दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

आज दिनभर भूकम्पबाट मृत्यु भएकाकाे परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ दिने सरकारको निर्णय, विपद्को सूचना सम्प्रेषणमा संवेदनशील बन्न प्रेस काउन्सिलको आग्रह, टिकटकमा समाजिक सद्भाव भड्काउने पोष्ट बढ्न थालेपछि सरकारको कडाइ,कांग्रेसका सांसदहरुले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने, टी २० विश्वकप एसियाली छनोट : सुपर ओभरमा धकेलिएको फाइनलमा नेपाल पराजितगायतका समाचारले प्रमुख स्थान पाए ।

भूकम्पबाट मृत्यु भएकाकाे परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ दिने सरकारको निर्णय

नेपाल सरकारले जाजरकोट भूकम्पबाट प्रभावितको खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउँदै तत्काल मर्मतसम्भार सम्पन्न भएपछि पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरी एक वर्षभित्र भूकम्प प्रतिरोधी आवास निर्माण गर्ने निर्णय गरेको छ ।

भूकम्पका घाइतेको उपचारमा कमी हुन नदिन रक्षामन्त्री खड्काको निर्देशन

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइतेलाई भेटेका छन् ।

आज भेरी अस्पताल पुगेका उपप्रधानमन्त्री खड्काले घाइतेहरूको अवस्था बुझेका हुन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भेरी अस्पताललाई भूकम्पका घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिए । उनले सरकारले घाइतेको निःशुल्क औषधि गर्ने जानकारी गराउँदै प्रतिकार्य र राहतमा तदारुकताका साथ काम गरिरहेको बताए ।

राहत सामाग्री जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई हस्तान्तरण गरेका छौँ : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३ सयभन्दा बढी परिवारलाई पुग्ने राहत सामाग्री जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई हस्तान्तरण गरेको जनाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै सभापति लामिछानेले ३ सयभन्दा धेरै परिवारलाई पुग्ने राहत सामग्री जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई हस्तान्तरण गरेको जानकारी दिएका हुन् ।

टिकटकमा समाजिक सद्भाव भड्काउने पोष्ट बढ्न थालेपछि सरकारको कडाइ

समाजिक सञ्जाल टिकटकमार्फत समाजिक सद्भाव भड्काउने पोष्टहरू बढ्न थालेको भन्दै सरकारले कडाइ गरेको छ । गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै अब टिकटकमा घृणा र द्वेष फैलाउने प्रकृतिका सामग्री पोष्ट गरे स्वतः हट्ने व्यवस्था गर्न लागिएको जानकारी दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जाल टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्री राख्ने र त्यस्ता कार्य गर्ने व्यक्ति पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन लागिएको जनाइएको छ ।

विपद्को सूचना सम्प्रेषणमा संवेदनशील बन्न प्रेस काउन्सिलको आग्रह

प्रेस काउन्सिल नेपालले प्राकृतिक विपदका समयमा गरिने सूचना सम्प्रेषण संवेदनशील प्रकृतिको हुने भएकाले गलत सूचना र सन्देश प्रवाह नगर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।

युट्युबलगायत सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यमबाट जाजरकोट भूकम्पका विभत्स दृश्य तथा तस्बिरसहितका सन्देश पुष्टि नगरिकन प्रवाह भएको पाइएकाले काउन्सिलले ध्यानाकर्षण भएको जनाएको हो ।

काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा ‘को पहिला हुने’ भन्ने होडबाजीमा आधिकारिक तथ्य पुष्टि नगरिकन मानवीय संवेदनामा खलल पुग्ने र विपत्ति वा शोकमा परेका व्यक्ति र आफन्तजनमा थप पीडा पुग्ने गरी मृतक तथा घाइतेको विभत्स दृश्य र तस्बिर सम्प्रेषण नगर्न, नगराउन भनिएको छ ।

‘मृतक एवं घाइतेको विवरण प्रस्तुत गर्दा संवेदनशील भई गोपनियताको सम्मान गर्न आम सञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, युट्युबलगायत सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा प्रेस काउन्सिल नेपाल हार्दिक आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसका सांसदहरुले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि १५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।

कांग्रेस संसदीय दलको आज बसेको बैठकले भूकम्पपीडितका लागि सङ्घीय संसदमा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यको १५ दिन बराबरको पारिश्रमिक सहयोगस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

त्रिविको निमित्त उपकुलपतिमा भुसाल नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।

त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल यही कात्तिक १७ गते सकिएकाले प्रधानमन्त्री एवं त्रिविका कुलपति दाहालले भुसाललाई बढीमा तीन महिनाका लागि सो पदमा आज नियुक्त गरेका हुन् ।

टी २० विश्वकप एसियाली छनोट : सुपर ओभरमा धकेलिएको फाइनलमा नेपाल पराजित

सुपर ओभरमा धकेलिएको आईसीसी टी २० विश्वकप क्रिकेटको एसियाली छनोटको फाइनल खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमानले उपाधि हात पारेको हो । निर्धारित २० ओभरको खेल बराबरीमा टुङ्गिएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई नयाँबसपार्कबाट निःशुल्क बससेवा

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ ।

काठमाडौँमा बसोबास गर्दै आएका भूकम्पबाट प्रभावित क्षेत्रका जनतालाई आफ्नो घर जानका लागि सहजता होस् भन्ने उद्देश्यले सो कम्पनीले निःशुल्क बससेवा सञ्चालन गरेको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ९ : ०२ बजे

क्यानडाका प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा दिएका छन् ।

कम्युनिष्ट आन्दोलन कमजोर हुँदा राजनीतिमा समस्या : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्ट

वन्यजन्तुको आक्रमणबाट ८३ को मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना

काठमाडौं – नेपालमा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म वन्यजन्तुको आक्रमणबाट

नक्कली प्रमाणपत्र पुष्टि भएका काठमाडौंका सीडीओ आचार्य गृहमा तानिए

काठमाडौं – नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको

सरकारले कुलमानलाई सोधेको स्पष्टीकरणमा के छ ?

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई