गण्डकीमा तीन अर्बको सुन्तला उत्पादन | Khabarhub Khabarhub

गण्डकीमा तीन अर्बको सुन्तला उत्पादन


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका पहाडी जिल्लामा अहिले किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ छ । सुन्तला बेचेर यहाँका किसानले बर्षेनि मनग्ये कमाउँछन् । यहाँ बर्सेनि ठूलो परिमाणमा सुन्तला उत्पादन हुन्छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक तथ्यांक अनुसार यसवर्ष १० प्रतिशतले सुन्तला उत्पादन बढेको छ । निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले ३० प्रतिशत सुन्तला अझै बोटमै रहेको बताए । गत वर्षको तुलनामा १० प्रतिशतले उत्पादन बढ्दा यो वर्ष ५५ हजार नौ सय ३५ मेट्रिक टन सुन्तला फलेको हो । अघिल्लो वर्ष ५० हजार आठ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

सुन्तला खेती हुने प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी स्याङ्जामा १५ हजार एक सय ८० र सबैभन्दा कम लमजुङमा सात सय १५ मेट्रिक टन सुन्तला उत्पादन भएको निर्देशनालयले जनाएको छ । देशमै सबैभन्दा धेरै सुन्तला खेती हुने स्याङ्जाले बर्सेनि उत्पादनको ठूलो हिस्सा ओगट्छ । 

तनहुँमा १२ हजार पाँच सय ४०, कास्कीमा आठ हजार तीन सय ७१, गोरखामा छ हजार एक सय ४६, पर्वतमा चार हजार चार सय, बागलुङमा चार हजार १५, म्याग्दीमा तीन हजार छ सय ९३ र नवलपुरमा आठ सय ७५ टन सुन्तला उत्पादन भएको छ । मुस्ताङ र मनाङमा भने सुन्तला खेती हुँदैन ।

किसानले पाउने प्रतिकिलो रु ५० औसत मूल्यका आधारमा यो वर्ष गण्डकी प्रदेशमा रु दुई अर्ब ७९ करोड, ६७ लाख, ५० हजार बराबरको सुन्तला उत्पादन भएको निर्देशनालय प्रमुख रेग्मीले बताए। सुरुसुरुमा केही कम मूल्य परे पनि पछिसम्म बोट र चिस्यान केन्द्रमा राखेर बेच्ने किसानले सुन्तलाको भाउ राम्रो पाउने गरेका छन् । 

‘बजारमा आएपछि पाउने बिक्री मूल्यको त लेखाजोखा नै हुँदैन, व्यापारीले किलोलाई सय, डेढसयसम्ममा बेच्छन्, हामीले त सुन्तला फलाउने किसानले कति कमाए भनेर हेर्नुपर्छ’, प्रमुख रेग्मीले भने, ‘जिल्लाहरुले पठाएको प्रतिवेदन र आँकडा विश्लेषण गर्दा गण्डकीमा वार्षिक करिब तीन अर्ब बराबरको सुन्तला उत्पादन हुने गरेको छ ।’

‘सुन्तला जोन’मा बढी सुन्तला उत्पादन हुने बागलुङको बिहुँ, सिगाना, पर्वतको बाँसखर्क, सालिजा, लेखफाँट, म्याग्दीको बास्कुनालगायतका गाउँ पर्छन् । स्याङ्जामा सुन्तला ‘सुपरजोन’ कार्यक्रम लागू भइरहेको छ । सुरुमा केही स्थानीय तहका सीमित वडामा मात्र सञ्चालन गरिएको उक्त कार्यक्रमलाई पछि जिल्लाभर विस्तार गरिएको हो । 

स्याङ्जाका करेनडाँडा, जैसीडाँडा, राङ्खोला, अर्जुनचौपारीलगायत गाउँ सुन्तला खेतीका लागि बढी चिनिन्छन् । तनहुँको म्याग्दे गाउँपालिका, गोरखाको शहीद लखन गाउँपालिकामा पनि सुन्तला खेती बढी हुन्छ । यहाँ उत्पादित सुन्तला पोखरालगायत प्रदेशभित्रैका सहरी क्षेत्रमा बढी खपत हुन्छ । व्यापारीले नारायणगढ, काठमाडौँलगायत ठाउँमा पनि बिक्रीका लागि पुर्‍याउँछन् । 

निर्देशनालयका अनुसार स्याङ्जामा दुई हजार ६७, तनहुँमा एक हजार सात सय १२, गोरखामा एक हजार ८२, कास्कीमा आठ सय ९४, पर्वतमा आठ सय ७२, म्याग्दीमा सात सय ८०, बागलुङमा छ सय २२, लमजुङमा एक सय ७२ र नवलपुरमा एक सय ४२ हेक्टरमा सुन्तला खेती छ । सुन्तलाको क्षेत्र विस्तार बर्सेनि भइरहेको छ ।

उत्पादन जति बढ्दा पनि बजारको अभाव नहुने र श्रमको उचित मूल्य पाउने सुनिश्चिता गर्न सके सुन्तला खेतीमा किसानको आकर्षण अझै बढ्ने बागलुङ नगरपालिका–८ सिगानाका अगुवा किसान टोपबहादुर खड्काले बताए । ‘सिँचाइ, मलखाद व्यवस्थापन, औषधोपचारमा किसानलाई बढी भार पर्छ, यस्तोमा राज्यले साथ दिनुपर्छ’, उनले भने, ‘नगद आम्दानी हुने भएकाले सुन्तला खेतीमा आकर्षण बढ्दो छ ।’

उनी विसं २०३७ मा सुन्तला खेती गर्ने गाउँकै एक्लो किसान थिए । अन्नबाली छाडेर सुन्तला लगाउँदा सुन्तलाले व्यावसायिक सफलता दिलाउला भनेर कमैले सोचेका थिए । तर, अहिले उनलाई सबैले प्रेरणाको स्रोत मान्छन् । सिगानाका दुई सय बढी किसान अहिले व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । खड्काले सुरुमा सय बोट लगाएर सुन्तलाको व्यावसायिक खेती सुरु गरेका थिए। अहिले उहाँको बगानमा नयाँ, पुराना गरी दुई सय सुन्तलाका बोट छन् । सुन्तलाबाट खड्काले बर्सेनि लाखौँ कमाउँछन् । 

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ३ : १७ बजे

पूर्वाधार निर्माणलाई दिगो र सुरक्षित बनाउन आवश्यक : मन्त्री दाहाल

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्राकृतिक विपद्बाट हुनसक्ने

‘शरीर ब्रम्हाण्ड भएकाले ‘होलबडी चेकअप’ झूटो हो’ (भिडियो अन्तर्वार्ता) 

विभिन्न प्रविधिको विकास र मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण विश्वले

पाटन दरबार स्क्वायर जाने बाटो जलमग्न (तस्बिरहरू)

काठमाडौं– पाटनको महापाल क्षेत्रमा, पाटन दरबार स्क्वायर जाने बाटोमा पानी

रविबारे ओलीलाई वर्षमानले सोधे- ‘प्रमाणित अभियुक्त’लाई सरकारी टीभीमा कसले जागिर दियो ? गृहमन्त्री बनायो ?

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले

बाढी अपडेट : एघार घर बगे, सात घरमा क्षति

बाजुरा– बुधबार रातिको बाढीले यहाँको हिमाली गाउँपालिका–१ विच्छ्यामा ११ घर