चिसो बढेसंगै पूर्वी नवलपरासीको जनजीवन प्रभावित | Khabarhub Khabarhub

चिसो बढेसंगै पूर्वी नवलपरासीको जनजीवन प्रभावित


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कावासोती– पूर्वी नवलपरासीमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरि कुहिरो लाग्न थालेको छ । दिनभरि घाम नलागेपछि बढ्दो चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।

कुहिरोसँगै चल्ने चिसो हावाले बिहान स्थानीयवासी घर बाहिर निस्कन समस्यामा परेका छन्  । बजारमा चलहपहल कम भएको छ । वृद्धवृद्धा तथा बालबालिका सडकमा देखिँदैनन् । सधैँजसो भीडभाड हुने सरकारी कार्यालयमा पनि चिसोका कारण सेवाग्राही पातलिएका छन् । बिहानै खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका कावासोतीका व्यवसायी नारायणपसाद भुर्तेलले बताए ।

साँझपख पनि चिसो झनै बढ्न थालेपछि बजार संसाँझै सुनसान हुन थालेका छन् । यद्यपि न्याना कपडाका पसलमा भने ग्राहकको भीड बढेको उनले जानकारी दिए ।  सडकपेटीमा कपडाको व्यापार बढेको देखिन्छ उनका अनुसार स्थानीयवासीले न्याना लुगा जोहो गर्न थालेका छन् ।

बाक्लो हुस्सु र शीतका कारण पूर्व-पश्चिम राजमार्गमा यातायात सञ्चालन पनि प्रभावित भएको छ । कठ्याङ्ग्रिँदो चिसोसँगै बाक्लो हुस्सु लाग्दा सवारीसाधनको आवागमनमा असर परेको हो । बाक्लो हुस्सुले गर्दा बिहान १० मिटरभन्दा पर देख्न नसकिँने नारायाणघाट-कावासोती रुटमा चल्ने बसका चालक मनोज महतोले बताए । यसले गर्दा दुर्घटनाको जोखिम बढेको उनको भनाइ छ । 

चिसोकै कारण जिल्लामा बिरामीसमेत बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । एकाएक बढेको चिसोसँगै बिरामीको सङ्ख्या ह्वात्तै बढेको मध्यबिन्दु जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेट डा जितेन्द्र कँडेलले बताए ।  बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले थप जोखिममा भएकाले यो मौसममा उनीहरूले विशेष ख्याल पुर्‍याउनुपर्ने उनको सुझाव छ ।

बढ्दो चिसोका कारण खेतीबालीमा समेत असर पर्न थालेपछि कृषकहरू चिन्तित भएका छन् । खेतबारीमा लगाएका मुसुरो, खेसारी, आलस, रहरलगायत दलहन र तेलहन बाली र काउली, गोलभेँडा, मटरलगायत तरकारी बाली प्रत्यक्षरूपमा चिसोबाट प्रभावित भएको कावासोती-११ का किसान हाँसीराम महतो बताए । 

आलु, गोलभेँडाको खेती पछिल्ला दशकमा व्यवसायिकरूपमा भइरहे पनि बर्सेनि चिसोको  प्रकोपबाट यी बाली जोगाउन किसानलाई मुस्किल हुने गरेको छ । यो रोगबाट जोगाउन कतिपय किसानले ‘टनेल’ बनाएर त्यसमुनि गोलभेँडालगायत तरकारी बालीको खेती गर्ने गरेका पनि छन् । टनेलको व्यवस्थापन गर्न नसक्ने कतिपयले विषादी पनि छर्किने गरेका छन् । यस्तो अवस्थामा विषादी प्रत्येक सात-आठ दिनको फरकमा छर्किन सकेमा मात्र बोली जोगाउन सकिने सल्लाह कृषि प्राविधिकले दिने गरेका छन् । पटक-पटक विषादी किनेर छर्किनका लागि कमजोर आर्थिक अवस्था भएका किसानलाई क्षमता नहुँदा उनीहरूलाई बाली जोगाउनै मुस्किल छ ।

रातिको तापक्रम पाँच डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने तथा चिसो मौसमको अवस्थामा रहने हुँदा ढुसी सक्रिय हुन गई बोटमा चिसोको सङ्क्रमण देखिने गरेको कृषि प्राविधिकको भनाइ छ । लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो भइरहँदा ओसिलो जग्गामा गरिएको आलु, गोलभेँडालगायतको बालीमा चिसोको सङ्क्रमणको समस्या हुने गरेको कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  १० : ३६ बजे

एसिया कप : अफगानिस्तानमाथि बंगलादेश ८ रनले विजयी

काठमाडौं – एसिया कपमा बंगलादेशले अफगानिस्तानमाथि ८ रनको जित निकालेको

आज विश्वकर्मा पूजा गरिँदै : धातुजन्य उपकरणको पूजा

काठमाडौं – आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

जेनजी शहीदको सम्झनामा आज देशभर सार्वजनिक बिदा

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असोज १ गते बुधबार। कन्या