फाइल फोटो

देश/प्रदेश

अख्तियारद्वारा सप्तरीको विष्णुपुर गाउँपालिकाका लेखापाल यादवसहित तीन जनाविरुद्ध मुद्दा दायर

By खबरहब

September 05, 2023

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेकनारायण यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सोलार जडानलगायतका योजनाको भुक्तानीबापत सेवाग्राहीसँग रु दुई लाख बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगको बर्दिबासबाट खटिएको टोलीले गत साउन ३१ गते उनलाई पक्राउ गरेको थियो ।

आयोगको टोलीले यादवसँग थप रु तीन लाख बराबरको चेक समेत बरामद गरेको थियो । सो घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव, लेखापाल यादव र एमआई एस अपरेटर वीरेन्द्रकुमार यादवको मिलेमतो रहेको पाइएको आयोगको आरोप छ ।

तीनै जनालाई रु पाँच लाख बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।