दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दिनभर आज कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधनः नेपालमाथिको अन्याय रोकिनुपर्छ, अराजकता फैलाउनेलाई छुट नदिजे गृहमन्त्रीको घोषणा, मन्त्री यादवद्वारा मेलम्ची खानेपानी आयोजनाको अनुगमन, टिकट चोरीको घटनामा थप एक जना पक्राउ, सवारी दुर्घटनामा दुई जनाको मृत्यु, साढे ५७ अर्ब सार्वजनिक ऋण थपियोलगायतका समाचारले प्रमुख स्थान पाए ।

कोप-२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताएका छन्।

संयुक्त अरब इमिरेट्स (युएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ९कोप–२८०को कन्फ्रेन्स अफ पार्टिजलाई सम्बोधन गर्दै उनले भने, ‘हामीमाथि भएको डरलाग्दो अन्यायका कारण हाम्रा नागरिक बाढी पहिरो, डढेलो, हिमनदी विस्फोट, खडेरीजस्ता जलवायुजन्य संकटबाट नराम्ररी प्रभावित भएका छन् ।’

आफू तीन करोड नेपालीको सन्देश लिएर यस सम्मेलनमा सहभागी भएको उल्लेख गर्दै उनले विश्वव्यापी रुपमा बढ्दो तापक्रमले हाम्रा हिमाललाई यातना दिइएको बताएका छन्। उनले भने, ‘तिनीहरुलाई पहिले बचाउनुहोस् ।’

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संयन्त्र (आइपिसिसी)ले दिएको प्रतिवेदनबाट आफूलाई सबैभन्दा बढी चिन्तित तुल्याएको उल्लेख गर्दै उनले जलवायु प्रेरित प्रकोपले हिमाली क्षेत्रमा कीर्तिमान तोडिरहेको बताएका छन्।

प्रधानमन्त्रीले हाम्रा हिमनदीका एक तिहाइ हिस्सा गुमाइसकेको र वैज्ञानिकहरूले यस शताब्दीको अन्त्यसम्म थप एक तिहाइ हिस्सा गुमाउने अवस्था बताएको यथार्थता पेस गरेका छन् । उनले यो हामी सबैका लागि जागरणको घण्टीसमेत भएको बताएका छन् ।

हिमालय मानव सभ्यता, पारिस्थितिक प्रणाली र जैविक विविधताको जग भएकाले त्यसलाई जोगाउनैपर्ने प्रधानमन्त्रीको भनाइ छ । त्यसले विश्व समुदायको सेवा गरेको र तल्लो तटीय क्षेत्रका मानिसका लागि जीविकाको प्रमुख स्रोतका रुपमा रहेको उनले स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीले नेपालमाथि भएको अन्याय अब रोकिनुपर्ने स्पष्ट धारणा राखे । संयुक्त राष्ट्र सङ्घका महासचिवले हालै गरेको नेपाल भ्रमणका क्रममा समेत ‘प्रकृति विरुद्धको युद्ध बन्द गर्’ भनी आफ्ना धारणा सार्वजनिक गरेको विषय उल्लेख गरेका छन्।

अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने र अराजकता फैलाउनेलाई छुट दिन नसकिने बताएका छन्।

भरतपुर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख समावेशी लोकतन्त्रलाई कार्यान्वयन गर्न अवरोध गर्ने स्थिति आउन नदिने बताएका छन् ।

संविधानले संस्थागत गरेको लोकतान्त्रिक प्रणालीले नागरिकलाई दिएको अधिकार सुनिश्चित गर्नुपर्नेमा गृहमन्त्री श्रेष्ठको जोड थियो । उनले भने , ‘अहिले जुन प्रकारको गतिविधि गर्न खोजिएको छ, त्यसलाई व्यवस्थामाथि नै ठूलो चुनौतीका रुपमा लिएका छैनौँ ।’ संविधान र लोकतान्त्रिक पद्धतिलाई रक्षा गर्नका लागि अझै गम्भीरतापूर्वक सरकार लागिपर्ने उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले भनेका छन्, ‘सामाजिक सञ्जाललाई बन्द गर्ने कुरा हामीले गरेका छैनौँ । एउटा टिकटकमाथि यस प्रकारको निर्णय गरिएको हो ।’ अन्य सामाजिक सञ्जाल बन्द गर्न लागेको हो भन्ने प्रश्नमा उनले थपे, ‘अरू सामाजिक सञ्जालका बारेमा चर्चा परिचर्चा भइरहेको छ । त्यो कुरा सत्य होइन । हामी नियमन गर्छौँ ।’

सामाजिक सञ्जालले लोकतन्त्र, सामाजिक एकता, व्यक्तिको एउटा स्वतन्त्र बाँच्न पाउने अधिकार, सभ्यता, संस्कृतिलाई रक्षा गर्न योगदान पुर्‍याउनुपर्ने गृहमन्त्री श्रेष्ठले बताएका छन्। उनले भने, ‘हामी स्वतन्त्रलाई कुण्ठित गर्दैनौँ । हामी यसलाई नियमन गर्ने दिशातर्फ मात्रै गइरहेका छौँ ।’

सङ्घीयताको रक्षा गर्ने, त्यसलाई अझ परिमार्जन गर्ने र कार्यान्वयनको प्रक्रियामा जाने मन्त्री श्रेष्ठको भनाइ छ ।

मन्त्री यादवद्वारा मेलम्ची खानेपानी आयोजनाको अनुगमन

खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुगेका छन् । बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उनी त्यहाँ पुगेका हुन् ।

खोला तर्दै गर्दा मन्त्री यादव भने काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ है भन्दै निर्देशनसमेत दिन थालेका थिए । मन्त्री यादवले काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउन आयोजनाका कर्मचारीलाई निर्देशन दिए पनि बाढीले मुहानलगायत क्षेत्रमा निकै ठूलो क्षति गरेकाले कहिले काठमाडौँमा पानी आउँछ भन्ने यकिन समय भन्न नसकिने अवस्थामा रहेको छ ।

उनले भने, ‘मेलम्चीको पानी काठमाडौँ पुर्‍याउने विषयमा मन्त्री लागि पर्नुभएको छ, सबैसँग छलफल भइरहेको छ, बाढीका कारण क्षति पुगेका संरचना निर्माण गरेर चाँडै पानी काठमाडौँ पुग्छ ।’

निर्माण व्यावसायीको ढिलाई र बाढीले आयोजना संरचनामा क्षति पुर्‍याएकाले पानी काठमाडौँ पठाउनका लागि केहि ढिलाई भएको मन्त्री यादवले बताएका छन्। उनले भने, ‘ठेकेदारले काम नगरेमा उपभोक्ता समितिबाट भए पनि काम गरी चाँडोभन्दा चाडो पानी काठमाडौँ पठाउन हामी लागिपरेका छौँ, एक महिना भित्रमा पानी काठमाडौँ पुर्‍याउने हाम्रो लक्ष्य हो ।’

मेलम्ची खानेपानीको मुहान स्थल हेलम्बु अम्बाथान लगायतको क्षेत्रको स्थलगत अनुगमन पछि मन्त्री यादवले बाढीका कारण मुहानलगायत क्षेत्रमा समस्या भए पनि काठमाडौँ पानी पठाउनका लागि तीव्रगतिमा काम सुरु भएको बताएका छन्। उनले भने, ‘मुहानमा बाढीलगायत विभिन्न समस्याका बाबजुद पनि अहिले काम सन्तोष जनक हिसाबले भइरहेको छ ।’

बाढीका कारण मेलम्चीका ७ नम्बर गेट, ९ नम्बर गेड, १९ नम्बर गेट र २१ नम्बर गेटमा क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको कार्यालयले जनाएको छ । क्षति पुर्‍याएका संरचना निर्माणदेखि मर्मत गरेर पानी काठमाडौँमा पठाउनुपर्ने अवस्था रहेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुवँरले बताए ।

उनले भने, ‘यति दिनमा पानी काठमाडौँ पुग्छ भन्न सक्ने अवस्था छैन, काम तीब्र गतिमा सुरु भएको छ, पानी काठमाडौँमा महिना दिनमा पुर्‍याउने आशा गरेका छौँ ।’ प्राविधिक र अन्य समस्या भएकाले यतिदिन भित्र पानी पुग्छ भन्न सकिने अवस्था नभएको र अन्य समस्या र अवरोध नआए एक महिनामा पानी काठमाडौँ पुग्ने उनको भनाइ छ ।

टिकट चोरीको घटनामा थप एक जना पक्राउ

जियोल्याण्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आइडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मर्स्याङ्दी ट्राभल्सका सञ्चालक तथा पर्वत घर भएका ४७ वर्षीय हरिप्रसाद सुवेदी रहेका सिआइबीका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रुगम कुँवरले राससलाई जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘जियोल्याण्ड ट्राभल्सको युजर आइडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा सुवेदीलाई पक्राउ गरिएको छ । उनीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिन नहुने कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ ।’

यसअघि यही मङ्सिर ६ गते ब्युरोको टोलीले सामाखुसीस्थित मस्याङ्दी ट्राभल्सका म्यानेजर नारायण सुवेदीलाई पक्राउ गरेको थियो । आरोपहरूले बालुवाटारस्थित जियोल्याण्डको युजर आइडी ह्याक गरेर जजिरा र एयर अरेबियाको टिकट चोरी गरेको आरोप छ ।

ह्याकरहरुले पटकपटक गरेर रू एक करोड ९९ लाख ८२ हजार रकम बराबरको टिकट चोरी गरेको ब्युरोको अनुसन्धानबाट खुलेको प्रवक्ता कुँवरले बताएका छन्। उनले भने, ‘अहिलेसम्म कम्तीमा पनि तीन सय ३७ नेपाली र विदेशी नागरिकका नाममा अवैध तरिकाले टिकट चोरी गरेको भेटिएको छ ।’

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

रूपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुवारी लुम्बिनी ककरहवा सडक खण्डमा आज बिहान स्कुल बसको ठक्करबाट सोही ठाउँका २१ वर्षीय मोहम्मद इरसाद र १६ वर्षीया रुबिना खातुनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए। दुर्घटनामा १७ वर्षीया अप्सना खातुनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सूर्यपुरास्थित सिद्धार्थ प्रतिभा बोर्डिङ स्कुलको लु१क १७७८ नंको बसले लु ३७प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको र एकजना घाइते भएको प्रनाउ भट्टले जानकारी दिएका छन् ।

बसको ठक्करबाट मोटरसाइकलमा सवारहरुको मृत्यु भएपछि आक्रोशित स्थानीयले स्कुलबसमा आगो लगाइदिएका छन् । बस पूर्ण रुपमा क्षति भएको छ । त्यस क्षेत्रको अवस्था अहिले सामान्य बन्दै गएको पनि प्रहरीले जनाएको छ ।

घटनापछि बसका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ । आज स्कुलका विद्यार्थी बोकेर भ्रमणमा जाँदै गरेको स्कुल बसले ठक्कर दिएर यस्तो घटना भएको जनाइएको छ ।

साढे ५७ अर्ब सार्वजनिक ऋण थपियो

चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा रू २३ खर्ब ५७ अर्ब छ करोड नाघेको हो ।

कार्यालयको गत कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार हालसम्म नेपालले तिर्न बाँकी आन्तरिक ऋण रू ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख र बाह्य ऋण रू ११ खर्ब ७३ अर्ब ७९ करोड ६६ लाख रहेको छ ।

चालु आवको चार महिनामा सरकारले आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा रू ६५ अर्ब ४५ करोड ८३ लाख र बाह्य ऋणको साँवाब्याज भुक्तानीमा रू १६ अर्ब १८ करोड ६१ लाख बराबर भुक्तानी गरेको देखिएको छ ।

यही अवधिको ऋण प्राप्तिको अवस्था हेर्दा साउनदेखि कात्तिक मसान्तसम्ममा रू ९७ अर्ब ३१ करोड बराबर आन्तरिक ऋण र रू १५ अर्ब ८५ करोड ३० बाह्य ऋण गरी कूल एक खर्ब १३ अर्ब १६ करोड ३० लाख बराबर ऋण उठाइएको छ ।

चालु आवको पहिलो चौमासिक अवधिमा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा गरेको खर्च करिब तीन गुणाले बढी छ । गत कात्तिक मसान्तसम्ममा सरकारले रू २९ अर्ब ९८ करोड ९४ लाख बराबर पुँजीगत खर्च गरेको छ ।

यही अवधिमा सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीमा भने रू ८१ अर्ब ६४ करोड ४४ लाख बराबर खर्च गरेको छ ।

कामपाको स्वर्णिम योजना कार्यान्वयनको चरणमा

काठमाडौँ महानगरपालिकाले स्वर्णिम योजनाअन्तर्गतको परम्परागत वाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले बाँसुरी वादन प्रतियोगिता आयोजन गर्ने भएको छ । कामपाले आफ्नो २९औँ वार्षिकोत्सवका अवसरमा महानगरस्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजन गर्न लागेको हो ।

यही मङ्सिर २७ गते राष्ट्रिय सभागृहमा आयोजना हुने प्रतियोगिताबाट प्रथम स्थान हासिल गर्नेलाई रु एक लाख ५० हजारका साथै शिल्डमा चाँदीको ठूलो बाँसुरी प्रदान गरिने कामपाको स्वर्णिम योजनाका सम्पर्क व्यक्ति धर्म मुनिकारले जानकारी दिए। दोस्रो हुनेलाई रु एक लाख नगद र शिल्डमा चाँदीको मझौला बाँसुरी तथा तेस्रोलाई रु ५० हजार नगदसहित शिल्डमा चाँदीको सानो बाँसुरी प्रदान गरिने उनले बताए ।

प्रतियोगितामा सहभागी हुन कामपाको सम्पदा तथा पर्यटन विभागले दर्ता फाराम उपलब्ध गराएको छ । ‘इच्छुक समूहले फारामा नाम, ठेगानासहित प्रतियोगितामा कुन बाँसुरी बजाउने ठूलो (घोर), मध्यम (माझवाल), सानो बाँसुरी ९तिप०, स्केलसहितको विवरण भर्नुपर्नेछ’, मुनिकारले भने, ‘दर्ता फाराममा टोल, गुथी वा सङ्घसंस्थाका गुरुः कजीः, नायः बाट सिफारिस गराउनुपर्छ । यसपछि वडाबाट सिफारिस गराएर मङ्सिर २० गतेभित्र विभागमा पठाउनुपर्ने छ ।’

मुनिकारका अनुसार एउटा समूहमा १२ जनाले सहभागिता जनाउन सक्नेछन् । यसमा आठजनाले बाँसुरीमात्र वादन गर्नुपर्नेछ । सकेसम्म तीनवटै बाँसुरी समावेश गर्नुपर्ने उनले बताए । यो सम्भव नभए कम्तीमा ठूलो र मध्यम वा मध्यम र सानो अनिवार्य बजाउनुपर्ने उनले जानकारी दिए।

यस्तै, दुईजनाले नेवार समुदायमा बजाइने धातुबाट बनेका बाजा सहायक बाजाका रुपमा बजाउन पाउने मुनिकारले बताए । ‘प्रतियोगीले पाँचवटा धुन छानेर पठाउनु पर्नेछ । जसमध्ये दुईवटा धुन प्रतियोगितामा बजाउनुपर्छ । पहिलो आफैँले छानेको बजाउन पाइन्छ भने दोस्रोमा गोलाबाट छान्दा जुन आउँछ, त्यही बजाउनुपर्छ’, उनले भने ।

 

 

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ९ : १४ बजे

दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र

लप्चिका स्थानीयवासीलाई गाउँमै पुगेर सीमा पास वितरण

दोलखा – दोलखा र चीनको सीमानामा पर्ने लप्चि नाकाका स्थानीयवासीलाई

वर्ल्डलिङ्कको रिट खारेज हुँदा राज्यकोषको अर्बौं रकम सुरक्षित

काठमाडौं – सर्वोच्च अदालतले वर्ल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग

चितवन – सौराहाका पर्यटन व्यवसायीहरुले सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न

स्पष्ट योजनाका साथ कार्य सम्पादन गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्पष्ट योजनाका साथ