नेपाल किन भूकम्पको जोखिममा छ ? | Khabarhub Khabarhub

नेपाल किन भूकम्पको जोखिममा छ ?

‘जहाँ पहाड छ त्यहाँ भूकम्पको उच्च जोखिम हुन्छ’



नेपाल पटकपटक विनाशकारी भूकम्पबाट गुज्रिँदै आएको छ। भौगोलिक हिसाबबाट नेपाल भूकम्पीय उच्च जोखिममा रहेको क्षेत्र हो। पछिल्लो पटक २०७२ सालको विनाशकारी भूकम्प हामी र हाम्रो पुस्ताका लागि ताजा अनुभव मानिन्छ जसमा पाँच लाख भन्दा बढी घरमा क्षति पुग्यो, हजारौँले ज्यान गुमाए, लाखौँ घरबारबिहीन बने र धेरै बसाइँ सर्न बाध्य भए। यो अवस्थामा हामीले २०७२ पछिको सिकाइ, भोगाइ र भूकम्प पछिको अध्यायन भुल्दै गर्दा फेरि पश्चिमको पहाडमा निरन्तर भूकम्पका धक्का महसुस हुन थालेका छन्। केही समय अगाडि डोटी, बझाङ र अहिले बाजुरामा यही सन्दर्भमा हामी भूकम्पको हिसाबबाट पश्चिमको पहाड उच्च जोखिममा छ भनिरहेका छौं। पछिल्लो समय आएका सानातिना भूकम्पका धक्काले के सङ्केत गर्छ ? लगायतका विषयमा केन्द्रित रहेर भूकम्पविद् भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको उपकार्यकारी निर्देशक डा. रमेश गुरागाईसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

बझाङको पछिल्लो अपडेट के छ ?
भूकम्प गइसकेपछि पराकम्प गइरहेका छन्। मानिस डराएर घरबाहिर बसेका छन्।

यो भन्दा अगाडि डोटी र बाजुरामा शक्तिशाली भूकम्प गएको हो। यो बिचमा हामीले सतर्कता र राहतमा के प्रगति गरेका थियौं ?
भूकम्प जुनसुकै ठाउँमा पनि जानसक्छ। त्यसको लागि तयारी सबै ठाउँमा चाहिने हो। तर हाम्रोमा जुन ठाउँमा गयो त्यही ठाउँलाई प्राथमिकतामा राखेर तयारी गरिन्छ। सबै ठाउँमा समान किसिमको तयारी हुनुपर्छ।

हाम्रो अनुभवमा भूकम्प ठुलो गयो भने सबै जनाको ध्यान जाने र प्रचारप्रसार हुने संस्थागत हिसाबले त्यहाँको जनताले पाउने सहयोग सजिलो हुँदो रहेछ। जति प्राथमिकता गोर्खाको भूकम्पले पायो त्यत्ति नै प्राथमिकता डोटीको भूकम्पले पाएन। जनताको हिसाबले हेर्ने हो भने आफ्नो एउटा घर भत्किनु र लाखौं घरहरू मध्ये एउटा घर पर्नु उस्तै हो। घर त भत्केकै हो। दुःख पाएको नै हो। तर यहाँ राहत र उद्धारमा विभेद देखिन्छ।

त्यसमाथि पनि हामीले केही प्राविधिक सहयोग केही प्राविधिक तालिम कसरी त्यहाँ बलियो घर बनाउन सकिन्छ। कसरी भूकम्पबाट बच्च सकिन्छ भन्ने कामहरू त गरिराखेका छौँ। तर त्यो अपर्याप्त छ। बझाङको सन्दर्भमा पनि त्यही नै हो।

राज्य अहिले पनि नीतिगत रूपमा स्पष्ट छैन ?
नीतिगतमा संघीय स्तरमा सबै ठाउँमा बलियो घर बनाउनुपर्छ। भवन निर्माणसंहिता लागु गर्नुपर्छ भन्ने छ। तर ती कुरालाई कार्यान्वयनमा लान चाहिने थप व्यवस्थाहरू हुनुपर्छ। जस्तो त्यो कुरा गाउँपालिकासम्म वडासम्म पुग्नुपर्यो, त्योसँगै क्षमताको कुरा हुनुपर्याे, उत्तिकै त्यसमा जनचेतनाको कामहरू हुनुपर्यो। एउटा पाटोबाट नीतिगत हिसाबले यो गर्नुपर्छ भन्ने हिसाबले मात्र यो फिल्डमा कार्यान्वयन नहुने रहेछ।

२०७२ सालको विनाशकारी भूकम्पपछि हजारौं परकम्प महसुस भयो। यो सबै भूकम्पको हामीले राम्रोसँग मूल्याङ्कन, अध्ययन, विश्लेषण गर्न सकेनौं ?
भूकम्प जाने र पराकम्पको सबै अध्ययनबाट हामी भूकम्प जाने क्षेत्रमा छौँ, कि छैनौ, कति छिटो भूकम्प जान्छन् भन्ने निष्कर्ष निस्कने हो। त्यो निष्कर्षका लागि थप अध्ययन गर्नुपर्ने देखिन्छ। तर निष्कर्ष भनेको नेपालमा जहाँसुकै जति नै ठुलो भूकम्प जानसक्छ भन्ने यसको निष्कर्ष हो। त्यसको लागि त पर्याप्त अध्ययन भएको छ भन्ने मलाई लाग्छ।

भूकम्प जान्छ भनेपछि बच्ने उपाय, जिउधनको सुरक्षा, घरको सुरक्षा, आर्थिक सुरक्षाको हिसाबले हामीले कति काम गर्न सक्यौँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।

मूल्यांकन अध्ययन र विश्लेषणको कुरा गर्दा भूकम्पको गतिको कुरा आउने रहेछ। पूर्वचेतावनी प्रणाली विस्तार गर्ने सन्दर्भ आउने रहेछन्, त्यो चाहिँ हामीले गर्यौँ कि गरेनौँ ?
भूकम्प जान्छ भन्ने कुरासम्म निष्कर्ष सही छ जस्तो देखिन्छ। त्यसलाई कार्यान्वयनमा लाने हिसाबमा सबै भन्दा सजिलो र भरपर्दो उपाय भनेको घर र संरचनालाई बलियो बनाउने नै हो। त्यो गरियो भने भूकम्प आउँछ तर क्षति हुँदैन। जनधनको क्षति नभएपछि भूकम्प आउँछ जान्छ कुनै समस्या भएन।

तर त्यो गर्नको लागि सबै घरहरू पहिला बनिसकेका छन्। सबैलाई प्रबलीकरण गर्ने भन्ने कुरा पनि आर्थिक र प्राविधिक हिसाबले तुरुन्त सम्भव हुँदैन। त्यस कारण यसलाई हामीले पूर्व चेतावनी मात्र भन्ने हो। तर जसले थोरै खर्चमा नै भूकम्प प्रतिरोधी घर बनाउन सक्छन्। यस्ता विषयमा सचेत हुनुपर्छ।

गोर्खा भूकम्प पछाडि हामीले सबै भन्दा ठुलो सिकेको सिकाइ भनेको गाउँ घरका ढुंगामाटाका घरहरू पनि बलियो बनाउन सकिन्छ। त्यो हामी सबैले बनाउन सक्छौँ भन्ने सिकेका छौं।

भूकम्पपछि गाउँ घरका संरचना भत्काएर पिल्लरवाला संरचना बङ्गला ढड्याउनु पर्छ भन्ने मानसिकतामा गयौं यो ठिक छ त ?
पिल्लरवाला बनाउन सक्दा त बनाउँदा हुन्छ। पिल्लरवाला बनाउन झन् बलियो हुन्छ। राम्ररी भूकम्प प्रतिरोध हुनेगरी पिल्लरवाला बनाउँदा ढुंगामाटाको भन्दा झन् बलियो हुन्छ। तर नसक्दा ढुंगामाटाको घर बनाउँदा हुन्छ। तर गाउँको त्यो घरबाट आर्थिक उपार्जन हुँदैन भने त गाउँमा त्यहीको घरलाई बलियो बनाउन सकिन्छ भने त्यो पैसाले गाई किन्ने वा छोराछेरीको पढाइमा खर्च गर्दा बुद्धिमानी देखिन्छ।

पिल्लरवाला घरहरू पनि कति बलियो भनेर ७२ सालको भूकम्पमा देखियो। संरचनाहरू हामीले कति भूकम्प प्रतिरोधात्मक बनायौं भन्ने उदाहरणको लागि त काठमाडौँ नै पर्याप्त छैन र ?
पिल्लरवाला भन्ने बित्तिकै सबै बलियो भन्ने हुँदैन। पिल्लरवालामा पनि भूकम्प प्रतिरोधी बनाउने गरिएका छन्। त्यो तरिका पूरा नगरी बनाएको घरहरू छ भने झन् धेरै क्षति हुनसक्छ। ढुंगा माटोको घर पनि उचित तरिकाले बनाउँदा बलियो हुन्छ। त्यस कारण ढुंगामाटोको भएर लड्यो भनेर पिल्लरवाला बनाउँछु भनेर बनाउँदा त्यो घर पनि फेरि लड्छ।

२०७२ सालको भूकम्पपछि पनि पुरानै घरका वरिपरि टेको राखेर र टालेर बसेको देखिन्छ। मानिसको सोचाइमा केही परिवर्तन आएको छ त ?
विस्तारै मान्छेले बिर्सदै गएको जस्तो देखिन्छ। भूकम्पले भत्किएको तला काटेर फेरि थपेका उदाहरण छन्। केही कुराहरू सिकाइको र व्यवहारको हिसाबले परिवर्तन भएका छन्। कुनै परिवर्तनमा गलत पनि भएको छ। जस्तो सामान्य मर्मत गर्नुको सट्टा अलि बढी पैसा खर्च गरेर बनिसकेको घरलाई भूकम्प प्रतिरोधी बनाउन सकिन्छ। त्यो काममा हामी चुकेका छौं। बनिसकेको घरलाई भूकम्प प्रतिरोधी बनाउन सकिन्छ।

अध्ययन अनुसार बझाङको सन्दर्भमा वा पश्चिमको पहाडमा अहिले आइराखेको भूकम्पको नयाँ धक्का हो कि पराकम्प हो ?
प्रत्येक भूकम्प नयाँ धक्का नै हो। त्यही ठाउँमा फेरि भूकम्प जाने त्यही ठाउँमा चर्किनेलाई चाहिँ पराकम्प भन्ने हो। त्यस कारणले अस्तिको सन्दर्भमा जुन २:४० बाट सुरु भयो। त्यो पछिका ६.३ पछि गएका भूकम्प सबै पराकम्प हुन्। तर पराकम्प र भूकम्पमा पनि असर हुने बराबर हो। यदि ठुलो पराकम्प भयो भने त नयाँ जस्तै क्षति हुनेछ। झन् पहिलाको भूकम्पले पुर्याएको क्षतिमा थप क्षति हुन्छ र यो कुरा बुझ्नुपर्छ।

पूर्वचेतावनी प्रणालीले भूकम्प जानुभन्दा कति समय अगाडिसम्मको सूचना हामीलाई दिनसक्छ ?
पूर्व सूचना प्रणाली भूकम्पका बेलामा धेरै समय अगाडि थाहा पाउने होइन। त्यो ठाउँ कति टाढा छ भन्ने हिसाबले त्यसको फरक पर्दछ। भूकम्पको केन्द्र बिन्दुको नजिकै त्यसको लगभग पूर्व सूचना पाउने र भूकम्प जानेसँगै हुन्छ। त्यो भन्दा अलिकति टाढा गइसकेपछि ५ सेकेण्ड ८ वा १० वा १५ हुँदै हामीले थाहा पाउन सक्छौं। केही सेकेण्ड अगाडि थाहा हुँदा जनधनको सुरक्षा गर्न सकिन्छ। तर त्यो सबै भएको सिस्टम बनाउन पनि त्यसको आफ्नै जटिलता छ। त्यो गर्नु राम्रो हो। तर त्यसमा मात्र भर पर्नु हुँदैन किनभने त्यसले सूचना त दिन्छ तर घरहरू कमजोर छन् भने घर भत्किने नै हो।

यदि त्यो प्रभावकारी भइदियो भने मानवीय क्षति कम गर्न सकिन्छ ?
केही हदसम्म काम गर्छ। तर यो धेरै अगाडि थाहा हुने होइन र केन्द्रबिन्दुमा नै धेरै क्षति हुन्छ। त्यहाँ एक सेकेण्ड दुई सेकेन्ड होला त्यो समयमा हामीले केही गर्न सक्ने अवस्था हुँदैन। अलि टाढा गएपछि भूकम्पको असर पनि कम घट्छ र त्यसले बचाउने भनेको थोरै नगण्य नै हुन्छ।

नेपालको पश्चिमी भाग झन्डै पाँच सय वर्षयता ठुलो भूकम्प नगएको कारण त्यसको जमिनको सतहमा ठुलो शक्ति सञ्चय भइराखेको छ भनेर धेरै विज्ञहरूले भनिरहनु भएको छ। पछिल्ला केही भूकम्पले जमिन मुनिको शक्तिलाई केही हदसम्म बाहिर ल्यायो। अब त्यो ठुलो भूकम्पको जोखिम कम भएको मान्न सकिन्छ ?
सैद्धान्तिक हिसाबले त्यो सही हो। तर त्यसको मात्राको हिसाबले नगण्य भयो। जस्तो एउटा स्केलको र अर्को स्केलको जस्तो ६ को एउटा र ५ को १० वटा बराबर हुन्छ र त्यो हिसाबले हेर्दा त अर्को १० अर्को १० हुँदै जाँदा ६ र ७ को बिचमा सयौँ फरक पर्ने हो। ७ र ८ को बिचमा सयौँ पर्ने हुनसक्छ। सयौँसयौँ गर्दै दशौँ हजार वटा भूकम्प गयो भने मात्र ठुलो भूकम्प बराबरको हुने हो। दशौँ हजारको गयो भने मात्र बल्ल ८ को हुनेभयो। त्यस हिसाबले यो एउटा र अर्कोको बिचमा भएको जुन फरक छ त्यो हिसाबले यो सानो भूकम्प नै भयो। जुन चर्चा परिचर्चा भएको छ त्यसको म विशेषज्ञ होइन। तर यो ठुलो भूकम्प जान्छ भन्ने चर्चा परिचर्चा भएको वा जुन ठुलो भूकम्प जाने जुन सम्भावना छ। त्यो सम्भावनालाई यो भूकम्पले टार्दैन।

यी र यस्ता भूकम्प आउँदा हामी घर जनधनको सुरक्षाका कुरा गर्छौँ। तर नेपाल जस्तो कलिला पहाड भएको वा ठुलाठुला हिमताल भएको ठाउँमा यो भूकम्प पछिको क्षतिप्रति हामीले केही अध्ययन गरेका छौँ ?
भूकम्प पछाडि आउनसक्ने पहिरोको बारेमा अलि बढी अध्ययन भएको छ। पहिला सुरु भएको गोर्खा भूकम्पपछि १४ वटा जिल्लामा सिष्टमेटिक जारले वर्षा अगाडि बर्खा पछाडि भूकम्प अगाडि पछाडि कस्तो हुनेरहेछ भन्ने अध्ययन भएका छन्।

हिमताल फुट्ने सन्दर्भमा त्यसको समग्र भूकम्पको हिसाबले हिमताललाई कति असर गर्छ भन्ने कुरा मलाई थाहा भएन। अध्ययनमा यसमा कति भएको छ भन्ने कुरा इसिमोडले अध्यायन गरिराखेको छ। भूकम्प जाँदा पहाडमा पहिरो जाने र काठमाडौं जस्तो ठाउँमा जमिन तरलिकृत हुने बाटो ट्रान्समिसन लाइनहरूमा भूकम्पहरूले क्षति पुर्याउने हुन्छ। यसमा थप अध्ययन र तयारी चाहिन्छ।

भूकम्पपछि आउने पराकम्पले के संकेत गर्छ। तपाईँहरूको संस्थाले यसको सन्दर्भमा केही अध्ययन गरेको छ कि ?
काठमाडौँमा पनि ठुलो भूकम्प जाने सम्भावना धेरै छ। पराकम्प भनेको ठुलो भूकम्प गइसकेपछि त्यो ठाउँको जमिन चर्किएर नै जाने भएकोले एउटा ठुलो ठाउँमा चर्किसकेपछि फेरि त्यही ठाउँमा र बाँकी भएको ठाउँमा चर्किन सजिलो हुने भएकोले पराकम्प धेरै गइरहने हो। त्यो हिसाबले एक ठाउँमा भूकम्प गयो भने त्यहाँ बारम्बार र लामो समयसम्म गइरहन्छ। बझाङको भूकम्प र काठमाडौंको भूकम्पमा प्रत्यक्ष केही सम्बन्ध होला जस्तो मलाई लाग्दैन।

हाम्रो भूगोल किन उच्च जोखिममा छ। हामी किन उच्च जोखिममा छौं। यसको वैज्ञानिक अध्ययनले के भन्छ ?
संसारको भागहरू विभिन्न ठाउँ तिर वा दिशातिर सर्नेक्रम भइरहन्छ। यो पृथ्वीको आन्तरिक बनोटको कारणले भएको हो। हामी चाहिँ दुई वटा चाक्लाहरु को बिचमा परेका छौं। एउटा दक्षिण तिर बाट आउने चाक्लो उत्तरतिर गइरहने र उत्तर तिरको अलिकति कम गतिमा दक्षिण आउने वा चल्ने मात्र छ। त्यसको ठ्याक्कै हामी बाउण्ड्रिमा परेकोले उच्च जोखिममा परेका हौँ।

भू-गर्भमा भएको चट्टानको सतह उत्तरतर्फ सरिरहेको छ ?
हो। दक्षिणतर्फको उत्तरतर्फ सरिरहेको छ । सर्ने र एक ठाउँमा जोडिने र भूकम्प गइसकेपछि भाँचिने त्यही टुक्रिने भएकोले हामीसँग जति पहाडहरू छन् त्यो पहाडहरू नै यो भूकम्पको कारणले गर्दा नै बनेका हुन्। भूकम्प गएको भएर पहाडहरू बनेका हुन्। त्यस कारण जहाँ पहाड छन् त्यहाँ भूकम्प जाने उच्च जोखिममा ठाउँहरू हुन्।

पूर्वाधार निर्माणका सन्दर्भमा वा घरभित्र भएको अवस्थामा सुरक्षित रहने सन्दर्भमा के सुझाव दिनुहुन्छ ?
नयाँ घर बनाउँदा हामीले कम खर्चमा नै भूकम्प प्रतिरोधी बनाउन सक्छौँ। पहाडमा बनाउने घर वा पिल्लरवाला घरहरूमा सबैले भूकम्प प्रतिरोधी घर बनाउन सक्छौँ। नेपालीको आर्थिक अवस्था अनुसार यसरी बनाउन सकिन्छ।

बनिसकेको घरलाई पनि बलियो बनाउन सकिन्छ। केही थोरै खर्चिलो हुन्छ। प्रत्येक घरको सुरक्षित पाटो हुन्छ। भूकम्प गइहालेको खण्डमा म यता सर्छु भन्ने कुरालाई विचार गर्नुपर्छ। घर नै सबै लड्यो भने त मरिन्छ तर घरको भित्री जोडिएको भागहरू बढी सुरक्षित हुन्छ। यस्तो कुराहरूलाई विचार गरेर सुरक्षित ठाउँ पहिल्याउने। आफू तल भुइँ तलामा छ भने बाहिर निस्किदा कताबाट निस्किने, चुली गाह्रो भएतिर निस्कियो भने पहिला त्यसले किच्छ र पूर्व तयारीमा कसरी म जोगिन्छु भनेर सोच्नु पर्छ।

जग्गा छनोटमा नै ध्यान दिने ?
पहिरो जाने जग्गाहरू छ भने जग्गा छनोटमा नै ध्यान दिने हो। तर मुख्य कुरा भनेको घर नै बलियो बनाउनु पर्छ।

राज्यलाई के भन्नु हुन्छ ?
सबै मिलेर यसको जनचेतना फैलाउनुपर्छ भन्छु। सानो, ठुलो सबै मिलेर संस्थागत संरचना निर्माण गरौँ। भूकम्प आउँदा पाउने कुरालाई सबै मिलेर काम गरौँ भन्न चाहन्छु।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ८ : ४४ बजे

उपनिर्वाचन : हेटौँडा– १२ मा चुनावी सरगर्मी बढ्दो

बागमती – प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष

फोहोरमा राजनीति गर्ने-गराउने दिन सकिए, दिगो व्यवस्थापन गर्छौं : बालेन 

काठमाडौं– काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोरमा राजनीति

नेपाली सेनाको विभिन्न पदमा दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले प्राविधिक, हवाई, सैन्य तथा विभिन्न ट्रेड फलोअर्स

केनेडी जूनियर अमेरिकी स्वास्थ्यमन्त्रीमा नियुक्त

काठमाडौं– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रोबर्ट एफ केनेडी जुनियरलाई

दैलेखका किसान ‘गुणे’ धानमा अधिक आकर्षित

दैलेख– कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै