एक्काइसौँ शताब्दीमा गान्धी विचारको सान्दर्भिकता | Khabarhub Khabarhub

सन्दर्भ : गान्धी जयन्ती

एक्काइसौँ शताब्दीमा गान्धी विचारको सान्दर्भिकता



कुनै पनि युग स्थायी हुँदैन । समय सधैँ नै चलायमान हुन्छ । जसरी हामी अगाडि बढ्दै जानेछौँ, त्यसरी नै समय पनि अगाडि बढ्दै जान्छ । सूचना तथा ज्ञानका आयाम पनि बदलिन्छन् । यसै आयामको परिणाम हो, इन्टरनेट प्रविधि र वर्तमान युगको सामाजिक सञ्जाल । यो पनि सम्भव हुन सक्छ कि वर्तमान युगको सामाजिक सञ्जाल भोलिका दिनमा हुनेछैन र यसको पनि ठाउँ कुनै नयाँ प्रविधिले लिनेछ । समय अनुसार पाइला चाल्नु नै आधुनिकता हो ।

यदि हामीले अहिलेको युगमा आफूलाई परिवर्तन गर्न सकेनौँ भने पिछडिएको मानिने छौँ । तर यो कुरा प्रविधिको क्षेत्रमा मात्रै लागू हुन्छ, विचारमाथि होइन । असल र प्रासङ्गिक विचार हाम्रो निम्ति सधैँ उपयोगी र सान्दर्भिक रहिरहनेछ ।

महात्मा गान्धीको विचार आज पनि त्यत्ति नै सान्दर्भिक छ जति एक शताब्दी पहिले थियो, जतिबेला यसको प्रतिपादन उनले गरेका थिए । गान्धीको विचारको एउटा खास विशेषता भनेको उनको सन्देशले एउटा विशेष सार्वभौमिकता बोकेको हुन्छ, तसर्थ उनको विचार कुनै एउटा देशको निम्ति मात्रै नभई पूरै विश्वको लागि प्रेरणादायक मानिन्छ । प्रत्येक समय, प्रत्येक देश र प्रत्येक अवस्थाको निम्ति उनको विचार आज पनि प्रासङ्गिक छ ।

सत्य एवं अहिंसाको विचारलाई प्रतिपादन गरेका महात्मा गान्धी मानवीय मूल्य एवं मान्यतालाई बलियो बनाउने मामिलामा पनि महान् व्यक्तित्त्व नै थिए । गान्धीको विचारलाई प्रचारप्रसार गर्ने उद्देश्यले विश्वभरि खुलेका गान्धीवादी सङ्घसंस्थाहरूले पनि सत्य एवं अहिंसाका बारेमा नै सिकाउने गरेका छन् । विश्वको जुनसुकै भाग तथा देशमा पनि यदि हिंसात्मक गतिविधि बढिरहेको छ भने त्यसमाथि रोक लगाउने एउटा मात्र अस्त्र भनेको गान्धीको सत्य एवं अहिंसाको विचार नै हो । हाम्रो नैतिक एवं धार्मिक जीवनमा पनि गान्धीको विचारको निकै ठूलो महत्व छ । यदि हामीले नैतिक र धार्मिक रूपमा पनि सत्य एवं अहिंसाको पालन गर्न थाल्छौँ भने यसको असर हाम्रो जीवनको क्षेत्रमा पनि पर्नेछ, चाहे त्यो राजनीति अथवा शासन व्यवस्था नै किन नहोस् ।

लोकतान्त्रिक व्यवस्थामा स्वराजको सपनालाई साकार गर्नु सहज काम होइन । स्वराजमा ‘स्व’को राज मात्रै स्थापित भएको छ । यथार्थमा अहिले ‘स्व’को निर्माण मात्रै भइरहेको छ । पैसा, जाति, पद, वर्ग र पुँजी आदिको रूपमा मात्रै ‘स्व’को अर्थ बुझ्नेहरूको तीव्र गतिमा प्रचार भइरहेको छ ।

तर गान्धीको शब्दमा ‘स्व’लाई एउटा राष्ट्रको रूपमा स्वीकार गरिएको छैन । गान्धीलाई संसद तथा राज्यसत्तासित कुनै दुराग्रह थिएन, तर उनी विकेन्द्रीकरण नीति अनुसार गाउँलाई बढीभन्दा बढी अधिकार दिन चाहन्थे । उनी राष्ट्रपति, मन्त्री, कमाण्डर तथा संसदलाई अपेक्षाकृत कम शक्ति दिन चाहन्थे तर त्यस्तो हुन सकेन । राजनेताहरूले लामो समयसम्म सत्तामा बसिरहनका निम्ति जनतालाई भोट लिने बेलामा मात्र स्मरण गर्न योग्य वस्तु ठान्ने काम मात्रै गरेका छन् । यस्तो अवस्थामा यो पनि मान्न सकिन्छ कि स्वराज केही क्षणको निम्ति मात्रै आयो ।

राजनीतिज्ञहरूले लोकतन्त्ररूपी स्वराजको उपयोग आफ्नो हितलाई पूरा गर्नका निम्ति मात्रै गरिरहेका छन् । फलस्वरूप जनताको मोहभङ्ग भइरहँदा यसको असर व्यवस्थामाथि पनि परिरहेको छ । आज फेरि पनि गान्धीको ‘स्वराज’को आवश्यकतालाई महसुस गरिँदैछ । एउटा नेताको स्तरमा ‘स्व’को स्तरमा नेता, समाज, देश र न्यायको स्तरमा पनि स्वराजको नियमको पालना गरिनु पर्दछ ।

गान्धीको स्वराजलाई अन्य व्यवस्थाको तुलनामा अपेक्षाकृत बढी नै जनता समर्थक मानिन्छ । आमजनताले पनि स्वच्छता, सादगी, अहिंसा तथा अपेक्षाकृत असल नागरिक बन्नका लागि स्वराजको नियमलाई पालन गर्नु आवश्यक छ ।

गान्धीको स्वराजमा गरिबी तथा निर्धनताबाट मुक्ति, पर्यावरण संरक्षण, नारी सशक्तीकरण तथा कृषि समस्याको समाधानका लागि अनेकौँ उपाय बताइएका छन् । यसका अतिरिक्त भावी पुस्ताको निम्ति शिक्षा व्यवस्था कस्तो हुनुपर्दछ र यसको निम्ति ढाँचामा समेत कोरिएको छ । यसरी स्वराजमा लोकतान्त्रिक शासन अन्तर्गत आउनसक्ने सबैखाले चुनौतीहरूको समाधानको बाटो पनि देखाइएको छ ।

वर्तमान अवस्थामा गान्धीको स्वराजलाई धरातलमा उतार्न गाह्रो छ तर केही कुरामाथि गम्भीरतापूर्वक ध्यान दिने हो भने उनको स्वराजको नजिकसम्म अवश्य पनि पुग्न सकिन्छ । यसको निम्ति लोकतन्त्रको नाममा गठित विभिन्न संस्थाहरूको भूमिकाको जाँच गर्न सकिन्छ तथा जाँचको परिणामलाई कार्यान्वयनमा ल्याएर जनताको विश्वास पनि जित्न सकिन्छ । लोककल्याणकारी समाजको स्थापना गरेर पनि केही हदसम्म स्वराज स्थापनाको दिशामा पाइला चालिएको मान्न सकिन्छ ।

लोकतान्त्रिक शासन प्रणालीमा शासक तथा व्यवस्थाप्रति असन्तोष बढ्नुको मूल कारण जनताको निम्ति बनाइएका कानून र संस्थाले जब जनताको हितविपरीत तथा निष्पक्ष भावले काम गर्दैन अनि गएर मात्रै जनतामा असन्तोष उत्पन्न हुन जान्छ । तसर्थ सरकारको काममा समानता एवं निष्पक्षता हुन आवश्यक छ । महात्मा गान्धीले जुन स्वराजको सपना देखेका थिए, त्यो आजसम्म पूरा हुन सकेको छैन ।

स्वराज प्राप्तिको निम्ति गरिबीबाट मुक्ति, महिला सशक्तीकरण, पर्यावरण संरक्षण, ग्रामीण क्षेत्र र कृषि क्षेत्रको विकासलाई अपरिहार्य मानिन्छ । गान्धीको विचारमा स्वराज भनेको व्यक्तिको आफ्नो मनको शासन हो । त्यसमा सत्याग्रह तथा आत्मबल निर्णायक साबित हुन सक्छ तर यसको उपयोग त्यतिबेला मात्रै गर्न सकिन्छ, जतिबेला हामी पूर्णरूपेण स्वदेशी वस्तुलाई उपयोग गरिरहेका हुनेछौँ । यस्तो प्रयोग हामी अन्य कसैलाई सजाय दिन अथवा विरोध गर्नका निम्ति नभई यसलाई आफ्नो कर्तव्य ठानेर यस्ता काम गर्नेछौँ ।

गान्धीको विचारमा छात्रहरूलाई जीवनगत मूल्य एवं मान्यतामा आधारित शिक्षा दिइएन भने त्यो पनि महत्वहीन नै साबित हुनेछ । गान्धीले हिन्द स्वराजमा आधुनिक सभ्यताको तिखो आलोचना गर्दै यस कुरामा बल दिएका छन् कि स्वराजको स्थापना हाम्रो सभ्यताको मूल्यमाथि आधारित हुनुपर्दछ ।

उनी पश्चिमेली सभ्यतालाई सरूवा रोग जस्तो ठान्दथे । किनभने यो भौतिक सुखमा आधारित हुन्छ तसर्थ उनी यसको अन्धो अनुकरणका विरोधी थिए तर पश्चिमा पनि राम्रो कुरालाई आफ्नो अनुकूल हुने गरी आत्मसात गर्न सकिन्छ भनेका थिए ।

पूरै विश्वमा सभ्यताको भविष्यलाई लिएर जुन बहस चलिरहेको छ, त्यसमा पनि गान्धीको विचार नै सबैभन्दा बढी प्रासङ्गिक विकासको रूपमा देखिएको छ । कुनै पनि राम्रो तथा कल्याणकारी सभ्यताको आधार धर्म, नीति तथा मूल्य नै हुने गर्दछ । मेसिन, प्रविधि तथा यन्त्रको उपयोग साधनको रूपमा मात्रै हुनुपर्दछ, यसलाई नै साध्य बन्न दिनुहुँदैन । तर आधुनिक सभ्यताको आधार मूल्य, नीति एवं धर्मको ठाउँमा आधुनिक प्रविधि बन्न गएको छ ।

मनुष्यको जीवन, आकाङ्क्षा, सुख-दुःख सफलता, असफलता, लाभ–हानि, प्रगति–पतन जस्ता मूल विषयलाई जब मूल्य एवं मान्यताको ठाउँमा प्रविधिले परिभाषित गर्न थाल्दछ अनि सभ्यतामाथि नै संकट आउन थाल्छ । हाम्रो निहित स्वार्थ एवं सङ्कीर्ण प्रतिगामी विचारलाई गान्धीले पहिलो चुनौती ठान्दथे । सर्वत्र मूल्य एवं मान्यताको क्षय भइरहेको अवस्थामा व्यक्तिले आफ्नो अन्तर्मनको कुरा सुनेर निर्णय लिनु पनि गान्धीकै ताकतको प्रतीक हो ।

यदि ताकत कुनै मूल्य हो तथा नैतिक विवेक प्रासङ्गिक हो भने गान्धीको विचार हाम्रो निम्ति प्रासङ्गिक नै छ । एक्काईसौँ शताब्दीमा पनि गान्धीवादको सान्दर्भिकता र महत्त्वलाई अस्वीकार गर्न सकिँदैन । 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  १२ : ५६ बजे

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास, विस्तार र

अवैध रूपमा अमेरिकी प्रविधि निर्यात गर्ने दुई चिनियाँविरुद्ध मुद्दा दायर

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको न्याय विभागले संयुक्त राज्य अमेरिकाको

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४