म्यासेञ्जरको नोटिफिकेसन देखियो। शिक्षक ममता ज्ञवालीको सामूहिक सन्देश रहेछ। सोधिएको थियो-“पठन संस्कृति विकास गर्नुपर्यो। कुन-कुन पुस्तक पढ्ने होला, सहयोग गरौँ न गुरुहरू !” बिहान करिब साढे पाँच बजेतिर यस्तो शुभ सङ्केत ! अनायास मुस्काएँ। अब उनका साथीहरूले के लेख्लान् ? कौतुहलताले दिनभर छोडेन।
पाल्पाका सामुदायिक विद्यालयका केही शिक्षकहरूको म्यासेञ्जर ग्रुप छ। ग्रुपको नाम हो, पूर्वीय दर्शन तथा व्यवहारकुशल सिप, तानसेन पाल्पा। असार २१ देखि २५ सम्म जम्मा पाँच दिनको तालिम आयोजन गरेको थियो प्रदेश शिक्षा तालिम केन्द्र, रूपन्देहीले। पूर्वीय दर्शन, व्यवहारकुशल सिप तथा बहुबौद्धिकता तालिमका मुख्य विषयवस्तु। पाँच दिनको प्याकेजमा दुई दिन पूर्वीय दर्शन समावेश गरिएको छ। सोही तालिमका सहभागीहरूले एकापसमा जोडिन समूह बनाएका छन्।
अँ, सम्भवतः शिक्षक तालिममा पहिलो पटक यति गम्भीर विषयवस्तु समेट्ने श्रेय उक्त तालिम केन्द्रका अधिकारीहरूलाई जान्छ। यसका लागि तालिम केन्द्रले पूर्वीय दर्शन, व्यवहारकुशल सिप तथा बहुबौद्धिकता सम्बन्धी प्रशिक्षण निर्देशिका एवं स्रोतसामग्री पनि प्रकाशन गरिसकेको छ।
असार २३ गते बिहान १०:१५ बजेको समय। तालिम प्रमुख टीकाराम अर्याल र म सामाजिक विकास डिभिजन कार्यालय, तानसेनको सभाकक्षमा प्रवेश गर्यौँ । गोलाकार बसाइ। २७ जना सहभागीहरू। शिक्षकहरूका अतिप्रिय प्रशिक्षक अरविन्द प्रताप अधिकारी अग्रपङ्क्तिमा। उनी मुस्काए, नमस्कारात्मक स्वागत गरे । केही औपचारिकतापछि सुरु भयो पूर्वीय दर्शनको पहिलो सत्र। भोलिपल्टको अन्तिम सत्रसमेत जोड्दा छ वटा सत्रहरू निरन्तर चले। हाँसोले भरिएका सत्रहरू। आँशुले भरिएका सत्रहरू। मौनता र ध्यानमा डुबेका सत्रहरू। प्राणायाम र पद्यहरू गुञ्जिएका सत्रहरू। अन्तिम सत्रको अन्त्यसम्म वर्षौँदेखि सँगै बसेको परिवारजस्तै बनिएछ। सबैको आशय यस्तै रह्यो।
फेरि म्यासेञ्जरका कुरा। दिनभर कुनै साथीले उत्तर दिएनन्। लेखेको थिएँ,”ल है ममताजीप्रति ममता देखाउनुहोला।” तर सुनसान थियो समूह। बेलुका ६ वटा पुस्तकको नाम आँफै लेखेँ। केही दिनपछिको कुरा। “असफल स्कुल” को कभर पेज पठाउँदै विष्णु ढुङ्गानाले लेखे,”पठन-संस्कृति”को विकास हुँदैछ। जोन हल्टको उक्त पुस्तक पढ्न सुझाएको थिएँ। अर्को दिन ममताले लेखिन्,”पुनः कखरा तर्फ।” साथमा थियो हरिहर तिमल्सेना नाम काखमा बोकेको गाताको फोटो। त्यसअघि नै कवयत्री कृष्णा भण्डारी कण्डेलले रामायण सुरु गरिसकेकी थिइन्। छन्दको वाचन सिक्दै गरेकी उनले निर्धक्क छोटो स्वराङ्कन पनि पठाइन्।
पाल्पाका ती सेसनहरू पूरा गरेका शिक्षकमध्ये एक हुन् कमल खत्री। त्यस लगत्तै रूपन्देहीको तालिम केन्द्रमा भेटेर फर्केपछि फोन गरे। सोधे, “गुरु, यो सर्वदर्शनसङ्ग्रह नेपालीमा अनुवाद भएको छ ?” आवश्यक जानकारी दिएर उपनिषद्हरूको सङ्ग्रहसमेत किन्न भनेँ। उनी उत्साही भए। यसरी शिक्षकहरू अतिरिक्त पुस्तक पठनमा हौसिए। एकछिन पूर्वीय दर्शनतिर फर्कौं।कसरी लाने कक्षामा पूर्वीय दर्शन ? कसरी विकास गर्ने पूर्वीय दर्शनमा आधारित पठन संस्कृति ? धेरैका लागि प्रिय तर जटिल प्रश्न हो यो। पाठ्यक्रमको पूर्वनिर्धारित संरचनामा बसेर दर्शनका विषयवस्तु समेट्नु चुनौतीपूर्ण कुरा हो। हरेक तालिमका पहिला सत्रहरूमा घनीभूत छलफल र अन्तर्क्रिया भएको थियो। सहभागीहरूको सम्मानार्थ तिनका विचारलाई सङ्क्षिप्तमा उल्लेख गरौँ।
कक्षाकोठामा केही नयाँ गरौँ एउटा महत्वपूर्ण पक्ष हो, प्रार्थना। कक्षामा आफ्नो प्रवेश हुँदासाथ विद्यार्थीको ध्यान एकत्र गर्न यो एक अस्त्र हो। कुनै कविता, गाथा वा सूक्तिको लयात्मक वाचनले कक्षाको हल्लालाई क्षणभरमै नियन्त्रण गर्न सक्छ। सम्भव भएसम्म आस्थाको केन्द्रका रूपमा सरस्वतीको मूर्ति/तस्बीर वा अन्य प्राकृतिक कुराहरू कक्षाको कुनै कुनामा सजाउनु राम्रो हुन्छ। त्याग, आस्था, समर्पण तथा निरहङ्कारिताले विद्यार्थी तथा शिक्षकमा सरलताको विकास गर्छ।
यौटा विषयपश्चात् अर्को विषयसुरु हुने अन्तरालमा विद्यार्थी शान्त रहन पाउनुपर्छ। त्यो अवधिमा उनीहरूले हासिल गरेको सूचना तथा विचार थिग्रिनुपर्छ। गणितको समस्यासँग जुधिरहेको मष्तिष्कलाई नेपाली वा अङ्ग्रेजीका विषयसँग जोडिन केही अवकाश दिनुपर्छ। र, त्यसका लागि ध्यान महत्वपूर्ण उपाय हुन सक्छ। आनापानसति, मौन बसाइ, निर्देशात्मक कल्पनाजस्ता ध्यानका उपायहरू प्रयोगमा ल्याउन सकिन्छ।
विषयवस्तुको बोध विद्यार्थीलाई सुनाएर वा रटाएर मात्र हुन्छ भन्ने मान्यता संस्कृत परम्पराको होइन। विद्यार्थीलाई पारस्परिक तथा सामूहिक कार्यका लागि पर्याप्त समय दिनुपर्छ। तालिम अवधिका लागि मात्र विद्यार्थीकेन्द्रित सिकाइ होइन यो त हरेक शिक्षकको दैनिकीको मूल मन्त्र नै बन्नुपर्यो। विषयसँग सम्बन्धित विद्यार्थीको हल्लालाई सुन्ने र सहने धैर्यविना गुरु बन्न सकिन्न।
शिक्षकको कार्य सहजीकरण गर्नु हो। पूर्वीय परम्परा गुरुशिष्य परम्परा हो। गुरुले शिष्य उत्पादन गर्छ र शिष्यलाई गुरु बनाउँछ । यस दृष्टिले यो शिष्यगुरु परम्परा पनि त हो। त्यसैले शिष्यहरूलाई गुरु बन्न सहजीकरण गरौँ। उनीहरूलाई नै पढाउन तथा कक्षाकार्य गर्न/गराउन प्रेरित गरौँ। समकक्षी वा माथिल्लो कक्षाका दाइदिदीहरूलाई अतिथि शिक्षकका रूपमा कक्षामा ल्याउने वातावरण बनाऔँ। यसले शिक्षकको शास्तीलाई कम गर्नुका साथै विद्यार्थीहरू बीच सम्मान र स्नेहको अभिवृद्धि गर्न सक्छ।
विषयवस्तुमा नयाँपन खोजौँ कृत्रिम बौद्धिकताको बिगबिगी छ। गुरु र गुगलमा अन्तरको आधार के ? प्रतीकात्मक रूपमा भनौँ, जे गुगलमा पाइन्न त्यो दिन नसक्ने गुरुको पहिचान धरापमा पर्ने समय आइसकेको छ। त्यसैले समस्याको समाधान वा बनिबनाउ उत्तर लेखाउने परम्पराभन्दा धेरै माथि उठ्नुपर्छ शिक्षकले पूर्वीय दर्शनको भण्डार विशाल छ। यो हाम्रा विविध विचार, सिद्धान्त र शैलीको स्रोत हो। कक्षाका विषयवस्तुसँग सम्बन्धित पुराना कुरा विद्यार्थीका लागि नयाँ हुन सक्छन्। विद्यार्थीमा शास्त्रीय अध्ययन गर्ने बानीको विकास गराउन, पूर्वज्ञानको समीक्षा तथा तुलना गर्न प्रेरित गर्नु आवश्यक देखिन्छ।
अतिरिक्त क्रियाकलापमा समेटौँ विद्यार्थीको ज्ञान र क्षमताको क्षितिजलाई फराकिलो पार्ने सन्दर्भमा पूर्वीय दर्शन तथा वाङ्मयको पनि उपयोगिता रहन्छ भने प्रयोग गरिहेरौँ। सान्दर्भिकताको पहिचान गरौँ। कुनै एक सहभागीले प्रशिक्षणका क्रममा भनेको याद गरेँ-“सबै कुरा वेदमा छ। रकेटभन्दा खत्रा पुष्पक विमानको अवधारणा संस्कृत वाङ्मयमा छ पनि भन्ने तर जहाज बनाएर देखाइदेऊ न त भन्यो भने भाग्ने प्रवृत्तिले हाम्रो गौरव बढ्दैन।” हो, नवीनतम प्रयोग, प्रविधि र ज्ञानका क्षेत्रमा पनि दर्शनको सार्थकता झल्किनुपर्छ। त्यसैले,सान्दर्भिकता र औचित्यका आधारमा वादविवाद, वक्तृता, निबन्धलेखन, कथावाचन, योग तथा ध्यान शिविर र जागरणमूलक कार्यक्रममा पूर्वीय वाङ्मयलाई जोड्न सकिन्छ।
अतिरिक्त क्रियाकलापको पावन्दी विद्यालयद्वारा आयोजित हुनुमात्र होइन। विद्यार्थीले अभिभावको संरक्षकत्वमा युट्युब् च्यानल, ब्लग, टिकटक आदिका माध्यमबाट पनि आफूलाई अभिव्यक्त गर्न सक्छ। चित्रकारिता, लेखन तथा गायन र नृत्यका माध्यमले विद्यार्थीहरू कम उमेरमै स्टार बनिसक्ने समयमा हामी छौँ। शिक्षाको राष्ट्रिय उद्देश्यमा कल्पना गरिएको नागरिक तयार पार्ने मामिलामा आफू कहाँ छु भन्ने कुराको जवाफ दिन हरेक विद्यालयले सहप्राज्ञिक (co-scholastic) गतिविधिको अभिलेख राखी विद्यार्थीको मूल्याङ्कन गर्न जरूरी छ। यस मामिलामा पूर्वीय चिन्तन तथा दार्शनिक वाङ्मयको उपयोगिता उपयोगी हुन सक्छ।
पाठ्यपुस्तकभन्दा बाहिर जाने साहस गरौँ पाठ्यक्रमको सम्बोधन गर्नु शिक्षकको दायित्व हो। तर पाठ्यपुस्तक नै सबै थोक होइन। आफ्नो विषयवस्तुसँग सामिप्य राख्ने केही पुस्तकहरूको चयन शिक्षकले शैक्षिक सत्रको सुरुवातमा नै गर्न सक्छन्। शैक्षिक सत्रभरि कम्तीमा दुई वटा अतिरिक्त पुस्तक विद्यार्थीलाई पढाउने योजना बनाउनसकिएला। सात जना शिक्षकले दुई/दुई पुस्तकको योजना बनाए भने चौध वटा अतिरिक्त किताब वर्षभरिमा पढिने भए। यौटै पुस्तकका च्याप्टरहरू बाँडेर पढ्न प्रेरित गर्न सकेमा विद्यार्थीलाई भार कम पर्छ। पढेको कुराकुनै दिनको कक्षामा प्रस्तुत गर्न लगाउन सकिन्छ। साथीले पढेको कुरा सुनेर जान्ने धैर्यको विकास विद्यार्थीमा हुन्छ। तर यो कुरा पहिला स्वयं शिक्षकहरूमा लागू हुनचाहिँ आवश्यक छ।
फेरि पाल्पाका कुरा जनता माविका गणित शिक्षक हुन् प्रकाश भुर्तेल। १० गतेको पहिलो सत्रको सुरुवातको प्रसङग। अधिकृत प्रशिक्षक अरविन्द र मेरो अनुहार स्केच गरी हस्तान्तरण गरे उनले। मित्र अरविन्दले आँशु लुकाउन गरेको भगीरथ प्रयत्न व्यर्थ हुँदै थियो। र मेरो हकमा पनि त्यही कुरा लागू भयो। यौटा शिक्षकमा यत्रो कला लुकेर बसेको रहेछ ? कति खुसीको कुरा। अनि शिक्षकका यस्ता वैयक्तिक तथा अतिरिक्त क्षमतालाई सम्बोधन गर्न शिक्षानीतिमा केही छ ? अर्को पेचिलो कुरा। दिनभर बुद्ध र कक्षाकोठाको सन्दर्भ बारे चर्चा गर्दा पनि यी प्रश्नहरूले मनमा शासन गरिरहेकै थिए।
दोस्रो दिनको अन्तिम सत्रको अन्तिम क्रियाकलाप। ध्यानको सरल अभ्यास गराइएको थियो। क्रियाकलाप सकिँदा साथ एक नारी आवाज हलमा गुञ्जियो,” मलाई निद्रा लाग्दैन्थ्यो, अहिले त यहीँ निदाएँ। गुरुलाई धन्यावाद।” ती शिक्षिकाको अनुहारमा अमापनीय खुसी छचल्किएको देखेँ। भन्दै थिइन्, “गुरु, अब त सूत्र फेला पारेँ।”
भोलिपल्ट समापनको दिन। जाने बेला पनि ती शिक्षिकाले धन्यवाद दिइन्। उनी रातभर मजाले निदाइछन्। अनुहारमा विशेष आभा देखिएको थियो जुन हिजोको भन्दा फरक थियो। मात्र मुस्काएँ उनीप्रति। मनले भन्यो,”तिमी स्वयं पनि त गुरु हौ नि महान् नारी ! शिक्षाको चिरागलाई निभ्न नदिनू। आफू जलेर पनि उज्यालो छर्न नछोड्नू।” पाल्पामा आँखाबाट आँशु होइन, प्रेम बग्यो। र, त्यो पठनसंस्कृति र ध्यानका रूपमा अङ्कुरित हुँदैछ।