हजार तीन सय १८ मत प्राप्त गरी विजयी भएका थिए । प्रतिस्पर्धी नेकपा (एमाले) का एकबहादुर रानाले १९ हजार नौ सय ४३ मत प्राप्त गरेका थिए ।

दक्ष जनशक्तिको उत्पादनले विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिने बताएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले प्रविधिमा भइरहेको तीव्र गतिको विकास र विस्तारको यस युगमा दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहने बताएका हुन् ।

‘विश्वविद्यालयहरूले आफ्ना पाठ्यक्रमहरूमा दिगो विकास, वातावरण संरक्षणबारे गहन अनुसन्धान र नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राखेर व्यवहारिक, जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनु आवश्यक छ ।

प्रविधिमा भइरहेको तीब्र गतिको विकास र विस्तारको यस युगमा दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहन्छ,’ उनले भने, ‘हाम्रा विश्वविद्यालयहरूले सैद्धान्तिक ज्ञान दिने मात्र नभई विद्यार्थीहरूलाई जीवनोपयोगी र व्यवहारिक ज्ञान र सीप सिकाएर आत्मनिर्भर, व्यवसायिक र उद्यमशील बन्न सक्ने गरी तयार गर्नुका साथै खोज, अनुसन्धान र आविष्कार एवं नवप्रवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्दछ। यसरी मात्र देशको समुन्नति र विकासका लक्ष्य हासिल गर्नुका साथै विश्व बजारमा पहुँच विस्तारको अवसर प्राप्त हुनेछन् ।’

रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट

राहदानी विवादका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

युवराज पौडेल सफलले सर्वोच्च अदालतमा महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट दायर गरेका हुन् । चैत ६ गते महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध राहदानी दुरूपयोगबारे मुद्दा नचलाउने निर्णय गरेका थिए ।

रिटमा तथ्यगत रुपमा पुष्टि भएको विषयमा पनि महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्तासमेतले रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हुँदा सो निर्णय उत्प्रेषणको आदेशले बदर गरी मुद्धाको निष्पक्ष रुपमा अनुसन्धान गरी मुद्दा चलाउनू भनी विपक्षीका नाममा परमादेश जारी गर्न माग गरिएको छ ।

कोरोना संक्रमण नियन्त्रणको तयारीबारे सांसदको चासो

पछिल्लो समय देशमा कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि यसको नियन्त्रणको तयारीबारे सांसदहरूले चासो राखेका छन् ।

छिमेकी देशसहित नेपालमै कोरोना संक्रमण बढ्न थालेपछि प्रतिनिधिसभा सदस्यले कोरोनाभाइरस संक्रमण नियन्त्रणको तयारीबारे चासो राखेका हुन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले कोरोनाभाइरस संक्रमणको अवस्थाबारे जानकारी मागेका हुन् ।

कोरोना संक्रमण नियन्त्रणको तयारीबारे जानकारी मागेका उनले नयाँ भेरियन्टको संक्रमण बढेकोले रोकथामका लागि सरकारको कार्यनीति के छ ? भनेर प्रश्न पनि गरेका छन् ।

मार्च महिनामा करिब एक लाख विदेशी पर्यटक भित्रिए

गत मार्च महिनामा करिब एक लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका छन् ।

सो अवधिमा सार्क राष्ट्रबाट ३३ हजार ४५४, अन्य एशियाली राष्ट्रबाट १५ हजार ६४३, यूरोपबाट २३ हजार २६५, ओसियन राष्ट्रबाट तीन हजार ९५८ जना पर्यटक नेपाल आएका छन् । साथै क्यानडाबाट एक हजार ७०७, अमेरिकीबाट नौ हजार ५५७ का साथै मिडल इस्टलगायतका देशबाट १० हजार ३७५ पर्यटक नेपाल भित्रिएका छन् ।

यस अवधिमा सबैभनदा धेरै भारतबाट २५ हजार ९११ पर्यटक नेपाल आएका छन् । जबकी गत वर्षको मार्च महिनामा भारतबाट १५ हजार १३ जना पर्यटक आएका थिए ।

अमेरिकाबाट गत वर्षको सोही अवधिमा चार हजार ८९६ पर्यटक आएकोमा यसपटक नौ हजार ५५७ जना पर्यटक आएका छन् । मार्च महिनामा भारत, अमेरिका, यूके, जर्मनी र श्रीलंकाबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । कोरोना महामारीपछि नेपालमा भित्रिने पर्यटकको सङ्ख्या सुधारोन्मुख अवस्थामा छ ।

कोशी नामाकरणविरुद्ध जारी पहिचानवादी आन्दोलनलाई जसपाको समर्थन

पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने माग राख्दै जारी आन्दोलन चर्किँदै गएसँगै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले कोशी प्रदेशको नाम परिवर्तन हुनुपर्ने जनाएको छ ।

अध्यक्ष यादवले जारी गरेको आन्तरिक सर्कुलरमा तत्कालका लागि उक्त प्रदेशको नाम प्रदेश नं १ नै कायम हुनुपर्ने र प्रदेशसभाले पहिचान अनुसारको नाम परिवर्तन गरेमा मात्र उक्त परिवर्तित नयाँ नामाकरणलाई समर्थन गरिने उल्लेख छ ।

प्रदेश नं १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्दछ भन्ने आन्दोलनको मागलाई यथोचित रुपमा सम्बोधन गर्न गराउन सरकारसँग माग गरिएको पनि सो परिपत्रमा उल्लेख गरिएको छ ।

प्रदेशको नाम कोशी राखिएपछि पछिल्ला केही दिनयता विराटनगरलगायत क्षेत्रमा नियमित प्रदर्शन भइरहेका छन् ।

फेसबुकमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

फेसबुकमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

फेसबुक ह्याक गरी अश्लिल फोटो, भिडियो राखेर महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले मोरङ धनपालथान गाउँपालिका ४ कर्सिया बस्ने सुरेश लोहनीको छोरा २२ वर्षीय दिपेश लोहनीलाई पक्राउ गरेको हो ।

उनीमाथि अध्ययनको सिलसिलामा विदेश गएकी महिलालाई दैनिक फोन म्यासेज गरी विभिन्न किसिमको धाक धम्की दिएको आरोप लगाइएको छ । उनले फेसबुक समेत ह्याक गरी हैरानी दिएको र महिलाको चरित्र हत्या गरेको प्रहरीले जनाएको छ ।

उनीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

आरआर क्याम्पसमा स्ववियु निर्वाचन चैत २७ मा हुने

काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा २७ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न सर्वपक्षीय सहमति जुटेको छ ।

आइतबार बसेको सर्वपक्षीय बैठकमा २७ चैतमा स्ववियु निर्वाचन गर्ने सहमति जुटेको हो ।

५ चैतमा विद्यार्थी संगठनबीचको विवादले स्थगित स्ववियु निर्वाचन अब सर्वपक्षीय सहमति भएसँगै २७ चैतमा हुने भएको छ ।

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ।

निगमका अनुसार आईओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा र डिजेल प्रतिलिटर ६ रुपैयाँ ८२ पैसा घटेर आएको छ।
अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ र डिजेलको १ सय ७५ रुपैयाँ छ।

भारतबाट धेरै पटक मूल्य घटेर आए पनि निगमले यसअघिको घाटा र ग्यासबाट हुँदै आएको घाटालाई पूर्ति गर्न भन्दै भाउ घटाएको छैन। आईओसीले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाउने गर्दछ ।

सुनकोसीका दीर्घरोगीलाई निःशुल्क औषधि

सुनकोसी गाउँपालिकाले मधुमेह, उच्च रक्तचाप, दम र मानसिक रोगीलाई निःशुल्क औषधि वितरण गर्न थालेको छ ।

गाउँपालिकाले सुनकोसी–५ सुनखानीबाट सो कार्यको औपचारिक सुरुआत गरेको हो । गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले औषधि वितरणको शुभारम्भ गरेका हुन्।

गाउँपालिकाले औषधि वितरणसँगै एक दिनको बृहत् स्वास्थ्य शिविर पनि आयोजना गरेको छ । काठमाडौँको ह्याम्स अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य सेवाको पहुँच नपुगेका ग्रामीण समुदायलाई लक्षित गरी वडा कार्यालयको भवनमा शिविर आयोजना गरिएको थियो ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर दीर्घरोगीलाई वडामा निवेदन दिन आग्रह गरेको थियो । सोही आधारमा गाउँपालिकाभरका चार सय बढीलाई अब पालिकाले निःशुल्क औषधि उपलब्ध गराउने गाउँपालिका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

न्यूनतम रु एक हजारदेखि बढीमा २० हजारसम्मको मासिक औषधि सेवन गर्ने बिरामी गाउँपालिकामा रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुलालले बताए ।

काठमाडौँ जाँदै गरेको बलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते

खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट)मा बा१६च ३८२५ नंको बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए । उनका अनुसार सो जिप सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । जिप सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडौँ जाँदै गरेको थियो । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

बुटवल उपमहानगरद्वारा किसानलाई कृषि उपकरण प्रदान

बुटवल उपमहानगरपालिकाले बुटवलका ग्रामीण किसानलाई कृषि सामग्री उपलब्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत बुटवल उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा मकै पकेट क्षेत्रका लागि पावर टिलर, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, मकै पिस्ने मेसिन, त्रिपाल, जैविकमललगायतका सामग्री र उपकरण उपलब्ध गराएको हो ।

बुटवल उपमहानगरपालिका–१४ मोतीगञ्जमा शनिबार आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीगञ्जमकै पकेट सञ्चालन समन्वय समितिलाई उपकरण तथा सामग्री हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा नगरप्रमुख पाण्डेयले तिनाउ पश्चिमका वडालाई कृषि उत्पादनमा अब्बल बनाउनका लागि उपमहानगरपालिकाले काम गरिरहेको बताए । नगरप्रमुख पाण्डेयले कृषि उत्पादनलाई बजारीकरण गर्नका लागि बुटवल उपमहानगरपालिकाले प्राथमिकतामा राख्ने जनाए।

बुटवल उपमहानगरपालिकाले रु ११ लाख २२ हजार अनुदान दिएर किसानलाई प्रोत्साहन गरेको उपमहानगर कृषि विकास शाखा प्रमुख सन्तोष जिसीले बताए । उनले मकै पकेट विकास कार्यक्रममा आबद्ध किसानलाई मल, बीउ, कृषियन्त्र आदिमा ५० प्रतिशत अनुदान उपमहानगरले दिएको सुनाए ।

मोतीगञ्ज मकै पकेट सञ्चालन समन्वय समितिका अध्यक्ष मुरारी खनालले पकेट क्षेत्रमा रामपुर ६, ८ र १० गरी तीन जातका हाइब्रिड र रामपुर कम्पोजिट नामको उन्नत जातका मकैखेती राम्रो उत्पादन भएको बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ८ : ५९ बजे

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक जारी

काठमाडौं– नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक काठमाडौंमा सुरु भएको

झापामा चट्याङ लागेर दुईजनाको मृत्यु

झापा– झापामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु

टी– २० विश्वकप : अफगानिस्तान सेमिफाइनलमा

काठमाडौं– आईसीसी विश्वकप टी–२० क्रिकेटमा अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

बजेटको पक्षमा मतदान गर्न एमालेको ह्वीप

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेले बजेटको पक्षमा मतदान गर्न ह्वीप