तस्वीर- युट्युब/स्क्रिनग्राब

ब्रेकिङ स्टोरी

नेपालगञ्जबाट पक्राउ परे रिगल

By खबरहब

November 02, 2023

काठमाडौँ-  सर्वाेच्च अदालतले माफी दिने सरकारको निर्णय बदर गरेलगत्तै योगराज भनिने रिगल ढकाल पक्राउ परेका छन् ।

बिहीबार सर्वाेच्च अदालतले उनको कैद माफी दिने सरकारको निर्णय बदर गर्दै तत्काल पक्राउ गर्न परमादेश दिएको थियो । उक्त निर्णय र आदेशलगत्तै उनी बाँकेबाट पक्राउ परेका हुन् ।

संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कैद माफी पाएपछि गत ४ भदौमा रिहा भएका उनी पुनः पक्राउ परेका हुन् ।

बाँके नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका रिगल माफी पाएर रिहा भएपछि सरकारको चौतर्फी आलोचना भइरहेका बेला सर्वाेच्चले उनलाई माफी दिने सरकारको निर्णय बदर गरिदिएको हो ।

रिगललाई माफी दिने सरकारको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती शेर्पाले दायर गरेका रिटमा बिहीबार सुनुवाइ गर्दै कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपनाप्रधान मल्ल र कुमार चुडालको इजलासले सरकारको निर्णय बदर गर्दै रिगललाई तत्काल पक्राउ गर्न परमादेश दिएको छ ।

अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न आदेश दिएको छ ।