लालपुर्जा पाइने भएपछि स्थानीय खुसी  | Khabarhub Khabarhub

लालपुर्जा पाइने भएपछि स्थानीय खुसी 


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम बमले एक बिघा ६ कट्ठा ऐलानी जग्गा करिब ६० वर्षदेखि भोगचलन गर्दै आएका छन् । जग्गा भएर पनि सुकुम्बासीको जस्तो जीवन बिताउन बाध्य भएका उनी यतिबेला भने खुसी छन् ।

राष्ट्रिय भूमि आयोग गठन भएर जग्गा वितरणको काम सुरु भएसँगै वडा कार्यालयबाट लालपुर्जाको निस्सा पाएपछि उनी खुसी भएका हुन् । ‘जग्गा भएर पनि सुकुम्बासीजस्तो भएर बस्नुपरेको थियो । त्यस जग्गाबाट उत्पादन गर्नुभन्दा अर्को विकल्प नहुँदा धेरै सपना मार्नुपरेको थियो  । ‘निसाद भन्छन्, ‘पहिले नै लालपुर्जा पाएको भए त्यही जग्गा बैंकमा राखेर कैयौँ काम गर्न सकिन्थ्यो होला । त्यो हुन सकेन । अब आशा जागेको छ । स्थानीय सरकारले ढिलै भए पनि लालपुर्जा वितरणको प्रक्रिया सुरु गर्दा आगामी दिनमा विगतको जस्तो समस्या आउने छैन ।’

वडा कार्यालयले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण सुरु गरेसँगै वडाभित्रका करिब छ सय परिवारमा खुसियाली छाएको छ । सोही ठाउँका मङ्गल पुनसँग कति जग्गा छ भन्ने थाहै छैन । करिब सात दशकदेखि भोगचलन गर्दै आएको जग्गा अनुमानित एक बिघाभन्दा बढी छ ।

वडा कार्यालयबाट निस्सा पाएपछि निकै खुसी भएका उनी लालपुर्जा पाउनेमा विश्वस्त छन् । ‘एक बिघाभन्दा बढी जग्गा होला । तर नापजाँच अहिलेसम्म भएको छैन । उनी भन्छन्, ‘वडा कार्यालयबाट निस्सा पाएपछि अब लालपुर्जा पाउने आशा जागेको छ । अब जग्गा कति छ भन्ने  पनि थाहा हुन्छ ।’

भ्रतापुरका खेदु डगौरा पनि चार दशकदेखि ऐलानी जग्गा कुरेर बसेका छन् । दश कट्ठा जग्गा आजसम्म आउँदा ६ कट्ठामा सीमित भएको छ । सँधियारले मिच्दै गएपछि उनको १० कट्ठा जग्गा ६ कट्ठामा सीमित भए पनि उनका लागि सबथोक त्यही जग्गा हो । ‘त्यसमा भएको उब्जनीबाट परिवारको पेट भरिन्छ, छोराछोरीको कापी कलम पनि हुन्छ,’ खेदु भन्छन् ।

वडामा ६  सय ४० जनालाई जग्गाको निस्सा वितरण भएको वडाध्यक्ष बलिराम चौधरीले बताए । उनका अनुसार २० परिवार भूमिहीन दलित, ८० परिवार भूमिहीन सुकुम्बासी र पाँच सय ४० अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण सुरु गरेको हो ।

नगरपालिकाले केही दिनमा अरु वडामा समेत भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि निस्सा वितरणको काम सुरु गर्ने नगर प्रमुख रामलाल डगौरा थारूले जानकारी दिए ।

उनले सबैभन्दा बढी समस्या वडा नम्बर १ र ८ मा रहेको र त्यहाँ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी धेरै रहेका बताउँदै क्रमशः सबैलाई जग्गाको मालिक बनाइने बताए ।

टीकापुर नगरपालिकाको वडा नम्बर १ स्थित टीकापुर बहुमुखी क्याम्पसको जग्गामा मात्रै पाँच हजारभन्दा भन्दा बढी सुकुम्बासी छन् ।

क्याम्पसको नाममा रहेको तीन सय बिघा जग्गा अतिक्रमण गरेर बसेका सुकुम्बासी त्यही ठाउँमा जग्गा पाउने आशामा छन् भने क्याम्पस प्रशासनले पटकपटक आफ्नो जग्गा खाली गराइदिन स्थानीय सरकारमार्फत आग्रह गर्दै आएको छ । त्यहाँ बसोबास गरिरहेका सुकुम्बासीलाई व्यवस्थापन गर्न भने चुनौती देखिन्छ । 

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ८ : ०० बजे

गृहमन्त्री अर्यालले भने- कानुन भन्दा माथि बस्ने छुट केपी ओलीलाई छैन 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले कानुन भन्दा माथि बस्ने छुट केपी

प्रहरी कार्यालय पुनर्निर्माण गर्न १० लाख सहयोग

बनियानी– इलाका प्रहरी कार्यालय अनारमनीको पुनर्निर्माणका लागि वैदेशिक रोजगार व्यवसायी

सुन्दर सपना बोकेर इजरायल गएका विपिन कफिनमा फर्किए

काठमाडौं- सुदूरपश्चिम विश्वविद्यालयको आठौँ सेमेस्टरमा अध्ययनरत कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का

जापान पहिलो महिला प्रधानमन्त्रीको दिशामा, नयाँ गठबन्धन बन्न तयारी

एजेन्सी– जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले सोमबार साँझ

एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण

मुस्ताङ– मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका