नेपालगञ्जमा उपचाररत भूकम्पका घाइते आफन्तको शोकमा « Khabarhub

नेपालगञ्जमा उपचाररत भूकम्पका घाइते आफन्तको शोकमा


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


921
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- बाँकेस्थित भेरी अस्पतालमा जाजरकोट र पश्चिमरुकुममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएकाहरुको उपचार भइरहेको छ । उपचाररत उनीहरु यतिबेला भूकम्पबाट निधन भएका आफन्तको शोकमा छन् । भूकम्पमा घाइते भएकी रुकुम पश्चिम सानीभेरी गाउँपालिका–४ की नविता खत्री अहिले शोकमा छिन । उनको नौ वर्षीय छोरा निर्जलको निधन भएको छ भने चार महिनाका छोरा घाइते छन् ।

उनलाई शनिबार भेरी अस्पताल नेपालगञ्जमा थप उपचारका लागि ल्याइएको थियो । उनको कुम र टाउकामा चोट लागेको छ । “सुरुमा एउटा धक्का आयो, उठ्छु भन्दाभन्दै झन ठूलो भूकम्प आयो”, खत्रीले भनिन् “त्यसबेला अब मर्छु भन्ने लागेको थियो । आधा घण्टा हारगुहार गरेपछि उद्धार भयो ।”

सुरुमा उनको स्थानीयस्तरमा प्राथमिक उपचार भएको थियो । बाँकेबाट मामाघर गएकी कोहलपुरकी २२ वर्षीया ईसा शाहले पनि आफ्ना तीन दिदी गुमाएकी छिन् । दसैँ मनाउन मामाघर जाजरकोट गएकी उनी शुक्रबार सानीआमाको घरमा गएकी थिइन् । काठमाडौँमा स्नातक पढ्दै गरेकी शाहले भूकम्पमा च्यापिएपछि करिब एक घण्टासम्म उद्धारका लागि चिच्याइरहेको बताइन् । “हामी सँगै सुतेका थियौँ । मैले धेरै पटक दिदीहरुलाई बोलाए तर बोल्नुभएन”, उनले भनिन् ।

भूकम्पमा गुमाएका दिदीहरु ठूलीआमाका छोरी भएको शाहले बताइन् । उनले दिदीहरु मेरिना आरसी, ऊर्जा सिंह र उपासन सिंहलाई गुमाएको बताइन् । जाजरकोटकी कृष्णा परियार भूकम्पमा दुई छोरा, एक छोरीसहित घाइते भएकी छिन् । “हामी माथिल्लो तलामा सुतेका थियौँ । एक्कासी एकै झड्कामा हामी सबै ढल्यौँ”, उनले भनिन् ।

सुतेको बेलामा घरको छाना ढुङ्गाले च्यापिएर आफूहरु घाइते भएको परियारले जानकारी दिइन् । घरको कुनै नाम निशाना नभएको जनाउँदै उनले आफूहरुलाई पुरिएका अवस्थामा उद्धार गरिएको बताइन् । “म त पुरिएको अवस्थामा बेहोस थिए । उद्धार गरेपछि चेत आयो”, घटना विवरण सुनाउँदै परियारले भनिन्, “म बच्चासँगै खाटमा सुतेकी थिएँ । छोरीले बचाउबचाउ भनिरहेकी थिइन् । माथिल्लो तलामा सुतेकाले भाग्न सकेनौँ ।” उनका श्रीमान् भारतमा रोजगारीमा छन् । उनी आजै घर फर्किदै छन् ।

जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति गएको भूकम्पमा घाइते भएकाको भेरी अस्पताललाई विशेष सेवा प्रदायक (डेडिकेडेट) अस्पतालका रुपमा स्थापना गरी उपचार भइरहेको छ । कोहलपुर मेडिकल कलेजमा भएका एक जना बिरामीलाई भेरीमा स्थानान्तरण गरेर उपचार भइरहेको अस्पतालका ‘फोकल पर्सन’ तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनसार अस्पतालमा घाइतेहरु ३८ जनाको उपचार भइरहेको छ । “यसअघि शनिबार एक जना बिरामीको बाटोमा ल्याउँदै गर्दा मृत्यु भएको थियो । भूकम्पमा गम्भीर घाइते भएका पाँचको शल्यक्रिया सफल भएको छ”, श्रेष्ठले भने, “सबै बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त छ ।” उनका अनुसार उपचार गराइरहेकामध्ये जाजरकोटका २४, रुकुम पश्चिमका १३ र सल्यानका एक जना छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ६ : ३१ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४