अन्तर्राष्ट्रिय

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

By खबरहब

September 04, 2023

आज भदौ १८ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर ४ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

ग्याबोनका सैनिक शासकले लिए शपथ

मध्य अफ्रिकी मुलुक ग्याबोनका सैनिक नेता ब्रिस ओलिगुई न्गुमाले देशको अन्तरिम राष्ट्रपतिको रुपमा शपथ लिएका छन् । उनले जनतालाई साक्षी मानेर ईश्वरका नाममा शपथ लिँदै गणतान्त्रिक शासन व्यवस्थालाई इमानदारीपूर्वक जोगाउने प्रतिबद्धता व्यक्त गरे ।

गत बुधबार ग्याबोनको निर्वाचन आयोगले राष्ट्रपति अली बोङ्गा पुनः निर्वाचित भएको घोषणा गरेको केही बेरमै जनरल न्गुमाले बोङ्गोविरुद्धको सत्ता विप्लवको नेतृत्व गरेर उक्त निर्वाचन वदर गरिएको जनाउँदै देशको शासन व्यवस्था सेनाले लिएको राष्ट्रिय टेलिभिजनबाट घोषणा गरेका थिए ।

बाह्र जना सैनिक अधिकारीलाई साथमा लिएर उनले सबै गणतान्त्रिक संस्था भङ्ग गरिएका तथा अर्को सूचना नभएसम्म देशको सिमाना बन्द गरिएको घोषणा गरेका थिए । विपक्षीहरूले धाँधली भएको तर्क गरेको निर्वाचनमा राष्ट्रपति बोन्गोले दुई तिहाइ मतले जितेको निर्वाचन आयोगले बताएको थियो ।

सैनिक शासकलाई अन्तरिम राष्ट्रपतिका रुपमा शपथ गराउन आयोजित समारोहमा हर्षोल्लासपूर्वक उपस्थित भएका नागरिकहरूको भीड जम्मा भएको थियो । शपथ समारोहमा उपस्थित भएका एएफपीका एक जना पत्रकारले नयाँ राष्ट्रपतिको शपथमा ठूलो सङ्ख्यामा जनसाधारण सहभागी हुनुलाई सेनाप्रति जनताको समर्थन रहेको पुष्टि भएको बताएका छन् । सैनिक शासकको शपथसँगै ग्याबोनमा बोङ्गो वंशको ५५ वर्षको शासन अन्त्य भएको छ ।

सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएको ग्याबोन अफ्रिकाको प्रमुख तेल उत्पादक देशमध्येको एक हो । ग्याबोनको ९० प्रतिशत भूभाग जङ्गलले ढाकिएको छ ।

फ्रान्सको उपनिवेश रहेको नाइजरका निर्वाचित राष्ट्रपतिलाई सेनाले आफ्नो सुरक्षा घेरामा राखेर गत जुलाई २८ देखि सत्ता सञ्चालन गरेको छ । केही वर्षयता अफ्रिकामा सैन्य विप्लव नियमित घटना भएका छन् । हालैका वर्षमा बुर्किना फासोमा दुईपटक र गिनी बिसाउ, गाम्बिया र साओ टोम र प्रिन्सिपेमा एकपटक असफल विद्रोहका प्रयासका छन् ।

हाइकुई आँधी ताइवानपछि चीनतर्फ अघि बढ्दै

हाइकुई आँधीका कारण सोमबार ताइवानको तटीय क्षेत्रमा सामान्य जनजीवन प्रभावित बनेको छ । आँधीले सयौं रूखहरू ढालेको छ भने आँधीसँगै आएको मुसलधारे पानीका कारण तटीय सडकहरूमा व्यापक क्षति पुगेको छ ।

हाइकुई सुरुमा टापुबाट बाहिरिएको जस्तो देखिए पनि सोमबार बिहानै दक्षिणपश्चिम काउसियुङमा दोस्रो पटक अवतरण भएको थियो र त्यसपछि ताइवान स्ट्रेटमा प्रवेश गरेको थियो ।

त्यहाँ कुनै पनि व्यक्तिको मृत्यु भएको खबर प्राप्त भएको छैन । अधिकारीहरूका अनुसार आँधीका कारण १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । मुख्यतः रूख ढलेका र कार दुर्घटनाका कारण उनीहरू घाइते भएका अधिकारीहरूले बताएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।

कम जनसङ्ख्या भएको पूर्वी ताइवानको तटीय पहाडी काउन्टी ताइतुङमा विनाश देखिएको छ । ताइतुङ्गको दोङहे बस्तीका ५५ वर्षीय गाउँका मुखिया चेन हाई–फेङले भने, “मैले जीवनमा यति ठूलो आँधी पहिलो पटक देखेँ ।”

हाइकुईलाई अघिल्ला आँधीबेहरीको तुलनामा कम गम्भीर मानिएको भए तापनि चेनले एएफपीसँग भने, “बिहान सबेरै सडकबाट रूखहरू हटाउने कामको सर्वेक्षण गर्दा यो अझ शक्तिशाली महसुस भएको थियो ।”

उनले भने, “यो बाणजस्तै सिधा हामीमाथि आएको छ । आँधीबाट ठूलो मात्रामा भवन र खेतवालीमा क्षति पुगेको छ ।’

ताइवानमा चार वर्षयता पहिलो पटक आएको हाइकुइ आँधीका कारण उक्त टापुका करिब आठ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

सयौं उडानहरू रद्द गरिएका छन् र व्यवसायहरू बन्द भएका छन् ।

दुई लाख ६० हजारभन्दा बढी घरधुरीमा अस्थायी रुपमा विद्युत् आपूर्ति बन्द भएको छ भने करिब २२ हजार घरमा सोमबार दिउँसोसम्म पनि विद्युत् पुगेको छैन भने १४ वटा नगरमा विद्यालय र व्यवसाय बन्द रहेका छन् ।

युक्रेनी रक्षामन्त्री पदबाट बर्खास्त

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओलेक्सी रेजनिकोभलाई रक्षामन्त्रीको पदबाट बर्खास्त गरेका छन् । रूससँगको युद्ध १९ औँ महीनामा प्रवेश गरिरहँदा जेलेन्स्कीले रेजनिकोभलाई पदबाट बर्खास्त गर्दै रूस्टेम उमरोभलाई देशको नयाँ रक्षामन्त्रीका रूपमा मनोनित गरेका छन् ।

सन् २०२२ को फेब्रुअरी २४ मा रुस–युक्रेन युद्ध सुरु भएदेखि नै युक्रेनका लागि रेजनिकोभ एक चर्चित व्यक्तित्व बनेका थिए ।

यो अवधिमा रूस–युक्रेन युद्धले धेरै मानिसको ज्यान लिइसकेको छ र अहिले पनि दुई देशबीच युद्ध जारी छ । जेलेन्स्कीले युक्रेनका पूर्व ‘पिपल्स डेपुटी’ रूस्टेम उमरोभलाई नयाँ रक्षामन्त्रीमा मनोनित गरेको आफ्नो सामाजिक सञ्जाल अकाउन्ट एक्समा पोस्ट गरेको भिडियोमा उल्लेख गरिएको छ ।

“अब रुस्तम उमरोभले मन्त्रालयको नेतृत्व गर्नुपर्छ । युक्रेनको भर्खोवना रादा (विधायिका) ले यी व्यक्तिलाई राम्रोसँग चिनेको छ, र उमरोभलाई कुनै थप परिचयको आवश्यकता छैन,” जेलेन्स्कीले भनेका छन् । “म आशा गर्दछु संसदले यस उम्मेदवारलाई समर्थन गर्नेछ” उनले भने ।

यसअघि युक्रेनका राष्ट्रपतिले जेलेन्स्कीले रक्षामन्त्री ओलेक्सी रेजनिकोभलाई बर्खास्त गरेको जानकारी गराउँदै भिडियोमा भनेका छन्, “मैले युक्रेनको रक्षामन्त्रीलाई हटाउने निर्णय गरेको छु । रेजनिकोभले ५५० दिनभन्दा बढीको पूर्ण युद्ध भोग्नुभएको छ । मन्त्रालयलाई नयाँ दृष्टिकोण र सेना र समाज दुवैसँग अन्तरक्रियाको अन्य ढाँचाको आवश्यकता छ ।”

जेलेन्स्कीले युक्रेनको सरकारमा व्याप्त भ्रष्टाचारलाई जरैदेखि उखेलेर फ्याँक्नु नेटो र युरोपियन युनियनमा लामो समयदेखि प्रतिक्षित सदस्यता प्राप्त गर्ने कीएभको सम्भावनाका लागि महत्वपूर्ण रहेको बताएका छन् । युक्रेनका राष्ट्रपतिले आफ्नो चुनावी अभियानमा आन्तरिक कलहलाई मुख्य मुद्दा बनाएका छन् ।

सीएनएनका अनुसार शनिबार युक्रेनका सबैभन्दा शक्तिशाली कुलीन वर्ग र जेलेन्स्कीका एक प्रमुख समर्थक इहोर कोलोमोइस्कीलाई ठगी अनुसन्धानको क्रममा पक्राउ गरिएको थियो । कीएभको एक अदालतले कोलोमोइस्कीलाई ६० दिनको पूर्व–परीक्षण हिरासतमा राख्न आदेश दिएको छ ।

यसैबीच, अधिकारीहरूले उनीविरुद्ध ठगीको आरोपको अनुसन्धान गरिरहेका छन् । सबैभन्दा शक्तिशाली कुलीन वर्गमध्ये एक, कोलोमोइस्कीको सञ्चार र बैङ्किंग व्यवसायले उनलाई युक्रेनको सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक बनाएको छ ।

भारतको कश्मीर पदयात्रा पर्यटनको आकर्षक गन्तव्य बन्दै

पछिल्लो समय भारतको जम्मु कश्मीरमा पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या बढ्दै जान थालेको छ । कश्मीर पर्वतारोहण र पदयात्राका लागि निकै आकर्षक गन्तव्य मानिन्छ ।

यही आकर्षक गन्तव्यमा पदयात्रा गर्न आउने पर्यटकको सङ्ख्या पछिल्ला केही वर्षयता बढ्न थालेको गुडमर्निङ कश्मीरले जनाएको छ ।

पछिल्लो केही वर्षमा शान्ति सुरक्षाको प्रत्याभूतिका कारण भारतका विभिन्न राज्यसँगै युरोप र अमेरिकी महादेशका मुलुकहरुबाट पनि पर्यटक आउन थालेका छन् ।

कश्मीर क्षेत्रमा पदयात्राका लागि पर्यटकको आगमन बढेसँगै यसअघि अन्य क्षेत्रमा काम गरिरहेका युवाहरु पनि पर्यटन, पर्वतारोहण, पथ प्रदर्शकजस्ता पेशामा आकर्षत हुन थालेका छन् ।

यसबाहेक युवाहरुले सामाजिक सञ्जालमार्फत पनि पर्यटकलाई आकर्षित गर्न थालेको गुडमर्निङ कश्मीरले जनाएको छ ।

भारतका शक्तिकान्त दास बने विश्वकै उत्कृष्ट गभर्नर

भारतीय केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)’ का गभर्नर शक्तिकान्त दास विश्वकै उत्कृष्ट गभर्नर बनेका छन् । ए प्लस’ ग्रेडिङ पाएका बैंक गभर्नरहरुको सूचीको शीर्ष स्थानमा गभर्नर दासलाई राखिएको हो ।

अमेरिकाबाट प्रकाशन हुने ‘ग्लोबल फाइनान्स’ पत्रिकाले ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३’ मा’ तीन वटा बैंकलाई ‘ए प्लस’ ग्रेडिङ दिएको थियो ।

दासपछि दोस्रो नम्बरमा स्विट्जरल्याण्डको केन्द्रीय बैंकका गभर्नर थोमस जे जोर्डन परेका छन् । त्यसपछि भियतनामका गुएन थि होङको उत्कृष्ट सूचीमा नाम छ ।

मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि लक्ष्य, मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनमा सफलताको लागि ‘ए’ देखि ‘एफ’ को स्केलमा ग्रेडहरु प्रदान गरिएको छ ।

यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल प्लेटफर्म ट्विटर (एक्स) मा एक पोस्ट सेअर गरेर ग्लोबल फाइनान्स सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३ मा शक्तिकान्त दासलाई ‘ए प्लस’ रेटिङ पाएकोमा बधाइ दिएका छन्।

मोदीले लेखेका छन्, ‘आरबीआई गभर्नर शक्तिकान्त दासलाई बधाइ। यो भारतका लागि गर्वको क्षण हो, जसले विश्वमा हाम्रो वित्तीय नेतृत्वलाई प्रतिविम्बित गर्दछ। शक्तिकान्त दासको समर्पण र दूरदर्शिताले हाम्रो देशको विकास यात्रालाई निरन्तरता दिनेछ।

श्रीलङ्कामा आँधीबाट सावधानी अपनाउन आग्रह

श्रीलङ्काको मौसम विज्ञान विभागले आइतबार टापुको तटीय क्षेत्रमा हावाको गति ६० देखि ७० किलोमिटर प्रतिघण्टासम्म बढ्न सक्ने पूर्वानुमान गर्दै जलसेना तथा मछुवालाई सतर्क रहन आग्रह गरेको छ ।

हम्बनटोटादेखि पोट्टुभिलसम्मको समुद्री क्षेत्र र पुत्तलामदेखि मन्नार, कनकासन्थुराई हुँदै त्रिन्कोमालीसम्मको समुद्री क्षेत्रमा हावाको गति बढ्न सक्ने विभागले जनाएको छ ।

“पुत्तलामदेखि कोलम्बो र गाले हुँदै हम्बनटोटासम्म फैलिएको समुद्री क्षेत्रमा कहिलेकाहीँ हावाको गति ५० देखि ६० किलोमिटर प्रतिघण्टासम्म बढ्न सक्छ । उपरोक्त समुद्री क्षेत्रमा माछा मार्ने र नौसैनिक गतिविधिमा संलग्न नौसेना र माछा मार्ने समुदायहरूलाई यस सम्बन्धमा सतर्क रहन अनुरोध गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले एक छुट्टै पूर्वानुमान जारी गर्दै देशको दक्षिण–पश्चिमी भू–भागमा अझै वर्षाको सम्भावना रहेको जनाएको छ । पश्चिमी र सबरागामुवा प्रान्तका केही स्थानमा तथा गाले, मातरारा र नुवारा एलिया जिल्लाका केही स्थानमा १०० मिलिमिटरभन्दा माथिको भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मेघगर्जन र चट्याङसहित क्षणिक रुपमा हावाहुरी र चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि पर्याप्त सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरिएको हो ।