मुख्यमन्त्री पाण्डेद्वारा गाउँपालिका भवन उद्घाटन | Khabarhub Khabarhub

मुख्यमन्त्री पाण्डेद्वारा गाउँपालिका भवन उद्घाटन


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन निर्माण भएको छ । जोमसोममा रु सात करोड ५९ लाखमा निर्माण भएको भवनको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् ।

गाउँपालिका भवनसँगै निर्माण भएको आपतकालीन कार्यसञ्चालन केन्द्र र कृषि तथा पर्यटन महोत्सवको पनि उनले आजै उद्घाटन गरे । सो कार्यक्रममा मुुख्यमन्त्री पाण्डेले मुस्ताङ, मनाङ, उत्तरी गोरखाजस्ता गण्डकी प्रदेशभित्रका हिमाली क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको बताए।

‘प्रदेशका अन्य जिल्लाजस्तै विकासको गतिमा हिमाली जिल्लालाई पनि सँगसँगै लैजाने गरी सरकारले बजेट विनियोजन गरेको, कार्यक्रममा प्राथमिकता दिएका छौँ’, उनले भने, ‘मुस्ताङको विकासका लागि धार्मिक पर्यटनलाई प्राथमिकता दिएका छौँ ।’

मुक्तिनाथ, कागबेनीको प्रवर्द्धन र विकास जरुरी रहेको उनले बताए । ‘धार्मिक पर्यटन, साहसिक खेलको विकासले पनि मुस्ताङमा पर्यटन प्रवर्द्र्धन हुनसक्छ, यस वर्षको बजेटमा प्रदेश सरकारले यस विषयलाई प्राथमिकता दिएको छ’, उनले भने, ‘गण्डकी प्रदेश सरकारले मुस्ताङ जिल्लाका लागि यस वर्ष रु ८० करोड विकास बजेट विनियोजन गरेको छ । आगामी वर्ष यो बजेट रु एक अर्ब बनाउँछौँ ।’

मुस्ताङसम्म पुग्ने सडक स्तरोन्नति गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले अहिलेको भन्दा ४८ किलोमिटर छोटो दूरीको बिरेठाँटी, म्याग्दी, घोरेपानी हुँदै तातोपानी जोड्ने सडकका लागि रु १० करोडमा बहुवर्षीय ठेक्का लगाएर चालु वर्षदेखि नै निर्माण सुरु गर्ने बताए ।

कालीगण्डकी नदीको बहाव बस्तीको सतहभन्दा माथि आउँदा जोखिम बढेको बताउँदै मुख्यमन्त्री पाण्डेले सर्वोच्च अदालतले शालिग्राम जोगाउन कालीगण्डकी उत्खनन गर्न नहुने अन्तरिम आदेश गरेकाले जोखिम दिनदिनै बढेको बताए ।

‘शालिग्रामको आफ्नै महत्व छ, तर मानिसको ज्यानभन्दा शालिग्राम ठूलो हुन सक्दैन’, उनले भने, ‘बस्ती जोगाउन तत्काल उत्खनन गर्नुपर्ने आवश्यकता छ, कानुनी अड्चनका कारण देखिएको समस्या हल गर्ने दिशामा प्रदेश सरकार लागिरहेको छ ।’

मुस्ताङ कृषिको क्षेत्रमा पनि सम्भावना बोकेको जिल्ला भएको बताउँदै मुख्यमन्त्री पाण्डेले व्यावसायिक स्याउखेतीका लागि प्रदेश सरकारले अनुदान दिने भएकाले सामुदायिक खेतीतर्फ लाग्न स्थानीयलाई अनुरोध गरे । स्थानीयस्तरमा रोजगारी दिलाउन प्रदेश सरकारले उत्पादनमा आधारित अनुदान दिने कृषिका कार्यक्रमलाई प्राथमिकता दिएको उनले बताए ।

नेपालको फरक–फरक धर्म, संस्कृति र परम्परालाई जातीय, धार्मिक, सांस्कृतिक अनेकौँ नाममा सामाजिक सद्भाव खलबल्याउने प्रयत्न अहिले भइरहेको बताउँदै मुख्यमन्त्री पाण्डेले यसतर्फ भने सबै सचेत हुनुपर्ने बताए।

गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री पाण्डेसहित प्रतिनिधिसभा सदस्य योगेश गौचन, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो । कृषि तथा पर्यटन मेलामा मुस्ताङ जिल्लामा उत्पादित कृषि उत्पादनको प्रदर्शनी र बिक्री कक्ष  सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ६ : ४९ बजे

राष्ट्रपतिको मतगणना : सुरुवाती अग्रता फराकिलो बनाउँदै ट्रम्प

न्युयोर्क – दक्षिणी क्यारोलिनाका ९ इलेक्ट्रोल मतमा डोनाल्ड ट्रम्पले सफलता

बसको ठक्करबाट एक जनाको मृत्यु, दुईजनाको अवस्था गम्भीर

चितवन– चितवनको रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा गएराति सवारी दुर्घटना

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

जलेश्वर– मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा

अमेरिकी निर्वाचनमा बमको धम्की : खराब मौसमले केही स्थानमा मतदानमा समस्या

न्यूयोर्क – अमेरिकी राष्ट्रपति पदका लागि जारी मतदानमा पूर्वी भागमा

राष्ट्रपति पौडेल आइतबार अजरबैजान जाने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु