नेपालगञ्जमा उपचाररत भूकम्पका घाइते आफन्तको शोकमा « Khabarhub

नेपालगञ्जमा उपचाररत भूकम्पका घाइते आफन्तको शोकमा


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


921
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- बाँकेस्थित भेरी अस्पतालमा जाजरकोट र पश्चिमरुकुममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएकाहरुको उपचार भइरहेको छ । उपचाररत उनीहरु यतिबेला भूकम्पबाट निधन भएका आफन्तको शोकमा छन् । भूकम्पमा घाइते भएकी रुकुम पश्चिम सानीभेरी गाउँपालिका–४ की नविता खत्री अहिले शोकमा छिन । उनको नौ वर्षीय छोरा निर्जलको निधन भएको छ भने चार महिनाका छोरा घाइते छन् ।

उनलाई शनिबार भेरी अस्पताल नेपालगञ्जमा थप उपचारका लागि ल्याइएको थियो । उनको कुम र टाउकामा चोट लागेको छ । “सुरुमा एउटा धक्का आयो, उठ्छु भन्दाभन्दै झन ठूलो भूकम्प आयो”, खत्रीले भनिन् “त्यसबेला अब मर्छु भन्ने लागेको थियो । आधा घण्टा हारगुहार गरेपछि उद्धार भयो ।”

सुरुमा उनको स्थानीयस्तरमा प्राथमिक उपचार भएको थियो । बाँकेबाट मामाघर गएकी कोहलपुरकी २२ वर्षीया ईसा शाहले पनि आफ्ना तीन दिदी गुमाएकी छिन् । दसैँ मनाउन मामाघर जाजरकोट गएकी उनी शुक्रबार सानीआमाको घरमा गएकी थिइन् । काठमाडौँमा स्नातक पढ्दै गरेकी शाहले भूकम्पमा च्यापिएपछि करिब एक घण्टासम्म उद्धारका लागि चिच्याइरहेको बताइन् । “हामी सँगै सुतेका थियौँ । मैले धेरै पटक दिदीहरुलाई बोलाए तर बोल्नुभएन”, उनले भनिन् ।

भूकम्पमा गुमाएका दिदीहरु ठूलीआमाका छोरी भएको शाहले बताइन् । उनले दिदीहरु मेरिना आरसी, ऊर्जा सिंह र उपासन सिंहलाई गुमाएको बताइन् । जाजरकोटकी कृष्णा परियार भूकम्पमा दुई छोरा, एक छोरीसहित घाइते भएकी छिन् । “हामी माथिल्लो तलामा सुतेका थियौँ । एक्कासी एकै झड्कामा हामी सबै ढल्यौँ”, उनले भनिन् ।

सुतेको बेलामा घरको छाना ढुङ्गाले च्यापिएर आफूहरु घाइते भएको परियारले जानकारी दिइन् । घरको कुनै नाम निशाना नभएको जनाउँदै उनले आफूहरुलाई पुरिएका अवस्थामा उद्धार गरिएको बताइन् । “म त पुरिएको अवस्थामा बेहोस थिए । उद्धार गरेपछि चेत आयो”, घटना विवरण सुनाउँदै परियारले भनिन्, “म बच्चासँगै खाटमा सुतेकी थिएँ । छोरीले बचाउबचाउ भनिरहेकी थिइन् । माथिल्लो तलामा सुतेकाले भाग्न सकेनौँ ।” उनका श्रीमान् भारतमा रोजगारीमा छन् । उनी आजै घर फर्किदै छन् ।

जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति गएको भूकम्पमा घाइते भएकाको भेरी अस्पताललाई विशेष सेवा प्रदायक (डेडिकेडेट) अस्पतालका रुपमा स्थापना गरी उपचार भइरहेको छ । कोहलपुर मेडिकल कलेजमा भएका एक जना बिरामीलाई भेरीमा स्थानान्तरण गरेर उपचार भइरहेको अस्पतालका ‘फोकल पर्सन’ तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनसार अस्पतालमा घाइतेहरु ३८ जनाको उपचार भइरहेको छ । “यसअघि शनिबार एक जना बिरामीको बाटोमा ल्याउँदै गर्दा मृत्यु भएको थियो । भूकम्पमा गम्भीर घाइते भएका पाँचको शल्यक्रिया सफल भएको छ”, श्रेष्ठले भने, “सबै बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त छ ।” उनका अनुसार उपचार गराइरहेकामध्ये जाजरकोटका २४, रुकुम पश्चिमका १३ र सल्यानका एक जना छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ६ : ३१ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको