वर्षा नहुँदा मकैखेती गर्न समस्या « Khabarhub

वर्षा नहुँदा मकैखेती गर्न समस्या


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

उदयपुर – यसपटक अहिले मकैखेती गर्ने बेलामा एकपटक पनि वर्षा हुन सकेको छैन । वर्षा नहुँदा समयमा मकैखेती गर्न कठिनाइ हुन थालेपछि उदयपुर जिल्लाका पहाडी क्षेत्रका मकै उत्पादक कृषक चिन्तित बनेका छन् ।

माघ महिनाको वसन्तपञ्चमी लागेसँगै जिल्लाका पहाडी क्षेत्रमा खेतबारी जोत्ने र फागुनको सुरुको हप्तादेखि मकैखेती सुरु गरिन्छ । तर अहिलेसम्म एकपटक पनि वर्षा नहुँदा खडेरीले मकै लाउन समस्या भएको छ ।

मकैखेतीको मौसम सुरु भए पनि एकपटक पनि वर्षा नभएपछि समस्या भएको गुनासो गर्दै रौतामाई गाउँपालिका–२ भुटारका कृषक गोपाल मगर भन्छन्, “माघको दोस्रो हप्ताबाट नै खेतबारी जोतियो, मकै छर्ने समयमा पानी आएन ।”

अहिलेसम्म एकपटक पनि सामान्य वर्षा नहुँदा र सुक्खा बारी तथा खेतमा मकै छर्न पर्दा मकैको बिरुवा नै उम्रन कठिन हुने र परिश्रम मात्र खेर गएको उनको भनाइ छ । उदयपुरगढी गाउँपालिका भलायाडाँडाका कृषक अम्बरबहादुर अधिकारीले समयमा मकैखेती गर्न नपाएको गुनासो गर्दै भन्छन्, “खडेरीले मर्क छर्न समस्या भएको छ ।”

विगत वर्षमा पुस वा माघदेखि वसन्त पञ्चमीभित्र दुई–चारपटक वर्षा हुने गरेको कारण जमिन भिज्ने गरेकाले मकैखेती गर्न सहज हुने गरे पनि यसपटक अहिलेसम्म वर्षा भएको छैन । सुक्खा बढ्दै गएकाले खेतीपाती गर्न कठिनाइ भएको लिम्चुङबुङ गाउँपालिका–३ जाँतेका खम्बरराज राईको भनाइ छ । फागुन लाग्नासाथ मकै छर्न आकाशे पानी कुरेर बसे पनि त्यसो नहुँदा यस क्षेत्रका किसान चिन्तित बनेको उनको भनाइ छ । खडेरी बढ्दै गएकाले मकै छर्न ढिलाइ भएको त्रियुगा नगरपालिका–१४ साउनेका कृषक वीन्द्रबहादुर मगर बताउँछन् ।

त्रियुगा नगरपालिका–१६ चिलाउनेका जीतबहादुर राईले छ वर्षअघि पनि अहिलेको जस्तै समस्या आएको स्मरण गरे । उनी भन्छन्, “त्यो बेला पुसदेखि एकपटक पनि वर्षा भएन, जबर्जस्ती फागुन सुक्खामा मकैखेती गर्‍यौँ । जबर्जस्ती उम्रेका बिरुवा सबै मरे, विसं २०७४ मा पुसदेखि २०७५ भदौसम्म सुक्खा हुँदा जिल्लाको पहाडी क्षेत्रमा मकैखेती नै रहेन ।”

दुई वर्षअघि पनि यसरी नै लामो खडेरी हुँदा जिल्लाको पहाडी भेगमा मकै उत्पादन शून्य भयो । बीउ नै नरहेपछि गत वर्ष मकैखेती गर्ने जिल्लाका पहाडी क्षेत्रका कृषकले छिमेकी जिल्ला धनकुटा, सङ्खुवासभा, भोजपुर र इलामबाट बीउ ल्याउनुपरेको बताउँछन् । यहाँका पहाडी क्षेत्रका चार पालिकामा झण्डै ६० प्रतिशत कृषक मकैखेतीमा निर्भर हुँदै आएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाइएको छ । उदयपुरमा १८ हजार चार सय हेक्टर जग्गामा मकैखेती हुँदै आएको कृषि ज्ञान केन्द्र उदयपुरका सूचना अधिकारी तथा सहायक अधिकृत महेश चौधरी बताउँछन् ।

रौतामाई गाउँपालिका, उदयपुरगढी, लिम्चुङबुङ र ताप्ली गाउँपालिकासहित त्रियुगा नगरपालिका कटारी बेलका र चौदण्डीगढी नगरपालिकाका पहाडी क्षेत्रमा अधिकांश कृषक मकैखेतीमा निर्भर हुँदै आएका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ९ : २९ बजे

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

आज २०८३ साल असार २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

विश्वकपमा नर्वे र इङ्गल्यान्डबीचको रोमान्चक भिडन्त : अतिरिक्त समयमा इंग्ल्यान्डले लियो अग्रता

काठमाडौँ – विश्वकपको रोमाञ्चक खेलमा निर्धारित ९० मिनेटको समय १–१