गायनमा अविस्मरणीय प्रकाश श्रेष्ठ | Khabarhub Khabarhub

गायनमा अविस्मरणीय प्रकाश श्रेष्ठ



गीत गाउनुभन्दा अगाडि वीरगन्जबाट खेलकुदमा भाग लिन काठमाडौँ आएको बेला अचानक रेडियो नेपालमा गीत रेकर्ड गराउने मौका मिल्यो। उक्त गीत हिट भएपछि उनी एक हिट गायकका रूपमा चिनिए। ती व्यक्ति हुन् प्रकाश श्रेष्ठ।

नेपालको अपेक्षाकृत सानो सहर वीरगन्जमा जन्मिएका प्रकाश श्रेष्ठलाई गीतसङ्गीतमा आउन आकर्षित गर्ने व्यक्ति हुन् अग्रज गीतकार÷सङ्गीतकार÷गायक भीम विराट। नारायणी अञ्चलबाट हक्की खेलमा भाग लिन काठमाडौँ आएका प्रकाश श्रेष्ठलाई उनका खेलका प्रशंसक र गायनका फ्यान एक मित्रले सम्भुजीत बास्कोटासँग चिनाइदिएपछि श्रेष्ठ रेडियो नेपालमा गीत गाउन पुगे। रेडियो नेपालमा गीत गाउनु र रेकर्ड गर्न केही नियमहरू थिए। पहिलो नियम गायक वा गायिकाले स्वर परीक्षा दिनुपथ्र्यो। तर श्रेष्ठले गीत गाएको दिन स्वर परीक्षा दिनुभएको थिएन।

गीतकार राजेन्द्र रिजालको शब्द शम्भुजीत बास्कोटाको संगीतमा प्रकाश श्रेष्ठले ‘छेकेर छेकिन्नन् हिमालका टाकुराहरू’ भन्ने गीत रेकर्ड गर्दै हुनुहुन्थ्यो। रेडियो नेपालका संगीत शाखाका प्रमुख नातिकाजी श्रेष्ठ अचानक स्टुडियोमा पुगेर यो गीत गाउँदै गरेको गायकले स्वर परीक्षण गरेको छ भनेर सोध्नुभयो। तर गाउँदै गरेको गायकको आवाज नै एक किसिमले शक्तिशाली भएकोले उत्तर त्यही थियो। बिना स्वर परीक्षण नै प्रकाश श्रेष्ठको पहिलो गीत रेकर्ड भयो। यो एउटा रेडियो नेपालको इतिहासमा नलेखिएको घटनाको उल्लेख्य चर्चा हो ।

प्रकाश श्रेष्ठले यसपछि सम्भुजीत बास्कोटाका सङ्गीतमा अन्य गीतहरू पनि गाए। विशेष गरी निर शाह र राजेन्द्र रिजालका शब्दका गीत, ‘प्रेमको मूल्य मलाई नसोध’ वा ‘गहिराइमा डुब्दै नडुब डुबिसकेका छौँ भने मोती नटिपी नफर्क’। तर प्रकाश श्रेष्ठलाई गायकका रूपमा एक विशेष संगीतकारको गीतले लोकप्रियता दिलायो। गुरुजी नामबाट परिचित सङ्गीतकार सिके रसाइलीको सङ्गीतमा निर शाहको शब्दमा ‘आँखा जुधेको कति दिन भयो’ भन्ने गीतबाट प्रकाश श्रेष्ठ लोकप्रिय भए।

यो गीतपछि प्रकाश श्रेष्ठलाई धेरै सङ्गीतकार र गायक गायिकाले अत्यन्त सम्मानको दृष्टिले हेर्न थाले र प्रकाश श्रेष्ठ बिस्तारै युवा पुस्ताका सङ्गीकारतिर पनि आकृष्ट भए। राम थापाको सङ्गीतमा पनि उनले गाए ‘यस्तै रहेछ यहाँको रहर’ र प्रकाश श्रेष्ठको गायनको यात्रा बिस्तारै फैलिदै गयो। गोपाल योञ्जन, शिवशङ्कर, नातिकाजीका सङ्गीतमा पनि उनलाई गाउने मौका मिल्यो।

गोपाल योञ्जनको सङ्गीतमा अर्को जन्म नामको फिल्ममा उनले प्लेब्याकको पहिलो मौका पाए। त्यो फिल्म त्यति चर्चामा नआए पनि प्रकाश श्रेष्ठले नेपालबाहिर गएर फिल्मका निम्ति गीत गाउने मौका पाए। यसपछि शाही नेपाल चलचित्र संस्थानबाट नै बनेको फिल्म बदलिँदो आकाशमा पनि नगेन्द्र थापाको शब्द, गोपाल योञ्जनको सङ्गीतमा गीत गाउने मौका पाए। यी दुई फिल्मबाहेक श्रेष्ठलाई लोकप्रियताको शिखरमा पुर्याएको अर्को फिल्म गोपाल योञ्जनकै सङ्गीतमा ओम त्रि–नेत्र प्रदर्शनको फिल्म कान्छी।

कान्छीमा प्रकाश श्रेष्ठले गाएको गीत चेतन कार्कीको शब्दमा ‘कान्छी हे कान्छी’ भन्ने गीतले विमला रायको साथमा उनलाई ठुलो ख्याति मिल्यो। यो गीत मुलत गाउँका शब्दमा लोकलयमा रचिएको भए पनि स्वरचित सङ्गीत हो।

यो गीतको लोकप्रियतापछि प्रकाश श्रेष्ठ नेपाली चलचित्रको एउटा चर्चित प्लेब्याक सिङगरका रूपमा चिनिए। रेडियो नेपालमा गाएका उनका गीतहरुको पनि लामो ख्याति थियो। ‘फेवातालको आँगनमा लै लै’ वा गगन विरहीको शब्द राम थापाको सङ्गीतमा ‘पानीको रिमझिम वर्षातको बेला’ यी धेरै गीतबाट पनि प्रकाश श्रेष्ठ चिनिएका थिए। तर नेपाली चलचित्रका गीतहरू गाउन थालेपछि प्रकाश श्रेष्ठ नेपालभित्र बसेर नेपाली फिल्ममा धेरै गीत गाउने गायकको रूपमा चिनिए। वा नेपालको पत्रकारिताले उनलाई सबै भन्दा धेरै फिल्ममा गीत गाउने गायक भनेर समाचार पनि छापियो।

भारतको बलिउडमा त्यो बेला संघर्ष गरिरहेका उदितनारायण झालाई उनैको भाषामा भारतीय गायक नमान्ने हो भने नेपाली फिल्ममा धेरै गाउने गायकमा झा पनि पर्दछन्। तर प्रकाश श्रेष्ठ नेपाल भित्रै बसेर गीत गाउने गायकमा अग्रपक्तिमा थिए। प्रकाश श्रेष्ठले नेपाली कथानक चलचित्रमा गोपाल योञ्जन, शम्भुजीत बास्कोटाको सङ्गीतमा गाउन थालेपछि चलचित्रका निर्माताले प्रकाश श्रेष्ठलाई हरेक फिल्ममा दोहोर्याउन थाले।

यो उनको सौभाग्य गएर जोडियो बलिउडका प्रसिद्ध स्याक्सोफोनिस्ट र एसडी बर्मन, आरडी बर्मनका सहायक नेपाली मूलका मनोरिसिङ। मनोरिसिङले सङ्गीत गरेका फिल्ममा पनि प्रकाश श्रेष्ठलाई गाउने मौका मिल्यो। त्यसमध्ये सन्तान, कन्यादान जस्ता फिल्महरू प्रर्दशन भयो।

प्रकाश श्रेष्ठलाई बम्बईमा गीत गाउँदै गरेको बेलामा उनीसँग युगल गीत गाउने गायिका आशा भोस्लेका त्यति बेलाका पति सङ्गीतकार आरडी बर्मनलेसमेत हेर्न आए। प्रकाश श्रेष्ठको भनाइमा आरडी बर्मनले त उनलाई बम्बईमा बसेर हिन्दी गीत गाउन पनि आग्रह गरेका थिए।

आफ्नो पेसागत क्षेत्र नेपाल वायुसेवा निगमको कर्मचारी भएका कारणले उनलाई कहिले दिल्ली कहिले काठमाडौँ जानुपर्ने भएकोले बम्बइ जान सकेनन्। तर प्रकाश श्रेष्ठले यहीँ बसेर पनि नेपाली फिल्ममा गाएका गीतहरू चर्चित भए। साधना सर्गम र आशा भोस्ले वा अन्य गायिकासँग गाएका उनका सबै गीत लोकप्रिय भए।

कुनै कुनै गीतमा प्रकाश श्रेष्ठले नारायण गोपाल पछिको उत्तराधिकारीको अहम् भूमिका पनि पाएका छन्। त्यस्तो गीत हो चेतन कार्कीद्वारा निर्देशन गरिँदै गरेको फिल्म विश्वास जसमा गोपाल योञ्जनका सङ्गीतमा नारायण गोपाल, सुकमित गुरुङ, प्रकाश श्रेष्ठ र अन्य कलाकार गाउँदै थिए। तर एक सन्दर्भमा आएर नारायण गोपालले आफ्नो गीति यात्रा भाग्यको रेकर्डिङको व्यस्तता र स्वास्थ्यको कारण देखाएर नगाउने भनेपछि नारायण गोपालले अभ्यास गर्दै गरेको गीत नै प्रकाश श्रेष्ठको भागमा पर्न गयो।

प्रकाश श्रेष्ठले त्यो गीत गाउनुअघि नारायण गोपालसँग भेट नै गरेर अनुमति मागे। नारायण गोपालले तिमीले मात्र गाउन सक्छौँ भनेपछि त्यो गीत प्रकाश श्रेष्ठले गाए। त्यो गीत एउटा रागमा आधारित थियो ‘अङ्ग अङ्गमा तरङ्ग बोकी’ त्यो गीत निकै लोकप्रिय भयो। यो नारायण गोपालले गाउन छोडेको पहिलो गीत प्रकाश श्रेष्ठले पाएका हुन्।

त्यसैगरी अर्को फिल्म प्रोडक्सनको गीत थियो श्याम राईद्वारा निर्देशन गरिँदै गरेको चोट फिल्मको गीत जसमा नारायण गोपालले एउटा युगल गीत गाएका थिए। त्यो युगल गीतको साङ रेकर्डिङ स्टुडियोमा रेकर्ड गर्दागर्दै नारायण गोपाल अस्वस्थ भएपछि आफूले गाएर रेकर्ड गरिसकेको गीत पनि नारायण गोपालले निर्मातालाई फोन गरेर यो गीतमा मेरो स्वर राम्रो भएन। यो अर्को गायकलाई गाउन दिनु त्यो गायक प्रकाश श्रेष्ठ हुनसक्छ भनेका थिए। प्रकाश श्रेष्ठले ‘तिमी किन आज यस्तो आँखा तरे जस्तो’ भन्ने गीत गाए। यही फिल्मको अर्को गीत ‘विरही माया अधुरो भयो’ नारायण गोपालको स्वरमा रेकर्ड पनि भएको छ।

यसर्थमा प्रकाश श्रेष्ठ नारायण गोपालका र गोपाल योञ्जनका पनि प्रिय गायक थिए। र गोपाल योञ्जनको फिल्मको प्राय मेन प्लेब्याकमा प्रकाश श्रेष्ठले गाएका छन्। सङ्गीतकार मनोहर सिंहको उनी पहिलो रोजाइ नै भए।

जब रञ्जित गजमेरले नेपालबाट लगानी भएर बनेका फिल्महरूमा सङ्गीत गर्न थाले त्यसमा पनि प्रकाश श्रेष्ठलाई प्लेब्याक सिंगरका रूपमा चुने। रञ्जित गजमेरको उदित नारायण झासँगको बढ्दै गएको दुरी र दुई पारिवारिक सम्बन्धमा आएको कटुताको समयमा गजमेरले प्रकाश श्रेष्ठलाई उदित नारायण झाको ठाउँमा रिप्लेस गरे। त्यसमध्ये गजमेरको सङ्गीतमा उनले देउता र अन्य फिल्महरूमा गाए।

प्रकाश श्रेष्ठको गायकीको सम्बन्ध उनी हरेक सङ्गीतकारसँग त्यतिकै सहज रूपमा गाउन सक्ने र आफ्नो गायकी र क्षमता देखाउन सक्ने कलाकार थिए।

यादव खरेलले निर्देशन गरेको पहिलो चलचित्र चेलिबेटीको बम्बईमा रेकर्डिङको सम्पूर्ण तामझाम मिलाउनको लागि यादव खरेलले प्रकाश श्रेष्ठलाई आग्रह गरेपछि सङ्गीतकार शम्भुजीत बास्कोटासहित गएको टोलीले प्रकाश श्रेष्ठलाई चेलीबेटीमा प्रमुख गायकका रूपमा सम्पूर्ण गीत गाउने अभिभारा मिल्यो। चेलीबेटीपछि बास्कोटाले सङ्गीत गरेका धेरै फिल्ममा प्रकाश श्रेष्ठले गाएका छन् र ती गीतहरू लोकप्रिय भएका छन्। प्रकाश श्रेष्ठ यस अर्थमा चलचित्रका सफल गायक हुन्।

नेपाली आधुनिक सङ्गीतमा रेडियोको सफल गायक मानिएका प्रकाश श्रेष्ठले चलचित्रमा पनि गजबको रेकर्ड राखे। त्यसबाहेक उनको अर्को क्षेत्र मञ्चमा कार्यक्रम प्रस्तुत गर्दा आफ्ना समकालीन गायकहरू भन्दा निकै फरक शैलीमा गाउँथे र स्टेजको पर्फमेस पनि सफल हुने गर्दथ्यो। नारायण गोपालका लागि समर्थक गायकका रूपमा सिलगुडीमा गर्न गएको साङ्गीतिक यात्रामा प्रकाश श्रेष्ठका गायनको प्रस्तुति देखेर सिलगुडीका एक आयोजकले यसको लगत्तै सिलगुडीमा २०३९÷४० मा प्रकाश श्रेष्ठ नाइटको आयोजना गरे।

त्यसपछि २०४० सालको हरेक जस्तै प्रकाश श्रेष्ठ नाइट कहिले नारायणघाट, बुटवल, वीरगन्ज र काठमाडौँमा हुन थाल्यो र प्रकाश श्रेष्ठ यसरी स्टेजमा आफ्ना गीतहरू लिएर उपस्थित हुन्थे। उनको निकै लोकप्रिय भएको गीत सुनिल थापाको शब्द शम्भुजीत बास्कोटाको सङ्गीतमा ‘सफल तिम्रो त्यो जिन्दगीलाई यो दुखीको बधाई छ’ वा ‘तिमी लालीगुराँस फुलेजस्ती’ यी धेरै गीतहरू प्रकाश श्रेष्ठले गाउँदै आए। पछि प्रकाश श्रेष्ठले रवीन्द्र शाहको शब्दमा दिव्य खालिङको सङ्गीतमा गाएको ‘सडकको म फूल जस्तै ढुङ्गा जस्तै भएछु’ निकै लोकप्रिय भयो ।

प्रकाश श्रेष्ठले आफ्ना समकालीन सङ्गीतकारबाट सुरु गरेको यात्रालई अग्रज सङ्गीतकार शिवशङ्कर, नातिकाजी, सिके रसाइली, अम्बर गुरुङ, गोपाल योञ्जनसम्म पुर्याए र आफ्नै समकालीन राम थापा, शक्ति वल्लभ हुँदै पछिल्लो पुस्ताका सङ्गीतकारको निम्ति एउटा कम्फरटेबल गायकका रूपमा चिनिन्थे। उनका गीतहरू युवाहरूको लागि ढुकढुकी जस्तै थियो। प्रकाश श्रेष्ठ, नेपालीसँग सङ्गीत आकाशमा पछिल्लो समय नेपाली कथानक चलचित्रहरू जस्तो छोरी–बुहारी वा जुनतारा जस्ता फिल्ममा उनले गाएका गीतहरू लोकप्रिय भए।

शक्ति वल्लभसँग पनि तयार पाएको एउटा निजी एल्बममा ‘हल्का रातो झोलाबाट चिठी हराएछ’ भन्ने गीत पनि निकै लोकप्रिय भएको थियो। प्रकाश श्रेष्ठ नेपाली आधुनिक सङ्गीतको मध्यान्तरका माणिक रत्न, दीप श्रेष्ठपछि अर्के लोकप्रिय गायक हुन् भन्दा अतियुक्ति नहोला। प्रकाश श्रेष्ठको गायन यात्राको सदैव सफलताको कामना।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १० : ४६ बजे

एस्ट्राजेनेकाले विश्वभरबाट कोरोनाविरुद्धको खोप फिर्ता लाने

काठमाडौं – एस्ट्राजेनेका कम्पनीले विश्वभर रहेका कोरोनाविरुद्धको खोप फिर्ता लैजाने

त्रिविमा संघीयताअनुरूप पुनःसंरचनाको गृहकार्य

काठमाडौं– त्रिभुवन विश्वविद्यालयलाई संघीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ ।

गण्डकी प्रदेश सरकारविरुद्धको रिटको पेशी आज

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध  सर्वोच्च अदालतमा परेको रिटको पेशी बिहीबारलाई

रोमाञ्चक मोडमा आईपिएलः यस्तो बन्दैछ समीकरण

यो सिजनको इन्डियन प्रिमियर लिग (आईपिएल) रोमाञ्चक मोडमा पुगेको छ।

पारस खड्का भन्छन् – ‘मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउँछु’

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक