समाचार

‘आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण’ 

By खबरहब

April 05, 2023

गोदावरी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अहिलेको अवस्थामा आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण बन्दै गएको बताएका छन्।

धनगढी उपमहानगरपालिका–१३ राजपुरमा आज प्रादेशिक आयुर्वेद चिकित्सालय भवनको उद्घाटन गर्दै उनले दिन प्रतिदिन आयुर्वेद चिकित्सा प्रणालीतर्फ सबैको आस्था बढ्दै गएको बताए ।

उनले प्रदेश सरकारले प्रादेशिक आयुर्वेद चिकित्सालयका लागि आवश्यक बजेट विनियोजन गरी संरचनात्मक र आवश्यक जनशक्तिको व्यवस्था गर्ने बताए । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पूर्व बजेट छलफल गरिरहेको जनाउँदै उनले जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखिने बताएका छन् ।  

पचास शैय्याको चिकित्सालय ३४ करोड लागतमा निर्माण गरिएको हो । चिकित्सालयबाट ल्याब, ओपीडी, पूर्वकर्म, पञ्चकर्म लगायतका सेवा प्रदान भइरहेका छन् । चिकित्सालयमा पेट समस्या, पाइल्स, फिस्टुला, बाथ लगायतका उपचार हुने गरेको जनाइएको छ ।