बाल साहित्य लेख्न बालक बन्न सक्नुपर्छ | Khabarhub Khabarhub

बाल साहित्य लेख्न बालक बन्न सक्नुपर्छ


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सशक्त कवि मित्रलाल पंज्ञेनीको जन्म बुबा शिवलाल र आमा खिना देवीका सुपुत्रका रूपमा विसं २०१७ सालमा स्याङजाको काफल डाँडामा भएको हो। वास्तविक धरातलमा आदर्शको स्थापना गरेर रचनात्मक सम्भावना खोज्ने कवि मित्रलालले काव्यदेखि महाकाव्य सम्मको सिर्जना गरेका छन्। उनले खण्डकाव्य महाकाव्य निबन्ध र बाल साहित्य लगायत विविध विधामा कलम चलाएका छन्। कवि तथा साहित्यकार मित्रलाल पंज्ञेनीसँग भगवती बस्नेतले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंको साहित्यिक कसरी अगाडि बढ्दै छ ?
मैले ३० को दशकबाट लेख्न सुरु गरेँ। त्यो बेला म पारिवारिक वातावरण, समाज र विद्यालयबाट प्रभावित भएँ। हाम्रो बुवाले कविताहरू भन्ने गर्नु हुन्थ्यो। श्लोक भन्नु त उहाँको दैनिकी जस्तै थियो। त्यो बाट मलाई छन्दप्रति अनुराग पैदा भयो जस्तो लाग्छ। गाउँघर, वन, पाखामा गीतहरू घन्किन्थे। समाजमा ‘पानी पर्याे सालघारी करायो बर्खा लाग्यो भेटघाट नै हरायो’ यो कुरो त सामान्य छ। तर भित्र हेर्दा वर्षा लाग्यो खोला नाला बढे हिँड्न असहज भयो भन्ने कुरा हो यसमा पनि साहित्य हुनेरहेछ। त्यो सुनाइले पनि प्रभाव पार्याे। पछि स्कुलमा जाँदा पनि शिक्षकबाट सिकियो। प्रतियोगितात्मक कार्यक्रमहरू हुन्थे। कविता लेखमा भाग लिन थालेँ। अभ्यास हुँदाहुँदै निरन्तर लेख्ने बानी पर्याे। तर त्यो गाउँको सीमित क्षेत्रमा धेरै ज्ञान र पहुँच थिएन। जति लेखे पनि सबैले वाह भन्नुहुन्थ्यो। मेरो पहिलो प्रकाशित सामग्री नै कविता संग्रह हो। ‘सामन्त परिचय’। यो अन्याय अत्याचारको शोषण दमनको विरोध गर्नुपर्छ भन्ने चेतना ममा पलाइसकेपछि सिर्जना भएको कविता कृति हो।

कस्ता सामन्तहरू तपाईंले सामना गर्नुपरेको थियो ?
३६ सालको विद्यार्थी आन्दोलनमा म पनि सहभागी भएँ। गाउँमा सामन्त र पञ्चहरूले दबाएर राखेका मान्छेहरू त्यो आन्दोलनले कुण्ठा विस्फोट गर्न निस्किए। सामन्तमाथि मोसो लगाउने र जुत्ताको माला लगाउने काम भयो। त्यसको विरोध गर्नुपर्ने रहेछ भन्ने भयो। महँगो महँगोमा ब्याज लगाउने र गरिबको घर खेत उठाउने प्रचलन थियो। त्यसैले यी सामन्त हुन्। यीसँग होस राख भनेर मैले त्यो कृति एक जना लाहुरे दाइसँग गएर छापेको हुँ।

त्यो बेला अहिले जस्तो कम्प्युटर प्रिन्ट गर्ने भनिन्थ्यो तर एक एक अक्षर हातैले लेखेको अक्षर कम्पोज गर्ने गरिन्थ्यो। त्यसपछि मलाई प्रुफ हेर्न दिइयो। मैले जस्तो टुहुरो लेख्न पर्ने ठाउँमा हुहुरो छ भने त्यही टलाई ह बनाइदिए कालोलाई कालै ले सच्याएँ। उसले थाहा नै पाएन र बाहिर आउँदा केही धेरै बिग्रिएर आएछ तै पनि समाजमा ठुलो भएको महसुस भयो।

पछि ४२ सालमा काठमाडौँ आएपछि चेतना अध्यायनको क्षमता पनि फराकिलो भयो। म साहित्य सन्ध्या भन्ने संस्थामा जोडिए। त्यो बेलामा पञ्चायतको दमनको बेला थियो। त्यो बेला साहित्य संस्था विद्रोह बोल्ने थलो थियो। यो देशका अधिकांश मान्छेहरू त्यो साहित्य संस्थामा आउनुहुन्थ्यो।

एउटा कविले आफ्ना कविता लेखेर समाज परिवर्तन पनि गर्न सक्ने रहेछ ?
समाज परिवर्तनैको नेतृत्व त कविताले गर्न सक्दैन। नीतिहरूको श्रेष्ठ राजनीति नै हो। कविले उत्प्रेरकको भूमिका खेल्न सक्छ। जस्तो: म पहिला सुरुमा स्कुल पढाउँदा विद्यार्थीलाई कापी कलम लेउ भन्थेँ। तर कसैले ल्याउँदैनन्। किन रहेछ भन्दा घरबाट किन्दिनु भएन भन्थे। त्यसपछि मैले शुक्रबारको दिन ‘आमा म त सानै छु नि पढ्न स्कुल जान्छु। खाजा बनाइ राखिदिनु फर्किएपछि खान्छु। कापी छैन बाबा मेरो कलम पनि छैन, किनी दिनुपर्याे नत्र पढ्नै जाने छैन।’ विद्यार्थीलाई यो गीत कण्ठ गर र घरमा गएर पनि गाउँ भनेर पठाएँ। आइतबार सबैले कापी कलम लिएर आए। त्यसैले एउटा सिर्जनाले पनि प्रभाव पार्ने रहेछ भन्ने भयो।

२०४२ सालमा किन काठमाडौं आउनुभयो ?
मैले ३५ सालमा एसएलसी पास गरेको हुँ। त्यसपछि गाउँमै पढाउन थालेँ। आइए त्यही गरे ४२ सालमा बिए पढ्नको लागि काठमाडौं आएको थिएँ। यहाँ आएपछि यहाँको अनुभव र यहाँबाट हेर्दा गाउँलाई देखिने दृश्य लेखेँ। त्यसपछि खण्ड काव्यहरू पनि लेखेँ। पछिपछि लेखनको ढाँचा बदलिँदै गयो।

गतिमान गण्डकी भन्ने खण्डकाव्यको बारेमा केही बत्ताउनुहोस् न ?
कालीगण्डकी मैले नजिकबाट देखेको हो। त्यो गतिशील छ, कहिल्यै सुक्दैन निरन्तर बगिरहन्छ। त्यस्तै समाजमा पनि परिवर्तन हुन्छ। त्यसमा क्रान्तिकारी धारा पनि हुन्छन्। त्यसले दुनियाँ बदल्छ। दुनियाँलाई बदल्न सकिन्छ। गति नै परिवर्तनको कारक हो। जीवन निरन्तर गतिशील हुनुपर्छ भन्ने अर्थ दिने गरी लेखेको हुँ।

नायक भन्ने खण्डकाव्य कस्तो हो ?
नायकमा नायकहरूले म सोचेर राजनीति गर्नु हुँदैन, हामी सोचेर गर्नुपर्छ भन्ने सन्देश छ। तर उल्टो भयो नायकहरू नायक जस्ता भएनन्। राजनीति छोरो–छोरी भनेर नाता तिर गयो। त्यसमा बुद्ध जस्तो नायक लोभ नभएको सबैलाई बुझ्ने इमानदार र चतुर नायकको खोजी हुन्छ। हामीसँग चलाख छन् इमानदार छैनन् आफ्ना मात्र स्वार्थ हेर्छन्। त्यसैले इमानदारी र चलाखी भएको बुद्ध जस्तो त्यो नायक हुनुपर्छ भन्ने अर्थमा लेखिएको हो।

युगान्तर महाकाव्य लेख्न कति समय लाग्यो ? यसको प्रेरणा स्रोत के हो ?
महाकाव्य मैले दुई महिनामा लेखेँ। साथीहरूले मलाई महाकाव्य लेख भन्नुभएको एक दशक भन्दा बढी भइसकेको थियो। लेख्छु भन्दा भन्दै जीवनका बाध्यतामा फसियो। लेख्न पाएको दिन मैले पहिला शास्त्रीय छन्दमा लेखेँ। शास्त्रीय छन्दमा सबैले लय मिलाएर वाचन गर्न सक्दैनन्। त्यसो हुँदा त्यसको रोचकताको मात्रा घट्छ। वाचन गर्दा बुझिन्छ रोचक हुन्छ नहुने हैन तर जुन स्वाद पर्थयो त्यो पर्दैन। त्यस हिसाबले मलाई गीति लयमा पनि लेख्नुपर्छ भन्ने लाग्थ्यो।

मेरो विचारमा यो समाज संस्कृति मान्छेले बनाएको हो। प्रणाली जङ्गलमा पनि छ। जङ्गलमा बाघले मृग खान्छ, मृगले घाँस खान्छ, घाँसले भुइँको रस खान्छ। त्यहाँको व्यवस्था जङ्गली जनावरले बनाएको होइन। त्यो प्रकृतिगत हिसाबले आफै बनेर आएको हो। तर यो मानव समाज त मान्छेले बनाएको हो। बदल्न पनि सक्छ। यसलाई धोकाधडी, लोभलालच नराम्रा पक्षहरू हटाएर सुन्दर समाज बनाउन सकिन्छ। त्यो सम्भव छ र त्यसको निमित्त केही त्याग बलिदानी गर्नुपर्छ। गलतहरूले त्यसै छोडेर हिँड्न सक्दैनन्। त्यसलाई हटाउन केही बलको आवश्यकता पर्छ र त्यस्तो सुन्दर समाज ल्याउनुपर्छ भनेर यो युगान्तर महाकाव्य लेखेको हुँ।

तपाईंले धेरै निबन्ध पनि लेख्नु भएको छ। निबन्ध संग्रहका बारेमा केही भनिदिनुहुन्छ कि ?
मेरो सम्पूर्ण ध्येय भनेको समाज रूपान्तरण नै हो। तर एउटा मात्र विषय छैनन्। यो ‘बलेको आगो’ साझा प्रकाशनले छापेको हो। युगान्तर भुँडी पुराणले छापेको हो। यी निबन्धहरूमा जीवका विविध विषयमा चर्चा गरिएको छ।

तपाईंले बाल साहित्य लेख्नु भएको छ, बाल साहित्य लेख्नलाई कत्तिको सहज छ ?
सहज भनेर कसरी लिने र अभ्यास कति हो भन्ने पनि हुन्छ। बाल साहित्य केटाकेटीलाई हेला गरेर लय मात्र मिलाएर लेख्ने हो भने सजिलो छ। जे लेखे पनि भयो। उद्देश्यपूर्ण ढङ्गले लेख्ने हो भने बालकको नजिकमा बसेर तेजिलो बनाएर उनीहरूलाई जिज्ञासु बनाएर लेख्नुपर्छ। उनीहरूको मनोविज्ञान सबै हेरेर स्वावलम्बी बनाउनको निमित्त राम्रोसँग बाल मनोविज्ञान पनि अध्ययन गरेर मात्र यसको सिर्जना हुनुपर्छ। बाल साहित्य लेख्ने भनेको भोलिको संसार सुन्दर बनाउने हो। बालकको दिमाग सुन्दर बनाउन सक्नुपर्छ। यो बुढो दिमागमा नयाँ कुरा हाल्न धेरै गार्हाे छ। तर बालकको दिमागमा के लेख्ने भन्ने कुरा धेरै विचार गर्नुपर्छ। बाल साहित्य लेख्न स्वयम् बालक हुन सक्नुपर्छ, उनीहरूसँग खेल्न सक्नुपर्छ।

तपाईंले लेख्दा बालकको साथ थियो ?
थियो। बाल्य जीवन हामी आफैले पनि भोग्यौँ। घरमा भएका बालबालिकालाई हेरेर लेख्न सकिन्छ। विद्यालयमा छरछिमेकका बालबालिकाहरूमा बसेर कुरा गरेर पनि लेख्न सकिन्छ। कस्तो लेख्ने भनेर समग्रमा चिन्तन गरेर विचार गरेर लेख्ने हो।

तपाई किताब छपाउन इन्डिया पनि पुग्नु भएको थियो। त्यो बेला र अहिलेको समयमा के फरक पाउनु भएको छ ?
साहित्यमा त्यो बेला र अहिले आकाश पातालको फरक छ। त्यो बेला प्रसारणका माध्यमहरू नै थिएनन्। एउटा रेडियो नेपाल मात्र थियो। कुनै टेलिभिजनहरू थिएनन्। गरिमा जस्ता केही पत्रिका मात्र प्रकाशनमा थिए। त्यसो हुँदा त्यो क्षेत्र सीमित थियो। अहिले रेडियो, टेलिभिजन, अनलाइन, पत्रपत्रिका प्रकाशन गर्ने माध्यमहरू धेरै छन्। केही पाइएन भने आफूले स्वयम युट्युब र सामाजिक सञ्जालमा राख्दा पनि संसारभर पुग्छ।

भावी योजना के छन् ?
महाकाव्यमा धेरै कुरा मैले लखेँ तर चित्त बुझेको छैन। चातुर्य पनि भएको र इमानदारिता पनि भएको नायक निर्माण गर्दै सुन्दर उपन्यास व्यवस्थित ढङ्गले लेख्नुपर्छ भन्नेमा लागेको छु।

अब तपाईंको उपन्यास आउँदै छ ?
मेरो मनमा छ। त्यो पुरा हुन्छ कि हुँदैन थाहा छैन। तर नयाँ उपन्यासको विषयमा सोचिराखेको छु।

अहिलेसम्म बाँचेर आएको जीवनलाई हेर्दा कस्तो लाग्छ ?
राम्रो नै गरेँ जस्तो लाग्छ। गर्न बाँकी धेरै छ। जीवन भनेको गर्छु गर्छु भन्दाभन्दै बित्ने रहेछ। लेख्छुलेख्छु भनेका कुरा धेरै छन्। कसैले तास खेलेर बसेको देख्दा अचम्म लाग्छ। त्यसका लागि मलाई समय नै पुग्दैन। पहिला बैङ्कमा जागिर खाएँ। अवकाश पाएपछि प्रशस्त पढ्छु र लेख्छु जस्तो लाग्थ्यो भनेजस्तो भएको छैन। तर निरन्तर अक्षरसँगको सम्बन्धमा लेखेर, पढेर वा साहित्य अनुरागीहरूसँग अनुवाद गरेर समय यसैको सेरोफेरोमा बिताइराखेको छु।

बजार र सिर्जना के रहेछ ?
यो दुनियाँमा हल्लाको बजारमा आएका सामग्री मात्र मूल्यवान् हुने होइनन्। कोही कोही चुपचाप गम्भीर साधनामा बसेका पनि हुन्छन्। हल्लाको बजार र नाफा मात्र सबथोक हो भनेर सोच्नु हुँदैन। अहिले यो मोबाइल पढ्ने संस्कृति छ। तर मोबाइलले मानिसलाई सर्वनाश बनाएको छ। अब मोबाइललाई छोडेर पुस्तकतर्फ ध्यान दिनुपर्छ जस्तो लाग्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ७ : ५९ बजे

भारी वर्षाका कारण दक्षिण चीन क्षेत्रका २२ नदीमा बाढी

नानिङ – भारी वर्षाका कारण दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त

टरुवा ताल संरक्षणमा जुटे स्थानीय

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीका स्थानीय टरुवा ताल

पेट्रोल पम्पमा बढ्न थाल्यो लाइन (तस्बिरहरू)

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै आन्दोलन

नेपालसामु बंगलादेशसँग दशकअघिको हारको बदला लिने अवसर

काठमाडौं – आसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल

नर्वेले युक्रेनलाई दश करोड ३० लाख डलर सहयोग गर्ने

ओस्लो – नर्वेले युक्रेनलाई उसको ऊर्जा पूर्वाधार मर्मत र अर्को