मदन भण्डारी विश्वविद्यालयले थाल्यो नवीन अनुसन्धानसँगै शैक्षिक कार्यक्रम « Khabarhub

मदन भण्डारी विश्वविद्यालयले थाल्यो नवीन अनुसन्धानसँगै शैक्षिक कार्यक्रम


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – कानुन जारी भएको एक वर्षपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले नेपालमै पहिलोपटक विश्वस्तरको अनुसन्धानमूलक शिक्षा दिने गरी स्नातकोत्तर र विद्यावारिधि तहमा भर्ना खोलेको छ । पहिलो शैक्षिकसत्रमा दुवै तहमा गरी जम्मा ३२ मेधावी विद्यार्थीलाई छनोट गरी भर्ना लिने तयारी गरेको उक्त स्वायत्त विश्वविद्यालयले ती तहमा निःशुल्क शिक्षा र छात्रवृत्तिको प्रबन्ध पनि गरेको छ ।

विश्वविद्यालयले स्नातकोत्तर र विद्यावारिधिमा फरेष्ट बायोमेटेरियल्स साइन्स एण्ड इन्जिनियरिङ, अग्र्यानिक एग्रिकल्चर, स्नातकोत्तरमा टुरिजम इन्फ्रास्ट्रक्चर विषयमा ती तहमा भर्नाका लागि शुक्रबार सूचना प्रकाशन गर्ने विश्वविद्यालयका अध्यक्ष प्रा डा राजेन्द्रध्व जोशीले जानकारी दिए। विश्वविद्यालयको हालसम्मको प्रगति र शैक्षिक कार्यक्रमको थालनीबारे आज सञ्चारकर्मीलाई स्थलगत जानकारी दिँदै अध्यक्ष डा जोशीले समृद्ध र न्यायिक नेपालमा योगदान दिन प्याटेन्ट राइट्स सिर्जना र उत्पादन बढाउन सहयोग पुग्ने गरी विश्वस्तरका प्राध्यापक र विद्यार्थीलाई पनि आकर्षित गरिरहेको जानकारी दिए।

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङस्थित सात सय ४० रोपनी जग्गा पहिचान गरी २०७६ वैशाख १० गते विश्वविद्यालय निर्माणका लागि पूर्वाधार विकास समिति गठन भएको थियो । विश्वविद्यालयले हाल सुविधासम्पन्न प्रयोगशालासहित चारवटा बहुद्देश्यीय भवन निर्माण गरिसकेको छ । हाल एक सय ८० रोपनी जग्गामा विश्वविद्यालयको भोगाधिकार प्राप्त भइसकेको छ ।

यो विश्वविद्यालयको सङ्गठनात्मक प्रक्रिया परम्परागत विश्वविद्यालयभन्दा पृथक रहेको छ । हाल यसको बोर्ड अफ ट्रष्टी (संरक्षक समिति) का अध्यक्ष उद्योगपति पदम ज्योति छन्, भने ट्रष्टीमा स्वदेश र विदेशका ख्यातिप्राप्त प्राध्यापक र सूचना प्रविधि विज्ञका साथै अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव र विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव पदेन सदस्य हुनुहुन्छ । यो विश्वविद्यालयमा कुलपति र उपकुलपति नरहने भएकाले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप शून्य हुने ठानिएको छ ।

नेपाल सरकारबाट यस विश्वविद्यालयका लागि रु एक अर्ब ४० करोड बजेट प्रतिबद्धता व्यक्त गरिएकामा हालसम्म रु ९५ करोड निकासा भएको छ भने व्यक्तिगत र संस्थागत गरी रु ३० लाख ७७ हजार चन्दा प्राप्त भइसकेको छ । कुनै दाताले स्नातकोत्तर तहका विद्यार्थीलाई आफ्नो नामबाट वार्षिक पूर्ण छात्रवृत्ति दिन चाहेमा रु छ लाख र विद्यावारिििध तहमा रु १० लाख सहयोग गर्न सकिने प्रबन्ध गरिएको छ ।

सो विश्वविद्यालयको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले गत साउन २२ गते ललितपुरस्थित प्राविधिक कार्यालयबाट उद्घाटन गरेका थिए । भने सङ्घीय संसद्बाट विधेयक पारित र राष्ट्रपतिबाट जारी भई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ऐन, २०७९ लाई गत साउन १८ गते नेपाल राजपत्रबाट प्रकाशन भएको थियो ।

सो विश्वविद्यालयका लागि नेपाल सरकारबाट काभ्रेपलाञ्चोकको पाँचखाल र नमोबुद्धमा एघार सय रोपनी जग्गा प्राप्तिको निर्णय भइसकेको छ । विश्वविद्यालयले मुलुकका लागि आवश्यक पर्ने सक्षम, उच्च प्राविधिक तथा अन्य विधाका आदर्शवान् जनशक्ति, वैज्ञानिक तथा विचारकको उत्पादन तथा नयाँ ज्ञान र प्रविधि सिर्जना गर्न भविष्यमा तीन हजारसम्म विद्यार्थी भर्ना लिने लक्ष्य लिएको छ ।

अध्यक्ष जोशीले कुनै पनि प्राध्यापक र कर्मचारी स्थायी नभई करारमा राख्ने र कामका आधारमा सुविधा दिने तथा कुनै पनि राजनीतिक दलीय हस्तक्षेप र सङ्गठनको गुञ्जायस नहुने स्पष्ट गरे । यहाँ विद्यावारिधिप्राप्त र अनुसन्धानमा सक्षम व्यक्तिलाई मात्रै प्राध्यापकमा राखिन्छ । सक्षम प्राविधिक र वैज्ञानिक जनशक्ति उत्पादन गरी नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी स्थानीय परिवेशअनुरूप ज्ञान र प्रविधिको सिर्जना र अनुकूलन गरी समृद्ध नेपाल निर्माणमा सघाउने उद्देश्यले विश्वस्तरीय अनुसन्धानमूलक विश्वविद्यालयको परिकल्पनासहित उक्त विश्वविद्यालय स्थापना भएकोे हो ।

उत्पादनमूलक उद्योगका लागि अनुसन्धानमा सहकार्य

विश्वविद्यालयले विज्ञान तथा प्रविधिको क्षेत्रमा संयुक्तरूपमा अध्ययन अनुसन्धानका लागि लार्के हिमाल जडीबुटी उद्योगबीच सम्झौता गरिसकेको छ भने काष्ठ उद्योगसँग अनुसन्धान सम्झौताका लागि छलफल अघि बढाएको छ ।

विश्वविद्यालयले हाइकिङ र ट्र्ेकिङ, च्याउको बीउ उत्पादन, पानीको सरसफाइ र वनमा उत्पादन हुने फोहरको प्रयोग, ललितपुर महानगरलाई पर्यटनमैत्री बनाउने आदि विषयमा अनुसन्धान सुरु गरिसकेको छ । अध्यक्ष डा जोशीले उत्पादनमूलक उद्योगका लागि आवश्यक पर्ने अनुसन्धानका लागि समझदारी गर्ने र ती उद्योगबाट विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि स्नातकोत्तर तहमा मासिक रु २५ हजार र विद्यावारिधि तहमा मासिक रु ३० हजार छात्रवृत्ति दिलाउने नीति लिइएको बताइ ।

विश्वविद्यालयले आफ्नै हातामा पाँच सय किलोवाट क्षमताको सौर्य ऊर्जाबाट प्रतिघण्टा चार सय किलोवाट बिजुली उत्पादन गरी मासिक रु दुई लाखको आम्दानी सुरु गरिसकेको छ भने किवीखेती, कृषि फार्म, हरेक भवनमा बायोग्यास, पानी भण्डारण, मौसम पूर्वानुमान उपकरण आदिको सञ्चालन गरिसकेको छ ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण (२०७६ असोज २५ र २६) का अवसरमा सो विश्वविद्यालय निर्माण सहकार्यका विषयमा समेत छलफल भएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ८ : २२ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि