विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

आज जेठ २३, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून ६, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

अफगानिस्तानमा विष्फोट हुँदा डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु, छ जना घाइते

अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा मंगलबार भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।

सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशक कारी माजुद्दिन अहमदीका अनुसार ‘फैजाबाद शहरमा भएको विस्फोमा बदख्सान प्रान्तका डेपुटी गभर्नर मौलावी निसार अहमद अहमदीसहित दुई जनाको मृत्यु र अन्य छ जना घाइते भएका छन् । घाइते सबैलाई अस्पताल लगिएको छ ।’

स्थानीय समयअनुसार बिहान ०८ः१५ बजे फैजाबाद शहरको चराही महकामा क्षेत्रमा कार बम विस्फोट भएको हो । घातक हमलाको जिम्मेवारी लिने कुनै समूहको बारेमा जानकारी सार्वजनिक गरिएको छैन ।

भारतिय रक्षामन्त्री सिंह र जर्मन समकक्षी पिस्टोरियसबीच वार्ता

भारतिय रक्षामन्त्री राजनाथ सिंह र जर्मन समकक्ष बोरिस पिस्टोरियसबीच मंगलबार नयाँ दिल्लीमा द्विपक्षीय वार्ता भएको छ ।

चार दिने भारत भ्रमणमा रहेका पिस्टोरियसलाई दिल्लीस्थित राजनाथ सिंहको उपस्थितिमा मानेकशा सेन्टरमा गार्ड अफ अनर दिइएको थियो । उनले राजधानीमा रहेको राष्ट्रिय युद्ध स्मारकमा माल्यार्पण समेत गरेका छन् ।

पिस्टोरियसले नयाँ दिल्लीमा इनोभेसन फर डिफेन्स एक्सिलेन्सद्वारा आयोजित कार्यक्रममा केही रक्षा विषय सम्बन्धी कार्यक्रममा सहभागी हुने सम्भावना रहेको रक्षा मन्त्रालयले जनाएको छ ।

भारत र जर्मनी बीचको द्विपक्षीय सम्बन्ध साझा लोकतान्त्रिक सिद्धान्तहरूमा आधारित छ र उच्च स्तरको विश्वास र पारस्परिक सम्मानद्वारा अगाडि बढेको भारतको विदेश मन्त्रालयका उल्लेख गरेको छ । दोस्रो विश्वयुद्धपछि जर्मनीसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो देश भारत हो।

आफ्नो भारत भ्रमण अघि जर्मन रक्षा मन्त्रीले रूसी हतियारहरूमा भारतको निरन्तर निर्भरता जर्मनीको हितमा नभएको उल्लेख गरेको जर्मन समाचार एजेन्सी ड्यूचे वेले जनाएको थियो ।

भ्रमणरत नेता पिस्टोरियसले भारतजस्ता साझेदारलाई सहयोग गर्न जर्मनी तयार रहेको बताएका छन् ।

आतङ्कवादीसँगको गोली हानाहानमा एक सैनिकको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतङ्कवादीहरूसँगको गोली हानाहानमा एकजना पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सोमबार अफगानिस्तानसँग सीमा जोडिएको जिल्ला दक्षिण वजिरिस्तानको लधा क्षेत्रमा गोलीबारी भएको जनाएको छ।

घटनापछि सो क्षेत्रमा फेला परेका अन्य आतङ्कवादीहरूलाई हटाउनका लागि सो क्षेत्रको कारबाही थालिएको छ।

पाकिस्तानी सुरक्षा बलहरू देशबाट आतङ्कवादको खतरा हटाउन कटिबद्ध रेहेको पनि सेनाले जनाएको छ।

फिजीका प्रधानमन्त्री २५ वर्षपछि न्युजिल्याण्ड भ्रमणमा

फिजीका प्रधानमन्त्री सिटिभेनी रबुका २५ वर्षपछि आफ्नो पहिलो औपचारिक भ्रमणका लागि सोमबार न्युजिल्यान्ड आइपुगेका छन् ।

“प्रधानमन्त्री रबुकाले २५ वर्षअघि सन् १९९८ मा न्युजिल्यान्डको भ्रमण गर्नु भएको थियो र अहिले हामी उहाँलाई पुनः यहाँ स्वागत गर्न तत्पर छौं,” न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिप्किन्सल भने।

न्युजिल्यान्ड र फिजीबीच जलवायु परिवर्तन जस्ता पारस्परिक हितका क्षेत्रमा घनिष्ट सहयोग आदानप्रदान र आर्थिक रूपमा समृद्ध प्रशान्त क्षेत्रको सुनिश्चितताका निम्ति दीर्घकालीनरूपमा कार्यगत सम्बन्ध रहेको हिप्किन्सले बताएका छन्।

न्युजिल्याण्डमा रहँदा रबुकाले अकल्याण्ड र वेलिङ्ग्टनमा द्विपक्षीय बैठकहरू र राष्ट्रिय युद्ध स्मारक र प्यासिफिक वार मेमोरियलको औपचारिक भ्रमण गर्नेछन्।

रुसी सेनाका कमान्डर बाग्नर समूहको नियन्त्रणमा

युक्रेनसँग चलिरहेको युद्धको बीचमा रूसी सेना र वाग्नर समूह बीच पटकपटक मतभेद भएको रिपोर्ट बाहिर आएको छ।

पछिल्लो समाचार अनुसार वाग्नर समूहले रूसी सेनाको शीर्ष कमाण्डरलाई बन्धक बनाएको छ। वाग्नर समूहले रुसी सेनाका कमाण्डरको भिडियो बनाएर सामाजिक सञ्जालमा शेयर गरेको छ।

वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको सामाजिक सञ्जालमा पोस्ट भएको भिडियोमा रुसी सेनाका ७२औं ब्रिगेडका कमान्डर लेफ्टिनेन्ट कर्नल रोमन भेनेभिटिनलाई बन्धक बनाएको देखिन्छ। रूसी सेना र येभगेनी प्रिगोजिनको नेतृत्वमा रहेको वाग्नर समूह बीचको विवाद केही समयदेखि बढेको छ।

यद्यपि रुसी रक्षा मन्त्रालयबाट यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। बाख्मुतमा भएको रुसको विजयमा वाग्नर समूहको महत्त्वपूर्ण भूमिका थियो।

अमेरिकी रक्षामन्त्रीको भनाइप्रति चीनको आपत्ति

अमेरिकी रक्षामन्त्रीको भनाइप्रति चीनले आपत्ति जनाएको छ । विश्वले ‘बेइजिङको धम्की र जबरजस्ती झेल्नु परेको’ रक्षामन्त्री लोयड अस्टिनको टिप्पणीप्रति चीनले आपत्ति जनाएको हो ।

भारत भ्रमणको क्रममा अमेरिकी रक्षामन्त्रीले गरेको टिप्पणीको जवाफमा नयाँदिल्लीस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सिया ओजियानले जबरजस्ती र आधिपत्यका लागि सबै प्रकारका उपाय अमेरिकाले अपनाउने गरेको बताएका छन् ।

उनले विश्वशान्ति र समृद्धिका लागि चीनको योगदान रहेको बताउँदै अमेरिकाको जबरजस्ती र दादागिरीका कारण विकासोन्मुख देश मात्र नभई उसका सहयोगी र साझेदारहरूसमेत मारमा परेका दाबी गरेका छन् ।

“वर्तमान चीन–भारत सीमा स्थिति समग्रमा स्थिर छ, सीमा मामिला चीन र भारत बीचको विषय हो, कुनै तेस्रो पक्षको हस्तक्षेप स्वीकार्य छैन,” प्रवक्ता वाङले भनेका छन् ।

 सोमबार रक्षामन्त्री राजनाथ सिंहसँगको द्विपक्षीय बैठकपछि पत्रकार सम्मेलनमा अमेरिकी रक्षामन्त्री अस्टिनले द्रुत रूपमा परिवर्तन भइरहेको विश्व र अन्तर्राष्ट्रिय चुनौतीको चर्चा गर्दा चीनमाथि त्यस्तो टिप्पणी गरेका थिए ।

उनले युक्रेन युद्धमा चीनको भूमिकाका साथै आतङ्कवाद र जलवायु परिवर्तनजस्ता अन्तर्राष्ट्रिय चासोका विषयमा चीनको भूमिकालाई लिएर आलोचना गरेका थिए ।

एप्पलले ल्यायो संसारकै सबैभन्दा पातलो म्याकबुक

अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलले १५ इन्चको म्याकबुक लन्च गरेको छ । विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत एप्पलले पहिलो पटक सो म्याकबुक लन्च गरेको हो ।

यो विश्वको सबैभन्दा पातलो १५ इन्चको म्याबुक होृ । यसको गति इन्टेल आधारित म्याकबुक एयर भन्दा १२ गुणा बढी छ। एप्पलले नयाँ १५ इन्चको म्याकबुक एयर एक हजार २९९ डलरमा बिक्री गर्ने जनाएको छ ।

एप्पलले भिजन प्रो नामक भर्चुअल रियालिटी हेडसेटसमेत लन्च गरेको छ। कार्यक्रममा एप्पलले १५ इन्चको डिस्प्लेको म्याकबुक एयर र म्याक स्टुडियो मोडल सार्वजनिक गरेको छ । एप्पलले एम टु अल्ट्रा चिपसेट भएको नयाँ म्याक्स स्टुडियो लन्च गरेको छ।

यो इन्टेलमा आधारित म्याक प्रो भन्दा ३ गुणा छिटो रहेको कम्पनीको दाबी छ, जसले १९२ जीबीको आन्तरिक मेमोरी प्राप्त गर्नेछ। यो कार्यक्रम क्यालिफोर्नियाको क्युपर्टिनोस्थित एप्पल पार्कमा जुन ९ सम्म चल्नेछ।

ट्रम्पलाई चुनौती दिँदै पूर्व उपराष्ट्रपति चुनावी मैदानमा

अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवारका लागि धेरैले दाबी सुरु गरेका छन्।

यसैक्रममा पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि रिपब्लिकन पार्टीको पक्षबाट राष्ट्रपतिको उम्मेदवारीका लागि दाबी प्रस्तुत गरेका छन्। पेन्सले स्थानीय समय अनुसार मनोनयनका लागि कागजी कार्य पूरा गरेका हुन्। पेन्सको दाबिले रिपब्लिकन पार्टी भित्रका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको अगाडि अर्को चुनौती खडा गरेको छ। अब ट्रम्पसँग उनको प्रत्यक्ष भिडन्त हुन सक्ने देखिएको छ।

मिडिया रिपोर्टका अनुसार पेन्सले बुधबार औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेर आफ्नो अभियान सुरु गर्ने तयारी गरेका छन्। माइक पेन्सले पूर्व राष्ट्रपति ट्रम्पसँग उपराष्ट्रपतिको रूपमा काम गरेका छन् र उनी ट्रम्पका कट्टर समर्थक थिए। अब अमेरिकाको सबैभन्दा पुरानो पार्टीमा ट्रम्पलाई चुनौती दिन उनी अगाडी आएका छन्।

अवैध आप्रवासीलाई बेलायतमा कडाइ थालियो

बेलायतले अवैध आप्रवासीलाई रोक्न कडा तरिका अपनाउने भएको छ।

जसअनुसार प्रधानमन्त्री ऋषि सुनकले सोमबार बेलायतको तटमा आउने अवैध आप्रवासीलाई जहाजमा राखिने योजनामा युद्धस्तरमा काम भइरहेको जनाएका छन्। उनका अनुसार करदाताको पैसाबाट चल्ने होटेलको दबाब कम गर्न अवैध आप्रवासीलाई पानी जहाजमा राख्ने घोषणा गरेका हुन्।

त्यसका लागि केन्टिसको तटीय सहर डोभरमा एउटा जहाज महिनाको अन्त्यसम्ममा तयार हुने प्रधानमन्त्री सुनकले बताए। साथै, अन्य दुईवटा जहाज पनि निर्माण हुनेछन्। यसमा लगभग १००० अवैध आप्राबासीलाई राख्न सकिनेछ।

अवैध आप्रवासी रोक्ने विधेयक संसदबाट पारित भएको जानकारी दिँदै प्रधानमन्त्रीले उनीहरूलाई अब जहाजमा राखिने जानकारी दिएका हुन्। उनका अनुसार अब बेलायती सरकारलाई गैरकानुनी रुपमा देशमा आउनेलाई थुन्ने र देश निकाला गर्ने अधिकारसमेत पाएको छ। ‘म प्रतिज्ञा गर्छु कि हामी अवैध आप्रवासीहरूलाई होटेलबाट बाहिर निकाल्नेछौं, त्यस्ता व्यक्तिहरूलाई सैन्य प्रतिष्ठानसहित दुई वैकल्पिक स्थानमा राखिनेछ’ उनले भने।

सुनकले स्थानीय समुदायको दबाब कम गर्न पानीजहाजमा मानिसलाई राख्न खोजिएको स्पष्टीकरण दिएका छन्। उनका अनुसार जसका लागि पहिलो पानी जहाज चाँडै पोर्टल्यान्डमा उत्रदैछ भने थप दुईवटा जहाजहरू पनि चाँडै त्यसका लागि प्रयोग ल्याइनेछ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ७ : ५९ बजे

नयाँ आव : शेयर बजारमा उछाल, नेप्से हाफ सेन्चुरी बढ्यो 

काठमाडौं– नयाँ आर्थिक वर्ष २०८२-८३ बिहीबारबाट सुरु भएको छ ।

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

डोल्पा– २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा त्रिपुरासुन्दरी नगरपालिका-६ बस्ने

राजश्व छली गरिएका विद्युतीय उपकरणसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं– राजश्व छली गरिएका अवैध विद्युतीय उपकरण सहित चिनियाँ नागरिक काठमाडौंमहानगरपालिका-३२

विपी राजमार्ग : साउनभर राति १२ घण्टा बन्द हुने

काभ्रेपलाञ्चोक – विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा बिहिबारदेखि एक महिनासम्म राति १२

कपिलवस्तुमा सर्पदंशबाट १४ महिने शिशुको मृत्यु

कृष्णनगर– कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा सर्पदंशका कारण एक १४ महिने