सीता सुवेदी जो आफ्नो फरक क्षमताका बाबजुद नेपाली नृत्यकलामा अद्भुत कला प्रस्तुत गर्ने प्रतिभा हुन्। एउटा खुट्टा गुमाएर पनि आफ्नो नृत्यकला प्रतिको लगाव उस्तै रहेको छ। आज एक उत्कृष्ट नुत्यांगना मात्र होइन उनी नृत्य प्रशिक्षकका रूपमा आफूलाई स्थापित गर्न सफल छन्। एक फरक क्षमता राख्ने पृथक् नृत्यांगनाका रूपमा चिरपरिचित सीता सुवेदीसँग नेपाली नृत्यकला र आफ्नो संघर्षबारे प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश :
आफ्नो सफलतालाई तपाईं आफै कसरी हेर्नुहुन्छ ?
सफलता केलाई मान्ने केलाई नमान्ने यो सजिलो छैन। म सफल भएँ भन्दा पनि यो मेरो कर्म हो। यो मेरो पेसा हो। मैले निरन्तर गर्नुपर्छ भन्ने हिसाबले म अगाडि बढिरहेकी छु। मैले गरिरहेको पेसाले गर्दा समाजमा थोरै भए पनि सकारात्मक प्रभाव परेको छ। त्यो हिसाबले मलाई एकदम खुसी लाग्छ।
तपाईंको साहस र यहाँसम्मको यात्रा कसरी तय भयो ?
बच्चादेखि नै कला क्षेत्रप्रति ठूलो लगाव थियो। नृत्यको खोजीमा म एसएलसी सकाएर भरतपुर क्यासमा आएर पढ्दै नृत्य सिक्न थालेँ। त्यसपछि नृत्य सिक्न कहाँ पाइन्छ भनेर खोज्न थालेँ। त्यो कसैलाई थाहा नै भएन। स्टाफ नर्स पढ्नको लागि पूर्ण छात्रावृत्ति पाएको मान्छे हुँ। मैले त्यो छात्रावृत्ति मेरो नृत्य कक्षाको लागि लगानी गर्दिनुहोस् भन्दा हरि भण्डारी सर धेरै रिसाउनुभयो। मेरो मनलाई कसैले बुझेन। आफै लागि परेर आफ्नो इच्छा पूरा गर्न लागेँ। धेरै समय लाग्यो। तर निरन्तरता दिएँ। त्यही निरन्तरताले आजको दिनमा आइपुगेँ।
यो कथक नृत्य विधा नै छनोट गर्नुको केही कारण छ कि ?
नृत्यका हरेक पक्षमा उत्कृष्टता हुन्छ। सामान्यतया भरत नाट्यम र कथक सिकाई हुन्छ मलाई कथकमा सहज भएको कारण यसमा लागेँ। सिक्दै जाँदा यसमा यति भिजियो कि योबाट बाहिर जान नै सकिँदैन जस्तो लाग्छ। नृत्य सिकेर बीचमा ३४ महिना नृत्य छोडेर घरमा नै बस्ने स्थिति पनि आयो। तर हार भने कहिल्यै मानिन। अर्को एक जना गुरुले मलाई बोलाएर तिमी खुड्किला चढ्नुपर्छ भनेर ल्याउनु भएको हो। रवि राणा मगर गुरुले मलाई स्टेजमा उतार्नु भएको हो।
टुटेको मनलाई रवि राणा मगरले प्रस्ताव राख्दा कस्तो भान भएको थियो ?
मलाई नृत्यप्रति धेरै ठूलो चाहना थियो। कसैले त नाच्न मिल्दैन भन्दा त्यो मान्छेसँग झगडा गर्ने बानी थियो। मलाई मास्टर पढ्न पिके कलेजमा फारम भर्न लाग्दा कोटा पुगेन भनेर दुई पटक फिर्ता पठाउनुभएको छ। मैले गर्न चाहेको बेलामा गर्न तथा पढ्न दिएको भए मैले उच्च शिक्षासमेत नृत्यमा नै सकाउने थिएँ। फारम भर्न नदिएर त्यो अहिले सम्भव भएन। अहिले मैले नृत्य सिकाउन थालेँ। सय जना विद्यार्थी छन्। मलाई घृणा गर्न खोज्ने समाजलाई काम गरेर चुनौती दिइराखेको जस्तो लाग्छ।
तपाईंलाई कमजोरी देखाएर बस्ने होइन, संघर्ष गर्नुपर्छ भनेर कसले प्रेरणा दियो ?
मलाई आमाले कहिल्यै पनि घरमा बस्न दिनु भएन। तिमी पढ्नुपर्छ भनेर स्कुल पठाउनुभयो। हरेक दिन स्कुल पुर्याउनसमेत जानुभयो। मैले त्यसलाई निरन्तरता दिन सकेँ र यहाँसम्म ल्याउन सकेँ। त्यसपछि बच्ने तथा मर्ने अवस्थामा पुग्दा काकाले मलाई साथ दिनुभयो। खुट्टा काट्ने समयमा नृत्य गर्न पाइँदैन भन्ने मात्र थियो मलाई। अस्पतालमा सुकन्या वाइबा जो आफैमा लेखिका हुन्। पारिजातकी बहिनी उहाँले मलाई शक्ति दिनुभयो। विभिन्न व्यक्तिको उदाहरण दिएर मलाई अगाडि बढ्ने प्रेरणा दिनुभयो। त्यसलाई आधार बनाएर अगाडि बढेकी हुँ।
सुदामा चन्दनको हिन्दी चलचित्रबाट प्रेरणा लिने धेरै छन्। तपाईँलाई के लाग्छ ?
उहाँको चलचित्र हेरेर इन्डियाले एउटा पाठ सिकेको र सिकाएको छ। अहिलेसम्म पनि उहाँले यही क्षेत्रलाई नै योगदान दिइरहनु भएको छ। मैले पनि प्रत्येक दिन सिक्ने मौका पाएकी छु। उहाँ त गरिरहनु भएको छ भने म किन पछि हट्ने भन्ने भावना आउँछ। त्यस कारण हिम्मत हार्ने काम नै छैन। हारलाई नै जित मानेर अगाडि बढ्दा अवश्य सफलता मिल्छ।
जीवन जिउनु र नृत्यांगना भएर जिउनुमा के फरक पाउनु हुन्छ ?
व्यक्तिगत जीवन व्यक्तिगत नै हो। नृत्यमा जोडिसकेपछि सार्वजनिक हुँदो रहेछ। त्यो हामीले गरेको कामले समाजमा प्रभाव छोड्छ। नृत्यमा हामी संस्कार खोज्छौं र सिकाउँछौँ। नृत्य आफैमा एउटा मनोरञ्जन हो। तर जीवन सिकाईको पाटो पनि हो।
भारतमा कथकको अवसर बढी हो ?
भारतमा स-साना बच्चादेखि नै धेरै ज्ञान आर्जन भएको हुन्छ। कलेज तथा स्कुलदेखि नै सामान्य लेभलदेखि ज्ञान दिन सुरु गराएको हुन्छ। कुनै कुनै राज्यमा नृत्य तथा गायन हेरेर बिहे गर्न चलन रहेको छ। यो संस्कार संस्कृतिसँग जोडिन्छ। त्यसकारण इन्डियामा संरक्षण र विकास भएको हो जस्तो लाग्छ। हामी चाहिँ सिक्दै छौँ। कला आफैमा सबैको हो।
र्याम्प वाक गर्नु भएको छ, मोडलिङको पछाडिको उद्देश्य के छ ?
सामान्य रूपमा हरेक क्षेत्रलाई हेर्ने दृष्टिकोण आफ्नै छ। म पनि सुन्दर छु। मलाई हेर्ने दृष्टिकोण सुन्दर हुनुपर्छ भन्ने मलाई पहिलेबाट नै लाग्ने थियो। त्यसले वास्तवमा वैशाखी टेकेर पनि र्याम्प वाक हुन्छ भन्ने नेपालमा पहिलो सुरुवात हो। नेपालमा पनि सुरुवात भएको छ। त्यसको कारणले म जर्ज बनेर जान पाएको थिएँ। त्यो चिजको पनि धेरै राम्रा पाटा छन्। त्यसलाई हामी किन सही रूपमा लिँदैनौ भन्ने लाग्छ। नेपालमा सकारात्मक सोचको अति खाँचो छ।
अबका योजना के छन् ?
म जस्तो व्यक्तिलाई मात्र नभएर नृत्य सिकाएर सक्षम गराएर एक किसिमको सकारात्मक ऊर्जा ल्याउने सोच अझै छ। मान्छे अनुशासित भएर बसेमा केही कार्य गर्न सहज हुन्छ। अरूको लागि बाँच्न सक्यो भने जीवन सार्थक हुन्छ भन्ने कुरा सिकेकी छु। त्यही कुरा सिकाउने प्रयासमा छु र लागि परिरहने छु । (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम
प्रतिक्रिया