नेपाली गीत संगीत क्षेत्रमा विभिन्न व्यवसायमा सक्रिय भएर पनि गीत संगीतलाई माया गर्ने स्रष्टा धेरै छन्। नेपालको एयरलाइन्स क्षेत्रको व्यवसायिक जीवन र नेपाली संगीत क्षेत्रका लोकप्रिय गायक मनोज गुरुङसँग व्यवसायिक जीवन, गीत संगीत र यसको प्रभावका विषयमा प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश :
तपाईंको गायन यात्रा कस्तो थियो ? गायनमा अहिले धेरै पुरानो जस्तो भएँ। मैले सानो उमेरमा धेरै भजन गाएँ। पछि गीत नै गाउनुपर्छ भनेर सोचेँ। मैले नेपाली गीत भन्दा हिन्दी गीतहरू गाउन थालेँ। यसले गायनको अभ्यास लामो समयदेखि भयो। २०३५ सालमा मैले रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेँ। मलाई सिके रसाइली र दीपक जङ्गलगायत सरहरूले सहयोग गर्नुभयो। २०३५ मा एउटा गीत रेकर्ड गर्न पाएँ। श्रीकृष्ण नारायण श्रेष्ठबाट तबला सिकँे। बीचमा केही समय हराए पनि अहिले फेरि संगीत क्षेत्रमा सक्रिय हुन खोजिरहेको छु।
तपाईं कसरी संगीत क्षेत्रमा लाग्नुभयो ? मेरो बाबा ब्रिटिस आर्मी भए पनि पियानोहरू बजाउने गर्नुहुन्थ्यो। मेरो आमा गीत गाउनु हुन्थ्यो। आमाले प्राय तारादेवी, अरुणा लामाको गीत गाउनु हुन्थ्यो। उहाँहरूबाट प्रेरित भएर म यो अवस्थासम्म आइपुगेको छु। पहिला मैले ‘मेरा रातहरू मलाई जिस्काउँछन्’ भन्ने गीत गाएँ। त्यसमा अमनहरि गुरुङले सङ्गीत दिनुभयो। साथमा मेरो मिल्ने साथी कृष्ण ताम्राकारको सङ्गीतमा साथ दिएका थिए।
यो क्षेत्रमा २०३५ सालदेखि अहिलेसम्म आउँदा के कस्ता परिवर्तन पाउनुभयो ? धेरै परिवर्तन भएको छ। त्यो बेला लाइभमा गाउन पाइन्थ्यो। सबै जना एकै ठाउँमा बसेर लाइमा गाउँदा रमाइलो हुन्थ्यो। स्वरको परीक्षा त्यो बेला थाहा हुन्थ्यो। तर अहिले रेकर्डिङमा गाउने चलन छ। अहिले म्युजिक कम्पोजहरू राम्रो हुन्छ।
त्यो समयमा व्यवसायिकताको हिसाबले गाह्रो थियो भनिन्छ। तपाईंले संगीतका लागि समय चाहिँ कसरी मिलाउनु हुन्थ्यो ? पहिलो कुरा त ‘इनकम’ हेर्नुपर्याे। मेरो जागिर एयरलान्यसमा थियो। मैले विमानस्थल म्यानेजर भएर काम गरेँ। काम गर्दा गर्दै केही एयरलाइन्स बन्द भए। त्यसपछि यति र बुद्ध एयर जन्मिए। अहिले यी एयरलाइन्स राम्रो छन्। तर हाम्रो बेलामा धेरै चुनौतीहरू थियो। पछि हेलिकप्टर सर्भिसमा आएँ म। मेरो अध्यक्ष विकास राणा उहाँ पनि गायक नै हुनुहुन्छ। हामी यो फिल्डमा सँगै छौँ। यसरी नै संगीत र व्यवसायिक जीवन चल्यो।
अहिले धेरै गायक गायिकाले यो क्षेत्र व्यवसायिकताको हिसाबले सहज छैन भन्छन। किन होला ? अहिले आएका गायक गायिकाहरू धेरै छन्। खर्च एकदमै छ। एउटा गीत गायो युट्युबमा हाल्यो धेरै भ्युज आउँदैन। एउटा सुटिङ गर्दा पनि धेरै खर्च लाग्छ। मैले गरेका केही गीतहरू राम्रा भए र चलेका थिए। धेरै पत्रकारले अन्तर्वार्ता पनि लिएका थिए। अहिले सबै भन्दा महत्त्वपूर्ण कुरा भ्युज नै भएको छ।
पुराना गायकका गीत मन छुने र गहकिला देखिन्छन्। अहिले भाइरलको जमाना भयो। यसलाई कसरी हेर्नु भएको छ ? अहिलेको समयलाई भाइरलै त नभनौँ। अहिलेका गीतमा मेहनत कम देखिन्छ। त्यो बेला गहकिला शब्दहरू लेख्नु हुन्थ्यो। अहिले त्यसको कमी भएकै हो।
स्वर्णिम साँझ कस्तो रह्यो ? प्रोगाम राम्रो भएको थियो। तर त्यसमा भोकल माइकमा समस्या आएको थियो। श्रोताले सुन्दा म्युजिक मात्र सुनियो। अब त्यसलाई हामीले सुधार गर्नुपर्छ।
स्वर्णिम साँझबाट कस्तो कस्तो प्रतिक्रिया पाउनु भयो ? राम्रो गायक किरण प्रधानले मलाई हामी यसरी बस्नुपर्छ र नयाँ पुस्ताले पनि हाम्रो गीतहरू गाउँछन् भन्नुभयो। यसरी अबको समयमा पनि हाम्रो गीत पनि चल्छ भन्ने कुरा गर्यौं। यसको सकारात्मक प्रभाव परेको छ। धेरै जना सहभागी हुनुभएको थियो। कार्यक्रम राम्रो भयो।
पहिलाका गायकहरू धेरै ओझेलमा परेका कारण यो स्वर्णिम साँझको स्थापना भएको हो ? अहिलेसम्म भएको छैन। तर यो दर्ता भएपछि हामीले पहिचानको खोजी गरेका छौं। ६० वर्ष माथिको गायक गायिकालाई परिचयपत्र आवश्यक छ। हामी कतै हिँड्दा तपाईं गायक हो भन्ने होस भनेर त्यसमा लागेका छौँ। यसले गर्दा नयाँ पुस्तामा पनि चिनारी हुन्छ।
यो समाज गठन गर्दा सरकार र निजी क्षेत्रबाट केही सहयोग पाउनुभयो ? अब हुन्छ होला तर अहिलेसम्म केही पाएका छैनौँ।
पहिला मिडियाको राम्रो विकास भएको थिएन। त्यो बेलाका गीतले समाजमा कस्तो परिवर्तन हुन्थ्यो ? अहिले धेरै मिडिया आएका छन्। धेरै एपहरू आएका छन्। एउटा सानो क्लिप काटेर टिकटकमा राख्दा पनि धेरै रुचाएका छन्। हामीले टिकटकमा म्युजिकको एउटा समूह बनाउँछौँ। त्यसमा हामी संसारभरका गायक गायिका नजिक भएका छौं। म फुर्सदमा टिकटकमा लाइभ आएर पनि चलाउँछु। हिन्दी कभर गीतहरु गाउँछु। पहिला भनेजस्तो लेखन सङ्गीत भए पनि धेरै राम्रोसँग दिन सकिँदैनथ्यो। अहिले र पहिलेमा फरक छ।
अहिले सामाजिक सञ्जालले गर्दा गीत चल्ने हो ? हो परिस्थिति त्यस्तै छ। अहिले भ्युज पाँच सय पुग्यो भने पनि यति जनाले हेरे भन्ने हुन्छ। राम्रो छ।
तपाईंहरूको समकालीन गायक गायिका, सङ्गीतकार वा लेखकसँग कति गीत गाउनुभयो ? अहिले मैले भर्खरै दुई वटा गीत गाएको छु। सुवासचन्द्र ढुङ्गेलको ‘जति चोट दिन्छौँ’, ‘चोट के हो बेथा के हो’। उहाँका गीत गाउने अहिले मौका पाएँ। मधुकर लोहनीजीको सङ्गीतमा। उहाँले जब सिकाउनु हुन्छ कि सबै उहाँले गीत दिएपछि घरमा आएर मैले प्राक्टिस गर्छु। मैले अहिले उहाँको सङ्गीतमा सुवासचन्द्र ढुङ्गेलको ‘मेरो घरमा लागेको आगो निभाइ ठुलो गुन लगायौँ’ भन्ने गीत गाएँ। अर्को विकास चौधरीकोमा उहाँले रेकर्डिङ गर्नुभएको सुवासचन्द्र ढुङ्गेलको नरेन्द्र प्यासीको सङ्गीत रहेको ‘उसको नामसँगै तिम्रो नाम चल्यो आज’ गाएँ ।
गायन समाजले नयाँ र पुराना गायकको सम्बन्ध स्थापित गर्ने कुरामा विश्वास गर्नुहुन्छ ? हामीले स्थापना गरेको यो संस्थामा नयाँ पुस्तालाई पनि ल्याउनुपर्छ। उहाँहरुले पनि हाम्रो गीत गाउने र हामीले उहाँहरूका गीतहरू गाउने गर्दा हामी बीचको नजिकता बढ्दै जान्छ। अहिले आएका केही गीतहरू केही दिनमा नै आउने र गइहाल्ने गरेका छन्। अब त्यस्तो नहोस्। -(एभिन्युजसँगको सहकार्यमा तयार सामग्री)