नेम्वाङको निधनअघि माधव नेपाललाई गएको त्यो फोन... | Khabarhub Khabarhub

नेम्वाङको निधनअघि माधव नेपाललाई गएको त्यो फोन…

ओली र नेपाललाई मिलाउने नेताको खडेरी



काठमाडौं – नेकपा एमाले र नेकपा एकीकृत पार्टीबीच तत्काल एकताको सम्भावना नभएको नेताले बताएका छन् ।  खास गरेर एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृतका अध्यक्ष माधवकुमार नेपालबीच भेटघाटको वातावरण नबन्दा एकताको सम्भावना टरेको दुवै पक्षका नेताको बुझाइ छ ।

एमालेबाट विद्रोह गरेर विभाजन भएपछि ०७८ भदौ ९ गते एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो ।  के अब २०८० सालसम्म आइपुग्दा नेकपा एमाले र नेकपा एकीकृत वीच पार्टी एकताको सम्भावना छ ? नेताहरुवीच कुनै वार्ता–छलफल पनि भइरहेको छ कि ? यसबारेमा चर्चा गर्नुअघि सुवास नेम्वाङको एउटा प्रशंग स्मरण गरौैं–

नेम्वाङको त्यो फोन…

०७७ पुस  ५ मा पहिलो पटक संसद् विघटनपछि नै माधव नेपाल समूह र एमाले ओली समूहबीच बोलचाल थिएन । तर, ०७८ वैशाख ३० मा ओली र नेपालबीच चपलीहाइटस्थित रामेश्वर थापाको घरमा भेटघाट भयो । त्यसपछि पुस १० गते प्रधानमन्त्री पुष्पकमल दाहालले शपथ लिएको दिन माधव नेपालको स्वास्थ्यबारे ओलीले सोधखोज गरे । त्यहीँबाट दुई नेतावीच बोलचाल खुल्यो ।

पछि पुस लागेपछि ओलीले पार्टी नेता महेश बस्नेतलाई माधव नेपालकहाँ पठाए । त्यसपछि विस्तारै सुवासचन्द्र नेम्वाङ र नेपालबीच पनि कुराकानी हुन थाल्यो ।

सुवास समन्वयकारी भूमिका खेल्ने मान्छे भएको नाताले उनले नेपाललाई भेट्नका लागि फोन गरेका थिए । माधव नेपालका अनुसार सुवासले फोन गरेको भदौ २५ गते दिउँसो हो । जवाफमा नेपालले २६ गते भेट्ने समय दिएका थिए । तर, अचानक घरमै हृदयाघात भएर सोही रात नेम्बाङको निधन भयो ।

पूर्वप्रधानमन्त्री नेपालले खबरहबसँग भने, ‘उहाँले केही कुरा गर्छु भन्नुभएको थियो तर के कुरा थियो, थाहा भएन ।’

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार कानुन न्याय तथा मानवअधिकार उपसमितिमा दलहरूबीच छलफल गरेर संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे सहमतिसाथ प्रतिवेदन तयार पार्ने काममा सहजीकरण सुवासले गरिरहेका थिए ।

नेम्वाङले टीआरसीमा धेरै विषय समेट्न सहजीकरण गरेका कारण नेपाललाई भेट्न खोजेको हुन सक्ने ज्ञवालीले खबरहबलाई बताए । उनले भने, ‘यो विषयमा सबैसँग कुरा गर्ने उहाँले सहजीकरण गरिरहनुभएको थियो । यही विषयमा कुरा गर्न फोन भएको हो । अन्य कुराहरू भेटमा उहाँहरूमा के हुने थियो त्यो थाहा भएन ।’

पार्टी एकता कति सम्भव ?

विशेषतः नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टी मिल्नुपर्ने पक्षमा केही नेता–कार्यकर्ताको आवाज छ । तर, यसमा दुवैतर्फका शीर्षनेताहरु तयार छैनन् ।

हाल नेकपा एकीकृत गठबन्धन सरकारमा सामेल छ, जुन नेकपा एमालेको टाउको दुखाइको विषय बनेको छ । एमाले उपाध्यक्ष विष्णु पौडेल खबरहबसँग भन्छन्, ‘माओवादी त पहिले पनि फरक पार्टी नै भयो, तर नेकपा एसले कांग्रेसको पुच्छर नछाडेसम्म कुनै वार्ता र भेटघाटको तुक छैन ।’

पौडेल थप्छन्, ‘उहाँहरू कांग्रेससँग बसेर एमालेलाई सिद्ध्याउँछु भन्नुहुन्छ, यस्ता मान्छेसँग बसेर वार्ता गर्नुको कुनै तुक छैन । अध्यक्षज्यूको पनि वार्ता गर्ने, छलफल गर्ने मनसाय छैन । पहिला कम्युनिस्ट नीति सिद्धान्तमा यिनीहरू आउनुपर्यो‍ नि । अनि गरौँला वार्ता ।’

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने एमाले सच्चिएर आफूहरूलाई बोलाए वार्ता गर्न तयार रहेको बताउँछन् । उनी एमालेको नेतृत्वले आफूहरूलाई सैद्धान्तिक तथा सम्मानजनक वार्तामा बोलाए ढोका खुल्ला भएको बताउँछन् ।

नेता नेपालले खबरहबसँग कुरा गर्दै भने, ‘एमाले नेतृत्व पहिला सच्चिनुपर्छ । कम्युनिस्ट पार्टीहरुबीच वार्ताका लागि हाम्रो ढोका सधैँ खुल्ला छ । तर, मैमत्त शैली र एकल व्यवहारले एमालेसँग छलफल गर्न सम्भव छैन ।’

मध्यस्थकर्ताको अभाव

एमाले र एकीकृत समाजवादीवीच एकताका लागि मध्यस्थता गर्ने समन्वयकर्ताको भने अभाव रहेको देखिन्छ । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव योगेश भट्टराई, नेता विशाल भट्टराई लगायतका नेताहरूले समाजवादीमा रहेका आफ्ना साथीहरूलाई एमालेमा फर्काउन बल गरिरहेको बुझिएको छ । उनीहरू मिल्नुपर्छ र मिलाउनुपर्छ भन्ने पक्षमा छन् । तर, दोस्रो पुस्ताका नेताहरुको जोडबल पुगेको छैन ।

अर्कोतिर, एकीकृत समाजवादीका नेता झलनाथ खनाल, सचिव रामकुमारी झाँक्री लगायतका नेताहरू पनि आफ्नो पार्टी एमालेसँग मिल्नुपर्ने पक्षमै देखिन्छन् । नेता खनाल आफू बृहत् वाम एकताको पक्षमा रहेको बताउँदै भन्छन्, ‘नेपालका कम्युनिस्ट पार्टीहरू नमिले नेपालको कम्युनिस्ट आन्दोलन खतरामा पर्छ र यी नेतृत्वमा रहेका कम्युनिस्ट नेताहरू पनि खाडलमा पर्छने । यस कारण कम्युनिस्ट एकता आजको आवजशयकता हो । दक्षिणपन्थी बाटोमा कम्युनिस्ट पार्टीहरू हिँडे भने प्रक्रियावादी शक्तिहरूले टाउको उठाउने मैका पाउँछन् ।’

दुवै पक्षका नेताहरूले एकले अर्कालाई वार्ताका लागि कसैले बोलाउला कि भनेर मुख ताकेर बसेका छन् । तर, छलफलको ढोका खुल्न पाएको छैन ।

एमालेका तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले वार्ताका लागि प्रयास गरिरहेका तर उनको निधनपछि पार्टी एकतामा असर पुगेको एमालेका एक नेताले स्वीकारे । ती नेता भन्छन्, ‘पार्टीको मिटिङ तथा अन्य बेलामा पनि नेम्वाङज्यूले आवाज उठाइरहनुहुन्थ्यो । तर, उहाँको प्रयास सार्थक भएन ।’

हुन त एमाले अध्यक्ष ओलीका विभिन्न अभिव्यक्तिहरूमा पनि माधवकुमार नेपालको पार्टी नेकपा एसले आफूलाई एमालेसँग मिल्नुपर्नेमा आत्मसमर्पण गर्नुपर्ने तर्क दिने गरेका छन् । नेकपा एकीकृतका नेताहरु पनि एमालेले सच्चिएर आफूहरूलाई बोलाएर बाटो खुल्ला भएको तर्क गर्छन् ।

एमाले उपाध्यक्ष पौडेल भन्छन्, ‘माधवकुमार नेपालसँग मिलेर एमाले बलियो हुन्छ भन्ने भ्रम छैन । अन्य साथीहरुलाई भने बाटो खुल्ला छ । नेपाल पनि सचिन्छु भनेर आउनुभयो भने छलफल होला ।’

नेतृत्वको टकराबले कार्यकर्तालाई सकस

खास गरेर अहिले एमाले र समाजवादीमा अन्य तहका नेता भन्दा पनि मुख्य नेतृत्वबीचमै टकरावको अवस्था छ ।

विशेषतः एमाले अध्यक्ष ओली र एएकीकृतका अध्यक्ष नेपालबीच वार्ता गर्ने वातावरण नहुँदा यसको असर पार्टी एकीकरणमा देखिएको हो । नेतृत्व नेतृत्वबीच टकराबको स्थिति हुँदा यसको असर दुवै पार्टीका कार्यकर्ताले भोगिरहेको दुवैतर्फका नेताहरू स्वीकार्छन् ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवाली भन्छन्, ‘पार्टीगत एकताको सम्भावना छैन । जानुभएका साथीहरूका लागि ढोका खुल्ला छ । योजनावद्ध ढङ्गले पार्टी विभाजनमा निर्णायक भूमिका खेल्ने पात्रहरूबाहेक सबैलाई अध्यक्षज्यूले बाटो खुल्ला गर्नुभएको छ ।

ज्ञवाली थप्छन्, ‘पार्टी विभाजन गलत थियो, म सच्चिएँ भनेर आउने साथीहरूका लागि यो आफ्नै घर हो, जति बेला पनि फर्कन सक्नुहुन्छ । हार्दिक स्वागत छ ।’

दुवैले ढोका खुल्ला गर्ने तर नेतृत्व नेतृत्वबीच टकराब हुँदा एकतामा समस्या भयो, त्यसैले बाधक त दुवै पार्टीका अध्यक्ष हुनुभयो नि प्रश्नमा ज्ञवालीले भने, ‘हाम्रो अध्यक्षजस्तो पार्टी रक्षाका लागि कठिन अवस्थामा भुमिका खेल्ने र माधव नेपालजस्तो कम्युनिस्ट विरोधी शक्तिलाई खुसी तुल्याउन लाग्नेमान्छेबीच तुलना गर्ने कुरा नै भएन । जो–जो साथीहरूलाई विभाजनले गलत भयो भन्ने चिन्ता छ, उहाँहरूलाई तान्ने हाम्रो ध्यान हो । उद्देश्यमूलक ढङ्गले पार्टी विभाजन गर्ने साथीहरूलाई खास हामीले भन्नुपर्ने केही छैन ।’

ज्ञवालीले दोहोर्या‍ए, ‘पार्टी एकताको त कुनै सम्भावना छैन । अब माधव नेपाल एमालेमा फर्किएर वामपन्थी आन्दोलन सशक्त हुन्छ भन्ने भ्रम मात्र हो । तर, त्यहाँ सम्भावना बोकेका, सामाजिक मूल्य भएका जनताले पनि विश्वास गरेका ती साथीहरूसँग चाहिँ एकता नगरे कम्युनिस्ट आन्दोलन रक्षात्मक हुन्छ । आन्दोलन अप्ठ्यारोमा हुन्छ । हामी उहाँहरुसँग सम्पर्कमा छौँ ।’

ज्ञवालीको यो भनाइबाट थाहा हुन्छ कि एमालेले माधव नेपालबाहेक अरुलाई एमालेमा तान्न चाहेको छ ।

ज्ञवालीले नेकपा एकीकृतका नेता झलनाथ खनाल आफूहरूको सम्पर्कमा रहेको स्पष्ट पारे । उनले भने, ‘उहाँ पार्टीमा निर्णायक हुनुहुन्न । प्रभाव पनि राम्रो छैन । उहाँले त्यो पार्टीलाई सही नीतिमा हिँडाउन पनि सक्नुभएको छैन र आफू पनि हिँड्न सक्नुभएको छैन ।’

एमाले स्रोतका अनुसार पछिल्लो समय एमाले अध्यक्ष ओली र पूर्वप्रधानमन्त्री खनालबीच विभिन्न विषयमा कुराकानी भइरहेको छ । तर, तत्कालै झलनाथ एमालेमा गइहाल्ने सम्भावना चाहिँ छैन ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ८ : ४४ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य