विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

आज साउन १९, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट ४, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

भारतीय सर्वोच्च अदालतद्वारा राहुल गान्धीको सजायमा रोक, सांसद पद पुनर्बहाली हुने

भारतीय सर्वोच्च अदालतले कांग्रेस पार्टीका नेता राहुल गान्धीको सजायमा रोक लगाएको छ । यससँगै उनको सांसद पद पुनर्बहाली हुने भएको छ । जिल्ला अदालतको आदेश उल्ट्याउँदै सर्वोच्चले गान्धीको सजायमा रोक लगाएको हो ।

‘मोदी’ थर भएका मानिसहरुको अपमान गरेको गरेको आरोपमा गुजरात राज्यका विधायक पूर्णेश मोदीले उनीविरुद्ध मुद्दा दायर गरेका थिए । ‘सबै चारेको सरनेम किन मोदी हुन्छ ?’ भन्ने अभिव्यक्ति दिएको भन्दै परेको रिटमा गुजरातको सुरत जिल्ला अदालतले गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो ।

जिल्ला अदालतको उक्त आदेशसँगै उनको सांसद पद खारेज भएको थियो । यसै मुद्दामा मुद्दामा जिल्ला अदालतले सुनाएको फैसला कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।

तर, शुक्रबार सर्वोच्चले कांग्रेस नेता गान्धीमाथि यथेष्ट प्रमाणबिनै २ वर्षको सजाय सुनाइएको भन्दै उनको सजायमा रोक लगाएको हो । साथै, सर्वोच्चले गान्धीलाई त्यस्ता टिप्पणी गर्नुअघि विचार पुर्‍याउनसमेत भनेको छ ।

‘जलवायु मुद्दामा चीन गम्भीर भएन’

चीनमाथि जलवायु मुद्दामा गम्भीर नभएको आरोप लागेको छ । केही समयअघि अमेरिकी जलवायु दूत जोन केरी चीन भ्रमणमा गएका थिए ।

जलवायु परिवर्तनका प्रतिकूल प्रभाव कम गर्ने सन्दर्भमा चिनियाँ अधिकारीहरूसँग वार्ता गर्न बेइजिङ पुगेका केरीलाई चीनका उपराष्ट्रपति हान झेङले जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्न चीन तयार रहेका तर त्यसका लागि चीनका राजनीतिक माग पूरा हुनुपर्ने शर्त अघि सारेका थिए ।

पारस्परिक सम्मानमा आधारिकत चीन–अमेरिका सम्बन्धलाई अघि बढाउन बेइजिङ तयार रहेको र जलवायुसम्बन्धी मुद्दामा बहस गर्न पनि प्रतिबद्ध रहेको तर ताइवान मामिला, दक्षिण चीन सागर विवादलगायत विषयमा अमेरिकी हस्तक्षेप अस्वीकार्य हुनेमा उनले जोड दिएको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

पछिल्लो समय जलवायु परिवर्तनसम्बन्धी विषयलाई लिएर अमेरिका र चीनबीचको मतभेद अझ बढेको छ । तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गर्दा चिसिएको अमेरिका–चीन सम्बन्ध जलवायु परिवर्तनका विषयलाई लिएर अझ बिग्रिएको छ ।

सन् २०३० सम्म कार्बनडाइअक्साइड उत्सर्जन बन्द गर्ने र सन् २०६० सम्ममा कार्बन न्युट्रल बन्ने लक्ष्य प्राप्तिमा चीन बाधक हुन नहुनेमा अमेरिकाको जोड छ ।

अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिञ्जरसँगको भेटमा पनि चिनियाँ विदेश मामिला आयोगका निर्देशक तथा पूर्वविदेशमन्त्री चीनका वाङ यीले पनि ताइवानलाई अमेरिकाले दिँदै आएको सहयोग रोकिनुपर्ने तथा राष्ट्रपति साई इंग–वेनको नेतृत्वको ताइवान सरकारसँगको सम्पर्कबाट टाढा रहनुपर्ने शर्त पेश गरेका थिए ।

एक स्वतन्त्र नागरिकको रुपमा बेइजिङ भ्रमणमा पुगेका किसिञ्जरमार्फत अमेरिकालाई चीनले ताइवानको ‘स्वतन्त्र अस्तित्व अस्वीकार गर्नुपर्छ’ भन्ने सन्देश दिएको थियो ।

तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारले अबलम्बन गरेको नीतिलाई नै बाइडेन प्रशासनले पनि निरन्तरता दिएको छ । उत्पादन र उपभोगमा विश्वको अग्रणी राष्ट्र चीनमा कोइलाका नयाँ थर्मल पावर प्लान्ट निर्माण भइरहेका छन् । यसबाट जलवायु परिवर्तनका गम्भीर मुद्दालाई ओझेलमा पारेको टिप्पणी गरिएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार सन् २००६ देखि कार्बन उत्सर्जनमा अमेरिकालाई उछिनेको चीनले यसमा आफूलाई अझै पनि अग्रपङ्तिमा कायम राखेको छ ।

यद्यपि अमेरिकाको कार्बन उत्सर्जमा भने केही कमी आएको छ । चीन विश्वको सबैभन्दा अधिक कार्बनडाइअक्साइड उत्सर्जन गर्ने देश बनेको छ ।

रुसी रक्षामन्त्रीद्वारा युक्रेनी युद्धक्षेत्रको निरीक्षण

रुसी रक्षामन्त्री सर्गेई शोइगुले युक्रेनको कमाण्ड पोष्टको निरीक्षण गरेका छन् । उनले वरिष्ठ सैन्य अधिकारीहरूसँग भेट्न युक्रेनको लडाई क्षेत्रको भ्रमण गरेको रुसी सेनाले शुक्रबार बताएको छ ।

शोइगुले मोर्चाको अवस्थाको बारेमा अद्यावधिक जानकारी प्राप्त गरेको र पूर्वी युक्रेनको लाइमानमा सफल आक्रामक कारवाहीका लागि कमाण्डर र सिपाहीहरूलाई धन्यवाद दिएको सेनाले जनाएको छ ।

टेलिभिजन फुटेजमा युक्रेनको केन्द्रीय सैन्य एकाइका प्रमुख जनरल एन्ड्री मोर्दभिचेभले प्रस्तुत गरेको प्रतिवेदन सुनिरहेको देखाइएको छ । टेलिभिजन फुटेजमा मन्त्रीलाई स्वीडिश सिभी ९० मा चढेको पनि देखाइएको थियो ।

युक्रेनमा मस्कोको सेनासँग लडिरहेको रुसी अर्धसैनिक समूह वाग्नरको असफल विद्रोहपछि शोइगुले अन्तिम पटक जुनको अन्त्यमा यो भ्रमण भएको हो ।

युक्रेनले रुसको कृष्ण सागरमा रहेको नौसैनिक आधारमा आक्रमण गर्ने प्रयास गरेको रुसको दाबी

रुसी रक्षा मन्त्रालयले मानवरहित युक्रेनी डुङ्गाले कृष्ण सागरको किनारमा अवस्थित नोभोरोसियस्क बन्दरगाहमा रहेको रुसी नौसैनिक अखडामा आक्रमण गर्ने प्रयास गरेको दाबी गरेको छ ।

तर, रुसी जहाजहरूले सो प्रयासालाई विफल पारेको पनि रुसले जनाएको छ ।

‘आज राति युक्रेनी सशस्त्र बलले नोभोरोसियस्क नौसैनिक आधारमा दुई मानवरहित डुङ्गाहरूद्वारा आक्रमण गर्ने प्रयास गरेको थियो, तर प्रतिकारका क्रममा ती डुङ्गाहरू नष्ट गरिएको छ’ रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नोभोरोसियस्कस्थित ट्याङ्करहरूमा तेल लोड गर्ने क्यास्पियन पाइपलाइन कन्सोर्टियमले सो आक्रमण प्रयासबाट पूर्वाधारमा कुनै क्षति नपुगेको र तेल लोडिङ कार्य सामान्य रूपमा भइरहेको जनाएको छ ।

यद्यपि बन्दरगाहमा जहाज आवागमनमा अस्थायी प्रतिबन्ध भने लगाइएको छ ।

कन्सोर्टियमसँग पाइपलाइन प्रणाली छ जसले काजाकिस्तानलाई नोभोरोसियस्कको बन्दरगाहसँग जोड्छ जहाँ विश्व बजारहरूमा ढुवानीका लागि ट्याङ्करहरूमा तेल लोड गर्ने गरिन्छ ।

९ अगस्टमा पाकिस्तानको संसद् विघटन हुँदै

पाकिस्तानको संसद् ९ अगस्टमा विघटन हुँदैछ । प्रधानमन्त्री शाहबाज सरिफले बिहीबार यो घोषणा गरेका हुन् ।

सांसदहरुको सम्मानमा रात्रिभोजको आयोजना गरिएको थियो, जहाँ शाहबाजले सांसदहरुलाई भेटेका थिए । सो क्रममा देशको राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो । सांसदहरुको भेटपछि मात्र प्रधानमन्त्री शाहबाजको तर्फबाट संसद् भंग भएको घोषणा गरिएको थियो । यस्तो अवस्थामा अब छिमेकी मुलुकमा निर्वाचनको बाटो स्पष्ट देखिन थालेको छ ।

मिडिया रिपोर्टका अनुसार शाहबाजले सांसदहरूबाट सुझाव मागेका थिए र कार्यवाहक प्रधानमन्त्री र कार्यवाहक सेटअपको व्यवस्थाको बारेमा कुरा गरेका थिए। अगस्ट ९ पाकिस्तानी राजनीतिको लागि महत्त्वपूर्ण हुने भएको छ किनकि यस दिन प्रधानमन्त्री शेहबाजले संसद् भंग गर्न राष्ट्रपतिलाई औपचारिक सुझाव पठाउने छन् । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले ४८ घण्टाभित्र प्रस्तावमा हस्ताक्षर गर्नुपर्नेछ, कुनै कारणवश त्यसो नगरे संसद् स्वतः विघटन हुन्छ ।

प्रधानमन्त्री शहबाज सरिफले विपक्षीसँग तीन दिनसम्म वार्ता गर्ने आश्वासन दिएका छन् । यो छलफलपछि मात्र कार्यवाहक प्रधानमन्त्रीको नाम राष्ट्रपतिसमक्ष हस्तान्तरण हुनेछ । यद्यपि यदि कुनै सहमति हुन सकेन भने पाकिस्तानको निर्वाचन आयोगले प्रस्तावित नामहरू मध्ये एकलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा चयन गर्नेछ। पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको विपक्षीले लामो समयदेखि चुनावको माग गर्दै आएका छन् ।

गत वर्ष अप्रिलमा अविश्वास प्रस्तावमार्फत इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाइएको थियो । विपक्षी दलहरूले संसदमा इमरानविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका छन् । इमरानले अर्थतन्त्र र विदेश नीतिलाई राम्ररी सम्हाल्न नसकेको उनको आरोप थियो । त्यसपछि विपक्षी दलको गठबन्धन मिलेर सरकार गठन भयो । यो सरकारमा शाहबाज सरिफलाई प्रधानमन्त्री बनाइएको थियो।

चीनलाई गोप्य सूचना दिएको आरोपमा दुई अमेरिकी नौसेना पक्राउ

अमेरिकी नौसेनामा सेवारत दुई सदस्यलाई चीनका लागि जासुसी गरेको आरोपमा पक्राउ गरिएको छ ।

यी दुईले बेइजिङलाई गोप्य सूचना बेचेको आशंका गरिएको अमेरिकन न्याय विभागले जनाएको छ, जसमा युद्धपोतहरू र तिनीहरूको हतियार प्रणालीका लागि म्यानुअलहरूका साथै साथै राडार प्रणालीहरूको खाका र ठूलो अमेरिकी सैन्य अभ्यासको योजनाहरू समावेश रहेका छन्।

स्टिङ अपरेशनमा संलग्न एफबीआईको काउन्टर इन्टेलिजेन्स डिभिजनका सुजेन टर्नरले भनिन् ‘कि यी गिरफ्तार हाम्रो लोकतन्त्रलाई कमजोर पार्ने र यसको रक्षा गर्नेहरूलाई धम्की दिनेहरू जनवादी गणतन्त्र चीनको अथक र आक्रामक प्रयासमा काम गरिरहेका छन् ।’

न्याय विभागका अनुसार सान डिएगोमा युद्ध जहाज यूएसएस एसेक्समा काम गर्ने एक नाविक जिनचाओ वेईले जहाजको सञ्चालन र यसको प्रणाली, फोटो र भिडियोहरू हस्तान्तरण गर्ने दर्जनौँ कागजातहरू फेला पारेका थिए। यसमा तिनीहरूको आफ्नै जहाजको हतियारसँग सम्बन्धित प्राविधिक र मेकानिकल म्यानुअलहरू समावेश थिए।

२२ वर्षीय युवकलाई सूचनाका लागि हजारौँ डलर खर्चेको आरोप छ। दोषी ठहर भएमा उनले बाँकी जीवन जेलमै बिताउन सक्नेछन् ।

अवतरणका क्रममा विमानको टायरमा भीषण आगलागी

यात्रुहरूले विमानको टायरमा आगो लागेको खबर पाएपछि डेल्टा एयरलाइन्सको विमानमा हंगामा मच्चिएको थियो ।

घटना बुधबार साँझको हो । बोस्टनबाट उडेको डेल्टा विमान एटलान्टामा अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो । अवतरणको क्रममा विमानको टायर फुट्यो र एटलान्टाको हार्ट्सफिल्ड ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थलबाट तुरुन्त १९० यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालियो। राहत तथा उद्धारका क्रममा एक यात्रु पनि घाइते भएका छन् ।

आफ्नो आधिकारिक विज्ञप्तिमा संघीय उड्डयन प्रशासनले भनेको छ कि बुधवार साँझ ६ बजेतिर भएको थियो, जब बोस्टनबाट डेल्टा उडान १४३७ ले एटलान्टामा अवतरण गर्ने क्रममा यसको बायाँ मुख्य गियर टायर फुट्यो। त्यसपछि यात्रुहरूले आगोबाट बच्न विमानको आकस्मिक शुटको सहारा लिए र चिप्लिएर तल झरेका थिए ।

विमानमा सवार एक यात्रुले स्थानीय न्युज स्टेशन ११ अलाइभलाई आगलागी भएको खबर पाएपछि विमानमा हलचल मच्चिएको बताए । यो घटनापछि मानिसहरु निकै डराए र सबैलाई आफ्नो ज्यानको चिन्ता थियो ।

दुर्घटनाग्रस्त विमानमा सवार रहेका ब्रुस क्याम्पबेलले भने कि डेल्टा चालक दल र एयरपोर्टका कर्मचारीहरूले राम्रो काम गरे र स्थितिलाई छिट्टै नियन्त्रणमा ल्याए। घटनास्थलमा करिब १०० ग्राउन्ड स्टाफ र २० वटा गाडी तैनाथी गरिएको उनले बताए ।

तेस्रो पटक अदालतमा उभिएका ट्रम्पले भने-म निर्दोष छु

सन् २०२० को चुनावमा आफ्नो हार लुकाउनका लागि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध षड्यन्त्र रचेको सम्बन्धमा वाशिंगटन डिसीको अदालतमा सुनुवाइ भएको छ ।

यस क्रममा ट्रम्पले आफूमाथि लागेको आरोपमा आफूलाई निर्दो भएको दाबी गरेका छन् । सो सुनुवाइका क्रममा ट्रम्पले अदालतमा निकै कम स्वरमा आफ्नो निर्दोषताको गुनासो गरेका थिए ।

पछिल्लो चार महिनामा यो तेस्रो पटक हो, जब अमेरिकी पूर्व राष्ट्रपतिले अपराधीको रूपमा अदालतमा हाजिर हुनु परेको हो । ट्रम्पलाई अदालतको पछाडिको ढोकाबाट भित्र ल्याइएको थियो। ट्रम्प बाहेक झन्डै एक हजार अपराधी अदालतमा हाजिर भएका थिए, जसलाई जनवरी ६ मा अमेरिकी क्यापिटलमा प्रवेश गरी त्यहाँ दङा गरेको आरोप लगाइएको थियो । सन् २०२१ मा चुनाव हारेपछि ट्रम्पको उक्साहटमा उनका समर्थकहरूले अमेरिकी संसद्मा हमला गरेका थिए । अमेरिकी कङ्ग्रेसको पनि तोडफोड गरेका थिए ।

सो सुनुवाइका क्रममा ट्रम्पको शारीरिक भाषा शान्त देखियो । सामान्यतया आक्रामक मुद्रामा बस्ने ट्रम्प अदालतमा शिर निहुराएर बसिरहेका थिए । जब क्लर्कले ट्रम्पको केस नम्बर पढे, उसले सहमतिमा टाउको निहुरियो । पूर्व राष्ट्रपतिले चार आरोपमा आफूलाई निर्दोष घोषणा गरेका थिए । उनीमाथि ‘संयुक्त राज्य अमेरिकालाई धोका दिएर षड्यन्त्र गरेको’, सरकारी कार्यमा अवरोध गर्ने षड्यन्त्र, सरकारी कार्यमा अवरोध गर्ने र जनताको अधिकार विरुद्धको षड्यन्त्र गरेको आरोप लगाइएको छ ।

वास्तवमा, जनवरी ६, २०२१ अमेरिकाको इतिहासमा कालो दिनको रूपमा रेकर्ड गरिएको छ। यस दिन तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले अमेरिकी संसद अर्थात् युएस क्यापिटलमा आक्रमण गरेका थिए । अमेरिकी कंग्रेसले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा विजयी भएका जो बाइडेनलाई निर्वाचन परिणामका लागि प्रमाणीकरण गरिरहेको थियो, ताकि राष्ट्रपति बन्ने बाटो खुलोस्। यसलाई रोक्न ट्रम्प समर्थकहरूले संसद्मा आक्रमण गरेका थिए । ट्रम्पमाथि चुनावी पराजयलाई आफ्ना समर्थकहरूमार्फत उल्टाउन चाहेको आरोप लागेको थियो ।

मेक्सिकोमा भएको बस दुर्घटनामा १७ जनाको मृत्यु

पश्चिमी मेक्सिकोमा बिहीबार बिहान एउटा यात्रुबाहक बस राजमार्ग नजिकै खाल्डोमा खसेको छ । सो दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएका छन भने अन्य २२ जना घाइते भएका छन् । यद्यपी उनीहरुको अवस्था स्थिर रहेको बताइएको छ ।

नायरित राज्य सुरक्षा र नागरिक रक्षा सचिव जर्ज बेनिटो रोड्रिगेजले उद्धार कार्यमा कठिनाइ भइरहेको बताए। खाडल लगभग ५० मिटर गहिरो रहेको थियो। मृत्यु हुनेमा १४ वयस्क र तीन बालबालिका रहेका छन् । बसमा ४० जना यात्रु सवार थिए । सबैजना तिजुआना जाँदै थिए।

दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन । अधिकारीहरूले भने कि बस राज्यको राजधानी टेपिक बाहिरको राजमार्गमा रहेको ब्यारान्का ब्लान्का नजिकै दुर्घटनाग्रस्त भएको हो ।

अघिल्लो महिना ओक्साकाको दक्षिणी राज्यमा भएको बस दुर्घटनामा २९ जनाको मृत्यु भएको थियो । गत फेब्रुअरीमा दक्षिण र मध्य अमेरिकाका आप्रवासीहरू बोकेको बस मध्य मेक्सिकोमा दुर्घटनाग्रस्त हुँदा १७ जनाको मृत्यु भएको थियो ।

साउदी अरबले तेल उत्पादन घटाउँदै

साउदी अरबले तेलको मूल्य वृद्धि गरी बजार सन्तुलन अभियानलाई निरन्तरता दिँदै दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ ।

“साउदी अरबले प्रति दिन १० लाख ब्यारेलको तेल कटौती स्वैच्छिकरूपमा बढाउनेछ । थप अर्को एक महिना सेप्टेम्बरसम्मका लागि निर्णय तत्काल कार्यान्वयनमा आउनेछ,” ऊर्जा मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।

पहिलो पटक जुलाईका लागि लागू भएको यो कटौती अझै लामो वा अझ गहिरो हुन सक्ने ऊर्जा मन्त्रालयले जनाएको छ ।

यस कदमले विश्वको सबैभन्दा ठूलोमध्ये एक कच्चा तेल निर्यातकर्ताद्वारा दैनिक उत्पादनलाई लगभग नब्बे लाख ब्यारेल बजारमा पठाउनेछ ।

“तेल बजारको स्थिरता र सन्तुलनलाई समर्थन गर्ने उद्देश्यले ‘ओपेक प्लस’ देशहरूले गरेको सावधानीको प्रयासलाई सुदृढ गर्न स्वैच्छिक कटौती गरिएको हो,” ऊर्जा मन्त्रालयले भनेको छ ।

साउदी अरबका ऊर्जामन्त्री राजकुमार अब्दुलअजीज बिन सलमानले २३ राष्ट्रको ओपेक प्लस गठबन्धनको जुनमा भएको बैठकपछि कटौतीको घोषणा गर्दै यो कटौतिपनि सम्भावित ‘विस्तारयोग्य’ भएको उल्लेख गरेका छन् ।

यसले अप्रिलमा धेरै ओपेक सदस्य राष्ट्रहरूले स्वेच्छिक रूपमा प्रतिदिन १० लाख ब्यारेलभन्दा बढी उत्पादन कटौती गर्ने निर्णय लाई पछ्याएको हो । यो आश्चर्यजनक कदमले केही समयको लागि मूल्यहरूलाई समर्थन गरेको भएपनि स्थायी सुधार ल्याउन असफल भएको छ ।

युक्रेनमा रुसी आक्रमण र चीनको कमजोर आर्थिक पुनःरुत्थानको निरन्तर परिणामलाई प्रतिबिम्बित गर्दै तेल उत्पादकहरू घट्दो मूल्य र उच्च बजार अस्थिरतासँग जुधिरहेका छन् ।

रूसी सेनामा दुई लाख तीस हजारभन्दा बढी भर्ना

रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेद्भेदेवले यस वर्षको सुरुदेखि नै रूसले दुई लाख ३० हजारभन्दा बढी थप सैनिक भर्ती गरेको बताएका छन् ।

“रूसले जारी युक्रेनी प्रतिआक्रमणलाई रोक्न र द्वन्द्वको समयमा कब्जा गरेको क्षेत्रहरू कब्जा गरिरहन चाहन्छ त्यसैले मस्कोले यस वर्ष जनवरी १ देखि अगष्ट ३ सम्म आक्रामक शैलीमा सैन्य भर्ती अभियान सञ्चालन गरेको छ,” उनले भने ।

सन् २००८ देखि २०१२ सम्म रूसी राष्ट्रपति रहेका मेदभेदेवले भन्नुभयो, “कूल दुई लाख ३१ हजारभन्दा बढी लाई सैनिक करार सेवाका लागि स्वीकार गरिएको छ ।”

गत सेप्टेम्बरमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘आंशिक’ सैन्य परिचालनको घोषणा गरेका थिए, जुन दोस्रो विश्वयुद्धपछि पहिलो घटना हो ।

दोस्रो परिचालन अभियानको घोषणा गर्न अनिच्छुक मस्कोले रूसीहरूलाई वित्तीय प्रोत्साहनको साथ आकर्षित गर्ने आशामा यसको सट्टा एक विशाल सार्वजनिक सम्बन्ध निर्माण अभियानको विकल्प रोजेको छ ।

अधिकारीहरूले उनीहरूको लक्ष्य सार्वजनिक गरेका छैनन् तर विभिन्न अनुमानहरूले मस्कोले चार लाख स्वयंसेवकहरू भर्ती गर्ने प्रयास गरिरहेको हुन सक्ने बताएका छन् ।

रक्षामन्त्री सर्गेई शोइगुले गत वर्ष रूसको सेनाको सङ्ख्या बढाएर १५ लाख पुर्‍याइने बताएका थिए ।

रूसले ‘विश्वव्यापी विपत्ति’ निम्त्याएको युक्रेनी आरोप

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा बन्दरगाहको पूर्वाधारमा भएको आक्रमणले मस्कोकोे ‘विश्वव्यापी विनाश’ सिर्जना गर्ने मनसाय देखाएको बताएका छन् ।

मस्कोले विश्व खाद्य बजारमा अभाव, मूल्य वृद्धि र आपूर्तिमा अवरोध सिर्जना गरेको आरोप उनले बताए । । “रूसका लागि हाम्रो स्वतन्त्रता र देशविरुद्धको लडाइँ मात्र होइन,” जेलेन्स्कीले बुधबार भिडियो सम्बोधनमा भने । “उसले विश्वव्यापी विपत्तिको विरूद्धमा लडिरहेको छ ।

उनीहरूलाई विश्व खाद्य बजार ध्वस्त होस् भन्ने चाहन्छन्, मूल्य सङ्कट चाहिएको छ, आपूर्तिमा अवरोध चाहिएको छ,” जेलेन्स्कीलाई उद्धृत गर्दै अल जजिराले भनेको छ ।

युक्रेनी क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेह किपरलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार बुधबार बिहानै कीएभमा ड्रोन आक्रमण भएपछि ओडेसा क्षेत्रको बन्दरगाह र औद्योगिक संरचनामा क्षति पुगेको थियो । रूस र युक्रेन दुवैले मङ्गलबार एकअर्कामाथि सीमापार आक्रमण गरेको आरोप लगाएपछि यो कदम चालिएको हो ।

यसैबीच युक्रेनले बुधबार बिहान कीएभमा १० वटा ड्रोन खसालेको केही समयपछि नै आक्रमण भएको सीएनएनले जनाएको छ । कीएभ नगर सैन्य प्रशासनका प्रमुख सेर्ही पोप्कोले बुधबार बिहान एक टेलिग्राम पोस्टमा किभमाथि १० वटा ड्रोन खसालेको पुष्टि गरे ।

राष्ट्रपति जेलेन्स्कीले आइतबार रूसमा युद्ध ‘बिस्तारै फर्कँदै गएको’ चेतावनी दिँदै यो ‘अपरिहार्य, प्राकृतिक र पूर्णतया निष्पक्ष प्रक्रिया’ भएको बताएका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ७ : ५९ बजे

धान उत्पादन बढाउन आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक

विश्वकप फाइनलमा आज भारत र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा

काठमाडौं – आईसीसी टि-२० विश्वकप २०२४ को उपाधिका लागि शनिबार

आज देशभर वर्षा, सतर्क रहन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज असार १५ : राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौं – आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस तथा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असार १५ गते शनिबार सन्