पर्यटकीय गन्तव्य बन्दै ‘मगर भिलेज’ « Khabarhub

पर्यटकीय गन्तव्य बन्दै ‘मगर भिलेज’


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

दमौली– मिछुर्लुङ गाउँमा खोलिएको मगर भिलेज रिसोर्ट यतिबेला पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित हुन थालेको छ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका सचिव प्रताप रानामगरले सञ्चालनमा ल्याएको उक्त रिसोर्टमा दैनिकजसो आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको खैरेनीटारबाट भिमाद हुँदै मिर्छुलुङ पुगिन्छ । खैरेनीटारबाट आठ किलोमिटर भिमाद बजार र त्यहाँबाट चार किलोमिटर यात्रा गरेपछि मिर्छुलुङ गाउँ पुगेपछि मगर भिलेज रिसोर्ट भेटिन्छ । उक्त रिसोर्ट पर्यटकीय तथा अध्ययन केन्द्रका रूपमा विकास हुन थालेको सञ्चालक राना मगरले जानकारी दिए। उनले भने, ‘प्राकृतिक वातावरण, स्थानीय संस्कृति र मगर संस्कारलाई प्रवर्द्धन गर्दै यो रिसोर्ट सञ्चालन गरिएको छ । यहाँ दिनदिनै आउने पर्यटकको सङ्ख्या बढ्दो छ ।’ ‘मगर संस्कृतिको अध्ययनका लागि जिल्ला तथा जिल्लाबाहिरबाट विद्यार्थी, सर्वसाधारण र सहकारी सङ्घसंस्थाका टोली आउँछन् र यहाँको मनोरम दृश्य हेर्दै मोहित भएर फर्किन्छन्’, सञ्चालक रानाले भने।

गत वर्षदेखि सञ्चालनमा आएको रिसोर्टले एक वर्षमै ख्याति कमाइसकेको छ । यस रिसोर्टमा रहेको घुमाउने घर र खुर्पेटोले यहाँ पुग्ने सर्वसाधारणको ध्यान खिच्ने गरेको छ । ‘आजभोलि घुमाउने घर कमै मात्रामा देख्न पाइन्छ, हामीले घुमाउने घर बनाएर राखेका छौँ, घर अगाडि खुर्पेटो पनि छ,’ उनले भने, ‘घुमाउने घर र खुर्पेटोमा फोटो खिचाउन आगन्तुक लालायित हुन्छन् ।’

रिसोर्टमा ढिकी, जाँतोजस्ता पुराना सामग्री पनि राखिएको छ । अहिलेका पुस्तालाई पुरातात्विक तथा धार्मिक महत्वका सामग्रीबारे बुझाउन विभिन्न सामग्री राखिएको र अहिले त्यही हेर्न विद्यालयबाट पनि विद्यार्थी आउने गरेको सञ्चालक रानाको भनाइ थियो ।

रिसोर्टमा पुगेका पाहुनालाई प्राङ्गारिक खाना खुवाउने व्यवस्था मिलाइएको छ । यहाँ विभिन्न गीतको छायाङ्कनसमेत हुने गरेको छ । ‘गाउँले दृश्य भिडिओमा समावेश गर्न र थुप्रै गीतको छायांकन भइसकेको छ,’सञ्चालक रानाले भने।

रिसोर्टमा रहेको डुङ्गाको पिङ यहाँको अर्को आकर्षण बनेको छ । ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित यहाँ दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माण गरिएको छ । देश तथा विदेशमा रहेका नेपालीहरूबाट संकलन गरिएको रकमबाट उक्त स्तम्भ निर्माण गरिएको हो ।

मिछुर्लङमा जन्मेर हाल बेलायतमा रहेका महेन्द्र आलेको परिकल्पनामा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको थियो । कूल ३८ लाख चार हजार नौ सयको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको बताइएको छ ।

मगर समुदायको कौरा र झ्याउरे गीतका साथै प्राङ्गारिक खानाको परिकार मिर्छुलुङको विशेषता हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मिर्छुलुङमा झरना पनि छ । उक्त झरनामा एकपटक क्यानोनिङसमेत सञ्चालन गरिएको थियो।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  १२ : २६ बजे

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन

‘मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं– नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका रुपमा

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन