अन्तर्वार्ता

बच्चामा हुने निमोनिया र यसको उपचार

By खबरहब

October 02, 2023

निमोनिया भनेको श्वासप्रश्वास प्रणाली र फोक्सोमा हुने सङ्क्रमण हो। यसले फोक्सोमा असर गर्छ। निमोनियाको सङ्क्रमण सबैभन्दा बढी पाँच वर्षमुनिका बालबालिकालाई बढी हुन्छ। समयमा निमोनियाको उपचार नहुँदा धेरै बालबालिकाको मृत्युको प्रमुख कारणसमेत निमोनिया बनेको छ। निमोनिया धेरैजसो सूक्ष्म किटाणु जस्तै विभिन्न ब्याक्टेरिया, भाइरस र फङ्गसले गराउँदछन्। निमोनिया भनेको के हो, निमोनिया के कारणले हुन्छ ? निमोनियाको प्रकार र लक्षण के हुन् ? यी र यस्तै विषयमा आधारित रहेर खबरहबका लागि श्वासप्रश्वास रोग विशेषज्ञ डा. अमृत घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अंशः

निमोनिया भनेको के हो ? साधारण भाषामा बच्चाको छातीमा हुने ‘इन्फेक्सन’लाई निमोनिया भनिन्छ। निमोनिया सूक्ष्म कीटाणु जस्तै विभिन्न ब्याक्टेरिया, भाइरस र ढुसीले गराउँछ। बच्चालाई ज्वरो आएको छ, छिटोछिटो श्वास फेर्दछ भने निमोनिया भएको शंका गर्न सकिन्छ। एक वर्ष भन्दा सानो बच्चाले एक मिनेटमा ६० पटक भन्दा कम श्वास फेर्नु पर्दछ। दुई वर्ष भन्दा मुनिको बच्चालाले ५० पटक भन्दा कम श्वास फेर्नुपर्छ र दुई वर्ष भन्दा माथिको बच्चाले ४० पटक भन्दा कम श्वास फेर्नु पर्दछ। शिशुले छिटोछिटो श्वास फेर्यो भने निमोनिया भएको शंका गर्न सकिन्छ।

बालबालिकामा निमोनिया के कारणले हुन्छ ? कतिपय बालबालिकामा निमोनिया ब्याक्टेरिया वा भाइरल सङ्क्रमणका कारण हुनेगर्छ। अन्य कारणमा जन्मजात बालबालिकाले पाउनुपर्ने वा लगाउनै पर्ने अत्यावश्यक खोपहरू नपाए पनि निमोनिया हुनसक्छ। वातावरणमा भएको प्रदूषण वा वायु प्रदूषण भएको ठाउँमा बच्चा लामो समयसम्म खेल्ने र बस्ने गरेको छ भने पनि उनीहरुमा निमोनिया हुनसक्छ। यसका साथै बच्चा र वृद्ध वृद्धाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकोले पनि निमोनियाको समस्या हुन्छ। लामो समयदेखि रुघाखोकी लागिरहने बच्चामा निमोनियाको समस्या देखिनसक्छ।

बच्चालाई निमोनिया भएको कसरी थाहा पाउने ? सामान्य निमोनियाँ हुँदा ज्वरो आउँछ र आफै निको हुन्छ। कतिपय ब्याक्टेरियाले गर्दा भएको निमोनिया सामान्य औषधि प्रयोग गर्दा निको हुन्छ। ब्याक्टेरियाले गराउने निमोनियामा बच्चालाई आएको ज्वरो १०२ भन्दामाथि जान्छ। यो अवस्थामा एन्टिबायोटिक नै प्रयोग गर्नुपर्ने हुन्छ।

भाइरसले गराउने निमोनियामा सामान्य ज्वरो आउँछ, बच्चा खेलिरहेको हुन्छ। यस्तो निमोनिया आफै हराएर जान्छ। शिशुलाई लागेको खोकीसमेत आफै निको भएर जान्छन्।

निमोनियाका लक्षण के के हुन् ? निमोनिया हुँदा शिशुलाई खोकी लाग्ने र श्वास फेर्न गाह्रो हुने हुन्छ। छिटोछिटो श्वास फेर्ने, छातीमा घ्यारघ्यार हुने समस्या देखिन्छ। निमोनिया भएपछि बालबालिकाले खानेकुरा खान सक्दैनन्। शरीरमा कम्पन हुने, शरीरको तापक्रम कम हुने, बेहोस हुने, नङ वा ओठ निलो भएमा निमोनियाको लक्षण मान्नुपर्छ।

निमोनिया कसरी फैलन्छ ? निमोनिया धेरै तरिकाबाट फैलन्छ। जसमा धेरैजसो बालबालिकाको नाक र घाँटीमा रहेका जीवाणुहरू श्वास फेर्दा वा कुनै माध्यमले फोक्सोमा पुगे भने फोक्सोमा सङ्क्रमण हुन्छ। खोक्दा हावाको माध्यमबाट फोक्सोमा पुगेर सङ्क्रमण गराउने सम्भावना रहन्छ। वातावरणमा भएका धुलो, धूम्रपान र भीडभाडमा बसोबास गर्नेहरूलाई पनि निमोनिया धेरै हुन्छ।

बच्चा सानै हुँदा भएको निमोनिया पछि दोहोरिने सम्भावना कति हुन्छ ? सङ्क्रमण भयो भने निमोनिया दोहोरिने सम्भावना हुन्छ। तर एक पटक भएको निमोनिया निको हुन्छ। वर्षमा तीन पटक भन्दा बढी निमोनिया भएको छ, छातीको एक्सरे मा दाग देखिएको छ भने त्यस्तो निमोनियाको उपचार विधि फरक हुन्छ। अरू सामान्य निमोनिया एक पटक भएपछि फेरि हुँदैन। बच्चा सानै हुँदा निमोनिया भएर निको भएपछि त्यसले कुनै असर गर्दैन, पूर्ण रूपमा निको हुन्छ।

निमोनिया भएपछि के के कुरामा ध्यान दिने ? निमोनियाको लक्षण देखिने बित्तिकै उपचार गर्नेतर्फ ध्यान दिनुपर्छ। लक्षण देखिएपछि मान्छेहरू फार्मेसिमा गएर औषधि ल्याएर खुवाउने चलन छ। त्यस्तो गर्दा झन् असर गर्नसक्छ। त्यसको लागि पहिला त निमोनिया नै भएको हो कि होइन थाहा पाउन डाइग्नोसिस् गर्नुपर्छ। त्यसैले समयमा नै अस्पतालमा जाने, नियमित यान्टिबायोटिक खाने र समय समयमा फलोअपमा जाने गर्नुपर्छ।

बच्चाले तारन्तार उल्टी गरे, खानेकुरा नखाए, बेहोस् हुने र श्वास छिटोछिटो फेरेको छ भने तुरुन्त अस्पताल जानुपर्छ। यस्ता लक्षण देखिएको अवस्थामा लापरबाही गरेमा निमोनिया बिग्रिएर बच्चालाई अस्पतालमा भर्ना गर्नुपर्ने हुनसक्छ। निमोनिया बिग्रेपछि ब्रेनमा असर गर्दछ। सामान्यतया भाइरल निमोनिया धेरै हुन्छ। यो एकबाट अर्कोमा सर्छ। त्यसैले हामीले बच्चाको हेरचाह गरेपछि राम्रोसँग हात धुने गर्नुपर्छ। घरमा दुई वटा बच्चा भए एउटा बच्चा बिरामी छ भने अर्को बच्चालाई सँगै राख्नु हुँदैन।

निमोनिया हुनै नदिन के के कुरामा ध्यान दिने ? यसको लागि शिशुलाई निमोनियाबाट जोगाउन बीसीजी, डीपीटीलगायत खोप दिनुपर्छ। बच्चालाई रुघा लागेको वा संक्रमित व्यक्तिबाट टाढा राख्नुपर्छ। हेमोफिलस इन्फ्लुएन्जा, न्युमोकोक्कस, दादुरा, लहरे खोकीविरुद्धको खोप जन्मेदेखि १५ महिनासम्मको उमेरमा लगाउन सकियो भने निमोनियाबाट शिशुलाई बचाउन सकिन्छ।