विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

आज साउन २०, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट ५, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

अदालतद्वारा इमरान खानलाई तीन वर्षको कारावास सजाय, पक्राउपछि जेल लगियो
पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफ पार्टीका अध्यक्ष इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको छ ।

पाकिस्तानको राजधानी इस्लामावादमा रहेको ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा उनलाई तीन वर्षको जेल सजाय सुनाएको हो । उनलाई १ लाख पाकिस्तानी रुपैयाँ बराबरको जरिवानाको सजाय पनि सुनाइएको छ ।

अदालतको आदेशलगत्तै उनलाई पक्राउ गरिएको पाकिस्तानी अखबार डनको अनलाइन संस्करणले जनाएको छ । उनी पाकिस्तानको लाहोर सहरमा रहेको जमान पार्कबाट पक्राउ परेका हुन् ।

उनलाई कोत लखपत जेल लगिएको पाकिस्तान तहरिक ए इन्साफले ट्विटरमार्फत जानकारी दिएको छ ।

जम्मु कश्मीरमा स्वदेशीसँगै विदेशी पर्यटकको आगमन बढ्दै
पछिल्लो समय भारतको जम्मु कश्मीरमा पर्यटको आगमन बढ्दै जान थालेको छ । भारत सरकारले संविधानको धारा ३७० खारेज गरेयता जम्मु कश्मीर भ्रमणमा जाने पर्यटकको सङ्ख्या पनि बढ्दै जान थालेको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार जम्मु कश्मीरमा पछिल्ला केही वर्षयता आन्तरिकका साथै विदेशी पर्यटकको आगमनमा कीर्तिमानी वृद्धि देखिएको छ ।

यससँगै जम्मु कश्मीरको पर्यटन विभागले पर्यटन प्रवरर्द्धन, पर्यटकीय क्षेत्रबारे जानकारी, एअरलाइन्सको प्रवर्द्धनजस्ता गतिविधिलाई पनि प्राथमिकता दिएको छ ।

कश्मीरमा यही वर्षको मे महिनामा जी २० अन्तर्गत पर्यटनबारे बैठक सम्पन्न भएको थियो ।

पाकिस्तानमा हिन्दू व्यापारीको अपहरण, पाँच करोड फिरौती माग
पाकिस्तानमा एक जना हिन्दू व्यापारी अपहरणमा परेका छन् । पाकिस्तानको सिन्ध प्रान्तस्थित कश्मोर जिल्लाबाट अपहरण गरिएका ती हिन्दू व्यापारीका अपहरणकारीहरूले रिहाइका लागि पाँच करोड पाकिस्तानी रुपैयाँ फिरौती मागेका छन् ।

जगदीश कुमार मुक्की नामक ती व्यापारीलाई अज्ञात अपहरणकारीहरूले अपहरण गरेको बताइएको । अपहरित व्यापारीलाई क्रूर यातना दिइएको छ । उनलाई गत जुन २० मा अपहरण गरिएको हो । मुक्कीको परिवारले कश्मोरमा रहेको प्रहरी चौकी र कराँचीको प्रहरी मुख्यालयमा उजुरी दिएका थिए ।

जुलाई ३१ मा छोरालाई प्राप्त एक भिडियोमा अपहरणमा परेका मुक्कीलाई घाँटी र हातखुट्टामा सिक्रीले बाँधेर कुटपिट गरेको देख्न सकिन्छ । उक्त भिडियोमा पीडितले अपहरणकारीसँग हारगुहार गरिरहेको पनि देख्न सकिन्छ ।

पछिल्लो समय पाकिस्तनमा हिन्दूसहित अन्य धार्मिक एवम् साम्प्रदायिक अल्पसङ्ख्यकविरुद्ध ज्यादती र दमन बढ्दै जान थालेको मानव अधिकारवादी संस्थाहरु बताउँछन् । उनीहरुविरुद्ध ईशनिन्दाको झूठो आरोपमा पक्राउ गरी दुःख दिने क्रम बढ्दै जान थालेको छ । यसबाहेक पाकिस्तानमा गैरमुसलमानललाई करकापमा पारेर जबरजस्ती धर्मपरिवर्तन गर्ने क्रम पनि बढ्दै गएको छ ।

यसबाहेक पाकिस्तानमा अहमदिया सम्प्रदाय मान्ने मुसलमानहरुको प्रार्थानास्थल, उनीहरुको चिहानजस्ता स्थानमा तोडफोड गरिएका घटनापति बारम्बार सार्वजनिक हुँदै आएका छन् ।

चार वर्षमा जम्मु कश्मीरको खेलकुदमा उल्लेखनीय रुपान्तरण
भारत प्रशासित जम्मु कश्मीरको खेलकुद क्षेत्रमा बितेका चार वर्षमा उल्लेखनीय रुपान्तरण भएको छ । राज्यका युवाले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्पर्धामा आफ्नो उत्कृष्ट सीप प्रदर्शन गरेर खेलकुदमा भएको रुपान्तरणलाई पुष्टि गरेका छन् ।

ढुङ्गा हान्ने, चरमपन्थीसँग सङ्गत गर्ने र आतङ्कवादी गतिविधिमा संलग्न हुने आक्षेप खेप्दै आएका राज्यका युवालाई केन्द्र सरकार र जम्मु कश्मीर प्रशासनले खेलकुद क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शनको पर्याप्त अवसर प्रदान गरेसँगै धुमिल बनेको उनीहरूको छविले प्रतिष्ठा पाएको हो ।

रचनात्मक कार्यमा युवालाई सरिक गराउने सरकारी नीतिका कारण विगत चार वर्षमा अब्दुल मसाद, उमरान मलिक, वोरन्थ शर्मा, अविनाश सिंह र युद्ववीर सिंहलगायत पाँच जना क्रिकेटरले इण्डियन प्रिमियर लिग ९आईपीएल० खेल्ने अवसर पाएका छन् भने उमरान मलिक अन्तर्राष्ट्रियस्तरमा आफ्नो छाप छोड्ने भारतीय क्रिकेट टोलीका तीव्र गतिका बलरको परिचय बनाउन सफल भएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सरकारले पञ्चायत तहमा उत्कृष्ट खेलकुद पूर्वाधार उपलब्ध गराउने योजना बनाएसँगै गाउँदेखि केन्द्र शासित प्रदेश तहसम्म वर्षभर खेलकुद गतिविधि सञ्चालन भएका छन् । चार वर्षयता पूर्वाधार निर्माणको ठूलो योजना पनि कार्यान्वयन भइरहेका छन् ।

क्रिकेट र फुटबलजस्ता खेलकुदमा मात्रै नभई विगतमा उपेक्षित भलिबल, खो खो, कबड्डीजस्ता खेललाई पनि उत्तिकै महत्व दिइएको छ । त्यसैगरी जम्मु कश्मीरका लागि खेलकुद बजेट देशका धेरै ठूला राज्यहरूभन्दा बढी विनियोजन गरिएको छ । त्यसैगरी जम्मु कश्मीरमा खेलकुद पूर्वाधारलाई उच्च प्राथमिकताका साथ विस्तार गरिएको छ ।

विगतका सरकारको कमजोर नीतिका कारण जीर्ण बनेको बक्षी रङ्गशाला रु ५९ करोडको लागतमा स्तरोन्नति गरिएको छ । दशकौंदेखि युवाको केन्द्रबिन्दु बनेको रङ्गशालाले धेरै स्थानीय खेलाडीलाई देशभर प्रसिद्ध बनाइरहेको छ ।

“यो स्टेडियमले लाखौँको जीवनमा खेलकुदको भावनालाई प्रेरित गर्‍यो र यो विरासत नयाँ पुस्तामा हस्तान्तरण भएको छ। यहाँको खेलकुद क्षेत्रको विकासमा विशेष प्रयास भएको छ, यसलाई द्रुत गतिमा अघि बढाउन तथा विभिन्न क्षेत्रमा आफ्नो प्रतिभा प्रस्फुटन गर्न तल्लो तहका युवालाई विश्वस्तरको सुविधा र प्रशिक्षणको व्यवस्था गरिएको छ,” खेलकुद क्षेत्रका जानकार रहेका जम्मु कश्मीरका उपराज्यपाल मनोज सिन्हा भन्छन् । जम्मु कश्मीरलाई देशको खेलकुद केन्द्र बनाउनका सम्बद्ध अधिकारीले आफ्नो प्रयास दोब्बर गरिरहेका उनी बताउँछन् ।

जम्मुको मौलाना आजाद रङ्गशालालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसीसी० को मापदण्डअनुसार र श्रीनगरको बक्षी रङ्गशालालाई अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) को मापदण्डअनुसार स्तरोन्नति गरिएको छ । एशियाली खेलकुदलगायत अन्तर्राष्ट्रिय एवम् क्षेत्रीयस्तरका खेलकुद प्रतियोगिता आयोजना गर्ने लक्ष्यका साथ राज्यमा प्रधानमन्त्री विकास कोषअन्तर्गत रु दुई अर्ब लगानी गरेर खेलकुदका अन्य पूर्वाधारलाई पनि विश्वस्तरका बनाउने प्रयास भइरहेको सिन्हा बताउँछन् ।

चीनको जिलिनमा भीषण वर्षा : एक जनाको मृत्यु, चार बेपत्ता
चीनको उत्तरपूर्वी जिलिन प्रान्तको शुलान शहरमा भारी वर्षाका कारण एक जनाको मृत्यु हुनुको साथै चार जना बेपत्ता भएका छन् ।

बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार शुलानमा करिब १ लाख ३४ हजार मानिस वर्षाका कारण प्रभावित भएका छन् भने १४ हजार ३ सयभन्दा बढी विस्थापित भएका छन् । शुलानमा मंगलबार रातिदेखि लगातार वर्षा भइरहेको छ ।

पाकिस्तानमा नव दुलहादुलहीको गोली हानी हत्या
पाकिस्तानको पञ्जाब प्रान्तमा एक नवविवाहित जोडीको गोली हानी हत्या भएको छ । गत बुधवार बिहान अपरिचित व्यक्तिले घरभित्र पसेर नवविवाहित जोडीलाई गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले यो घटनालाई अनर किलिंगसँग जोडेर हेरिरहेको छ । वास्तवमा लाहोरबाट ६० किलोमिटर टाढा कसुर जिल्लाको फुलनगरमा बस्ने जुल्फिकारले केही साताअघि शगुफ्ता बीबीसँग विवाह गरेको तर जुल्फिकार र शगुफ्ता बीबीको परिवार यो विवाहका लागि तयार थिएनन् भन्ने प्रहरीको भनाइ छ । यस्तो अवस्थामा दुवैले परिवारको सहमति नभए पनि विवाह गरेका थिए ।

प्रहरीले बालिकाको परिवारले उनको रोजाइको विरोध गरेको दाबी गरेको छ । वास्तवमा शगुफ्ताको परिवारले उनको विवाह आफन्तसँग गरून् भन्ने चाहना थियो, जुन परिवारले मिलाएको थियो तर केही साताअघि उनी आफूले माया गर्ने जुल्फिकारसँग भागिन् । घरबाट भागे पछि दुवैले अदालतमा विवाह गरेको परिवारलाई थाहा भयो । त्यसपछि उनीहरूको हत्या गरिएको बताइएको छ ।

प्रहरीले शगुफ्ताका बुवा र भाइविरुद्ध एफआईआर दर्ता गरेको छ । साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । एक मानव अधिकारकर्मीलाई उद्धृत गर्दै पत्रिका डनले आफ्नो प्रतिवेदनमा देशमा हरेक वर्ष करिब एक हजार महिलाको इज्जतको नाममा हत्या हुने गरेको जनाएको छ ।

रुसी बन्दरगाहमा युक्रेनको ड्रोन हमला
युक्रेनले रुसी बन्दरगाहमा ड्रोन आक्रमण गरेको छ । सो आक्रमणमा परी रुसी युद्धपोतमा क्षति पुगेको छ । विदेशी मिडियाका अनुसार युक्रेनले आक्रमणको पुष्टि गरेको छ ।

आक्रमणका कारण केही घण्टासम्म समुद्री यातायात प्रभावित भएको थियो । रुस–युक्रेन द्वन्द्वको १८ महिनामा पहिलो पटक व्यापारिक रुसी बन्दरगाहलाई निशाना बनाइएको हो ।

विदेशी सञ्चारमाध्यमका अनुसार रुसको ब्ल्याक सी पोर्ट नौसेनाको आधार हो। त्यहाँ एक जहाज निर्माण यार्ड र एक तेल टर्मिनल पनि छ। निर्यातका लागि बन्दरगाह महत्वपूर्ण छ ।

यो क्रिमिया र युक्रेन को लगभग ११० किलोमिटर पूर्व स्थित छ। युक्रेनको सुरक्षा सेवाका एक अधिकारीले उक्त हमला देशको नौ सेना र सुरक्षा सेवाले संयुक्त रुपमा गरेको बताए ।

जसका कारण रुसी नौसेनाको अवतरण जहाज ओलेनेगोर्स्की गोर्न्याकमा क्षति पुगेको छ । आक्रमणको कारण सो रूसी युद्धपोत अब कुनै पनि लडाई अपरेसनमा संलग्न हुन सक्दैन।

यसअघि बुधवार रूसी ड्रोनले युक्रेनको ओडेसामा खाद्य केन्द्रहरूमा ठूलो क्षति पुर्‍याएको थियो ।

इथोपियामा सुरक्षा बल र मिलिशिया लडाकुबीच झडप, संकटकाल घोषणा
इथियोपियाको अम्हारा प्रान्तमा संघीय सुरक्षा बल र स्थानीय मिलिशिया लडाकुहरूबीचको हिंसात्मक झडप जारी छ । जसका कारण स्थिति तनावपूर्ण बनेको छ ।

हालको बिग्रँदै गएको अवस्थालाई ध्यानमा राख्दै इथियोपियाको संघीय सरकारले अम्हारा क्षेत्रमा शुक्रबार संकटकाल घोषणा गरेको छ । सरकारको यो निर्णयअघि देशका उपप्रधानमन्त्री डेमेके मेकोनले तनाब स्थितिले गम्भीर रूप लिइरहेको बताएका थिए ।

संकटकाल घोषणा हुनुअघि उप प्रधानमन्त्रीले बुधबार शान्तिपूर्ण समाधानका लागि वार्ता गर्न आह्वान गरेका थिए । तर, उनको आह्वानको खासै प्रभाव नदेखिए पछि संकटकाल घोषणा गरिएको हो ।

स्थानीय नेताले नियमित कानून प्रवर्तनले हिंसा रोक्न सक्षम नभएको बताए पछि प्रधानमन्त्रीको कार्यालयले शुक्रबार संकटकाल लगाउने निर्णयको घोषणा गरेको हो । तर, प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा अम्हारामा मात्र लागू हुने कि देशभर लागू हुने भन्नेबारे भने केही बताइएको छैन ।

सरकारले जारी गरेको विज्ञप्तिमा यो गतिविधिबाट राष्ट्रिय सुरक्षा र सार्वजनिक शान्तिमा दिनप्रतिदिन खतरा बढ्दै गएको उल्लेख गरिएको छ ।

भारतमा ल्यापटप र ट्याब्लेट आयातमा प्रतिबन्ध
ल्यापटप र ट्याब्लेट आयातमा प्रतिबन्ध लगाउने भारत सरकारको निर्णय नोभेम्बर १ देखि लागू हुने भएको छ ।

वाणिज्य तथा उद्योग मन्त्रालयले शुक्रबार राति एक सूचना जारी गर्दै प्रतिबन्ध लागू गर्न म्याद थप गरेको हो । यसअघि नै पैठारी भइसकेका सबै सामान अक्टुबर ३१ गतेसम्म बिना लाइसेन्स पैठारी गर्न सकिने पनि यस सूचनामा भनिएको छ ।

नोभेम्बर १ देखि यी सामान आयात गर्न लाइसेन्स अनिवार्य हुनु पर्नेछ । ल्यापटप, ट्याब्लेट, पर्सनल कम्प्युटर, अति साना कम्प्युटर र सर्भरहरू यस सूचनाको दायरामा आउनेछन्।

आईटी राज्यमन्त्री राजीव चन्द्रशेखरका अनुसार ट्याब्लेट र ल्यापटपको आयात सम्बन्धी नयाँ मापदण्डहरूको लागि संक्रमण अवधि हुनेछ। यस सम्बन्धमा छिट्टै सूचना जारी उनको भनाइ छ । मन्त्रीको भनाइको केही घण्टापछि मन्त्रालयले सूचना जारी गरेको हो ।

वास्तवमा आईटी उद्योगले सरकारसँग ३–६ महिनाको समय मागेको थियो । त्यसका आधारमा सरकारले उद्योगलाई करिब ३ महिनाको समय दिएको छ ।

केन्द्र सरकारको यो प्रतिबन्धको घोषणापछि विश्वका तीन ठूला कम्पनी एप्पल, सामसुङ र एचपीले भारतमा आफ्ना ल्यापटप र ट्याब्लेटको आयातमा प्रतिबन्ध लगाएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ८ : ०१ बजे

किसानलाई अनुदानमा कृषि औजार वितरण

गण्डकी– किसानलाई कृषि पेसामा थप आकर्षित गर्ने उद्देश्यले अनुदानमा कृषि

एनसेल बिक्री छानबिन प्रतिवेदन प्रधानमन्त्रीले कुन दराजमा थन्क्याए ?

काठमाडौं – गत मंसिर दोस्रो साता मलेसियाको आजियाटा ग्रुप बहार्डले

निकुञ्जमा विदेशी पर्यटकको घुइँचो, आर्थिक वर्ष दुई लाख ९९ हजार आए

चितवन– चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको

कोशी सरकार विस्तार : मन्त्रिमण्डल अब १० सदस्यीय, आर्थिक मामिला एमालेले राख्यो

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्

नेपालको विकासमा रूसको ठूलो सहयोग छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा रूसको ठूलो