दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 6 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

आज दिनभर सरकारको प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक, साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेज, पुँजीगत खर्च बढाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन, रामेछापकाे बाेलेरो दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु,दश मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमालगायत समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू :

‘साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेज’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सार्वजनिक सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रमलाई राष्ट्रिय सहमतिको दस्तावेजका रूपमा चित्रण गरेका छन् ।

संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यसमा सरकारमा रहेका पूर्ववर्ती दल र अन्यको समेत धारणा समेटिएकाले यो राष्ट्रिय सहमतिको दस्तावेज भएको बताए।

उनले भने, ‘यो राष्ट्रिय सहमतिको साझा न्यूनतम साझा कार्यक्रम भन्न सकिन्छ । यो सबैको साझा कार्यक्रम हो ।’ उनले साझा नीति तथा कार्यक्रमलाई प्रधानमन्त्री, मन्त्री, कर्मचारी प्रशासन सबैले इमानदार भएर कार्यान्वयन गर्नुपर्ने बताए।

नेपाली जनताले हामीबाट ठूलो आशा र अपेक्षा गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यान्वयनमा सबै गम्भीर हुनुपर्नेमा जोड दिए ।

अघिल्लोपटक गठबन्धन सरकारले पनि यस्तै नीति तथा कार्यक्रम तय गरेको र त्यसलाई कार्यान्वयनमा लगेको उल्लेख गर्दै प्रधानमन्त्रीले आज सार्वजनिक नीति तथा कार्यक्रमलाई पनि पूर्णरूपमा कार्यान्वयन गरिने दृढता व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले भने, ‘साझा कार्यक्रम विकसित र परिमार्जित भएर आएको छ । तत्कालीन सात राजनीतिक दलको नीतिगत प्राथमिकतालाई अध्ययन गरेर त्यसमा भएका सबै राम्रा कुरालाई व्यवस्थित र परिमार्जितरूपमा यो नीति तथा कार्यक्रम बनेको छ ।’

सरकारको प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक 

सत्तारुढ गठबन्धन सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक विशेष समारोहमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

विस्तृत शान्ति सम्झौतालगायत विगतमा नेपाल सरकार र विभिन्न राजनीतिक दल र पक्षहरूबिच भएका सहमती र सम्झौताहरूलाई हृदयङ्गम गरी देशलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि कटिवद्ध रहँदै यो कार्यक्रम ल्याएको उनले बताएकी छिन् ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत सत्ता गठबन्धनमा आवद्ध शीर्ष नेताहरूको सहभागिता रहेको थियो ।

पुँजीगत खर्च बढाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहनत गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५०औँ बैठकलाई सम्बोधन गर्दै उनले पुँजीगत खर्चलाई तीव्रता दिन र कामको गुणस्तर कायम गर्नमा विशेष जोड दिए।

‘पुँजीगत खर्च समयमा हुन सकेन भने त्यसले विकास निर्माण पछाडि पार्ने मात्र नभई त्यसबाट अर्थतन्त्रमा बहुआयामिक असर पर्दछ । तसर्थ सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकारले पुँजीगत खर्चलाई तीव्रता दिन र कामको गुणस्तर कायम गर्नमा विशेष जोड दिन आवश्यक छ’, उनले भने ।

अन्तरतह समन्वय गर्ने विषयमा आफूले पहल गर्ने जनाउँदै उनले बजेट कार्यान्वयनको सम्बन्धमा मन्त्रालय र प्रदेश सरकारसँग समेत छलफल गरी अर्थ मन्त्रालयले प्रगति राम्रा भएका विकास आयोजनामा साधनस्रोतको अभाव नहुने व्यवस्था मिलाइने बताए।

सरकार आर्थिक वर्ष २०८०-८१ को नीति, कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा रहेको बताउँदै उनले विगतभन्दा नयाँ र गुणात्मक प्रकृतिको योजना निर्माण र बजेट व्यवस्थाका लागि आवश्यक तयारी गर्नसमेत निर्देशन दिए।

केही आयोजनामा राम्रो प्रगति भए पनि वार्षिक बजेट र आयोजनाको कार्यान्वयनमा चालु आवको प्रथम छ महिनामा आशातीत लक्ष्य हासिल हुन नसकेको देखिएको उल्लेख गर्दै उनले यो अत्यन्त संवेदनशील विषय रहेको बताए ।

‘हेर्दा खासै ठूलो समस्या छ भन्ने पनि देखिन्न । तर बजेट, योजना र कार्यक्रम ठीक ढङ्गले कार्यान्वयन हुन पनि सकेका छैनन्’, उनले भने, ‘खास समस्या के–के हुन्, तिनको पहिचान गरी समाधानका प्रभावकारी उपाय निक्र्योल गर्ने कार्य पनि अहिले नै गर्नुपर्दछ ।’

उनले मन्त्रीहरूले यसमा विशेष पहलकदमी लिएर ठोस कार्य गर्नेछन् भन्ने आफ्नो अपेक्षा रहेको बताए । ‘यहाँ छलफल भएबाहेक पनि अन्तरमन्त्रालयगत समन्वयका समस्या छन् भने तिनलाई तुरुन्तै समाधान गर्नुहुनेछ’, उनले भने ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले आव २०७९र८० को अर्धवार्षिक समीक्षासहितको प्रस्तुति राखेका थिए । प्रस्तुतिमा समष्टिगत आर्थिक परिसूचक, आर्थिक वर्षको अर्धवार्षिक प्रमुख आर्थिक परिसूचक, राजस्व तथा वैदेशिक सहायता परिचालनको स्थिति, पन्ध्रौँ योजनाको मध्यावधि समीक्षा विवरण, मन्त्रालयगत र निकायगत खर्चको प्रगति स्थिति, प्रदेशगत आर्थिक परिसूचक र बजेट कार्यान्वयनको अवस्था, राष्ट्रिय गौरवका आयोजनाको प्रगति समेटिएको थियो । साथै राष्ट्रिय विकास समस्या समाधान समितिको ४७औँ, ४८औँ र ४९औँ बैठकका निर्णय कार्यान्वयन तथा पहिलो प्राथमिकता प्राप्त आयोजनाको भौतिक प्रगति पनि उनले प्रस्तुत गरेका थिए ।

बैठकमा संघीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, महालेखा परीक्षक, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष, मुख्यसचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष, नेपाल नगरपालिका सङ्घका अध्यक्ष र गाउँपालिका महासङ्घका अध्यक्षलगायतले आआफ्नो विषय राखेका थिए ।

प्रधानमन्त्रीले गरेको सम्बोधनका मूल बुँदाः

१- सर्वप्रथम म राष्ट्रिय विकास समस्या समाधान समितिको यो ५०औँ बैठकमा यहाँहरूको सहभागिता साथै महत्वपूर्ण विचारका लागि धन्यवाद व्यक्त गर्दछु । आज हामीले आर्थिक वर्ष २०७८-७९ को वार्षिक र आव २०७९-८० को प्रथम ६ महिनामा मुलुकको विकास कार्यतर्फ भएको प्रगतिको समीक्षा गरेका छौँ । मुलुकको समग्र विकास निर्माण कार्यको सन्दर्भमा हासिल भएका प्रमुख उपलब्धिको समीक्षा गर्नुका साथै विकास आयोजना र कार्यक्रमको कार्यान्वयनमा देखिएका समस्याको समाधान गर्ने र भावी दिनमा विकास निर्माणलाई थप गति दिन यस बैठकले मद्दत गर्ने मैले विश्वास लिएको छु । मुलुकको समग्र विकास प्रयासलाई दिशानिर्देश गर्न यसले महत्वपूर्ण भूमिका खेल्नुका साथै समन्वयका समस्या समाधान गरी लक्षित उपलब्धि हासिल गर्न सहयोग पुग्नेछ ।

२- नेपाल सरकार, प्रदेश र स्थानीय तहको सामूहिक प्रयासबाट सङ्घीय प्रणालीलाई संस्थागत गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा नेपाली जनताको आकाङ्क्षाको सम्बोधन गर्न, विकास प्रयासलाई गति दिन साथै विकासलाई सन्तुलित बनाउन जरुरी छ । नेपालको संविधानले प्रत्याभूत गरेका जनताका मौलिक हकको कार्यान्वयनका साथै आवधिक योजनाले लिएका लक्ष्य प्राप्त गर्न, सरकारमा सम्मिलित दलको नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रमको कार्यान्वयन गरी जनतालाई प्रभावकारीरूपमा सेवा प्रवाह गर्न र आर्थिक सामाजिक पूर्वाधार निर्माण गर्न हामी सबैले समन्वयात्मक प्रयत्न गर्नुपर्दछ ।

३- विश्व अर्थतन्त्रमा देखिएका चुनौतीका साथै नेपालको अर्थतन्त्रमा देखिएका संरचनागत समस्यालाई सम्बोधन गर्दै दिगो आर्थिक वृद्धि एवं सामाजिक प्रगतिको आधार निर्माण गर्न आजको यस छलफलबाट निस्केका निष्कर्ष र सोको कार्यान्वयनबाट बल मिल्नेछ । अहिलेको विषम परिस्थितिमा खर्चमा मितव्ययिता गर्ने, स्रोत परिचालनमा विशेष मेहनत गर्ने र उत्पादन बढाउने कार्यमा हामीले ध्यान केन्द्रित गर्नुपर्दछ ।

४- हालसालै राष्ट्रिय योजना आयोगले पन्ध्रौँ योजनाको मध्यावधि मूल्याङ्कन गरेको छ । यसअनुसार केही क्षेत्रमा प्रगति भएको देखिएको छ । तर समग्रमा हाम्रो विकास प्रयासले अपेक्षित लक्ष्य हासिल गर्न नसकेको र धेरै क्षेत्रमा सुधार आवश्यक रहेको तथ्य पनि उजागर भएको छ ।

रामेछापमा बाेलेरो दुर्घटना : चार जनाको घटनास्थलमै मृत्यु

रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) बाेलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् ।

मृतकहरूको सनाखत हुन सकेको छैन । घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख होमबहादुर पराजुलीले बताए । स्थानीयवासी बलबहादुर तामाङका अनुसार तीन वटा शव पाखामा देखिएको छ भने एउटा शव गाडीले थिचेको अवस्थामा रहेको छ । स्थानीयवासी र प्रहरीद्वारा घाइतेहरूको उद्धार गरी ११ जनालाई मन्थली अस्पतालमा उपचारका लागि पठाइएको छ ।

मन्थली–७ स्थित कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नं को बाेलेरो सडकबाट करिब एक यस मिटर तल झरेको थियो । दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दश मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा

बाँकेको खजुरामा सौर्य उर्जाबाट १० मेगावाट विद्युत् उत्पादन भएको छ । उक्त विद्युत् राष्ट्रिय प्रसारण लाइनमा आजदेखि परीक्षणका लागि जोडिएको रेनरगो डेभलपर्स प्रालिका नेपाल प्रमुख शुभम गुप्ताले जानकारी दिए।

प्रालिका खजुरा गाउँपालिका–८ रनियापुरस्थित घियागाउँमा सोलार विद्युत् परियोजनाबाट उत्पादन गरेको विद्युत् थप १० मेगावाट उत्पादन अन्तिम चरणमा रहेको उनले बताए। ‘हामीले विद्युत् कोहलपुर सबस्टेशनमा जोडेका छौँ, दुई दिनपछि मात्रै वितरण हुन्छ’, गुप्ताले भने । तेत्तीस केभी विद्युत् कोहलपुर सबस्टेशनमा जोडिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कोहलपुरले जनाएको छ । सोलार विद्युत् परियोजनाको निर्माण गत वर्षदेखि सुरु भएको थियो ।

उक्त ३३ केभी प्रसारण लाइन बैजनाथ–६, कोहलपुर–३, कोहलपुर–४, बेलनपुरवा, कोहलपुर–६ रझेना, कोहलपुर–८, गोल्छा, कोहलपुर–१० मन्नापुर नहर हुँदै निर्माण भई चटार हुँदै कोहलपुर सबस्टेसनसम्म परीक्षण गरिने ट्रान्समिटर सुपरभाइजर लीलाधर चापागाईँले बताए।

रनियापुरस्थित घियागाउँमा सोलार विद्युत् परियोजनाबाट उत्पादन भएको विद्युत् परीक्षण भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कोहलपुरका प्रमुख सुरज रेग्मीले बताए ।

गर्मी समय सुरु भएसँगै हुने विद्युत् समस्या केही समाधान हुने उनको भनाइ छ । ‘अब गर्मी बढ्यो, यतिबेला अलि बढी विद्युत् चाहिन्छ’, उनले भने। सो सोलारबाट विद्युत् उत्पादन हुन एक अर्ब खर्च भएको छ ।

थप १० मेगावाटका लागि पनि एक अर्ब खर्च हुने कम्पनीले जनाएको छ । गोल्यान समूह र रेनरगो डेभलपर्स प्रालिको मुख्य लगानी रहेको पियोर इनर्जी लिमिटेडले उक्त उत्पादन गरेको हो ।

मोरङमा एक सय १६ नक्कली परीक्षार्थी पक्राउ

मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका परीक्षार्थीका विषयमा छानबिन भइरहेको उनले जानकारी दिए।

उनका अनुसार सबैभन्दा बढी सरस्वती मावि ग्रामथानबाट ५२ जना, सार्वजनिक मावि केराबारीबाट ४४ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् ।

नक्कली परीक्षार्थीका विषयमा आवश्यक छानबिन गरी कानुनी प्रक्रिया अगाडि बढाइने उपरीक्षक पोखरेलले जानकारी दिए ।

लुम्बिनीमा पीस हाफ म्याराथन प्रतियोगिता सुरु

शान्ति र संवृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा लुम्बिनी पीस हाफ म्याराथन प्रतियोगिता सुरु भएको छ।

अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा देशभरका २ हजार ५ सय ५० महिलापुरुष खेलाडी मैदानमा उत्रिएका छन् ।

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले लुम्बिनीमा बालेको शान्ति दीप ओलम्पिक कोच चन्द्र बहादुर घले, विमला राना र मोहन घलेलाई दिएर प्रतियोगिता सुरु गरेका हुन् । ओली एकेडेमीका संरक्षक पनि हुन् ।

मायादेवी मन्दिर अगाडिबाट सुरु म्याराथनमा खेलाडीले लुम्बिनी वरपर २ फन्को मारेर २१ किलोमिटरको दुरी पुरा गर्ने छन् ।

प्रतियोगितामा महिलापुरुष दुवैलाई छुट्टाछुट्टै पुरस्कृत गरिनेछ । प्रथम हुने पुरुष खेलाडीलाई १ लाख ५० हजार,दोस्रोलाई ७५ र तेस्रोलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ। महिला प्रथम हुनेले १ लाख ५१ हजार नगद पाउने छन् । दुवै विधामा दशौँसम्मका लागि नगद पुरस्कार राशीसंगै प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ९ : ०३ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको