भारतीय चलचित्रमा नेपाली कलाकार देख्न चाहन्छु : निर्देशक द्विवेदी « Khabarhub

भारतीय चलचित्रमा नेपाली कलाकार देख्न चाहन्छु : निर्देशक द्विवेदी


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ललितपुर – भारतीय चलचित्र निर्देशक डा चन्द्रप्रकाश द्विवेदीले नेपाली कलाकारलाई आफूले भारतीय चलचित्रमा देख्न चाहेको बताएका छन् ।

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आइतबार साँझ आयोजना गरेको अन्तरक्रियामा उनले नेपाल र भारतबीच भाषा र संस्कृतिमा धेरै समानता रहेको भन्दै नेपाली कलाकारले भारतीय चलचित्र क्षेत्रमा काम गर्न सक्ने धारणा राखे ।

“भारतमा विभिन्न देशबाट आएर चलचित्र क्षेत्रमा स्थापित भएका कलाकार प्रशस्तै छन्”, उनले भने, “तर नेपाली कलाकारको सङ्ख्या न्यून छ, जबकी हामीबीचको भाषा र संस्कृति धेरै हदसम्म मिल्छ ।”

अभिनेता तथा लेखक समेत रहनुभएका डा द्विवेदीले आफूले निर्माण गर्ने आगामी दुई चलचित्रको अडिसन नेपालमा गर्ने समेत स्पष्ट पारे । उनले ती चलचित्रको स्क्रिप्ट लेखन जारी रहेको र नेपाली कलाकारलाई अभिनय गराउने बताए ।

उनले धेरै समयअघि भारतीय अभिनेता अमिताभ बच्चनलाई नेपालमा ल्याएर सुटिङ गर्ने योजना बनाएको स्मरण गरे । “अमिताभ बच्चनलाई सुटिङ गराउन नेपाल ल्याउनका लागि केही लोकेसन पनि हेरेँ, तर विमानस्थलको भिडले छायाङ्कन गर्न सकिन्न कि भन्ने लाग्यो”, उनले भने, “अहिले आएर म गलत थिए कि भन्ने लागिरहेको छ ।”

उनले आफू सन् २००४ मा नेपाल आएको र चितवनबारेमा भारतीय चलचित्रमा उल्लेख गरेको बताए । डा द्विवेदी निर्देशित सन् १९९१ मा प्रशारण भएको टेलीशृङ्खला ‘चाणक्य’बाट चर्चा कमाएका थिए । चाणक्यमा उनले लेखन तथा अभिनय समेत गरेका थिए । अन्तरक्रियामा उनले चलचित्रसम्बन्धी तीन दशक लामो अनुभवका विषयमा चर्चा गरेका थिए ।

अन्तरक्रियामा अभिनेता राजेश हमाल, अभिनेत्री सुरक्षा पन्त, निर्देशक कुमार भाष्कर, नरेश पौडेल, पुर्नेन्दु झाका साथै अभिनेता कमलमणी नेपाल, भोलाराज सापकोटा, लेखक समीप्याराज तिमल्सेनालगायतको उपस्थिति थियो ।

अभिनेता हमालले निर्देशक द्विवेदीलाई नेपालमा स्वागत गर्दै भारतीय चलचित्रको विषयमा चर्चा गरेका थिए । “नेपालमा चलचित्रकै माध्यमबाट केही मात्रामा भए पनि हिन्दी भाषा बुझ्नेहरु हुनुहुन्छ”, उनले द्विवेदीलाई भने, “तपाईंहरुको कामको यहाँ पनि चर्चा हुन्छ ।” हमालले चलचित्रका माध्यभबाट नेपाली र भारतीय कलाकार जोडिएको भनाइ व्यक्त गरे।

निर्देशक डा द्विवेदीले चलचित्र पिञ्जर, जेड प्लस, मोहल्ला अस्सी, सम्राट पृथ्वीराज र टेलीशृङ्खला मृत्युञ्जय, एक और मोहब्बत, उपनिषद गङ्गा, सुराज्य संहिताको निर्देशन गरेका छन् । उनले सन् २०२२ मा प्रदर्शन भएको भारतीय चलचित्र ‘राम सेतु’ मा अभिनेता अक्षय कुमारसँग निर्माणमा सहकार्य गरेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  १ : ०८ बजे

तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक, प्राकृतिक फूलका लागि २६ स्थान तोकिए

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले तिहारमा प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्रीको बिक्रीवितरणमा

सभामुख अर्यालको उपस्थितिमा आईपीयू क्षेत्रीय सम्मेलनबारे उच्चस्तरीय छलफल, संसदीय कूटनीति प्रवर्द्धनमा जोड

काठमाडाैँ – अन्तरव्यवस्थापिका संघ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको

जनकपुर बोल्ट्स र विराटनगर किंग्सका समर्थक (तस्बिरहररु)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीचको

निजी क्षेत्रको लगानीलाई प्रतिस्पर्धी नभई परिपूरक बनाउनुपर्छ : उपाध्यक्ष भट्ट

काठमाडौँ– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले मुलुकको विकासलाई सन्तुलित,

नेपाली कम्युनिस्ट र नेकपाबीच एकता, १० बुँदे सहमतिपत्रमा हस्ताक्षर 

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने