खुला आकाशमुनि रात बिताउँदा... | Khabarhub Khabarhub

खुला आकाशमुनि रात बिताउँदा…


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– शुक्रबार बेलुका खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ की भावना पुनलाई मध्यरातमा अकल्पनीय रुपमा आएको भूकम्पले ब्युँतायो । उनी भूकम्पको त्यो धक्काको त्रास सम्झिएर सुत्न पाएको अवस्था छैन ।

उनको परिवारमा भूकम्पको त्रास भने जहाँको तहीँ छ । बस्ने घर भूकम्पले धुजाधुजा बनाएको छ, केही परिवारका सदस्य खुला आकाशमा रात बिताइरहेका छन् भने कोही अस्पतालमा बिरामी कुरुवाको काम गर्दै त्रासमा छन् । 

पुनजस्तै जुनिचाँदे गाउँपालिका लुहादहका सुरेन्द्र खड्का भेरीमालिका अपसेट प्रेसमा काम गरेर राति सुतेका थिए । राति निद्रामै भूकम्प आएपछि अहिले उनको बास खुला सडकै छ । पटकपटक गइरहेका परकम्पले उनको बास सडकमै भएको हो ।

यातायातका साधन एकातिरबाट गुड्छन् भने अर्को भागमा उनीलगायत अन्य  सर्वसाधारण सुतिरहेका छन् । कात्तिक महिनाको चिसोले उनीहरूलाई सताइरहेको छ । त्यही चिसोमा खलङ्गालगायत आसपास क्षेत्रका भूकम्पपीडितको बास हुँदै आएको छ । 

कुशे गाउँपालिकाका धनबहादुर सिंहले गाउँमा भूकम्पको त्रासले त्रिपाल टाँगेर बस्न बाध्य भएको बताए । घरभित्र बसिसाध्य छैन, उनले भने, ‘परकम्प आइरहेका कारण कुन समय के हुन्छ थाहा छैन, मनभरि त्रासले बास गरेको छ ।’

जाजरकोटका पाँचवटा पालिकाका अधिकांश घर सग्ला छैनन् । नलगाड नगरपालिका–१ बाट ८ सम्म, भेरी–१, ३ र ४ का अधिकांश घरमा क्षति भएको छ । 

त्यस्तै छेडागाड, कुशे र बारेकोटमा समेत क्षति बनाएको छ । यहाँका सर्वसाधारणका घर बस्नयोग्य नै नभएको अवस्था छ । मानवीय क्षतिका हिसाबले नलगाड पहिलो नम्बरमा छ । 

नलगाडमा मात्र ५२ जनाको भूकम्पबाट मृत्यु भएको छ । यसपछि भेरी नगरपालिका रहेको छ । भेरीमा ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छेडागाड नगरपालिकामा एक, जुनिचाँदेमा एक जनाको मृत्यु भएको छ । गम्भीर प्रकृतिका बिरामीलाई मात्र बाहिर सुविधासम्पन्न ठाउँमा उपचारका लागि लगिएको छ भने अन्य बिरामीको पालिकास्थित स्वास्थ्य संस्थामा उपचार जारी रहेको छ । एक सय ५० जनाभन्दा बढीको उपचार जारी छ । अझै केहीले उपचार नपाएको समेत बताएका छन् । 

छेडागाड –७ मा भूकम्पका कारण घाइते भएका एक व्यक्तिको अहिलेसम्म उद्धार हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताए । त्यहाँ एम्बुलेन्स नजाने भएकाले समस्या भएको उनको भनाइ छ ।

त्यस्तै गाउँगाउँमा फोन सम्पर्क हुन नसकेका कारण अझै गाउँमा घाइते हुनसक्ने अवस्था छ । पालिकाका मुकाममा रहेका घाइतेको उद्धार शनिबार बेलुकीसम्म जारी थियो । अन्य गाउँमा भएका बिरामीको गाउँमै उपचार भएको पालिकाका प्रमुखहरूले बताएका छन् ।

भौतिकरूपमा कति क्षति भयो भन्ने कुनै यकिन तथ्याङ्क आउन सकेको छैन । अधिकांश मृतकको सनाखत अझै हुनसकेको छैन । अहिलेसम्म पालिकाको नाम र सङ्ख्याबाहेक अन्य कुनै विवरण आउन सकेको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले  शनिबार नै भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी जानकारी लिएका थिए । 

शनिबार नै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी राहत र उपचारलाई व्यवस्थित बनाउन एक टोलीसमेत निर्माण गरिएको छ । राहत दिने र सहयोग गर्नेले एकद्वार प्रणालीबाट गर्न प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । सरकारी कार्यालयसमेत काम नलाग्ने गरी क्षति भएको उनले जानकारी दिए । 

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ८ : ३४ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि