राजनीति

राजेन्द्र लिङ्देनलाई कमल थापाको आग्रह- सत्ताको खेलमा नलाग्नुहोस्, सडकमा सँगै आन्दोलन गरौँ

By खबरहब

August 02, 2023

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको नाम लिँदै सत्ताको फोहोरी खेलमा नलागी आन्दोलनको लागि सडकमा आउन आग्रह गरेका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत समारोहमा बोल्दै थापाले पार्टीको महाधिवेशनबाट पारित मार्गदर्शनअनुसार सत्ता केन्द्रित नभई विचार र आदर्श केन्द्रित भएर राप्रपा अघि बढे नेतृत्वमा पनि समस्या नहुने स्पष्ट पारे ।

थापाले भने, ‘संघीय गणतन्त्रको नाममा अहिले कायम रहेको भ्रष्ट व्यवस्थाको लागि जनआन्दोलनको विकल्प छैन । राप्रपाले सडकमा आउने हिम्मत गरोस् । हामी सँगै आन्दोलनमा जान तयार छौँ । नेतृत्व समस्याको विषय हुँदैन ।’

थापाले केशरबहादुर विष्ट ,दुर्गा प्रसाईं , किशोरी महतोलगायत विभिन्न समुहमा रहेका शक्तिहरुलाई पनि एकताबद्ध भएर आन्दोलनको आँधीबेहरी सृजना गर्ने अभियानमा संलग्न हुन आह्वान गरे । ‘अहिले हामीलाई आन्दोलन चाहिएको छ, निकास चाहिएको छ, विकास चाहिएको छ, भ्रष्टाचारको अन्त्य हाम्रो चाहना हो,’ थापाले भने, ‘अहिले हामी सबै यो आन्दोलनको सिपाहीको रुपमा रहने र पद प्रतिष्ठा गौण विषय हो ।’