संसदमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

संसदमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले चाडपर्वमा खाद्यान्नको आपूर्ति, सडक मर्मत, कृषि उत्पादनको बजारीकरणलगायत  समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

बैठकको शून्य समयमा सांसद बिजुला रायमाझीले नेपालमा उत्पादन हुने दूध, दूधजन्य पदार्थ र माछामा आत्मनिर्भर हुँदै भारतीय आयातलाई रोक्न तथा नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न माग गरिन् । उनले नेपाली किसानले उत्पादन गरेको दूध, माछालगायत बस्तुको  उचित मूल्य निर्धारण गर्न र उखु किसानको समस्या समाधान गर्न पनि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन्।

सडक सुरक्षा परिषद् गठन गर्न माग

सांसद विद्या भट्टराईले सडक दुर्घटना नियन्त्रणका लागि छुट्टै नियमनकारी निकायका रुपमा सडक सुरक्षा परिषद् निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइन्।

उनले विश्वमा अकाल मृत्युको आठ  कारणमध्ये  नेपालमा पहिलो कारण सडक दुर्घटना बनेको छ भन्दै यस्ता दुर्घटना न्यूनीकरणका लागि दीर्घकालीन योजना ल्याउन माग गरिन्।

नेपालमा आव २०७९-८०को  तथ्याङ्कअनुसार दुई हजार तीन सय २० जनाको सडक दुर्घटनामा परी मृत्यु भएको र २८ हजार एक सय ५६ घाइते भएका छन् । असुरक्षित मापदण्डविहीन सडक, सवारीसाधनको गुणस्तर मापनमा कमजोरी र चालकको लापरवाहीका कारण दुर्घटनाबाट नागरिकका जीवन क्षति हुनु एक नियति नै बनेको सांसद भट्टराईको भनाइ थियो ।

सांसद विनिताकुमारी सिंहले माइतीघर मण्डलामा आरती साहको न्यायको लागि सङ्घर्षरतहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइन्। सांसद सुशीला थिङ्गले आरती साहको मृत्यु प्रकरण पेचिलो बन्दै गएको र मृतकका परिवारले न्याय पाउनुभन्दा उल्टै अन्यायमा परेकाले उक्त घटनाका सम्बन्धमा तत्काल छानबिन समिति गठन गर्न जोड दिइन्।

सांसद बीना लामाले नजिकिएको तिहारमा चिनीको अभाव हुन नदिन र सुपथ मूल्यमा जनतालाई चिनी उपलब्ध गराउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराइन्।

नेपाली विद्यार्थीको उद्धार गर्न माग    

सांसद विश्वप्रकाश शर्माले नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको र उनलाई कतार सरकारमार्फत कुरा गरेर उद्धार गर्न सकिने भएकाले  यो प्रक्रियामा  पहल गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

उनले भारत, बङ्गलादेश र भूटान तीन देशसँग निकट रहेको सीमानाका काँकडभिट्टामा पर्यटकको आवागमनलाई सहज बनाउनका लागि भारतसरकारसँग कुरा गरेर सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद श्यामकुमार घिमिरेले संसद्लाई प्रभावकारी ढङ्गले सञ्चालन गरिनुपर्नेमा जोड दिए।

सांसद शान्ति विकले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गरी कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराइन्। सांसद शिव नेपालीले देशभरका पर्यटकीय क्षेत्रलाई प्राथमिकतामा राखेर पर्यटन प्रवर्द्धन गरिनुपर्ने, व्यवसायमैत्री पर्यटकीय पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिए।

सांसद शेरबहादुर कुँवरले हालैको असिना पानीले सुदूरपश्चिम भेगमा किसानले लगाएको बालिनालीमा क्षति पुर्‍याएकाले पीडित कृषकलाई राहत उपलब्ध गराउन माग गरे।

सांसद शोभा ज्ञवालीले समाजमा गलत भ्रम फैलाउने तत्वलाई कानुनी दायरामा ल्याउन जोड दिइन्। सांसद सन्तोष चालिसेले बजेटमा व्यवस्था भएअनुरूप सडक र पुलपुलेसाको मर्मत प्रभावकारी हुन नसकेको गुनासो गरे।

सांसद सरस्वती बजिमयले आरती साहको मृत्यु प्रकरणबारे छानविन गर्न, उनको न्यायका लागि कानुनी प्रक्रिया अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराइन्। सांसद सरिता भुसालले नेपाली घिउको माग अन्तर्राष्ट्रिय बजारमा बढिरहेकाले निर्यात प्रवर्द्धनका लागि ध्यान दिन आग्रह गरिन्।

सांसद शान्ति चौधरीले बजारमा चिनिलगायत खाद्यवस्तु अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराइन् । सांसद सुशीला श्रेष्ठले यही कात्तिक ६ गते भोजपुरको आमचोकमा दिपचन्द्र राईद्वारा सात वर्षीया बालिकाको बलात्कार र हत्या भएको, कात्तिक ८ गते मुगुरासा नपा–५ स्थित मुन्दु गाउँमा तीन जनाको सामूहिक हत्या भएकाले यस्ता घटनाको चाँडो अनुसन्धान गरी दोषीलाई कारबाही गर्न र आगामी दिनमा त्यस्ता आपराधिक गतिविधि हुन नदिन सरकारको ध्यानाकर्षण गराइन्।

सांसद हितराज पाण्डेले संसद्को दोस्रो अधिवेशन सकिँदै गर्दा आआफ्नो कामको समीक्षा गर्न जरुरी रहेको बताए । उनले  गोरखाको च्याङ्लीमा कृषि क्याम्पस सञ्चालन गर्ने निर्णय लामो समयदेखि भए पनि अझै स्थापना नभएकामा चिन्ता व्यक्त गदै यसप्रति ध्यान दिन आग्रह गरे। 

सांसद सोविता गौतमले चाडपर्वको समयमा बजार व्यवसाय चलायमान नभएको, व्यवसायीले आफ्नो सामान बेच्न नसकेको र उपभोक्ताले महँगो सामान किन्न नसकेको अवस्थामा यसको दीर्घकालीन समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन्।

बाराक्षेत्र पुग्ने सडक मर्मत गर्न माग

 सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको प्रसिद्ध मन्दिर बाराक्षेत्र मन्दिर पुग्ने सडकखण्डअन्तर्गत चतारा कोशी पुलदेखि मन्दिरसम्म करिब तीन किलोमिटर सडकको अवस्था दयनीय रहेकाले दर्शनार्थीलाई मन्दिर पुग्न निकै सास्ती भएकाले यथाशीघ्र सडक मर्मतका लागि सरकारको ध्यानाकर्षण गराए। 

सांसद कार्कीले नेपाल मात्र नभई छिमेकी मुलुक भारतबाट पनि उल्लेख्य सङ्ख्यामा भक्तजन आउने गरेकोले उक्त क्षेत्रको सडक मर्मत गरी दर्शनार्थीलाई सहज आवतजावतको वातावरण बनाउन माग गरे ।

 सांसद हरि ढकालले किसानले उत्पादन गरेको फूलको स्वदेशमै खपत र प्रवर्द्धनका लागि सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराए । सांसदहरु सुमना श्रेष्ठ, सुनिता बराल, सूर्य थापा, सूर्यप्रसाद ढकाल, हेमराज राई, सीताकुमारी राना, सोनु मुर्मुलगायतले पनि समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराका थिए। 

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ३ : ४९ बजे

सप्तरीका अग्निपीडितलाई नगद सहयोग

सप्तरी – जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले आज जिल्लाको महादेवा

दातृ संस्थाहरुको लगानी अनुसार प्रतिफल देखिएन : मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको

६ हजार सात सय कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं – सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

कार्यान्वयनमुखी बजेट ल्याउन वित्त आयोगको सुझाव

काठमाडौं – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यान्वयनमुखी बजेट

राजनीति देश र जनताका लागि हुनुपर्छ : धनराज गुरुङ

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले राजनीति देश