लागतको पर्खाइमा म्याग्दीको सौरबोट « Khabarhub

लागतको पर्खाइमा म्याग्दीको सौरबोट


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गलेश्वर- आयआर्जन हुने प्रशस्तै स्रोत र सम्भावना रहेर पनि सरोकारवालाको बेवास्ताका कारण म्याग्दीको सौरबोट ओझेलमा परेको छ । समुन्द्री सतहदेखि झण्डै दुई हजार दुई सय मिटरको उचाइमा अवस्थित म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित गाजने गाउँ नजिकै पर्ने सौरबोट लेकाली फलफूल, जडीबुटी र पर्यटनका लागि महत्त्वपूर्ण ठाउँ भएर पनि उपयोगबिहीन बनेको हो । यहाँ वर्षौदेखि खेती गर्न छाडेको एकसय रोपनीभन्दा धेरै जग्गा बाँझो छ ।

धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले महत्त्व बोकेको सौरबोट क्षेत्रमा डिम्बर, मैडल, हाडेकाफल, गोफ्लो, ऐँसेलु, जनमन्त्रो, चुत्रो, घँयरु, गुल्टुङलगायत लेकाली फलफूल प्रशस्तै मात्रामा पाइन्छन् । यहाँको वन क्षेत्रमा अहिलेको समयमा निगालोको टुसा र निगुरो तथा डौँडे पनि पाइने हुँदा व्यावसायिकरुपमा जङ्गली फलफूल र जडीबुटीको खेती गर्न सकिने स्थानीय रामबहादुर बानियाँले बताए । उनका अनुसार सौर प्रजातिका बोटबिरुवा धेरै भएकाले यस ठाउँको नाम सौरबोट राखिएको हो ।

यो ठाउँ पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण रहेको गैरसरकारी संस्था मिलन म्याग्दीका पूर्वध्यक्ष एवं स्थानीय बुद्धिजीवी शिव बानियाँले बताए । उनका अनुसार तरेली परेका डाँडाकाँडा र लेकाली बस्तीको सौन्दर्यको साथमा पवित्र कालीगण्डकी तथा रघुगङ्गा नदीको बहाव देखिने सौरबोटबाट मौसम खुल्दाको समयमा बिहान सूर्योदयसँगै धौलागिरि र अन्नपूर्ण रेञ्जका सबै हिमाल छर्लङ्ग देखिन्छन् ।

हरियाली जङ्गल, वनपाखा, वनफूल, विभिन्न प्रजातिका बोटबिरुवाको हरियालीमा सजिएको सौरबोटको प्रचारप्रसार गर्ने हो भने बेनी आएका पर्यटक यस क्षेत्रमा आउने बलियो सम्भावना रहेको बानियाँको भनाइ छ । स्थानीयवासीसमेत रहेका पत्रकार प्रताप बानियाँका अनुसार सौरबोटमा जडीबुटीतर्फ भकिम्लो, सतुवा, जटामसी, टिम्मुर, चिराइतो, सिल्टीम्युर, गुराँसलगायत पाइनुका साथै यहाँको वनजङ्गल क्षेत्रमा मृग, चितुवा, बाघ, कालिज, चिर, तित्रो, चाखुरा, काँडेभ्याकुर र ढुकुरसहित वन्यजन्तु जनावर तथा चराचुरुङ्गी पाइन्छन् ।

विगतमा स्थानीयले खेती गर्न छाडेर अहिले बाँझो रहेको जग्गामा फलफूल, आलु, फापरलगायत लेकाली उत्पादन लगाउन सकिने उनले बताए । यहाँको जमिनमा गरा सुधार गरेर मकै, जौ, कोदो, कागुनोलगायत लेकाली उत्पादन दिने खेती गर्न सकिने बानियाँले बताए । उनका अनुसार चिसो हावापानीका साथै हिमालको सम्मुखमा पर्ने भएकाले सौरबोटमा व्यावसायिक रुपमा स्याउ खेतीसमेत गर्न सकिन्छ । पर्याप्त जमिन भएको सौरबोट क्षेत्रलाई पर्या–पर्यटनका माध्यमबाट विकास गर्न सकिने उत्तिकै सम्भावना रहेको उनले बताए । त्यसैगरी, म्याग्दी सदरमुकाम बेनीदेखि नजिकको दूरीमा पर्ने सौरबोटमा वनभोज खाने ठाउँ बनाएर पनि रमाउन सकिन्छ ।

तत्कालीन बाइसे चौबिसे राज्य रहेका बेला रानीले कपाल कोर्ने डिलसमेत रहेको सौरबोट क्षेत्र मनोरम दृश्यावलोकनको उपयुक्त स्थलका रुपमा रहेको छ । कृषि उत्पादन, पर्यटन तथा आर्थिकलगायत क्षेत्रको सम्भावना बोकेको यस क्षेत्रको विकास र प्रवर्द्धन गर्नका लागि सम्बन्धित निकायले पनि ध्यान दिनु आवश्यक रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ५ : ३२ बजे

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि