अझै बन्न सकेन काठेखोला गाउँपालिकाको भवन | Khabarhub Khabarhub

अझै बन्न सकेन काठेखोला गाउँपालिकाको भवन


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन-काठेखोला गाउँपालिकाले प्रशासनिक भवन निर्माण गर्ने चर्चा चल्न थालेको पाँच वर्ष पूरा भयो । आफ्नै भवन बनाउनेभन्दा भन्दै जनप्रतिनिधिले एक कार्यकार सकाए । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट पालिकाले नयाँ नेतृत्व पायो तर प्रशासनिक भवन भने पाउन सकेन । करिब छ वर्ष अगाडि बिहुँकोट सुलडाँडामा घर भाडामा लिएर प्रशासनिक कामकाज सुरु गरेको काठेखोलाले अहिले पनि सोही घरबाटै काम गरी रहेको छ ।

उक्त घरमा पनि पर्याप्त कोठा नहुँदा विभिन्न शाखा गाउँपालिकाले भीमशेन प्राविको भवनबाट सञ्चालन गरेको छ । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको यो गाउँपालिका अन्य पालिकाभन्दा सुगममा पर्छ । दुर्गमका पालिकाले आफ्नै भवन निर्माण गरेर काम सुरु गरी सक्दा काठेखोलाले कहाँ प्रशासनिक भवन बनाउने विषयमा टुङ्गोसमेत लगाउन सकेको छैन । भवन निर्माणका लागि जनप्रतिनिधिले चासो नदिएका भने होइनन् ।

स्थानीय पालिका गठनका चरणमा जिल्लास्तरीय संयन्त्रले प्रशासनिक भवन बनाउन स्थान तोक्ने क्रममा त्रुटि गर्दा अहिले समस्या परेको जनप्रतिनिधिको बुझाइ छ । तत्कालीन समयमा जिल्लास्तरीय संयन्त्रले अहिले कार्यालय सञ्चालन भएको सुलडाँडा र वडा नम्बर २ स्थित अक्षते बजारमा प्रशासनिक भवन बनाउने निर्णय गरेको थियो । लामो समयदेखि प्रशासनिक भवन निर्माणका विषयमा भेगिए विवाद हुँदा अहिलेसम्म काम रोकिएको हो । गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले जग्गा व्यवस्थापनका लागि सूचना आह्वान गरेको सात स्थानमा जग्गा उपलब्ध गराउने आवेदन आएको बताए।

भवन निर्माणका लागि दुई स्थानमा निःशुल्क, दुई स्थानमा सशुल्क र तीन स्थानमा सार्वजनिक जग्गा उपलब्ध गराउने निवेदन दिएको विकले जानकारी दिए । जिल्लास्तरीय संयन्त्रले भवन निर्माणका लागि कुनै एक ठाउँ तोकेर निर्णय गरेको भए अहिलेसम्म पालिकाको आफ्नै भवन बनि सक्ने विकले बताउँछन् ।

उनी भन्छन्,“भवन निर्माणका लागि धेरै पटक छलफल भयो, सबै दल र सबै क्षेत्रका नागरिकसँग कुरा गर्‍यौँ, तर अहिलेसम्म निचोडमै पुग्न नसक्दा समस्या परेको हो, पहिले कि अक्षते कि यहीँ ठाउँमा भवन बनाउने निर्णय भएको भए अहिलेसम्म पालिकाले आफ्नै भवन बनाइ सक्थ्यो ।”

गाउँपालिकाले प्रशासनिक भवन बनाउन नसक्दा वार्षिक रु सात लाख २६ हजार गुमाइरहेको छ । हरेक महिना पालिकाले रु ६० हजार पाँच सय कार्यालय भाडा तिर्दै आएको छ । गाउँपालिकाका अध्यक्ष राजु थापाले चैतसम्म कुनै पनि हालतमा जग्गा व्यवस्थापन गरी सक्ने जिकिर गरे । सर्वदलीय सहमतिका आधारमा जग्गा व्यवस्थापनपश्चात् विशेष गाउँसभा गरी भवन कहाँ बनाउने भन्ने विषयमा निर्णय गर्ने अध्यक्ष थापाले बताए ।

“हामीहरु निर्वाचित भएर आएदेखि भवन निर्माणका विषयमा गम्भीर भएर लागेका छौँ, जनतालाई सहमतिमा ल्याएरै काम अगाडि बढाउँछौँ”, अध्यक्ष थापाले भने, “केही ठाउँमा जग्गा पनि दिने कुरा आएको छ, जहाँ उचित हुन्छ त्यहाँ कार्यालय बनाउँछौँ, सबैलाई मिलाएर लैजानु पर्‍यो, अब छिट्टै नै यसको टुङ्गो लगाउँछौँ र काम गर्छौँ ।” सुलडाँडा र अक्षते १५ मिनेटको दूरीमा पर्छन् । अक्षतेमा सानो बजार रहेको छ । जुन मध्यपहाडी लोकमार्गमै पर्छ । अहिले कार्यालय रहेको सुलडाँडा भने लोकमार्गभन्दा केहीमाथिपट्टि पर्छ । अहिले गाउँपालिकामा सेवा लिन आएका सेवाग्राही एकै ठाउँमा सबै शाखा नहुँदा छुट्टाछुट्टै ठाउँमा जानुपर्ने बाध्यतामा छन् ।

काठेखोलासँगै जैमिनी नगरपालिका पनि अहिलेसम्म भाडाकै घरमा कार्यालय सञ्चालन गरिरहेको छ । नगरपालिकाले गत वर्षदेखि वडा नम्बर २ कुश्मिसेरा बजारमै आफ्नै भवन बनाउँदै छ । गत वर्ष फागुनदेखि भवनको निर्माण सुरु भएको थियो । रु १२ करोड १७ लाखमा निर्माण हुँदै गरेको भवन अहिलेसम्म १८ प्रतिशत मात्रै काम पूरा भएको छ । भवन आगामी २०८१ असार मसान्तसम्म सम्पन्न हुने नगरपालिकाले जनाएको छ । हाल नगरपालिकाले रु एक लाख तीन हजार मासिक भाडा तिरेर कार्यालय सञ्चालन गरेको छ ।

जिल्लाको ढोरपाटन नगरपालिका पनि अहिलेसम्म भाडाकै घरमा कार्यालय सञ्चालन गर्दै आएको छ । नगरपालिकाले वडा नम्बर १ को बुर्तिबाङ बजारमै भवन निर्माण गरिरहेको छ । अहिलेसम्म ४० प्रतिशत काम सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । नगरपालिकाले हरेक महिना मासिक रु एक लाख ३० हजार भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको छ ।

बागलुङ नगरपालिकाको रातमाटामा करोडौँको भवन भए पनि हाल कृषि ज्ञान केन्द्रको कार्यालयबाट कामकाज चलाएको छ । गलकोट नगरपालिकाले पनि भाडाकै घरमा कार्यालय सञ्चालन गरेको छ । नगरपालिकाले यस वर्षदेखि वडा नम्बर ६ को मजुवा फाँटमा रु १४ करोडको लागतमा प्रशासनिक भवन निर्माण गर्दैछ । नगरपालिकाले कार्यालय सञ्चालनका लागि मासिक रु एक लाख बढी भाडा तिर्दै आएको छ ।

जिल्लाको निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाले आफ्नै भवनबाट कार्यालय सञ्चालन गरेका छन् भने बडिगाड गाउँपालिकाले पनि आफ्नै प्रशासनिक भवन निर्माण गरिसकेको छ । केही दिनमै नयाँ भवनबाट सेवा शुभारम्भ गर्ने गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ८ : ३४ बजे

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध

बझाङ । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध

भारतीय वायुसेनाको प्रदर्शनमा गर्मीका कारण पाँच जनाको मृत्यु

नयाँदिल्ली – दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना ९आइएएफ० को

पाकिस्तानमा आतंककारीको हिंसा बढ्दै

काठमाडौं – सन् २०२४ को तैस्रो त्रैमासमा पाकिस्तानमा आतंककारी हिंसा

तुर्कमेनिस्तानमा पुटिनले इरानी राष्ट्रपतिसँग भेट्ने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मध्य एसियाली मुलुक

रेलका वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय स्थापना गर्न जोड

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र