भूकम्पमा ज्यान गुमाउनेको अन्त्येष्टि र पीडितलाई राहत वितरण « Khabarhub

भूकम्पमा ज्यान गुमाउनेको अन्त्येष्टि र पीडितलाई राहत वितरण


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा निधन हुनेको सङ्ख्या एक सय ५७ पुगेको छ । सो घटनामा जाजरकोटमा एक सय पाँच र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको तथ्याङ्क प्राप्त भएको सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

भूकम्पमा परी जाजरकोटमा एक सय १२, रुकुममा एक सय ३२, जुम्लामा पाँच, दैलेख र बैतडीमा तीन/तीन तथा सल्यान र रोल्पामा एक/एक गरी दुई सय ५७ जना घाइते भएका छन् । सामान्य घाइते उपचारपछि घर फर्किएका छन् भने केहीको आधारभूत र जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेको सुर्खेत, नेपालगञ्ज र काठमाडौँमा उपचार भइरहेको छ ।

प्रभावित क्षेत्रमा आज शव बुझ्ने, दाहसंस्कार गर्ने तथा पीडितलाई अत्यावश्यक राहत सामग्रीलगायत पाल, कम्बल वितरणको कार्य भइरहेको तत् स्थानीय तहका पदाधिकारीले जानकारी दिएका छन् । जाजरकोटको छेडागाड नगरपालिका प्रमुख रत्नबहादुर खड्काले भूकम्पमा परी ज्यान गुमाएकाको शव परीक्षण गरी भेरी नदी किनारमा दाहसंस्कार गर्ने काम भएको जानकारी दिए ।

पाल, कम्बललगायत राहत सामग्री प्राप्त हुनेक्रम जारी रहेको उनले बताए । “प्राप्त राहत सामग्री पीडितसमक्ष पुर्‍याउने काम भइरहेको छ । रेडक्रसलगायतका सङ्घसंस्थाबाट थुप्रै राहत सामग्री प्राप्त भएको छ”, उनले भने, “केही वितरण गरियो, केही पुग्दैछन् ।” भेरी नगरपालिकाका उपप्रमुख सीता जैसीले जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार एकद्वार प्रणालीबाट राहत वितरण भएको जानकारी दिइन् ।

वडा कार्यालयबाट क्षतिको तथ्याङ्कअनुसार राहत वितरण गरिएको उनको भनाइ छ । “ओढ्ने, ओछ्याउने र खाद्यान्नलगायत राहत सामग्री वितरण गरियो, राहत बुझ्ने र मृतकको दाहसंस्कार गर्ने काम भइरहेको छ ।” उनले भनिन् । बारेकोट गाउँपालिकाका उपाध्यक्ष नरबहादुर गिरीले उद्धारका काम निरन्तर भइरहेको जानकारी दिए । “प्रभावितको स्वास्थ्य अवस्थालाई ध्यान राखी चिकित्सकको टोली परिचालित गरिएको छ, थप वस्तुस्थिति बुझी विपद् व्यवस्थापन समितिको बैठक बसेर बजेटसहितको निर्णय गर्ने तयारीमा छौँ ।”

भूकम्पबाट घर क्षति भएका नागरिकलाई तत्काल बसोबासका लागि सार्वजनिकस्थल, विद्यालयलगायतका स्थानमा व्यवस्था गरिएको उनको भनाइ छ । “ग्रामीण वस्ती र सामाजिक सम्बन्ध राम्रो भएका कारण धेरैले पीडितलाई आश्रय प्रदान गरेको अवस्था छ”, उनले भने ।

कुशेँ गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले प्रारम्भिक राहतका सामग्री दाल, चालम, चाउचाउ, च्यूरा, कम्बल, त्रिपाल वितरण गरिएको जानकारी दिइन् । मृतकको शव प्रक्रिया पुर्‍याएर अन्त्येष्टि गरिएको उनको भनाइ छ । “सामान्य घाइतेको चिकित्सकले उपचार गरिरहनुभएको छ”, उनले भनिन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ६ : ०२ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको